सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय
जसपा प्रथम महाधिवेशन

प्रथम महाधिवेशनको तयारीमा जसपा, १७ वर्षदेखि नेतृत्वमा रहँदै आएका उपेन्द्र यादवले टार्लान् महाधिवेशन ?

आइतबार, १८ चैत २०८०, १८ : ३०
आइतबार, १८ चैत २०८०

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपाल यतिखेर पार्टीको प्रथम महाधिवेशनको तयारीमा जुटेको छ । जसपाले मधेस प्रदेशको जनकपुरमा जेठ २८ गतेदेखि प्रथम महाधिवेशन गर्ने भएको हो ।

जसपाका नेताहरू महाधिवेशनको तयारीमा जुटेका छन् । अध्यक्ष उपेन्द्र यादवले पार्टीको नेतृत्व सम्हालेको १७ वर्षपछि बल्ल महाधिवेशन सामना गर्न थालेका छन् । २०६३ मा पार्टीको रूपमा दर्ता भएको मधेसी जनअधिकार फोरम विभिन्न पार्टीसँग एकतापछि नाम परिवर्तन हुँदै जनता समाजवादी पार्टीसम्म आइपुगेको हो ।

२०६३ मा गठन भएको मधेसी जनअधिकार फोरम नेपालको एउटा महाधिवेशन मात्र भएको छ । तर त्यो महाधिवेशनलाई पनि जसपाले गणना गर्दैन । त्यसैले जेठमा हुन गइरहेको महाधिवेशनलाई जसपाले प्रथम महाधिवेशन भनेको छ ।

जसपा नेपालका कार्यकारिणी समिति सदस्य एवं पार्टीका प्रवक्ता मनिष सुमनले भने, ‘मधेसी जनअधिकार फोरम नेपालको एउटा महाधिवेशन भएको थियो, त्यसपछि विभिन्न पार्टीसँग एकीकरण गर्दै नयाँ पार्टी बन्दै यो अवस्थामा आएका कारण अब हुने महाधिवेशन जसपाको प्रथम महाधिवेशन हो ।’

फोरमको उदय

madhesi forom

२०५४ सालमा उपेन्द्र यादवको नेतृत्वमा सामाजिक संस्थाको रूपमा मधेसी जनअधिकार फोरम गठन भएको थियो । पछि त्यही फोरमलाई २०६३ मा पार्टी बनाइयो । मधेसी जनअधिकार फोरम नेपाल पार्टीको रूपमा आएपछि २०६५ मा पहिलो महाधिवेशन भएको थियो ।

त्यस यता महाधिवेशन भएको छैन । मधेसी जनअधिकार फोरमबाट सङ्घीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टी हुँदै जसपा नेपाल बन्यो तर हालसम्म न महाधिवेशन भएको छ नत नेतृत्व फेरिएको छ ।

१७ वर्षअघि पार्टीका रूपमा स्थापित मधेसी जनअधिकार फोरम नै जसपा नेपालको मूल हाँगा हो । यो बिचमा विभिन्न दलसँग एकीकरण गरेर जसपा बनेको हो । पार्टी एकीकरणकै नाममा अध्यक्ष यादवले महाधिवेशन टार्दै आए । जति पटक पार्टी एकीकरण भयो, एकता महाधिवेशन गर्ने भनेर पटकपटक मिति तय भयो । तर तोकिएको मितिमा कहिल्यै महाधिवेशन भएन ।

२०६५ मा भएको पहिलो महाधिवेशनपछि मधेसी जनअधिकार फोरमको महाधिवेशन गर्ने चर्चा हुन्थ्यो । तर बिचमै पार्टी विभाजन हुन्थ्यो । पार्टी विभाजन हुँदा महाधिवेशनको चर्चा सेलाउँथ्यो । त्यसपछि विजयकुमार गच्छदार र जेपी गुप्ताले पार्टी विभाजन गरेका थिए । त्यसले गर्दा तोकिएको समयमा महाधिवेशन हुन सकेको थिएन ।

जसपाका प्रवक्ता सुमनले भने, ‘पार्टीसँग एकीकरण हुँदा हरेक सम्झौतामा एक वर्षभित्र एकता महाधिवेशन गर्ने उल्लेख हुन्थ्यो, त्यो महाधिवेशन गर्ने दिन आउँदा आउँदै फेरि अर्को कुनै पार्टीसँग एकीकरण हुन्थ्यो । यसरी एकीकरणको सिलसिलामा पार्टी अगाडि बढ्दै गयो ।’

एकीकरणमै टर्‍यो महाधिवेशन

२०७२ जेठ २२ गते तत्कालीन मधेसी जनअधिकार फोरम नेपाल र अशोक राई नेतृत्वको सङ्घीय समाजवादी पार्टी नेपालबिच एकीकरण भई सङ्घीय समाजवादी फोरम नेपाल बनेको थियो ।

त्यो एकीकरणपछि पार्टीले २०७५ माघ २८ गतेदेखि ३० गतेसम्म जनकपुरमा एकता महाधिवेशन गर्ने निर्णय गरेको थियो तर तोकिएको समयमा महाधिवेशन हुन सकेन । त्यसपछि अर्को मिति २०७६ वैशाखका लागि तय गर्यो । तर वैशाख २३ गते डा.बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्तिसँग एकीकरण भयो ।

samajbadi

नयाँ शक्तिसँग एकीकरण भएपछि पार्टीको नाम समाजवादी पार्टी नेपाल राखियो । त्यसपछि समाजवादी पार्टी नेपालको पनि एकता महाधिवेशन गर्ने भनी २०७६ माघमा महाधिवेशन गर्ने निर्णय गरिएको थियो । त्यो महाधिवेशनको तयारी चलिरहेकै बेला २०७७ वैशाख १० गते तत्कालीन समाजवादी पार्टी नेपाल र राष्ट्रिय जनता पार्टी नेपालबिच एकीकरण भयो ।

दुई पार्टीबिच एकीकरण गरेर जनता समाजवादी पार्टी नेपाल बनाइयो । सो पार्टीको अध्यक्षमा उपेन्द्र यादव र महन्थ ठाकुर थिए । पार्टी एकीकरणपछि बनेको विधानमा पाँच वर्षमा एकता महाधिवेशन गर्ने उल्लेख थियो । तर महाधिवेशनको चर्चा नहुँदै अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरबिच खटपट सुरु भयो र पार्टी विभाजन भयो ।

महन्थ ठाकुरले जसपाबाट अलग भएर २०७८ मा भदौमा लोकतान्त्रिक समाजवादी पार्टी नेपाल गठन गरे भने उपेन्द्र यादव जसपा नेपालको अध्यक्ष भएर बसे । पार्टीको विधानमा पाँच वर्षभित्र महाधिवेशन गर्ने उल्लेख छ । सोही विधान अनुसार पार्टीको महाधिवेशन गर्न लागेको हो ।

जसपाका एक जना कार्यकारिणी समिति सदस्यले भने, ‘महाधिवेशनको तयारी चलिरहेको छ, उपेन्द्र यादव आफूलाई असुरक्षित देखेपछि पुनः कुनै सानातिना पार्टीसँग एकीकरण गरेर महाधिवेशन सार्न बेर लगाउने छैनन् ।’

विभिन्न पार्टीसँग एकताका लागि जसपाका वरिष्ठ नेता राजेन्द्र श्रेष्ठको नेतृत्वमा कार्यदल बनेको छ । एकताका लागि विभिन्न दलसँग प्रयास अझै जारी छ ।  

उपेन्द्र यादवको प्रभाव

२०६३ देखि मधेसी जनअधिकार फोरम नेपाल पार्टीका रूपमा आएदेखि उनले पार्टीमा हालसम्म आफ्नो प्रभाव कायम राखेका छन् । जसलाई उनले आफ्नो लागि खतरा ठान्छन्, उसलाई किनारा लगाएको थुप्रै उदाहरण छन् । उनीसँग आएका विजयकुमार गच्छदार, जेपी गुप्ता, शरतसिंह भण्डारी, महन्थ ठाकुर, राजेन्द्र महतो, अनिलकुमार झा, महिन्द्र राय यादव, डा.बाबुराम भट्टराई, सरिता गिरीलगायतका नेता कोही टिकेनन् ।

राजनीतिमा उपेन्द्र यादवभन्दा अशोक राई निकै सिनियर नेता हुन् तर उनीसँग एकीकरण गर्दा राईलाई वरिष्ठ नेतामै थन्क्याएर राखे । डा.बाबुराम भट्टराई पनि उपेन्द्र यादवभन्दा सिनियर नेता हुन् । डा.बाबुराम भट्टराई माओवादीमा हुँदा उपेन्द्र यादव सामान्य कार्यकर्ता थिए । डा.बाबुराम भट्टराई प्रधानमन्त्री पनि भइसकेका छन् ।

तर उनीसँग पनि एकीकरण गर्दा उपेन्द्र यादवले सङ्घीय परिषद्को अध्यक्षमा सीमित राखेका थिए । पछि अध्यक्ष बन्न खोज्दा उपेन्द्र यादवले बाबुरामलाई पार्टीबाट बाहिरिन बाध्य बनाएका थिए । महन्थ ठाकुरभन्दा उपेन्द्र यादव निकै जुनियर नेता हुन् तर पार्टी एकीकरण गर्दा अध्यक्ष स्वीकार गर्न सकेनन् ।

दुई जना अध्यक्ष रहे पनि पछि उपेन्द्र यादवले आफूमाथि खतरा महसुस गर्नासाथ महन्थ ठाकुरलाई पार्टीबाट अलग गराए । जसपाकै कतिपय नेताले उदाहरण दिने गरेका छन्, ‘पार्टीमा उपेन्द्र यादवको विकल्प खोज्ने नेता कोही पनि छैनन् ।’

उपेन्द्र यादवले आफ्नो स्वार्थका लागि सांसद रहेका रामसहाय यादवलाई उपराष्ट्रपति बनाएर साइड लगाए । पार्टीमा अशोक राई, राजेन्द्र श्रेष्ठ, राजकिशोर यादव, रेणु यादव, मृगेन्द्रकुमार सिंह, नवलकिशोर साहलगायतका नेता पनि छन् । तर उपेन्द्र यादवको विकल्प खोज्ने कोही पनि आँट गर्दैनन् । जेठमा हुन लागेको महाधिवेशनमा पनि उपेन्द्र यादवको विकल्प खोज्ने कोही देखिएको छैन । 

उपेन्द्र यादवले आफूलाई पार्टीको नेतृत्वमा राख्नका लागि महाधिवेशन टार्दै जानुका साथै जो जसले अध्यक्षको लागि दाबी गरे, उसलाई पार्टीबाटै कारबाही गरेर निकाल्ने गरेको थुप्रै उदाहरण छन् ।

जसपा नेपालको अन्तरिम विधानमा ‘महाधिवेशन प्रत्येक ५ वर्षमा हुनेछ तर विशेष कारणवस् तोकिएको समयमा हुन नसकेमा अधिकतम ६ महिनासम्म थप गर्न सकिनेछ’ भनिएको छ । यो व्यवस्था मधेसी जनअधिकार फोरम, सङ्घीय समाजवादी फोरम नेपाल, समाजवादी पार्टीसम्मको विधानमा उल्लेख हुँदै आएको थियो । कुनैमा पाँच वर्ष कुनैमा तीन वर्षभित्र महाधिवेशन गर्ने उल्लेख थियो । महाधिवेशन हुने समय नजिकिँदै जाँदा पार्टीसँग एकीकरण गर्दै जोगिँदै उपेन्द्र यादवले आफैँसँग नेतृत्व राख्न सफल हुँदै आएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप