सोमबार, १७ वैशाख २०८१
ताजा लोकप्रिय

चलचित्र क्षेत्रलाई उद्योग बनाउन म तयार छु : मन्त्री भण्डारी

मङ्गलबार, ०४ वैशाख २०८१, ०८ : ५९
मङ्गलबार, ०४ वैशाख २०८१

काठमाडौँ । आगामी ६ देखि ८ गते रामेछापमा आयोजना हुने ‘तेस्रो नेपाल ग्रामीण चलचित्र महोत्सव’मा सहभागी फिल्मलाई प्रमाण पत्र वितरण गरिएको छ  । आयोजक सेलीब्रेटी नेपालले सोमबार नेपाल पर्यटन बोर्डमा प्रि–इभेन्टको कार्यक्रम गर्दै सहभागीका लागि प्रमाणपत्र प्रदान गरेको हो । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीले सहभागीलाई प्रमाण पत्र प्रदान गरे ।

कार्यक्रममा मन्त्री भण्डारीले चलचित्र क्षेत्रलाई उद्योगको रूपमा अगाडि बढाउन सरकारको तर्फबाट गर्ने सहयोग गर्न आफू तयार रहेको बताए । उनले कलाकार नै देशको गहना भएकाले सरकारले कलाकार र चलचित्र क्षेत्रलाई उद्योगको रूपमा विस्तार गर्ने लक्ष्य राखेको र त्यसका लागि बजेमा के गर्नुपर्छ गर्न तयार रहेको धारणा राखे ।  

‘आफ्नै गाउँ, आफ्नै ठाउँ, आफ्नै भाषा, आफ्नै चलचित्र’ भन्ने मूल नारा सहित महोत्सव आयोजना हुन लागेको हो । कार्यक्रममा महोत्सवमा टिपिकल गाउँको कथावस्तुमा आधारित चलचित्र समेटिएको आयोजक सेलिब्रेटी नेपालका अध्यक्ष रघुनाथ सापकोटाले जानकारी दिए । नेपाल ग्रामीण चलचित्र महोत्सव विगत ३ वर्षदेखि नेपालको सिनेमा घर नभएको जिल्लाहरूमा गाउँले परिवेशमा निर्माण गरिएका सर्ट फिल्म, डकुमेन्ट्री र फिचर फिल्मलाई सहभागी गराएर गाउँ गाउँका दर्शकहरू समक्ष अत्याधुनिक प्रविधिमा स्क्रिनिङ्ग गर्ने र उत्कृष्ट फिल्मलाई अवार्ड समेत प्रदान गरिँदै आएको उनले जानकारी दिए ।

फिल्म स्क्रिनिङ्गसंगै ग्रामीण परिवेशलाई समेटेर कस्ता फिल्म बनाउने र कस्ता फिल्मले दर्शकको साथ पाउनेछ भन्ने विषयमा अन्तरक्रिया, कार्यशाला गोष्ठी समेत हुने महोत्सवले भाषा तथा संस्कृतिको आदान प्रदानको लागि पनि विशेष भूमिका खेल्ने विश्वास आयोजकको रहेको छ ।

पहिलो संस्करण गोरखाको लाप्राकमा, दोस्रो काभ्रे जिल्लाको भकुण्डेबेसीमा आयोजना भएको कार्यक्रमको तेस्रो संस्करण रामेछाप नगरपालिका वडा नं. ८, रामेछाप बजारस्थित गौरिशंकर उच्च मा.वि.मा हुन लागेको हो ।

महोत्सवका संयोजक कमल एक्चै मगर रहेका छन् । उनले आफ्नै गृह जिल्ला रामेछापमा महोत्सव हुँदा खुसी लागेको बताए । महोत्सवमा चलचित्र विकास बोर्डका पुर्व अध्यक्ष दयाराम दाहालको संयोजकत्वमा ५ सदस्य जुरी कमिटी छ । जसमा गणेश पाण्डे, भरत रेग्मी, ज्योतिराज राई र कुबेरराज गिरी रहेका छन् ।

महोत्सवमा छनौट फिल्म
फिचर फिल्म

नाङ्गो गाउँ : निर्देशक दीपेन्द्र लामा
दिमाग खराब : निर्देशक निश्चल बस्नेत
बिच्छेद : निर्देशक सत्यराज चौलागाईँ
सतीदेवी : निर्देशक लक्ष्मण सुवेदी

सर्ट फिल्म
द डार्क बेकन : निर्देशक पवन केसी
सिगरेट : निर्देशक डब्बु क्षेत्री
सिपाईको छोरो : निर्देशक सुरज पौडेल
द ग्रेट मुखिया : निर्देशक असिम पौडेल
डिस्पेयर : निर्देशक शिव पुरी
रित्तो गाउँ : निर्देशक रामजी ज्ञवाली
आमा : निर्देशक परिच्छेद सेन
स्यालुट : निर्देशक अनुपराज राई
अन्तै माया : निर्देशक रणधीर श्रेष्ठ  

डकुमेन्ट्री फिल्म
आग्रे : निर्देशक अनिल बुढा मगर
स्नो लेपार्ड : निर्देशक प्रदीप पोखरेल
इट्टा भट्टा : निर्देशक सुरेश डी मुखिया
बनकरिया : निर्देशक लक्ष्मी सुवेदी

भाषिक फिल्म
लिलामे माइला : निर्देशक भीम लामा
माराङ : निर्देशक बुद्धिया एस मगर
स्वयनगु : निर्देशक अमृतमान महर्जन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप