शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय
आज जुम्लामा धान दिवस

कसरी सुरु भएको थियो जुम्लामा मार्सी धानको खेती ?

सोमबार, १२ चैत २०८०, १५ : ४१
सोमबार, १२ चैत २०८०

सुर्खेत । जुम्लामा मात्र उत्पादन हुने विश्वकै लोकप्रिय धान हो जुम्ली मार्सी । संसारमै सबैभन्दा उच्च भागमा उत्पादन हुने यो धान दुर्लभ प्रजातिको मानिन्छ । नेपाल मात्र नभइ तेस्रो मुलुकमा समेत लोकप्रिय मार्सी धानको खेती जुम्लामा हरेक वर्षको चैत १२ गतेदेखि आरम्भ हुन्छ ।

धानको बिउ पानीमा भिजाएर राख्ने आजको दिनलाई जुम्लामा राष्ट्रिय धान दिवसका रुपमा मनाउने चलन छ । देशभर असार १५ मा धान दिवस मनाउने गरिए पनि जुम्लामा चैत १२ देखि २० गतेसम्म दिवस मनाइन्छ । देश संघीयतामा गएसँगै प्रदेश सरकार बनेपछि जुम्लामा चैत १२ का दिन सार्वजनिक बिदा दिने गरिएको छ । जुम्लाबाट प्रदेश सभा सदस्य हुँदै कानुन मन्त्री बनेका नरेश भण्डारीले नै जुम्लामा चैत १२ गते सार्वजनिक बिदा दिन थालेका थिए ।

स्थानीय चलनअनुसार महिलाले मागल पुकारेसँगै सबैबाट चन्दननाथ, भैरवनाथ, मस्टो, कालिका, मालिका देवतालाई र आ–आफ्ना कुल देवतालाई सम्झेर मार्सी धानको बिउ राख्ने परम्परा छ । जिल्लाको आठ वटै स्थानीय तहमा मार्सी धानको खेती हुने गरे पनि पातारासी गाउँपालिकास्थित छुम, चौर, ज्युलोमा सबैभन्दा बढी मार्सी धान खेती हुने गर्दछ । कृषि विकास कार्यालय जुम्लाका अनुसार जिल्लाभर २ हजार ८ सय हेक्टरमा धान खेती हुने गरेको छ ।

चैत १२ मा भिजाएको बिउ १६ गते पानी तारेर तातो कुनामा राखेर पातीले छोपिन्छ । १८ देखि २० गतेसम्म हिल्याएको माटो पिँधमा बसेपछि बिउ छरिसक्नुपर्छ । वैशाख १ मा बेर्नाको पानी सुकाउने चलन छ । त्यसपछि बिउ हरियो हुन्छ भने जेठमा बिउ तयार भइसक्छ । जेठ १० गतेबाट रोपाइँ सुरु हुन्छ । बिउ राख्दा भेँडाबाख्राको धुलो मल, कालो कोइला, घर बढारेको कसिङ्गर चालेर मलका रूपमा हालिन्छ ।

एक महिना १० दिनपछि बेर्ना रोपाइँ गर्न मिल्ने हुन्छ । असारदेखि मध्य साउनसम्म गोडमेल गर्नुपर्ने हुन्छ भने भदौमा झारपात उखेल्नुपर्छ । किराले सताउन थाल्यो भने खरानी, तीतेपाती र गाईभैँसीको गहुँत मिसाएर हाल्ने गरिन्छ । खेतमा पानी भने खाली गर्नुहुँदैन । चैत १६ गते भिजाएको धानको चिउरा कुट्ने र खाने चलन पनि छ ।

पहिले कात्तिक पहिलो सातापछि मात्र धान काट्ने चलन थियो तर, पछिल्लो समय तापक्रम बढ्दै गएकाले असोज अन्तिम सातादेखि नै धान काट्न थालिन्छ । सो धान पाक्न सात महिना लाग्छ । मार्सी धान विभिन्न रोगको औषधिका रूपमा पनि प्रयोग गरिन्छ ।

यसको महत्त्व दिन प्रतिदिन बढ्दै गए पनि उत्पादन वृद्धिका लागि खेतीको विस्तार भने हुन सकिरहेको छैन । मार्सीको रातो भातको खिर निकै स्वादिलो हुन्छ ।

पछिल्लो समय मार्सी लोपोन्मुख हुने अवस्थामा आएपछि जुम्लामा कृषि अनुसन्धान केन्द्र नै राखेर उक्त केन्द्रले मार्सीकै विभिन्न ग्रेडको धान उत्पादन गरिरहेको छ । इतिहासका खोजकर्ता एवम् जुम्ला नराकोटका शिक्षक डिल्ली तिवारी भन्छन्, ‘वास्तवमा पुरानो लोकल धानको बिउ हराएको छ, पुरानो धानको बिउमा ब्लास्ट रोग लाग्यो भनेर अनुसन्धान केन्द्रले नयाँ तरिकाले उत्पादन गरेर बिउ दिइरहेको छ ।’

मार्सीको इतिहास र विभिन्न जनविश्वास

दुर्लभ जुम्ली मार्सी धान संसारमै सबैभन्दा बढी उचाइ अर्थात् समुद्र सतहबाट करिब २७ सय ९० मिटर उचाइमा उत्पादन हुन्छ । १०९८ सालदेखि चन्दननाथ बाबाले जुम्ला तातोपानीको लाछु ज्युलोमा जुम्ली मार्सी धानको बिउ राखेको किम्वदन्ती छ । बिउको परीक्षणपछि १११२ सालदेखि जुम्लामा काली मार्सी धान खेती गर्न सुरु गरेको बुझिन्छ ।

सुरुमा जुम्लामा कुनै पनि धान नपाकेपछि बाबा चन्दननाथले काश्मिरबाट धानको बिउ ल्याएर सुरुमा लाछु ज्युलोमा रोपेको र पछि बिस्तारै धान खेतीको विस्तार भएको कतिपयको भनाइ छ । तर, अनुसन्धानदाता डिल्ली तिवारी भन्छन्, ‘कश्मिरबाट कैलाश भ्रमणका लागि आएका बाबाले धानको बिउ लिएर जुम्लाको बाटो हुँदै आए, उनी सुनार गाउँमा बसे ।

अनि त्यो बेलाका कल्याल ठकुरी बलिराजाले उनलाई खलंगा बजार नजिकै कुटी बनाइ बसाले । र, चन्दनाथ बाबा त्यहीँ बसे । कश्मिरको र यहाँको यहाँको मौसम मिल्यो । यो बिउ हुन्छ कि हुँदैन भनेर लाछु ज्यूलोको एक खेतमा बिउ उमारे । त्यो बिउ सफल भएपछि प्रचार गरियो भन्ने छ ।’

योगी नरहरिनाथले बलिराजाको पालादेखि जुम्लामा मार्सी धानको खेती सुरु भएको उल्लेख गरेका छन् । बलिराजाको समय भनेको १४ सयपछि भएको तिवारी बताउँछन् । चन्दनाथ बाबाले कश्मिरबाट धान ल्याएको हुनाले अहिले पनि चन्दानाथ, भैरवनाथलाई नयाँ धान १/१ पाथी उठाउने (भाग छुट्याई) चलन छ । त्यसपछि मात्रै मान्छेले खाने गरिन्छ ।

लाछुपछि उच्च स्थान छुमचौर र हाकुमा मार्सी धान उत्पादन गर्न थालिएको थियो । माइनस ४ डिग्री सेल्सियस तापक्रमसम्म उमार शक्ति भएको यो मार्सी धान ज्यापोनिका प्रजातिको स्थानीय रैथाने जातभित्र पर्दछ । लाछु लगायतका ज्युलोमा उत्पादन थालेपछि मुगु, डोल्पा हुँदै बिस्तारै चामलका रुपमा सबैतिर प्रचार भएको तिवारी बताउँछन् ।

मार्सीको महत्त्व निकै भए पनि यसको उत्पादनमा वृद्धि हुन नसकेको सरोकारवाला बताउँछन् । अहिले मार्सीको उत्पादनले बजारको माग पूरा हुन सकेको छैन । ‘अहिलेको समयमा सम्भावना बोकेको धान नै मार्सी हो,’ तिवारी भन्छन्, ‘एक पाथी धान (२ केजी) को मूल्य घरमै १४० रुपैयाँ पर्छ । त्यो भएकाले कृषि पेसामा निर्भर किसानका लागि आर्थिक रुपमा पनि सबल बनाउन सक्छ । अहिले धेरै मान्छे बाहिर जाने प्रवृत्तिले उत्पादनमा कमी आए पनि गाउँमै बसेर धान फलाइरहेकाहरुले अहिले धान बेचेर लाखौँ पैसा कमाइरहेका छन् ।’

कर्णाली सरकारका भूमि, व्यवस्था कृषि तथा सहकारी मन्त्री भीमप्रकाश शर्मा मार्सीको संरक्षण, उत्पादन वृद्धिसँगै बजार र बजारीकरणका लागि सरकार प्रतिबद्ध रहेको बताए ।

चैत १२ गतेलाई जुम्लाको परम्परागत चलनअनुसार ‘बारुवा’ गरिन्छ । अहिले मान्छे विभिन्न पेसामा जोडिएर देश विदेश छन् । तर, त्यो बेलाको समयमा सबै मान्छे कृषिमा निर्भर थिए । त्यो बेलाको पेसा भनेकै धान खेती थियो । हिउँदको समयमा केही काम परी घर बाहिर गए पनि धानको बिउ राख्ने दिनमा जुम्ली घर नआए ऊ मरिसक्यो भन्ने बुझ्नु पर्ने जनश्रुति थियो ।

तिवारीका अनुसार त्यसलाई ‘चैताबारुवाँ’ भन्ने गरिन्छ । ‘चैताबारुवाँ घर आएन भने जुम्ली म¥यो भनि जान्नु’ भन्ने कथन दुई दशक अघिसम्म पनि चलनमै थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पंखबहादुर शाही
पंखबहादुर शाही
लेखकबाट थप