बिहीबार, २७ वैशाख २०८१
ताजा लोकप्रिय
भ्रमण

विदेश भ्रमणमा रेकर्ड ब्रेक गरेका उपेन्द्र यादव फेरि अमेरिका र कतार भ्रमणमा

शनिबार, १५ वैशाख २०८१, १६ : २९
शनिबार, १५ वैशाख २०८१

काठमाडौँ । सरकारमा सहभागी भएपछि अधिकांश समय विदेशमा बिताउने रेकर्ड बनाएका जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव उपप्रधान तथा स्वास्थ्य मन्त्रीमा नियुक्त भएको ४८ औँ दिन आज साँझ साढे ६ बजे अमेरिका तथा कतारका लागि छन् ।

२०६५ मा पहिलोपटक परराष्ट्र मन्त्री बनेपछि महिनौँसम्म विदेश भ्रमणमै बिताएका उनको त्यतिबेला पनि आलोचना भएको थियो । नौ महिनाको कार्यकालमा उनले त्यतिबेला १५ वटा देशको भ्रमण गरेका थिए । २०७४ मा केपी ओली नेतृत्वमा सरकार गठन हुँदा उनी उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेका थिए ।

437546397_806493154872048_2711051803100268843_n

त्यतिबेला पनि उनले अधिकांश समय विदेशमै बिताएका थिए । २०७५ साल जेठमा उपप्रधान तथा स्वास्थ्य मन्त्री बनेपछि उपेन्द्र यादव साउनमा थाइल्यान्ड उडेका थिए । त्यसपछि उनले लगातार विदेश भ्रमण गरेका थिए । उनी मात्र होइन उनका छोरा अमरेन्द्र यादवले पनि मन्त्रालयकै कोटामा विदेश भ्रमण गरेका थिए ।

स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार १६ महिनासम्म सरकारमा रहेका यादव त्यतिबेला २१–२२ पटक विदेश भ्रमणमा गएका थिए । त्यसका लागि करोडभन्दा बढी रकम खर्च भएको अर्थ मन्त्रालय स्रोतले जनाएको छ । २०७५ साउनदेखि असोजसम्म गरेको भ्रमणमा मात्र उनले ४८ लाख रुपैयाँ खर्च गरिसकेको कुरा त्यतिबेला अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख थियो । 

१४ दिनका लागि अमेरिका

२०७६ असोजमा स्वास्थ्य मन्त्री रहेकै बेला उनले अमेरिका भ्रमण गर्दा देशमा डेगुँ महामारी फैलिएको थियो । यादव अमेरिका उड्ने बेलासम्म देशमा सात जनाको ज्यान गइसकेको थियो । त्यस्तो अवस्थामा पनि उनी १४ दिनका लागि अमेरिका उडेका थिए । उनको अमेरिका भ्रमणको त्यसबेला संसद्मा पनि आलोचना भएको थियो । 

437167571_301708876306749_944305407996958232_n

असोज ३ गते मनाउने संविधान दिवसमा सहभागी नहुने उद्देश्यले अमेरिका उडेको भन्ने आरोप उनीमाथि लागेको थियो । त्यसबेला यादवको पार्टीले (तत्कालीन समाजवादी पार्टी) असोज ३ लाई कालो दिवसको रूपमा मनाउने निर्णय गरेको थियो । तर यादवले भने सरकारमा रहेका कारण त्यसको विरोधमा जान चाहेका थिएनन् । 

आलोचना खेप्नुभन्दा देश नै छाडे उत्तम हुने भन्दै उनी अमेरिकाका लागि उडेको स्रोतको दाबी छ ।  

त्यसबेला यादव विदेशमै रहेका बेला उनको मन्त्रालय परिवर्तन भएको थियो । विश्व स्वास्थ्य संगठनको कार्यक्रममा भाग लिन २०७६ मङ्सिरमा भारत गएका बेला तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्री रहेका उपेन्द्र यादवलाई कानुन मन्त्रालयमा सारेका थिए । 

ओलीको कदमबाट असन्तुष्ट भएर याद केही दिनसम्म पदभार ग्रहण गर्नै गएनन् । एक महिनापछि मात्र उनले कानुन मन्त्रालय सम्हालेका थिए । तर तत्कालीन प्रधानमन्त्री ओलीसँग उनी धेरै लामो समय रहन सकेनन् । त्यसलगत्तै यादव सरकार छाडेर बाहिरिएका थिए । 

विदेशकै कारण प्रधानमन्त्री असन्तुष्ट

त्यसबेला यादवले लन्डन, टर्कीको आनटल्या, काजकास्तानको अस्तानामा, जेनेभा, भारत, अमेरिका, थाइल्यान्ड लगायतका देशको भ्रमण गरेका थिए । यादवले अधिकांश समय विदेशमै बिताउन थालेपछि तत्कालीन प्रधानमन्त्री ओलीले  असन्तुष्टि जनाएका थिए ।  त्यसपछि ओली र यादवबिच दुरी बढ्दै गएको थियो । 

437264373_982346819997014_1321264877083787015_n

२०७९ मा सप्तरी–२ बाट चुनाव हारेका उपेन्द्र यादव २०८० मा भएको उपनिर्वाचनबाट निर्वाचित भएका थिए । बारा–२ बाट चुनाव जितेपछि उनले सरकारमा जानका लागि पटक–पटक प्रयास गरे । त्यतिबेला प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ थिए । तर एउटा भन्दा बढी उपप्रधानमन्त्री नबनाउने गठबन्धनको निर्णयका कारण यादव सरकारभन्दा बाहिर रहे । 

तर स्रोत भन्छ, ‘प्रधानमन्त्री प्रचण्डले पनि उपेन्द्र यादवलाई सरकारमा ल्याउन पटक–पटक प्रयास गरेका थिए तर उपप्रधानमन्त्रीका प्रावधानका कारण सम्भव भइरहेको थिएन ।’

गत फागुनमा माओवादीले कांग्रेससँगको गठबन्धन भत्काएर एमालेसँग नयाँ गठबन्धन बनाएपछि उपेन्द्र यादवका लागि सरकारमा जाने बाटो खुलेको थियो । एमाले–माओवादी गठबन्धन सरकारमा एकभन्दा बढी उपप्रधानमन्त्री बनाउने निर्णयसँगै यादव सरकारमा सहभागी भए ।

एकसाथ अमेरिका र कतार

सरकारमा गएको दुई महिना पनि पुगेको छैन । पुनः उनको विदेश यात्रा सुरु भएको छ । अप्रिल २९ देखि मे १ सम्म अमेरिकामा हुने जनसङ्ख्या सम्मेलनमा भाग लिनका लागि यादव आज साँझ साढे ६ बजे अमेरिकाका लागि उड्दैछन् ।

437266230_729353012604937_8334766876146797817_n

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.प्रकाश बुढाथोकीले अमेरिकामा तीन दिनसम्म हुने कार्यक्रममा सहभागी भएर मन्त्री यादव मे २ मा कतार जाने बताए । कतारमा त्यहाँका स्वास्थ्य मन्त्री र उपप्रधानमन्त्री यादवबिच भेटघाट गर्ने कार्यक्रम रहेको छ । 

स्वास्थ्य मन्त्रालयले कतारका (राजा) अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल आउने टुंगो लागेपछि कतारसँग स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने विषयमा प्रस्ताव पठाएको थियो । सो प्रस्तावमा कतारकी स्वास्थ्य मन्त्री सकारात्मक भएकी थिइन् । उनले कतारमै आएर कुराकानी गर्न निमन्त्रणा दिएकी थिइन् । कतारकी स्वास्थ्य मन्त्री अमिर शेखका छोरी हुन् । 

त्यसपछि स्वास्थ्य मन्त्री यादवले अमेरिकाबाट फर्किँदा एक दिनको ट्रान्जिटलाई तीन दिन बनाएका छन् । उनी कतारमा तीन दिनसम्म रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । कतारमा मन्त्री यादव र त्यहाँका स्वास्थ्य मन्त्रीसँग मात्र भेटघाट गर्ने कार्यक्रम रहेको प्रवक्ता बुढाथोकीले बताए । 

उपप्रधान तथा स्वास्थ्य मन्त्री यादव मे ५ मा स्वदेश फर्किने छन् ।  यसअघि २०८० असोज ११ गते पनि उनी १३ दिनका लागि अमेरिका गएका थिए । अमेरिका जानुअघि उनले भदौ ९ गतेदेखि एक महिनासम्म भारत भ्रमण गरेका थिए । 

437595547_1167232260881672_8593786678383401357_n

रोजाइमा परराष्ट्र

उपेन्द्र यादव जब जब सरकारमा जान तयार हुन्छन् उनको पहिलो रोजाइ परराष्ट्र मन्त्रालय पर्छ । परराष्ट्र मन्त्रालयमा काम त्यति गर्न नपर्ने र आफूखुसी विदेश घुम्न पाइने भएपछि उनले हरेक पटक परराष्ट्र मन्त्रालय नै रोज्ने गरेका छन् । 

पहिलोपटक परराष्ट्र मन्त्री भएका यादवले २०७४ पछि बनेको केपी ओली नेतृत्वको सरकारमा पनि परराष्ट्र मन्त्रालय नै रोजेका थिए । उनी सरकारमा जाने बेलासम्म प्रदीप ज्ञवालीले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका थिए । 

यादवले ज्ञवालीलाई कुनै मन्त्रालयमा सारेर आफूलाई परराष्ट्र मन्त्रालय दिन प्रचण्ड र ओलीलाई दबाब दिएका थिए । तर ज्ञवालीले परराष्ट्रबाट अन्यत्र नजाने भनेपछि केही दिन अलमल भएको थियो । उनलाई परराष्ट्र मन्त्री बनाउन प्रचण्ड र ओलीले आश्वासन दिइसकेका थिए । सोही आश्वासनका कारण उनले केही समय सरकार बाहिरै बस्नुपर्‍यो । 

अन्त्यमा परराष्ट्र मन्त्रालयमा कुरा नमिलेपछि उनी उपप्रधानसहित स्वास्थ्य मन्त्री बनेका थिए ।  योपटक पनि यादवको रोजाइमा परराष्ट्र मन्त्रालय नै परेको थियो । तर माओवादीबाट नारायणकाजी श्रेष्ठले सो मन्त्रालय सम्हालिसकेका थिए । श्रेष्ठलाई अन्यत्र सारेर भए पनि आफूलाई परराष्ट्र मन्त्रालय दिन प्रधानमन्त्रीसमक्ष उनले दबाब दिएका थिए । 

प्रधानमन्त्री प्रचण्डले तत्कालका लागि स्वास्थ्यमा जानुस् पछि परराष्ट्र नै मिलाउला भनी आश्वासन दिएका छन् । स्वास्थ्य मन्त्री यादव अहिले पनि परराष्ट्र मन्त्रालय पाउने आसमा छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप