आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

रुसको कदमले अमेरिका आक्रोशित

बिहीबार, १३ वैशाख २०८१, १४ : ०८
बिहीबार, १३ वैशाख २०८१

वासिङ्टन डीसी । रुसले संयुक्त राष्ट्र सुरक्षा परिषद्को बैठकमा भिटो लगाएर बाह्य अन्तरिक्ष सन्धि प्रस्तावलाई रोकेको छ । यसका कारण अमेरिका आक्रोशित भएको छ । रुसले स्याटलाइट बोक्ने आणविक हतियार विकास गरिरहेको आरोप अमेरिकाले लगाएको छ ।

 त्यही कारण यो प्रस्तावमा भिटो लगाएको उसको भनाइ छ । बाह्य अन्तरिक्ष सन्धिअन्तर्गत अन्तरिक्षमा आणविक हतियारलगायत खतरनाक हतियार तैनाथ गर्न प्रतिबन्ध लगाउने तयारी भइरहेको थियो । तर रुसले भिटो लगाएपछि अमेरिकाको लक्ष्य पूरा हुन सकेन ।

रुसले स्याटलाइट बोक्ने आणविक हतियार विकास गरिरहेको आफूहरुले पहिला पनि देखेको बुधबार अमेरिकाको राष्ट्रिय सुरक्षा सल्लाहकार ज्याक सुलिभानले एक विज्ञप्तिमा भनेका छन् । राष्ट्रपति पुटिनले सार्वजनिक रूपमा अन्तरिक्षमा आणविक हतियार तैनाथ गर्ने रुसको कुनै योजना छैन भनी बताएका थिए ।

यदि त्यसो हो भने रुसले यो प्रस्तावलाई किन भिटो लगाएको भनेर सुलिभानले प्रश्न गरेका छन् । अमेरिका र जापानले संयुक्त रूपमा ल्याएको प्रस्तावले अन्तरिक्षमा आणविक हतियारको तैनाथ गर्नु मौलिक दायित्वको विरुद्ध हो भनेर निर्धारण गरेको थियो । प्रस्तावमा सदस्य राष्ट्रहरूले पृथ्वीको कक्षमा तैनाथ गर्न सकिने आणविक हतियार नबनाउन पनि माग गरेको थियो ।

अन्तरिक्षमा आणविक हतियारहरू तैनाथ गर्ने खतरा व्यापक

पृथ्वीको कक्षमा आणविक हतियार तैनाथ गर्दा सञ्चार, वैज्ञानिक, मौसम विज्ञान, कृषि, व्यावसायिक र राष्ट्रिय सुरक्षा सेवामा बाधा पुर्‍याउने खतरा रहेको सुलिभानको भनाइ छ । संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूत लिन्डा थोमस ग्रीनफिल्डले पनि रुसको कदमको आलोचना गरेका छन् । रुसले जिम्मेवारी पन्छाएको उनको भनाइ छ ।

हतियार अप्रसारको विश्वव्यापी प्रयासलाई असफल बनाएको यो पहिलो पटक नभएको उनले बताएकी थिइन् । विगत केही वर्षदेखि रुसले खतरनाक हतियारको मुद्दामा गैरजिम्मेवार व्यवहार गरिरहेको र हतियार नियन्त्रणको विषयमा छलफल गर्नबाट भागिरहेको उनी बताउँछिन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप