शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
प्राध्यापकको नजर

प्राध्यापक एसडी मुनी भन्छन्, ‘मलाई माओवादी बनाए’

‘चीन पहिलेजस्तो रहेन, अब तपाईंले नबोलाए पनि आउँछ’
मङ्गलबार, ०६ चैत २०८०, १९ : ५९
मङ्गलबार, ०६ चैत २०८०

विराटनगर । जवाहरलाल नेहरु विश्वविद्यालय (जेएनयू)का प्राध्यापक तथा भारत–नेपाल सम्बन्धका जानकार प्राध्यापक एसडी मुनिले माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्दा आफूलाई नै माओवादी बनाएको बताएका छन् । विराटनगरमा एलिट क्लब र नर्थ साउथ कलेक्टिभ्सले संयुक्त रूपमा आयोजना गरेको ‘नेपाल–भारत सम्बन्धका नयाँ आयामहरू’ विषयको अन्तरक्रियामा उनले यस्तो बताएका हुन् । 

‘माओवादी नेता बाबुराम मेरा विश्वविद्यालयका विद्यार्थी थिए । तर, उनी मेरा विद्यार्थी थिएनन् । मेरो विद्यार्थी बनाएकोमा मिडियाको म प्रतिको माया हो । तर, नेपालको राजनीतिबारे बाबुरामबाट मैले पनि सिकेको छु,’ उनले माओवादी जनयुद्धको सन्दर्भ र भारतको भूमिकालाई कोट्याउँदै भने, ‘जब आन्दोलन भयो बाबुराम मेरोसाथ आए । जसवन्त सिंह नेपाल आएको बेला माओवादीलाई आतङ्कवादी भने । त्यो विषयमा बाबुराम भारतलाई सम्झाउन चाहन्थे । त्यही बेला उनले हामी व्यवस्था बदल्न चाहन्छौँ । हामी आतङ्कवादी होइनौँ भनेर बाबुरामले भनेपछि मैले भारतलाई त्यो कुरा बुझाउन प्रयास गरेँ । मैले जो प्रयास गरे । जे जे भयो त्यो तपाईंहरुलाई थाहै छ । त्यो शिलशिलामा मलाई एक इनाम मिल्यो । त्यो भनेको साधारण व्यक्तिबाट माओवादी बनाए । नेपालका मानिसले पनि माओवादी भनेर गाली दिए । हिन्दुस्थानका मानिसहरुले पनि माओवादी बनाए । तर, मैले माओवादीले हतियार छोड्न चाहेको बुझेर हिंसा कम हुन्छ र नेपाल–भारत दुवैको रक्षा हुन्छ भनेर कुरा अगाडि बढाएको थिएँ । दर्शनको हिसाबले म माओवादी होइन । म लिबरल डेमोक्रेट हुँ ।’

Sd Muni (2)

उनले माओवादी विद्रोहमा मारिएका १७ हजारमा दुई तिहाइ फौजले र एक तिहाइ मात्र माओवादी सेनाबाट हताहत भएको दाबी गरे । ‘१७ हजार मानिस मारिएको कुरामा गलत कुरा आइरहेको छ । त्यसमध्ये दुई तिहाइ त सरकारी फौजबाट मारिएका हुन्,’ उनले भने । 

उनले नेपाल–भारतको सम्बन्ध हिन्दी सिरियलमा भएको सासू–बुहारीको झगडा जस्तो भएको पनि बताए । ‘खानामा नुन बढी भयो भने पनि झगडा, कम भए पनि झगडा, रातो सारी लगाउँदा पनि झगडा, निलो लगाउँदा पनि झगडा, यस्तो अवस्था छ नेपाल र भारतको सम्बन्ध । तर, सासू र बुहारी एक अर्को नभई नहुने अवस्था छ,’ उनले भने । रोटी, बेटी, हिन्दु धर्म र पुरानो संस्कारबाट अहिलेको सम्बन्ध नचल्ने उनले बताए । ‘अब नेपाल र भारत धेरै फरक भइसक्यो । मेरो उमेरको नेपाल र भारत अहिले त्यस्तो छैन । भारत शक्तिशाली भइरहेको छ । पछिल्लो १० वर्षदेखि भारत शक्तिशाली भएको महसुस गरिरहेको छ । भारतमा एउटा आत्मविश्वास आएको छ । नेपालमा पनि गणतन्त्र आएको छ । राजतन्त्र हटेको छ । जनताको हातमा तागत छ । पहिले यो तागत थिएन । नयाँ नेपाल बनेको छ । नेपालको पनि एउटा महत्त्वाकाङ्क्षा छ,’ उनले भने, ‘नेपालको यो कुरा न त भारतको नीति निर्धारकले बुझेका छन् न त नेपालका नीति निर्धारकले भारतको अहिलेको अवस्थालाई बुझेको छ । यसलाई नबुझेसम्म सम्बन्धमा समस्या आइरहन्छ । हामीले नेपाल र भारत दुवै देशलाई बुझ्न जरुरी छ ।’ उनले अहिलेको भारत र नेपाललाई ठिक ढङ्गले बुझ्न नसकेसम्म सासू बुहारीको जस्तो झगडा भइरहने पनि बताए । 

‘देश कुनै एउटा धर्म, एउटा जाति र एउटा भाषाको हुन सक्दैन’, उनले भने, ‘यसो गर्न खोजियो भने त्यहाँ अशान्ति र विखण्डन सुरु हुन्छ ।’

उनले नेपालको पर्यटन, जलविद्युत्, शिक्षालगायतका क्षेत्रमा ठुलो सम्भावना रहेको पनि बताए । तर, यसको विकास नेपाल आफैँले गर्नुपर्ने उनको जोड थियो । ‘नेपालको पर्यटनको धेरै सम्भावना छ । किन काम नगरेको ? हाइड्रोमा यत्रो सम्भावना छ, वर्षौँदेखि पानी बगिरहेको किन काम नगरेको ? शिक्षालयहरू किन नबनाएको ? यो आफैँले गर्नुपर्छ,’ उनले भने, ‘भारतले गरेको सहयोग बढाउन आवश्यक छ । तर, सबैभन्दा ठुलो सवाल भनेको नेपाल आफैँले विकास गर्नुपर्छ । भारतको विकासमा मद्दत गर्न, चीनको विकासमा मद्दत गर्न कोही आएको होइन । आफैँले गरेका हुन् । कुनै पनि देशको विकास आफैँले गर्नुपर्छ ।’

उनले चीनले लगानी गरेका विद्युत् खरिद नगर्ने भारतको कुरा ठिक नभएको पनि बताए । तर, सरकारले आफ्नो कुरा मान्नैपर्छ भन्ने नभएको पनि उनले बताए । ‘तर, चीन पहिलेको भन्दा फरक भयो । भारतको सिमानामा सेना ल्याएर राखेको छ । भारत सामरिक हिसाबले चीन अगाडि बढेको हेर्न चाहँदैन । त्यही कारण चीनले बनाएको एयरपोर्ट सञ्चालनमा समस्या आउँछ । चीनले यो प्रायद्वीपमा जसरी व्यवहार गरिरहेको छ । त्यसलाई सबैले बुझ्नुपर्छ,’ मुनीले थप भने, ‘चीन पहिले राजा महेन्द्रले बोलाएपछि मात्र नेपालमा आएको हो । अब तपाईंले नबोलाए पनि ऊ आउँछ र आइरहेको छ । दक्षिण एसियाको हाम्रो समुदाय संसारकै ठुलो समुदाय हो । यहाँको अर्थतन्त्र ५ देखि ६ प्रतिशतले बढिरहेको छ । दुनियाँमा यसरी कतै बढेको छैन । यस क्षेत्रको जनसङ्ख्या पनि एक अर्ब ६० करोडको छ । त्यसैले कुनै पनि मुलुक यो जनसङ्ख्या र आर्थिक वृद्धिको फाइदा उठाउन खोज्छ । कुनै देशले यो क्षेत्र र समुदायलाई नेग्लेक्ट गर्न सक्दैन ।’

Sd Muni (1)

उनले नेपाल वा भारत धर्मसापेक्ष मुलुक (हिन्दु राष्ट्र) हुनै नसक्ने पनि ठोकुवा गरे । ‘देश कुनै एउटा धर्म, एउटा जाति र एउटा भाषाको हुन सक्दैन’, उनले भने, ‘यसो गर्न खोजियो भने त्यहाँ अशान्ति र विखण्डन सुरु हुन्छ । पाकिस्तानबाट बंगलादेश टुक्रिने कारण यही थियो । श्रीलङ्का र म्यानमारमा यही कारण अशान्ति भएको हो । राज्यको संज्ञा कुनै एक धर्म, एक जाति र एक भाषाका आधारमा हुनुहुँदैन । यो मेरो विचार हो । सरकारले मान्नुपर्छ भन्ने छैन ।’ उनले भारत एक लोकतान्त्रिक र धर्मनिरपेक्ष राष्ट्र हुँदाहुँदै लोकतन्त्र र धर्ममा केही ‘डाइल्युट’ हुन थालेको र भारतीय राजनीतिमा हिन्दुवाद बढिरहेको उल्लेख गरे । त्यसको असर छिमेकी मुलुकमा पनि परिरहेको उनले बताए । 

कार्यक्रममा उनले सक्रिय राजतन्त्रको समर्थक आफू नरहेको बताए । ‘म सक्रिय राजतन्त्रलाई कहिल्यै समर्थन गर्न सक्दिनँ’, उनले भने, ‘एसियाका सबै राजतन्त्रहरू सकिए । भुटानमा संवैधानिक राजतन्त्र छ । नेपालमा राजा ज्ञानेन्द्रले सत्ता हातमा लिएपछि भारतका तत्कालीन प्रधानमन्त्री मनमोहन सिंहले ज्ञानेन्द्रलाई संवैधानिक मात्र भएर बस्न र राजनीतिक दलसित मिलेर माओवादी विद्रोहको व्यवस्थापन गर्न ३–३ पटकसम्म सुझाव दिनुभयो । पूर्वराजा ज्ञानेन्द्रले नयाँ दिल्लीमा मनमोहन सिंहजीसँग त हुन्छ भन्नुहुन्थ्यो तर काठमाडौँ आएपछि चीनबाट हतियार खरिद गरेर माओवादी सखाप पार्छु भन्ने सोच्नुभयो ।’

प्राध्यापक मुनीले राजतन्त्रले ७० वर्षसम्म नेपाल र नेपालीलाई के दियो भन्ने प्रश्न गर्दै माओवादी आन्दोलन राजतन्त्रले नै दिएको दाबी पनि गरे । ‘जुन राजतन्त्रले ७० वर्षसम्म गर्न सकेन, त्यो ५ वर्षमा कसरी पूरा हुन्छ ? म लोकतन्त्रमा भ्रष्टाचार, कुशासन र ५ वर्षमा ६ वटा सरकार फेरिने कुरालाई समर्थन गर्न सक्दिनँ तर यसको विकल्प राजतन्त्र हुन सक्दैन,’ उनले भने । 

उनले लिपुलेक र कालापानीको समस्या नयाँ नक्सा बनाएर वा संविधानमा संशोधन गरेर समाधान हुन नसक्ने ठोकुवा गरे । ‘नेपाल सुगौली सन्धिको कुरा गर्छ । तर यसमा भारतले पनि दाबी गर्दै आएको छ । यो एउटा टेबुलमा बसेर छलफल गरेर टुङ्गिने विषय हो । नयाँ नक्सा बनाएर, संविधानमा संशोधन गरेर वा वार्ता नगरेर समाधान हुँदैन,’ उनले भने । उनले दुई देश आफैँले छलफल गरेर सिमानाको विवाद टुङ्ग्याउने । त्यसो नभए तेस्रो मुलुकको रोहबरमा समाधान गर्ने वा अन्तर्राष्ट्रिय कानुन अनुसार मुद्दामा गएर टुङ्गो लगाउनु पर्ने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप