शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय
स्वास्थ्य

गर्मीसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थामा बिरामीको चाप बढ्यो

मङ्गलबार, १८ वैशाख २०८१, १६ : ३५
मङ्गलबार, १८ वैशाख २०८१

काठमाडौँ । गर्मी बढेसँगै देशभरका अस्पताल र स्वास्थ्य संस्थाहरूमा बिरामीको चाप बढ्दो छ । हाल तराईमा तातो हावा चल्ने र ‘लु’ लाग्ने उच्च सम्भावना छ । जलवायु परिवर्तनका कारण तातो हावा चल्ने, वायु प्रदूषण हुने, उच्च तापक्रम हुने जस्ता समस्या देखिएका छन् ।

गर्मी र वायु प्रदूषणका कारण देशभर मुटु तथा रक्तनली, फोक्सो, मस्तिष्क, आँखा, नाक, कान र घाँटी आदिमा असर पुर्‍याएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले बताए । साथै दम, क्यान्सर आदिको जोखिम पनि बढाउने उनले जनाए ।

काठमाडौँस्थित वीर अस्पतालमा पनि बिरामीको चाप बढेको छ । सो अस्पतालको ओपीडीमा दैनिक २५० देखि ३०० जना बिरामी आउने गरेकोमा हाल ३०० देखि ३५० जना पुगेको अस्पतालकी वरिष्ठ नर्सिङ प्रशासक विष्णु बन्जाडेले बताइन् ।

‘ओपीडीमा दैनिक ३०० देखि ३५० जना बिरामी जाँचका लागि आउने गर्नुहुन्छ,’ उनले भनिन्, ‘उल्टी गर्ने, पेट दुख्ने, सास फेर्न गाह्रो हुने बिरामीको सङ्ख्या उल्लेख्य हुने गरेको छ ।’

पहाडी क्षेत्रको तुलनामा तराईमा अत्यधिक गर्मी छ । तराई क्षेत्रमा गर्मीका कारण झाडापखाला हुने, पेट दुख्ने, छाला चिलाउने, आँखा पाक्नेजस्ता समस्या देखिएको सम्बद्ध अधिकारी बताउँछन् ।

सुदूरपश्चिम प्रदेशको ‘रिफरल सेन्टर’ सेती प्रादेशिक अस्पतालमा पनि बिरामीको चाप बढेको छ । दैनिक रूपमा ५०० देखि ६०० जना स्वास्थ्य जाँचका लागि आउने गरेकोमा हाल ६०० देखि ७०० जना आउने गरेको अस्पतालका सूचना अधिकारी किशोर प्रसाद श्रेष्ठले बताए । ‘दैनिक विशेष गरेर २० देखि २५ जनासम्म झाडापखालाको समस्या लिएर आएका छन्,’  उनले भने, ‘तीमध्ये २ देखि ३ जना भर्ना हुने गरेका छन् ।’

गर्मी सुरु भएसँगै प्रादेशिक अस्पतालमा बिरामीको चाप बढ्न थालेको छ । सो अस्पताल सुदूरपश्चिम प्रदेशको ‘रिफरल सेन्टर’ रहेकाले अझै बिरामी बढ्ने श्रेष्ठको अनुमान छ । ‘गर्मीमा ज्वरो, टाइफाइट, डेंगु, स्क्रब टाइफसका बिरामीको सङ्ख्या बढ्छ,’ सूचना अधिकारी श्रेष्ठले भने, ‘यसका लागि हामी तयारी अवस्थामा छौँ ।’

यस्तै, लुम्बिनी प्रदेशको भेरी अस्पताल पनि ‘रिफरल सेन्टर’ हो । यो अस्पतालमा बिरामीको चाप सधैँ रहन्छ । दैनिक रूपमा ७०० भन्दा बढीले यहाँबाट स्वास्थ्य उपचार गराउँछन् । अस्पतालको ओपीडीमा मात्रै दैनिक १५० जनाले सुविधा लिँदै आएको भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले बताए । ‘ओपीडीमा मात्रै १५० जना जाँचका लागि आउँथे, तर आजकाल २०० देखि २२५ जना आउने गरेका छन्,’ रिसालले भने ।

अत्यधिक गर्मीका कारणले ‘लु’ लाग्ने जोखिम हुन्छ । मानव शरीरको तापक्रम ३७ डिग्री सेन्टिग्रेड नै भइरहने फिजिसियन डा. पुष्पमणि खरालले बताए । उनका अनुसार शरीरले यो तापक्रमलाई सन्तुलन गरिरहन खोजे पनि योभन्दा बढी तापक्रम भएमा स्वास्थ्य समस्या देखिन्छ, जसलाई ‘लु’ भनिन्छ । पछिल्लो समय अस्पतालमा उपचारका लागि आउने बिरामीमध्ये अधिकांशलाई ‘लु’ को लक्षण देखिएको पाइएको छ ।

वायुमण्डल वा वातावरण तातो भएर मानव शरीरमा देखिने असामान्य अवस्थालाई ‘लु’ भनिन्छ । डा. खरालका अनुसार ‘लु’ भन्नाले वातावरणको तापक्रम धेरै बढेर शरीरमा भएको पानी र नुनको मात्रा घट्नु हो । धेरै तातो वायुले मान्छेलाई चक्कर लाग्ने, टाउको दुख्ने लक्षण देखिएमा ‘लु’ लागेको हुन सक्ने डा. खराल बताउँछन् ।

  • कसरी जोगिने ?

गर्मीका कारणले देखिने झाडापखाला, ज्वरो, पेट दुख्नेजस्ता समस्याबाट जोगिन तातो हावा लागेको समयमा अनावश्यक बाहिर हिँडडुल नगर्न तथा झोल पदार्थहरू पर्याप्त मात्रामा सेवन गर्न र गराउन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ ।

यस्तै, बढ्दो गर्मीमा ‘लु’ लाग्ने सम्भावना हुने भएकाले सकेसम्म घाममा ननिस्कन विज्ञले सुझाएका छन् । ‘सकेसम्म दिउँसो घाममा ननिस्कने, अति आवश्यक कामका लागि निस्कन परेमा छाता लिएर निस्कने केही समय हिँडेर छहारी वा ओझेलमा बस्ने गर्नुपर्छ,’ डा.खरालले भने ।

यस्तै, बिहान ११ देखि दिउँसो ३ बजे बिचमा बाहिर नसिक्न डा. खरालले आग्रह गरे । ‘लु’ बाट जोगिने मुख्य उपाय भनेकै गर्मीबाट जोगिने रहेको उनले बताए । गर्मीमा बढी मात्रामा पानी पिउनसमेत उनले सुझाएका छन् ।

बासी, जङ्क फुड, बाहिरको खाना नखान भेरी अस्पतालका सूचना अधिकारी डा. सङ्केत कुमार रिसालले सुझाएका छन् ।

गर्मीमा पाँच वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घ रोगी र बृद्धबृद्धाहरूलाई उच्च जोखिम हुने भएकाले यी समूहका व्यक्तिलाई विशेष ध्यान दिन उनले आग्रह गरेका छन् ।

यस्तै, वायु प्रदूषणबाट जोगिनका लागि बाहिर यात्रा गर्दा अनिवार्य मास्क लगाउने, सकेसम्म अनावश्यक रूपमा घर बाहिर ननिस्कने, यात्रा नगर्ने, अत्यधिक प्रदूषित क्षेत्रहरूबाट टाढा रहन मन्त्रालयले आग्रह गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सरिता थारू
सरिता थारू

सरिता थारूले कृषि र समसामयिक विषयमा रिपोर्टिङ गर्छिन् ।

लेखकबाट थप