बुधबार, १६ जेठ २०८१
ताजा लोकप्रिय
सन्दर्भ : गोरखा भूकम्पको ९ वर्ष

भूकम्पीय क्षति : ताइवानबाट नेपालले सिक्ने पाठ

बुधबार, १२ वैशाख २०८१, ०९ : १८
बुधबार, १२ वैशाख २०८१

काठमाडौँ । २०७२ सालको वैशाख १२ गते गएको त्यो विनाशकारी भूकम्प कसैले पनि भुलेको छैन । गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको ७ दशमलव ८ रेक्टर स्केलको त्यो विनाशकारी भूकम्पमा परेर ठुलो धनजनको क्षति भयो । 

साढे ८ हजारभन्दा धेरैले ज्यान गुमाए भने २२ हजार भन्दा धेरै घाइते भए । लाखौँ घरमा क्षति पुग्यो । धरहरा ढल्यो । कयौँ धार्मिक र सांस्कृतिक सम्पदा ढले वा क्षतिग्रस्त भए ।

भूकम्प गएको ८ वर्ष भयो । तर सम्झँदा अहिले पनि कहाली लाग्छ । ७२ को भूकम्प अघि वि. सं. १९९० को माघ २ गते गएको भूकम्पलाई नेपालमा पछिल्लो समय गएको सबैभन्दा ठुलो भूकम्प भनिन्थ्यो । 

हजुरबुबा पुस्ताबाट विनाशकारी भूकम्पको कथा सुनेको, पुस्तकहरूमा पढेका हामीले प्रत्यक्ष त्यसको त्रासदी भोग्यौँ, २०७२ मा । भूकम्पका कारण क्षति पुगेका संरचनाका पुनर्निर्माणको कामले बिस्तारै पूर्णता पाइरहेको छ । तर नेपालले यस्ता भूकम्पहरूबाट खासै पाठ सिकेको छैन । भूकम्पको पूर्वतयारीमा चूक छ ।  

  • ताइवानबाट कस्तो पाठ सिक्न सक्छ नेपालले ?

ताइवानमा अप्रिलको सुरुमा २५ वर्षयताकै शक्तिशाली भूकम्प गयो । अप्रिल ३ मा ७ दशमलव ४ म्याग्निच्यूडको भूकम्प गएको थियो । अधिकांश अन्तर्राष्ट्रिय सञ्चार माध्यममा हुवालियन सहरमा भूकम्पका कारण लड्ला झैँ गरेर ढल्किएको एउटा बहुतले भवनको तस्बिर भाइरल बनेको थियो । 

gettyimages-2128605490-1-22-47-pm

भुँइतल्ला भासिएपछि अहिले नै लडिहाल्ला जस्तो देखिने त्यो भवन ४५ डिग्री कोण बनाएर ढल्किएको थियो । तर यो भवन देशभरमा संरचनात्मक क्षति पुगेका औँलामा गन्न सकिने केही भवनमध्ये एक थियो ।

भूकम्प गएको दुई तीन दिनपछि सहरका सडकहरू सामान्य बेलाको जस्तै देखिए । पसल र क्याफेहरू खुले । सडकको किनारमा स्टलहरू तरकारी, फलफूल र स्न्याक्स बेचिरहेको तस्बिर समाचार साइट, सामाजिक सञ्जाल र इन्टरनेटमा देखिए । 

सवारी आवागमन पनि पूर्ववत् स्थितिमा फर्कियो । सडक वा सहरलाई नियाल्दा २/३ दिन अघि त्यहाँ शक्तिशाली भूकम्प गएको थियो भन्ने महसुस नै हुँदैनथ्यो । त्यति शक्तिशाली भूकम्पमा पनि धनजनको क्षति भने अनुमान गरिएको भन्दा निकै कम थियो ।

ठ्याक्कै एक वर्षअघि टर्कीलाई केन्द्र बिन्दु बनाएर ताइवानमा जत्तिकै शक्तिशाली भूकम्प गयो । सो भूकम्पमा टर्की र छिमेकी सिरियामा ५० हजारभन्दा धेरैको मृत्यु भयो भने १ लाख ६० हजारभन्दा धेरै भवनमा पूर्ण वा गम्भीर तरिकाले भत्किए । मानवीय कमजोरीका कारण भूकम्पको क्षति खराब रहेको विश्लेषण गरिएको थियो । यी देशमा त संरचना कमजोर थिए । त्यतिको क्षति हुनु स्वाभाविक पनि थियो । सन् २०११ मा न्यूजिल्यान्डको क्राइष्टचर्च सहरमा ६ दशमलव ७ म्याग्निच्यूडको भूकम्प जाँदा सहरमा व्यापक क्षति पुग्यो ।  

ताइवान पनि फल्टलाइनमै पर्दछ । तर बारम्बार आइरहने भूकम्पको सामना गर्ने क्षमतामा निकै बलियो पारिएको छ । धेरैले सन् १९९९ मा ची चीलाई केन्द्रबिन्दु बनाएर गएको भूकम्पलाई ‘वेक अप कल’को रूपमा बताउँछन् । 

यो ताइवानको इतिहासको सबैभन्दा खराब भूकम्प थियो । यो भूकम्पमा परेर २ हजार ४०० भन्दा धेरैको मृत्यु भएको थियो भने दसौँ हजार भवनमा क्षति पुगेको थियो । कयौँ भवन ढलेका थिए । यी मध्ये कयौँ त भर्खरै बनेका भवनहरू थिए ।  

यस्ता क्षतिहरूले नयाँ भवन पनि किन ढले भन्ने प्रश्न उठाएको थियो भने सर्वसाधारणमा एक खाले क्रोध पनि उत्पन्न गराएको थियो । भवनहरूको डिजाइनमै त्रुटि रहेको र जगको पिल्लर पनि ठुलो नभएको अनि स्टिलको मात्रा पनि अति नै कम भएको विज्ञहरूले बताएका थिए । 

ai2html-graphic-desktop.4577c9bb

सन् १९९० को दशकमा ताइपेईमा एक पछि अर्को निर्माण घोटाला बाहिरिए । नाफा बढाउन निर्माण कम्पनीहरूले नदीको बालुवाको साटो समुद्रको बालुवा प्रयोग गरेकै कारण घरहरू बलियो बन्दैनथे । निर्माण क्षेत्रमा हुने यस्तै खालको अनेक गतिविधि रोक्न सरकारले निर्माणमा चूक गर्ने कम्पनीमाथि ठुलो जरिवाना र दण्डको व्यवस्था गर्‍यो ।

ची चीलाई केन्द्रबिन्दु बनाएर भूकम्प गएपछि धेरै कुरा फेरियो । भवन निर्माणसम्बन्धी ऐन परिवर्तन भयो । सबै नयाँ भवनमा भूकम्प प्रतिरोधी आधारभूत कुराहरू पूरा गर्नुपर्ने नियम ल्याइयो । यसको अर्थ भवनहरू निश्चित स्तरसम्म आउने भूकम्प ठुला संरचनात्मक क्षति बिनै सहन सक्ने खालको बनाइनु पर्ने भन्ने थियो । सरकारले पनि संशोधन गर्नु पर्ने पक्ष खुट्याउँदै पटक पटक भवनहरूको भूकम्प प्रतिरोधी मापदण्ड फेरिरह्यो । सन् १९९० को भूकम्पपछि भवनहरूको बाहिरी हिस्सामा रेट्रोफिटिङको काम धमाधम भयो । यो कार्य पुल जस्ता पूर्वाधारमा पनि भए ।  

ताइवानमा बारम्बार भूकम्प गइरहन्छ । कमजोर संरचना भएका घरहरू पहिला नै भत्किएर सकिसकेका थिए । निर्माण क्षेत्रमा भ्रष्टाचार गर्नेलाई अभियोग लगाउन थालियो । 

सन् २०१६ मा ताइवानमा भूकम्प जाँदा १७ तले भवन भत्किँदा दर्जनौँ मानिसको ज्यान गएको थियो । भवन निर्माणमा संलग्न पाँच जनालाई अभियोग चलाएर जेलै हालियो । 

यता ताइवानमा अप्रिलको सुरुमा गएको भूकम्पमा परेर जम्मा १७ जनाको ज्यान गएको थियो । १ हजार भन्दा केही बढी मात्रै घाइते भए । भवन भत्केर मृत्यु हुने एकाध मात्रै थिए । बाँकी सबैको मृत्यु पहिरो वा चट्टान खस्दा भएको थियो ।

gettyimages-2128608370

विपद् व्यवस्थापन नियम कसिलो पारिनु, उद्धार र राहत कार्यबिच तालमेल सुधार्नु र भवनहरूको भूकम्प प्रतिरोधी कानुन कसिलो पार्नु आदि नै ताइवानमा पछिल्लो शक्तिशाली भूकम्पमा धनजनको क्षति कम हुनुको कारण हो । शक्तिशाली भूकम्प सहन सक्ने ताइवानले सरकारी भवनहरूको क्षमता अभिवृद्धि गर्न मूल्याङ्कन, रेट्रोफिट र पुनःनिर्माणको अभियान नै चलायो । 

यसमा विद्यालयहरूलाई विशेष प्राथमिकता दिइएको थियो । पछि यो अभियानलाई निजी भवनहरूमा पनि लागू गरियो । हुवालियनमा भूकम्पका क्षति कम हुनुलाई अग्रिम तयारी नै हो ।

सन्दर्भ सामग्री : बीबीसी/सीएनएन

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रमा सुवेदी
रमा सुवेदी

सुवेदी डेस्कमा कार्यरत छिन्

लेखकबाट थप