सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

सहकारीले सङ्कलित पुँजीलाई उचित परिचालन गरेनन् :  रजिष्टार घिमिरे

बुधबार, २६ वैशाख २०८१, १४ : ०२
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । सहकारी विभागका रजिष्टार पीताम्बर घिमिरेले सहकारीलाई पुँजी सङ्कलन गर्ने साधनको रूपमा मात्र प्रयोग गरिएको बताएका छन् । बचत तथा ऋण केन्द्रीय सहकारी सङ्घ (नेफ्स्कून)को आयोजनामा भएको गोष्ठीमा बोल्दै सदस्यबाट सङ्कलित पुँजीको उचित परिचालन हुन नसक्दा सहकारीमा समस्या भएको उनले बताएका हुन् ।

नियमाकीय दृष्टिकोणमा ‘सहकारी क्षेत्रको विद्यमान समस्या, समाधानमा सदस्य र समितिको भूमिका’ विषयमा कार्यपत्र प्रस्तुत गर्दै घिमिरेले लेखा सुपरिवेक्षण समिति भनेको सहकारी संस्थाको वाच डगको संज्ञा दिए । लेखा समितिले संस्थाको सुपरिवेक्षण प्रभावकारी रूपमा गर्नुपर्ने उनको भनाई छ ।

सहकारी क्षेत्रलाई समाजवाद उन्मुख अर्थतन्त्र निमार्णका लागि सशक्त आधारशिलाको रूपमा स्थापना गर्नको लागि संविधानले नै अङ्गीकार गरेको छ । तर अहिले सहकारीमा धेरै समस्या छन् । नीतिगत तथा संस्थागत संरचनामा समस्याहरू धेरै देखिएको उनको बुझाई छ ।

‘सहकारीमार्फत आर्थिक समृद्धिको सम्भावना प्रशस्तै छ । अर्थतन्त्रमा सहकारीको महत्त्वपूर्ण योगदान छ । मुलुकको कूल ग्राहस्थ्य उत्पादनमा करिब ४ प्रतिशत योगदान छ । ९३ हजार ७ सयभन्दा बढीलाई प्रत्यक्ष रोजगारीको अवसर प्रदान गरेको छ । दिगो विकास लक्ष्य प्राप्तिका लागि वार्षिक १४.८१ प्रतिशत लगानी यो क्षेत्रको छ । तर हाम्रो आफ्नै कारणले सहकारीमा समस्यामा छ’ उनले भने ।

सहकारीमा आन्तरिक समस्या धेरै देखिएका छन् । लेखा समितिले आफ्नो जिम्मेवारी प्रभावकारी रूपमा बहन नगर्ने, बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने, कानुन कार्यान्वयनमा उदासीनता, संस्थागत संरचनामा समस्या, कार्यगत समस्या र प्रभावकारी नियमन नहुँदा सकारीलाई पिरोलिएको घिमिरेले उल्लेख गरे ।

कोभिड १९ सँगै विश्वमा आएको महामारी, सहकारीमा भाखा नाघेका कर्जाका साथै असुलीमा समस्या, विना धितो कर्जा प्रवाह, कर्जा वर्गीकरणमा प्रभावकारिता नहुँदा, ऋण जोखिमलाई ध्यान पुर्याउन नसक्दा र तरलता व्यवस्थापन गर्न नसक्दा सहकारीमा समस्या देखिएको उनले बताए ।

समस्या समाधानका लागि  सैद्धान्तिक मूल्य मान्यताप्रति प्रतिबद्ध हुँदै, सहकारी संस्थाका लेखा सुपरिवेक्षण समितिले प्रभावकारी रूपमा  आन्तरिक नियन्त्रण गर्दै सहकारी संस्थाका जागरूक सदस्यहरूले खबरदारी गर्नुपर्नेमा घिमिरेको जोड छ ।

उक्त टिप्पणीकर्ताको रूपमा समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका निवर्तमान अध्यक्ष काशीराज दाहालले संस्थाको अनुगमनको क्रममा एउटै सहकारीबाट बिना धिता ५ अर्ब सम्मको कर्जा आफ्नै श्रीमतीलाई जमानी राखेर वितरण गरेको देखिएको बताए ।

अन्धाधुन्ध र खुद्रा पसल जस्तै सहकारी संस्थाको दर्ता दिने प्रक्रिया रोक्नु पर्छ । यसरी दर्ता भएका सहकारी संस्थाहरूले राम्रा काम गर्ने सहकारी संस्थालाई विस्थापित गरेको दाहालले औँल्याए । सहकारी संस्थालाई तीन तहमा नियमन गर्ने व्यवस्था गरिएसँगै सहकारी क्षेत्रमा ठुलो समस्या आएको उनको भनाई छ ।

त्यस्तै अधिकांश सहकारी संस्थाहरूको सञ्चालक समिति र लेखा सुपरिवेक्षण समितिमा पारिवारिक एकाधिकार भएका कारण पनि सहकारीमा समस्या देखिएको उनले बताए । उनले भने, ‘लेखा समितिले आफ्नो जिम्मेवारी पूरा गर्ने हो भने ८० प्रतिशत समस्या समाधान हुन्छ ।’

कार्यक्रममा सहभागीबाट हरेक सहकारी प्रकृति फरक भए पनि मुख्यत कारोबार बचत ऋणको मात्र गरेका कारण सहकारीमा समस्या देखिएको उनको भनाई छ । सात वर्ष पहिले ऐनमा गरेको व्यवस्था कर्जा असुली न्यायधीकरण, कर्जा सूचना केन्द्र र बचत तथा ऋण सुरक्षण कोष स्थापना नहुनु नै समस्या देखिएको उनले औँल्याए । त्यसैगरी, उक्त प्रस्तुतिको सहजकताको रूपमा राष्ट्रिय सहकारी महांसघका वरिष्ठ उपाध्यक्ष रमेश पोखरेलले गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप