आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय
राजनीति

मधेस प्रदेशमा जसपा र लोसपाबिच कस्तो छ सम्बन्ध ?

बिहीबार, १५ चैत २०८०, २१ : ०६
बिहीबार, १५ चैत २०८०

काठमाडौँ । केन्द्रमा विपक्षी कित्तामा रहेको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले मधेस प्रदेशमा जनता समाजवादी पार्टी (जसपा) नेतृत्वको सरकारलाई समर्थन कायमै राखेको छ । केन्द्रकै गठबन्धन अनुसार मधेसमा जसपाको नेतृत्वमा सरकार छ ।

नयाँ गठबन्धन बनेपछि मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले लोसपाका अध्यक्ष महन्थ ठाकुरलाई भेटेर समर्थन मागेका थिए । जवाफमा अध्यक्ष ठाकुरले ‘पहिला जस्तो थियो, त्यस्तै रहन्छ’ भनेका थिए ।

तर त्यो कहिलेसम्म रहने कुन अवस्थामा रहने भन्ने उनले खुलाएका थिएनन् । लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलले भने, ‘पार्टीबाट नयाँ निर्णय नआएसम्म मधेस प्रदेश सरकारसँग जस्तो सम्बन्ध छ, त्यो कायम रहन्छ ।’

पार्टीले मधेस सरकारको बारेमा हालसम्म कुनै नयाँ निर्णय नगरेको बताउँदै उनले लोसपा सरकारमा सहभागी रहेको र त्यसबाहेक जसपासँग अरू कुनै सम्बन्ध नरहेको प्रस्ट पारे ।

जसपासँग गठबन्धन बनाउने वा सहकार्य गर्ने भन्नेबारे हालसम्म लोसपाले कुनै निर्णय नगरेको र अहिलेको अवस्थामा कुनै सहकार्य वा गठबन्धन बन्ने सम्भावना पनि नदेखिएको उनले बताए ।

लोसपा अहिलेको सत्ता गठबन्धनको विपक्षमा छ, तर मधेस प्रदेशमा के गर्ने भन्ने बारेमा कुनै निर्णय नभएको सोनल बताउँछन् । यसबारे चाँडै नै कुनै निर्णय आउने उनले बताए ।

जसपाका प्रवक्ता समेत रहेका मधेस प्रदेश सभा सदस्य मनिष सुमनले सरकारको मामलामा जसपा निकै उदार रहेको बताए । ‘सरकारमा रहेका कुनै पनि दललाई आजसम्म हटाएका छैनौँ । जो आफैँ छाडेर गएका छन्, त्यसलाई हामीले रोकेका पनि छैनौँ, जसले छाडेका छैनन्, तिनलाई हामीले हटाएका पनि छैनौँ ।’

सरकारलाई समर्थन दिएका कुनै पनि दललाई सरकारबाट नहटाउने बताउँदै उनले यसअघि सरकार छाडेका कांग्रेस, जनमतलाई पनि मुख्यमन्त्रीले नहटाएको बरु उनीहरूले नै आफैँ राजीनामा दिएर हिँडेको प्रस्ट पारे ।

लोसपाका अध्यक्ष ठाकुरले नै समर्थन कायम रहने भनेपछि लोसपाका मन्त्रीलाई हटाउने कुरा नै नआउने उनको भनाइ छ । यद्यपि मन्त्री आफैँले छाडेर गएपछि त्यसलाई नरोक्ने बताए । उनले भने, ‘लोसपाका मन्त्रीलाई हटाउँदैनौँ, आफैँ छाडेर जानु भयो भने त्यो बेग्लै कुरा ।’

जसपा नेतृत्वको सरकारलाई लोसपाले समर्थन कायम राख्नुका अतिरिक्त थप सम्बन्ध त्यो दलसँग नरहेको बताउँदै उनले लोसपाले चाहेसम्म सरकारमा सहकार्य कायम रहने जानकारी दिए ।

कांग्रेस–माओवादी गठबन्धनको बेला जसपा नेतृत्वको सरकारमा लोसपाले एक जना मन्त्री पठाएको थियो । त्यतिबेलाको गठबन्धनमा लोसपा पनि थियो । अहिले एमाले–माओवादीसहित पाँच दलको गठबन्धन बनेको छ । यो गठबन्धनले पनि मधेस प्रदेशमा जसपालाई सरकारको नेतृत्व दिएको छ । मधेस सरकारमा सत्ता गठबन्धनका चार दल र गठबन्धन बाहिरका लोसपासहित पाँच दल छन् ।

सत्ता गठबन्धनको सरकारलाई समर्थन किन त भन्ने प्रश्नमा मधेस प्रदेश सभाका लोसपा संसदीय दलका उपनेता उपेन्द्र महतोले भने, ‘मुख्यमन्त्रीले नहटाएका कारण नहटेका हौँ, पार्टीले थप निर्णय गर्न बाँकी नै छ ।’

जसपा नेतृत्वको सरकारलाई समर्थनभन्दा पनि विगतको गठबन्धनको आधारमा सरकारमा सहभागी भएको र त्यसलाई हालसम्म निरन्तरता मात्र दिएको उनको भनाइ छ ।

१०७ सदस्यीय मधेस प्रदेश सभामा पहिलो पार्टी बनेको एमालेको २३ सिट  दोस्रो दल कांग्रेसको २२ सिट र तेस्रो दल बनेको जसपाको १९ सिट छ । यस्तै जनमतको १३ सिट, लोसपाको ९ सिट, माओवादी केन्द्रको ८ र नेकपा एकीकृत समाजवादीको सात सिट छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप