शनिबार, २२ वैशाख २०८१
ताजा लोकप्रिय

‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन सकेन : सीके राउत

मङ्गलबार, ११ वैशाख २०८१, १५ : ३३
मङ्गलबार, ११ वैशाख २०८१

सुर्खेत । जनमत पार्टीका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य डा सीके राउतले जुनसुकै क्षेत्रको नेतृत्व गर्ने वर्गले अध्ययनलाई महत्त्व दिनुपर्ने बताएका छन् । 

पहिलोपटक आयोजना गरिएको कर्णाली लिट्रेचर फेस्टिभल ९कर्णाली साहित्य महोत्सव० अन्तर्गत ‘नेतृत्व र पठन’ विषयमा राखिएको सत्रमा वक्ताका रूपमा बोल्दै राउतले नेतृत्व वर्गले आफू र आफ्ना जनताका लागि ज्ञान लिनु आवश्यक रहेको बताए ।

उनले नेतृत्व वर्गले सामाजिक, आर्थिकलगायत देश–विदेशको अवस्थाका बारेमा जानकार हुनुपर्ने बताए । ‘अहिले किन पढ्नुपर्‍यो भन्ने खालको भाष्य पैदा भइरहेको छ । तर त्यो गलत हो,’ उनले भने, ‘पढ्नु एकदमै आवश्यक छ, अहिले विभिन्न किताबमा आधारित फिल्म बनाउने चलन आएको छ ।’

अहिलेको सूचना प्रविधिको युगमा पढ्ने प्रचलन कम भएको उनले बताए । मानिसले वर्षमा कति किताब पढ्छ र कस्ता किताब पढ्छन् भन्ने कुराले व्यक्तित्व झल्काउने राउतले बताए ।

‘म हरेक दिन पढिरहेको हुन्छु, कुनैबेला बिहान मैले दुई घण्टा पढिन भने त्यो दिन बरबाद भएजस्तो ठान्थेँ,’राउतले भने ।

वर्तमानमा ‘पढेलेखेकाहरूले देश बिगारे’ भन्ने भाष्य समाजमा निर्माण भएकोले पढ्ने संस्कृतिको विकास हुन नसकेको राउतले बताए । ‘पहिले गाउँघरमा पढेलेखेका मान्छे भेटिँदा सम्मान हुन्थ्यो । अहिले त आक्रोश पोखिन्छ,’उनले भने, ‘यो देश पढेलेखेकाहरूले बिगारे भनिन्छ, यहाँ पढेलेखेका मान्छेको कदर भइरहेको छैन ।’

उनले अहिलेको सरकार संसद्प्रति जिम्मेवार नभएको टिप्पणी गरे । पहिलेका तुलनामा अहिले संसदमा सैद्धान्तिक छलफलको महत्त्व घटेको उनले बताए । संसदमा पनि पढेका मानिसको उपस्थितिले फरक अर्थ राख्ने गरेको अनुभव सुनाए ।

यस्तै वीरेन्द्रनगर नगरपालिकाका मेयर मोहनमाया ढकालले पछिल्लो पुस्तामा पठन र लेखन संस्कृतिको विकास गर्न आवश्यक रहेको बताइन् । उनले युवाहरूले सामाजिक सञ्जालमा बढी समय दिने भएकाले पठनमा ध्यान नदिने गरेको बताइन् ।

मेयर ढकालले इतिहासको बारेमा जान्न अध्ययन गर्नु अनिवार्य हुने बताइन् । ‘हामीले विद्यालय शिक्षालाई निकै महत्त्व दिएर लागिरहेका छौँ । कोही पनि विद्यालय बाहिर नरहने गरी अघि बढेका छौँ,’ उनले भनिन्, ‘यसबाहेक पुस्तक अध्ययनको बानी पनि बसाल्न पठन संस्कृतिको विकास गर्नु जरुरी छ ।’

प्रेसरको रूपमा भन्दा रहरको रूपमा पढ्दा धेरै कुरा सिकिने उनले बताइन् । ‘हामीसँग डिग्री हुन्छ तर, सामान्य चिठी लेख्न आउँदैन भने त्यो राम्रो हुन्न,’उनले भनिन्, ‘जिम्मेवार भई पढ्न सक्नुपर्छ । त्यस कारण पठन संस्कृतिको विकास आवश्यक छ । कर्णालीमा पठन संस्कृतिको विकास निकै आवश्यक छ । कर्णालीको इतिहास गौरवपूर्ण छ तर, पछिल्लो समय रोग, भोक, अशिक्षा भन्ने कुराहरुमात्रै धेरै भनिन्छन् । तर, इतिहासमा कर्णाली निकै शक्तिशाली थियो । त्यस्ता किताबहरू पढ्नुपर्छ । अब नगरपालिकामा लाइब्रेरी राख्ने प्रतिबद्धता राख्छु ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप