मङ्गलबार, १८ वैशाख २०८१
ताजा लोकप्रिय
कोशी प्रदेश

मुख्यमन्त्रीलाई ‘बर्खास्त’ गर्न खोजिएको हो ?

प्रदेश प्रमुखले बर्खास्त गर्नु हिजो राजाले अधिकार प्रयोग गरेको जस्तो हुन्छ, त्यसो गर्नुहुँदैन : राजेन्द्र राई
आइतबार, १८ चैत २०८०, ०७ : ००
आइतबार, १८ चैत २०८०

विराटनगर । केन्द्रमा नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशमा पनि नयाँ सरकार गठनको कसरत भइरहेको छ । यो कामको नेतृत्व नेकपा (एमाले)ले गरिरहेको छ । यद्यपि अहिलेसम्म कोशी प्रदेशमा कुन पार्टीको नेतृत्वमा सरकार बनाउने, उपधारा (५) अनुसार बनेको सरकार विस्थापित कसरी र कुन प्रक्रियाबाट गर्ने भन्ने विषयको टुङ्गो भने लागेको छैन । 

तर, केन्द्रीय सत्ता गठबन्धन दलमै आबद्ध नेकपा (एकीकृत समाजवादी)का नेता राजेन्द्रकुमार राईले भने मुख्यमन्त्रीलाई प्रदेश प्रमुखमार्फत बर्खास्त गर्ने तयारी भइरहेको दाबी गरेका छन् । ‘यो उपधारा ५ बाट बनेको सरकारले विश्वासको मत लिने व्यवस्था नै छैन । त्यसकारण अहिलेको मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्ने बाध्यता छैन । त्यस्तो अवस्थामा के गर्ने भन्ने विषय भनेको अदालत नै जाने हो,’ राईले भने, ‘उहाँहरूको (एमालेको) कुरा चाहिँ प्रदेश प्रमुखलाई बहुमतले लेखेर दिएपछि एक महिनासम्म पर्खेर प्रदेश प्रमुखले मुख्यमन्त्री हटाउने र अर्को मुख्यमन्त्री नियुक्ति गर्ने भन्ने कुरा छ । संविधानमा त्यो व्यवस्था छैन । सर्वोच्चको फैसलामा पनि त्यो व्यवस्था छैन । प्रदेश प्रमुखले त्यो गर्नुभयो भने त्यो कार्यकारी अधिकार हिजो राजाले प्रयोग गरेको अधिकार जस्तो हुन्छ । त्यो गर्नुहुँदैन भन्ने मेरो भनाइ छ ।’

उनले बहुमतले लेखेर दिएपछि प्रदेश प्रमुखले हटाएर नयाँ मुख्यमन्त्री नियुक्ति गर्नुपर्छ भन्ने धारणा एमालेको रहेको दाबी गरे । ‘मेरो हिसाबले त्यो मिल्दैन भन्ने हो । सांसदबाट अल्पमतमा परिसकेपछि सांसदबाटै प्रक्रिया सङ्गत ढङ्गले प्रदेश प्रमुखलाई जानकारी आएपछि वा प्रदेश प्रमुखले आव्हान गरेपछि बहुमत पक्षले दाबी गरेपछि मुख्यमन्त्री नियुक्ति गर्ने बाहेकको अधिकार म देख्दिन,’ राईले भने । 

त्यसबाहेक वर्तमान सरकार हटाउनका लागि बहुमत पक्षले विशेष अधिवेशन बोलाउने, हिजो समर्थन गर्ने सांसदहरूले हस्ताक्षर गरेर फिर्ता लिने, राजीनामा माग्ने, संसद्मा पेस गर्ने र प्रदेश प्रमुखलाई दिने, विशेष अधिवेशन आव्हान गर्न लगाएर त्यसमा दर्ता गर्ने लगायतका सबै काम हुने पनि राईले बताए । तर, त्यसका बाबजुद पनि उपधारा ५ बाट बनेको सरकारले दोस्रो पटक विश्वासको मत लिनेबारे उल्लेख नभएको उनको दाबी छ ।

यही कुरा बुझेर केही दिन अगाडि मुख्यमन्त्री केदार कार्कीले आफूलाई जबरजस्ती गरे रुक्माङ्गत कटुवाल काण्ड दोहोरिने चेतावनी दिएका थिए । ‘यो सरकार विरुद्ध बलजफती गर्ने र संविधानविपरित केही गर्न खोजिए तत्कालीन प्रधानसेनापति रूक्मांगद कटुबालको घटना दोहोरिने छ,’ मुख्यमन्त्री कार्कीको चेतावनी थियो । 

उनले दिएको चेतावनीको सोझो अर्थ प्रदेश प्रमुख पर्शुराम खापुङ लक्षित रहेको मुख्यमन्त्री निकट स्रोतले बतायो । ‘मुख्यमन्त्रीलाई बर्खास्त गर्ने व्यवस्था संविधानमा छैन । बर्खास्त गरेको मुख्यमन्त्री राष्ट्रपतिबाट थमौती लिएर आए के हुन्छ ?,’ उक्त स्रोतको  भनाइ छ । 

उता कोशी प्रदेश एमाले संसदीय दलका नेता तथा पूर्व मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशको सरकार एक महिनाभित्र स्वतः परिवर्तन हुने बताउँछन् । त्यसका लागि केन्द्रबाट भागबन्डाको टुङ्गो लागेपछि पहल अगाडि बढ्ने उनको भनाइ छ । माओवादी संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले भने सरकार फेरबदलका लागि अहिले हतार नगर्ने बताउँदै आएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अर्जुन आचार्य
अर्जुन आचार्य
लेखकबाट थप