शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारभित्र देखिएको ‘समाजवाद’

शुक्रबार, ३० चैत २०८०, १५ : १२

एक दिन म एउटा काम विशेषले सिंहदरबार पुगेको थिएँ । मैले पहिला पहिला यसको नाम किन सिंहदरबार राखे होलान् भन्ने लागेको थियो । अहिले त्यो आशङ्का मेटिएको छ । त्यो दरबार मात्र सिंह जस्तो नभएर त्यहाँ बस्ने हरेक प्राणी सिंह जस्तै हुँदा रहेछन् । जसरी एउटा सिंह आफ्नो आहार खोज्न दिनभर जङ्गलमा भौँतारिन्छ ठिक त्यसरी नै सिंह दरबारका ती सिंहहरू पनि शेर बनेर बिचौलिया मार्फत आफ्नो आहारको खोजी गर्न व्यस्त हुँदा रहेछन् । हुन त म आफै सदनमा हुँदा होस् वा संसद्को सार्वजनिक लेखा समितिको सभापति हुँदा होस् त्यति बेला पनि मैले यिनै कुराहरूको अनुभूति गरिरहन्थे । तर यो पटक गहिरोसँग सिंहदरबारको अनौठो समाजवादसँग भिज्ने मौका पाएँ ।  करिब चार घण्टाको बसाइमा मैले हामी राजनीतिकर्मीहरुको त्याग, बलिदान र योगदानको स्मरण गर्ने जमर्को गरेँ । यहाँ मैले आफूले अनुभूति गरेका विषयहरू पार्टी निर्माणमा सहयोगी हुनेछन् भनेर नै शेयर गर्ने जमर्को गरेको छु।

समाजवाद भनेको कुनै अमूर्त कल्पना होइन । समाजवाद त सयौँ वर्ष देखिको एकीकृत सामन्ती व्यवस्थाका विरुद समानता र समावेशीकरणको आधारमा मुलुक र जनताको जीवन शैलीलाई उकास्ने , उत्पादन र वितरणमा सामूहिक स्वामित्व सिर्जना गर्ने अहिले सम्मकै वैज्ञानिक राजनैतिक आर्थिक प्रणाली हो । मुलुकको समृद्धि भौतिक विकासमा मात्र होइन,जनताको जीवन स्तरमा समेत मापन गरिन्छ । व्यवस्था परिवर्तनले गरिबी र अझ गरिबीको रेखामुनि रहेका जनतालाई माथि उकास्ने र मुलुकमा रोजगार सिर्जना गरेर ‘राष्ट्र निर्माणमा मेरो रोजगारी’ भने भाव पैदा गर्ने नीति र कार्यक्रम आजको पहिलो आवश्यकता हो । दिनभरि बिचौलिया भेटघाट गरेर आफूलाई व्यस्त राख्ने,स्वार्थ केन्द्रित कर्मचारीका पुरातन पर्खाल तोड्न नसक्ने,बाह्य दातृ राष्ट्रहरुको अनुदानमा रमाएर मुलुकको हित बिर्सने गरी गरिएको गतिविधिलाई समाजवाद भनिँदैन । फ्री भिसा फ्री टिकट भन्ने नाममा युवाहरूलाई बिदेसिन प्रोत्साहन गर्ने ,वंशका उत्तराधिकारी र गुटको समीकरणलाई पार्टी ठान्ने, कुनै पनि कुरा संस्थागत नगर्ने,पार्टीलाई गरिब बनाएर आफू मात्र धनी हुने विचार र प्रवृत्तिलाई पनि समाजवाद भनिँदैन । 

   हो, सिंहदरबारमा यही समाजवाद छ । सुशासन र समृद्धि लागि सम्माननीय प्रधानमन्त्रीको बढ्दो सक्रियता,चासो र चिन्ता अनि जनताको पक्षमा काम गर्न दिएको कासनले पनि सिंहदरबार के मा झुमिरहेको छ ? जनताको चासो यही कुरामा बढी रहेको देखिन्छ । हुन त केही मान्छेहरू अनावश्यक काम लिएर दुःख दिन पनि जान्छन् होला ! कार्यकर्ता पनि बजेट माग्ने त्यही बजेट फेरी अर्कोलाई बेच्ने,योजना पनि  बेच्ने र राजधानीलाई रङ्गिन बनाउनेहरू पनि छन् होला ! तिनीहरूबाट नै तपाईँहरूको घर पनि चलेको होला ! तर मूल नीति नै विजय मल्लको ‘अन्तिम भोज’मा रमाए जस्तै गरी अरूलाई सुन्न ,बुझ्न नसक्नुले सिंहदरबार भित्रको ‘समाजवाद’ भनेर किन नभन्ने ? सुनदेखि सहकारीसम्म ,शरणार्थी काण्ड देखि फाइबर सम्मका  आरोपितहरू वास्तविक समाजवादका धमिराहरु हुन् । यिनीहरूको काम आसेपासेहरू थुपारेर सिंहदरबारमा गोलो लगाउने मात्र हो भनेर जनताले किन नबुझ्ने ?  चरित्र,कार्यशैली र बदनियत नबदली सिंहदरबार भित्रको त्यो फोहर सफा गर्न सकिँदैन है । 

   राजनैतिक दलहरू बिचौलिया र दलालहरूको आश्रय स्थल होइनन् ।  दलहरूले सरकारमा हुँदा आफ्नो घोषणापत्र अनुसार र दलभित्र आफ्नो विधान अनुसार चल्न सक्नु पर्छ । पार्टीको विधान,पार्टीको आफ्नो मूल्य मान्यता  र संस्थागत निर्णय अनुसार पार्टीलाई हिँडाउनु अहिलेको आवश्यकता हो ।  पार्टीका कार्यालयहरू बेकामे र बेखबर हुने तर एकथरी मान्छेले त्यही सूचना बेचेर खाने ,अक्तियारको दुरुपयोग गर्ने ,नेतृत्वसँग फोटो खिचाउने र त्यही देखाएर अरुसँग  रकम माग गरेर ठगी गर्नेहरूबाट पनि पार्टीलाई जोगाउनु पर्छ । अझ हाम्रो पार्टी यो परिवर्तनको प्रमुख संवाहक भएको नाताले पनि यसले आफ्नो आदर्शलाई जोगाउन सक्नु पर्छ । रणनीति अनुसार कार्यनीति र कार्यक्रममा चल्ने पार्टी नै दिगो र स्थिर हुन् सक्छ । भइपरी आउने कामलाई कार्यक्रम ठान्ने गल्ती कहिल्यै गर्नु हुँदैन । अझ संसदीय प्रणालीमा त विपक्षका विरुद्ध पहिलो,दोस्रो,तेस्रो योजना बनाएर चल्नु पर्छ ।  एक छिन रमाउने र कमाउने नीति रणनीति होइन । यसबारे हामी  कहाँ चुकेका छौँ ? समीक्षा गर्ने बेला आएको हो कि !

 माओवादी केन्द्र लहडमा जन्मिएको पार्टी होइन ।  यसका हरेक सदस्यसँग रगतका छिटा पोतिएको छ । अंगभंग मात्र होइन कतिपयको परिवार समेत विघटन भएको छ । बेपत्ता र सहिदहरूको परिवारजन गणतन्त्रलाई नै उपलब्धि ठानेर पार्टीलाई सहयोग नै गरिरहेको छ । यस्तो सङ्घर्षमय इतिहास भएको पार्टी प्रति जनताको आशा र भरोसा अहिले पनि जीवित छ । १२/१५ लाख जनताको मत अहिले पनि हामीसँग नै छ । हामी  उठ्न सक्ने प्रशस्त आधारहरू छन् । एकल परिवारवादमा आधारित जहानियाँ निरङ्कुश शासनका विरुद्ध एउटा सानो शक्तिले विद्रोह गरेर यहाँसम्म आयौँ भने अहिले त हामी  त्यसको तुलनामा निकै बलिया छौँ ।  कमजोर त हाम्रो सोच हो,चिन्तन हो, कार्यशैली हो र हामीले राख्ने बदनियत मात्र हो । हाम्रो चरित्र सफा हुँदा पार्टी प्रतिको विश्वास मात्र होइन आशा समेत बढ्छ कमजोर त आफू केन्द्रित रणनीति बनाउने,एकल निर्णय गर्ने ,उपलब्धिमाथि एकल अधिकार जमाउने सोच र प्रवृत्ति मात्र हो । पार्टीका सबै अङ्गहरूको परिचालनबाट सही परिणाम आउन सक्छ भन्ने बुझ्न नसक्नु पनि हाम्रो अर्को कमजोरी हो ।  के दलहरूले राजनैतिक स्थायित्वको लागि आफ्ना खराब बानीहरू त्याग्न सक्छन् ? यस बारेको सङ्कल्पले मात्र नेपालमा राजनैतिक स्थिरता कायम गर्न सकिन्छ । यसबारे पनि केही सोच्ने कि !

   नेपालको अहिलेको भू–राजनैतिक अवस्था ,विश्व राजनीतिमा आएको उतार चढाव ,आर्थिक मन्दी तथा भूमण्डलीकरणको प्रभाव नेपाली राजनीतिमा पर्ने स्वाभाविक नै हो । अझ हामी दुई विशाल छिमेकी देशको बिचमा अवस्थित छौँ । एकल धुव्रीय अमेरिकी साम्राज्यवाद आफ्नो वर्चस्व गुम्ने हो कि भन्ने चिन्ताले दक्षिण पूर्वका देशहरूमा आफ्नो प्रभाव विस्तार गर्दै चीनलाई घेरा हाल्ने रणनीतिमा लागिरहेको देखिन्छ । यस प्रकारको भूराजनीतिक अवस्थालाई मध्य नजर गरेर नै नेपाल नेपाल पथमा हिँड्ने रणनीति अँगाल्नु नै मुलुकको हितमा हुने कुरामा कुनै शङ्का छैन । मुलुकलाई राजनैतिक दलहरूले आफ्नो स्वार्थ र आपसी किचलोको सिकार बनाएर राजनीति गर्न खोज्नु मुलुकको निम्ति दुर्भाग्यपूर्ण हुन् सक्छ । 

 यी र यस्तै कतिपय तथ्यहरू माथि विचार गरेर मात्रै समाजवादको आगामी यात्रा सुनिश्चित गर्न सकिन्छ । नेपाली जनताले खोजेको समाजवाद विचौलियातन्त्रमा आधारित दलाल नोकरशाही पुँजीको व्यक्तिगत उपयोगबाट पैदा हुने अराजकतावाद  झन् हुँदै होइन । सिंहदरबारमा देखिएको ‘समाजवाद’ र जनताले खोजेको समाजवादमा कुनै साइनो सम्बन्ध छैन । दिन भरी आहार खोज्ने,रातभरि बिहार रोज्ने प्रवृत्तिलाई बेलैमा खारेज गर्न सकिएन भने केही समयपछि पार्टी ‘अन्तिम भोज’को रात्रिपार्टीमा बदलिने छ । त्यति बेला पार्टी निर्माण र सम्मृद्धिबारे सोच्न धेरै ढिलाइ भैसकेको हुनेछ । त्यसो त माओवादी अहिलेको राजनीतिको मूल धार हो ।  सङ्घीयता,धर्मनिरपेक्षता,समावेशी,समानुपातिक प्रणाली सहितको गणतन्त्र माओवादीकै बलिदानबाट प्राप्त भएका उपलब्धिहरू हुन् । सुशासन कायम गर्न प्रधानमन्त्रीबाट चालिएका कदम होस् वा सङ्घीयता कार्यान्वयन गर्न गरिएको सक्रियता लगायतका पछिल्ला गतिविधि हेर्दा माओवादीको मूल नेतृत्व जनताको जीवन स्तर उकास्न इमानदार देखिएको छ । तर बाइसे चौबिसे राज्यका ‘राजा’ जस्ता बनेका वर्तमान क्याबिनेटका मन्त्रीहरू आफ्नै अहमताले छताछुल्ल भएका छन् । तिनलाई यति धेरै घमन्ड पलाएको छ कि जनताको समस्यामा भेटघाट गर्ने समय मिलाउन त के फोन उठाउन समेत त्यही घमन्डको पर्खालले रोक्छ र बिचौलियाहरूको ‘विजय गान’मा उत्सव मनाई रहेका हुन्छन् । गणतन्त्र धराप मै परोस् तर आफू चाहिँ पदबाट हट्न नपरोस् भन्ने चाहाना बोकेर सिंहदरबार छिरेकाहरूबाट आउने वा ल्याउने ‘समाजवाद’ दलाल नोकरशाही पुँजीवादी चरित्रको र अहिले सिंहदरबार भित्र देखिएको वेथितिको विचौलिया समाजवाद मात्र हो । यस्तै विचार र प्रवृत्तिबाट सङ्घीयता र गणतन्त्रमाथि घात हुन् सक्छ ।  नेतृत्वले बेलैमा ध्यान दिने कि ! मैले सिंहदरबार भित्र जे देखे,अनुभूति गरे,त्यही लेखेर त्यसैले आउनुहोस्,सबैले हातेमालो गरौँ र मुलुकलाई वास्तविक समाजवादतर्फ हिँडौं ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’
डोरप्रसाद उपाध्याय ‘निर्मलकुमार’

लेखक नेकपाका केन्द्रीय सदस्य हुन् । 

लेखकबाट थप