आइतबार, ३० वैशाख २०८१
ताजा लोकप्रिय
आईपीएलमा आज

अहमदाबादमा पहिलोपटक भिड्दै गुजरात र बैंगलुरु

आइतबार, १६ वैशाख २०८१, १० : ५०
आइतबार, १६ वैशाख २०८१

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको १७ औँ संस्करणमा आइतबार दुई खेल हुँदैछ । पहिलो खेल गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच खेलिने छ । उक्त खेल अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा दिउँसो ३ः ४५ बजे सुरु हुनेछ ।

प्रतियोगिताको दोस्रो खेल चेन्नई सुपर किङ्स र सनराइजर्स हैदराबादबिच खेलिने छ । उक्त खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा राति ७ः ४५ बजे सुरु हुनेछ । गुजरात र बैंगलुरुबिचको खेल जारी आईपीएलको ४५ औँ खेल हो । 

जारी सिजनको आईपीएलमा गुजरात र बैंगलुरुले खेल्न लागेको यो १० औँ खेल हो । यो आईपीएलमा यी दुबै टोलीको प्रदर्शन सन्तोषजनक देखिँदैन । गुजरातले यसअघि खेलिएको नौमध्ये चार खेलमा जित र पाँच खेलमा हारको नतिजा निकालेको छ । गुजरात आठ अंकसहित तालिकाको सातौँ स्थानमा छ ।

यसैगरी बैंगलुरुले यसअघि खेलिएको नौमध्ये दुई खेलमा मात्र जित हात पार्न सकेको छ । बाँकी सात खेलमा भने बैंगलुरु पराजित भएको छ । बैंगलुरु चार अंकसहित तालिकामा सबैभन्दा तल अर्थात १० औँ स्थानमा छ । 
००
हेड टु हेडमा गुजरात अगाडि

इन्डियन प्रिमियर लिगमा गुजरात टाइटन्स र रोयल च्यालेन्जर्स बैंगलुरुबिच हालसम्म कुल तीन खेल खेलिएको छ । त्यसमध्ये दुई खेलमा गुजरातले बैंगलुरुलाई हराएको छ । बाँकी एक खेलमा भने बैंगलुरुले गुजरातलाई पराजित गरेको छ । अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियममा भने यी दुई टोलीबिच पहिलो पटक भिडन्त हुन लागेको हो । 
००
गुजरातको सर्वाधिक रन साई सुदर्शनको नाममा
जारी सिजनको आईपीएलमा गुजरात टाइटन्सका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान साई सदुर्शन हुन् । उनले टोलीका लागि नौ खेलमा कुल तीन सय ३४ रन बनाइसकेका छन् । टोलीका लागि सर्वाधिक विकेट लिने बलर भने मोहित शर्मा हुन् । उनले हालसम्म १० विकेट लिएका छन् ।
००
लयमा छन् बैंगलुरुका विराट
आईपीएलको १७ औँ संस्करणमा रोयल च्यालेन्जर्स बैंगलुरुका लागि सर्वाधिक रन बनाउने ब्याट्सम्यान विराट कोहली हुन् । उनी जारी सिजनको आईपीएलमा सबैभन्दा बढी रन बनाउने खेलाडी पनि हुन् । लयमा देखिएको विराटले हालसम्म नौ खेल खेल्दै कुल चार सय ३० रन बनाएका छन् । यस क्रममा उनले एक शतक र तीन अर्धशतक पनि प्रहार गरेका छन् । बैंगलुरुका लागि सर्वाधिक विकेट लिने बलर भने यश दयाल हुन् । उनले आठ विकेट लिइसकेका छन् ।
००
ब्याट्सम्यानलाई साथ दिने पिच

बैंगलुरु र गुजराबिच आइतबारको पहिलो खेल हुने अहमादाबादस्थित नरेन्द्र मोदी स्टेडियमको पिच खासगरी ब्याट्सम्यानलाई साथ दिने प्रकृतिको छ । यो स्टेडियममा हालसम्म आईपीएलको कुल ३१ खेल खेलिएको छ । 
त्यसमध्ये १४ खेलमा पहिलो ब्याटिङ गर्ने टोली र १७ खेलमा दोस्रो जवाफी ब्याटिङ गर्ने टोली विजयी भएका छन् । यो स्टेडियममा हालस्म्म बनेको उच्च स्कोर तीन विकेट गुमाएर दुई सय ३३ रन हो । उक्त स्कोर अघिल्लो सिजनको आईपीएलमा मुम्बई इन्डियन्सविरुद्ध गुजरातले बनाएको थियो । 
००
चर्को गर्मीबिच खेल
गुजरात र बैंगलुरुबिच खेल हुने दिन आइतबार अहमादावादमा चर्को गर्मी हुनेछ । आइतबार अहमादाबादको तापक्रम २८ देखि ४० डिग्री सेल्सियसको बिचमा रहने जल तथा मौसम विज्ञान विभागले जनाएको छ । आइतबार अहमादाबादमा वर्षाको कुनै सम्भावना नरहेको बताइएको छ ।
००
सम्भावित टोली 
गुजरात टाइटन्स : शुभमन गिल (कप्तान), ऋद्धिमान साह (विकेटकिपर), डेभिड मिल्लर, अजमतुल्लाह ओमरजाई, राहुल तेवतिया, शाहरुख खान, राशिद खान, साई किशोर, नुर अहमद, मोहित शर्मा र सन्दीप वारियर्स । इम्प्याक्ट प्लेयर : साई सुदर्शन ।

रोयल च्यालेन्जर्स बैंगलुरु : फाफ डु प्लेसिस (कप्तान), विराट कोहली, रजत पाटिदार, विल ज्याक्स, क्यामरुन ग्रिन, दिनेश कार्तिक (विकेटकिपर), महिपाल लोमरोर, कर्ण शर्मा, लोकी फर्गुसन, मोहम्मद सिराज र यश दयाल । इम्प्याक्ट प्लेयर : स्वप्निल सिंह ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप