मङ्गलबार, १५ जेठ २०८१
ताजा लोकप्रिय
मातातीर्थ औँसी

आमा र माटोको कनेक्सन टुटाउन हुँदैन

बुधबार, २६ वैशाख २०८१, १३ : १३
बुधबार, २६ वैशाख २०८१

‘आमा’ यस्तो शब्द हो, जुन उच्चारण गर्दैमा सम्मान र न्यानोपन महसुस हुन्छ । आमाको जस्तो निस्वार्थ प्रेम सायदै कसैले देला । आमा जननी हुन् । त्यसैले मातृभूमिसँग पनि आमाको तुलना गरिन्छ ।

मेरा लागि त आमा र बुबा दुवै मेरी आमा हुन् । किनभने बुबाको अनुहार मैले देख्न पाइनँ । आमाले मलाई दुवैको माया र जिम्मेवारी निर्वाह गर्दै हुर्काइन् । एउटी आमाले सन्तानप्रतिको जिम्मेवारी पूरा गर्दा व्यक्तिगत जीवनका इच्छा, चाहनालगायत धेरै कुराको बलिदान दिनुपर्छ, जुन मेरी आमाले पनि दिनुभएको छ ।

आज आमाको मुख हेर्ने दिन अर्थात् मातातीर्थ औँसी । वर्षमा एक दिन आउने आमाको मुख हेर्न दिन एउटा संस्कार र चलन हो ।

आज मैले आमाका लागि खासै ठुलो योजना बनाएको छैन । आमालाई बिहानै भेट्ने, समय बिताउने, माया गर्ने हो । मेरी आमालाई खान र लाउन त्यति रुचि छैन । आमालाई नगद उपहार दिन्छु, जुन पैसा उहाँलाई छोरीहरूलाई दिन काम लाग्छ । 

मेरो विचारमा आमालाई मुख हेर्ने एक दिन मात्र होइन, सधैँ एकनासको सम्मान दिनुपर्छ । म हरेक दिन घरबाट निस्कँदा ‘आमा गएँ है’ भनेर भन्छु । फर्किंदा पहिले आमालाई भेट्छु । मेरा लागि आमाको मुख हेर्न दिन सधैँ हो ।

आमाबुबा वृद्ध भएपछि बच्चाको जस्तो स्वभाव हुन्छ— छिनमै रिसाउने, छिनमै खुसी हुने गर्छन् । सन्तानले उनीहरूका कुरा बुझ्नुपर्छ । उनीहरूले मलाई यस्तो चाहियो, उस्तो चाहियो भनेर भन्न सक्दैनन् । आमालाई के चाहिन्छ भन्ने हामीले बुझ्न सक्नुपर्छ ।

मेरी आमाले हामी तीन दाजुभाइलाई काठमाडौँमा जोडेर राख्नुभएको छ । गाउँबाट काठमाडौँ बोलाउँदा उहाँको एउटै सर्त थियो— तिमीहरू तीन दाजुभाइ एकै ठाउँमा बस्छौ भने आउँछु । मैले सिङ्गो जीवन तिमीहरूका लागि बिताएँ । तिमीहरू बाँडिएर बसेको हेर्न र देख्न सक्दिनँ । म तिमीहरूसँगै रहनुपर्छ भने जतिसुकै जिम्मेवार भए पनि मेरो अभिभावकत्व स्विकार्नुपर्छ । आमाको यो कुराले हामी तीन दाजुभाइलाई एक गराएर राखेको छ ।

आमा त्यस्ती एउटा पात्र हुन्, जसले सन्तानको सुखका लागि आफ्ना सबै दुःख लुकाउँछिन् । म भाग्यमानी हुँ । किनभने आमासँग लामो समय टाढा भएको छैन । सङ्घर्षको समय म काठमाडौँ बसेँ, आमा गाउँमा । त्यो समय कार्यक्रमका सिलसिलामा महिनामा दुई–तीनपटक जिल्ला पुग्थेँ ।

कार्यक्रम नपरेको समय दसैँ, तिहार लगायत चाडपर्वमा भेट हुन्थ्यो । काम वा कार्यक्रमले कहिलेकाहीँ टाढा रहेर फोन संवाद हुँदा उहाँका तीन कुरा हुन्छन्— उठिस्, खाइस् र सुतिस् ! 

उठिस्को अर्थ हो— बिहानै सक्रिय हुने, ध्यान, योग नभुल्ने । 

खाइस्को अर्थ हो— काममा भुलेर खानपिन नभुल । 

सुतिस्को अर्थ हो— समयमा सुत्नुपर्छ । त्यसले मानिसलाई सधैँ ताजा राख्छ ।

विगत १२ वर्षदेखि मेरी ८२ वर्षीया आमा काठमाडौँमा मसँगै हुनुहुन्छ । पहिले उहाँ झापा बस्दा छटपटी हुन्थ्यो । कामले गर्दा घर जान नपाउँदा धेरै मिस गर्थेँ । 

  • आमालाई घुर्की देखाउँथे

विवाहपछि आमासँग कुरा मिल्दैन, आमासँगको सम्बन्ध टाढा बन्छ भन्ने मान्यता समाजमा छ । यो हुन सक्छ र हुने गर्छ । परिवार र आमालाई सही तरिकाले व्यवस्थापन गर्न नसक्दा त्यस्तो हुने हो, यसैलाई भनिन्छ— ‘धर्म सङ्कट’, अर्थात् आमा कि परिवार भन्नेसम्मको परिस्थिति आउन सक्छ । यस्तो अवस्थामा आमालाई ठिक ठाउँमा राखेर परिवारको व्यवस्थापन गर्न सक्नुपर्छ ।

आमालाई हेला गरेको, वृद्धाश्रम लगेर छाडेको देख्न र सुन्न पाइन्छ अचेल । यसले मेरो मन अमिलो भएर आउँछ । मानिसले यो बुझ्नपर्छ— म पनि बुढो हुन्छु, म पनि रोगी हुन्छु । त्यतिबेला आफ्ना सन्तानले आफूलाई कस्तो गर्लान् ? यही सोचेर आफूले आमा–बुवाप्रति व्यवहार गर्नुपर्छ भन्ने मेरो धारणा हो । सन्तानको पहिलो प्राथमिकतामा सधैँभरि आमाबाबु हुनुपर्छ । आमाबुबा जब वृद्ध हुँदै जान्छन्, त्यो बेला हामीले आफूलाई परिपक्व बनाउनुपर्छ । 

आमासँग मेरो ठुलो झगडा कहिल्यै परेन । सानोमा आमासँग ठुस्किने, घुर्की देखाउने, घरबाट भागेर पीडा दिने गर्थेँ; भनेको नमान्ने गर्थेँ । अहिले सम्झँदा ती पल रमाइलो लाग्छ । किन त्यसो गरेछु जस्तो हुन्छ । त्यो अपरिपक्व उमेरको अवस्थाको कुरो हो । त्यो जीवन सिकाइका प्रक्रिया पनि हो । तिनै सिकाइ, तिनै दुर्घटना, समस्या, ठाकठुकले आमासँगको सम्बन्ध बलियो बनाएको अहिले बुझेको छु ।

  • अनि आमा खुसी

आमाबुबा वृद्ध भएपछि बच्चाको जस्तो स्वभाव हुन्छ— छिनमै रिसाउने, छिनमै खुसी हुने गर्छन् । सन्तानले उनीहरूका कुरा बुझ्नुपर्छ । उनीहरूले मलाई यस्तो चाहियो, उस्तो चाहियो भनेर भन्न सक्दैनन् । आमालाई के चाहिन्छ भन्ने हामीले बुझ्न सक्नुपर्छ ।

वृद्ध आमाबुवालाई सधैँ खुसी राख्नुपर्छ; आफ्ना सानासाना बच्चाहरूलाई जुन व्यवहार र माया गर्छौँ त्यही व्यवहार गर्नुपर्छ । आमाले खानुभयो कि भएन ? के खाने इच्छा छ ? कहाँ जाने इच्छा छ ? यस्ता कुरा सोध्नुपर्छ । 

आमाबुबालाई गाउँबाट उठाएर सहरमा ल्याएर राख्छौँ र सुख–सुविधा दिएको ठान्छौँ, तर ठाउँ वा परिवेश परिवर्तनका कारण उनीहरू डिप्रेसनमा जाने खतरा हुन सक्छ । त्यो अवस्थामा उनीहरूलाई उनीहरू रमाएको गाउँ, ठाउँ, परिवेश वा गाईवस्तुसँग छोड्नुपर्छ । 

अहिले आधुनिक समाजमा छोराबुहारीदेखि नातिनातिना सबै काममा व्यस्त हुन्छन् । त्यो समय आमालाई एक्लै छाड्नुभन्दा पनि छिमेकी भेट्ने, विभिन्न क्रियाकलापमा सहभागी हुने ठाउँमा लगिदिनुपर्छ । कहीँ जाने हो भनेर सोध्दा नजाने भन्न सक्छन् । त्यसको अर्थ जान्न भनेको होइन, हामीलाई दुःख हुन्छ, काम छ भनेर त्यसो भनेका हुन् । त्यो बुझेर उनीहरूको चाहना पूरा गर्नुपर्छ, अनि मात्र उहाँहरू खुसी हुनुहुन्छ । 

हिँडडुल गर्न नसक्ने भए पनि उहाँका समकक्षीलाई घरमा ल्याएर भेटघाट गराउनुपर्छ । आमाबुबालाई गाउँबाट उठाएर सहरमा ल्याएर राख्छौँ र सुख–सुविधा दिएको ठान्छौँ, तर ठाउँ वा परिवेश परिवर्तनका कारण उनीहरू डिप्रेसनमा जाने खतरा हुन सक्छ । त्यो अवस्थामा उनीहरूलाई उनीहरू रमाएको गाउँ, ठाउँ, परिवेश वा गाईवस्तुसँग छोड्नुपर्छ । आफ्नै माटो र परिवेशसँग आमा जोडिएकी हुन्छिन्, आमालाई खुसी पार्ने हो भने, सकेसम्म आमा र मूल माटोको कनेक्सन टुटाउनु हुँदैन । 

  • कलाकारिताको आमा छैनन्

एउटा कलाकारको जन्मदिने आमाका अलावा अभिनयका आमा पनि हुन्छन् । म फिल्म, टेलिफिल्म, नाटक अभिनय गर्नेभन्दा पनि एकल प्रस्तुति दिने कलाकार भएकाले अहिलेसम्म मेरो अभिनयको आमा कोही छैनन् ।

अभिनयको सिलसिलामा मैले आमा बनेर पनि अभिनय गरेँ । यसका केही कारण छन् । पहिलो कारण, कलाकार भएपछि फरक क्रियटिभ काम गर्नुपर्छ भन्ने हो । दोस्रो कारण, कलाकारिता र मनोरञ्जनका माध्यमबाट आमा केही गम्भीर म्यासेज जाओस् भन्ने हो । 

तेस्रो कारण, हरेक आमाको आफ्नै कथा हुन्छ । आमा चरित्रबाट मैले मेरी आमाको कथा सुनाएँ । त्यत्तिकै शक्तिशाली कथा अरूको पनि आमाको हुन सक्छ । ती कथा पब्लिकमा आओस् भन्ने हो । हामीले आमाको कथा बाहिर ल्याउन सक्यौँ भने उहाँका लागि जिउँदोमा सम्मान र मरेपछिको श्राद्ध पनि यही हो । 

(कुवेर गिरीसँग गरिएको कुराकानीमा आधारित ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

मनोज गजुरेल
मनोज गजुरेल
लेखकबाट थप