सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

जसपा नेपालको बैठकमा अशोक र राजेन्द्रको सत्तोसराप

उपेन्द्र यादवले भने, ‘म आफ्नो गल्ती सुधार गर्छु’
बुधबार, २६ वैशाख २०८१, २३ : ४५
बुधबार, २६ वैशाख २०८१

काठमाडौँ । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टीको केन्द्रीय समितिको बैठक सम्पन्न भएको छ । बैठकमा सहभागी केन्द्रीय सदस्यहरूले पार्टी विभाजन गर्ने नेताहरू अशोक राई, राजेन्द्र श्रेष्ठ, रेणु यादव, इस्तियाक राई, प्रदीप यादवलगायतको खुलेर आलोचना गरेका छन् ।

उनीहरुले  पार्टीबाट पटक पटक फाइदा लिएर पार्टीलाई नोक्सान पुर्‍याउने काम गरेको केन्द्रीय सदस्यहरूको गुनासो थियो । जसपा नेपाल मधेश प्रदेश समितिका अध्यक्ष बालकिशोर यादवले प्रदीप यादव दुई कार्यकाल सांसद भएपनि हरेक कार्यकालमा संसदीय कोषबाट सञ्चालन हुने विकास निर्माणका कार्यक्रमहरू बेचेको आरोप लगाए । 

नवगठित जसपाका उपमहासचिव रहेका समेत रहेका प्रदीपले अहितमा काम गरेर पार्टीलाई क्षति पुर्‍याएको उनले आरोप लगाए ।  राजेन्द्र श्रेष्ठले पनि पार्टीको हितमा कहिल्यै काम नगरेको आरोप यादवले लगाए । उनी सङ्गठन विभागको प्रमुख रहे पनि पार्टी महाधिवेशन भाँड्ने काममा सुरुदेखि लागेको आरोप यादवले लगाए । 

केन्द्रीय सदस्य कैलाश यादवले पार्टीले अशोक राईलाई जिताउनका लागि एमालेसँग गठबन्धन गरे पनि उल्टै उनले श्रीमतीलाई समानुपातिक सांसद बनाएको आरोप लगाए । आफू मन्त्री भएर पनि राई पार्टी विभाजनमा लागेको उनले टिप्पणी गरे । 

पार्टीमा सबैभन्दा बढी फाइदा लिने व्यक्ति अशोक राई भएको र उनले हरेक कुरामा भागबन्डामा काम गरेको यादवको आरोप थियो । अशोक राईको चरित्रलाई पार्टी अध्यक्ष उपेन्द्र यादवले बुझ्न नसकेको  उनले टिप्पणी गरे । 

केन्द्रीय सदस्य विश्वेश्वर यादवले अशोक राई अहिलेसम्मकै असफल मन्त्री रहेको आरोप लगाए । उनले मधेसका लागि केही पनि नगरेको यादवको भनाई थियो । यादवले बैठकमा रेणु यादवको पनि टिप्पणी गरे ।

पार्टीमा रेणुले पटक-पटक फाइदा लिएको, पटक-पटक गल्ती पनि गरेको तर अध्यक्ष उपेन्द्र यादवले यी सबै कुराको नजरअन्दाज गरेका कारण आज यो अवस्था आएको गुनासो यादवले गरे ।  अर्का केन्द्रीय सदस्य बम दर्लामीले बैठकमा राजेन्द्र श्रेष्ठले पटक-पटक अवसर पाए पनि पार्टीको हितमा कुनै काम नगरेको टिप्पणी गरे ।

काठमाडौँमा राजेन्द्र श्रेष्ठको कुनै जनाधार नभएको बताउँदै आफ्नो वडाबाट १० मत पनि ल्याउन नसक्ने उनको भनाई थियो । पार्टीले उनलाई समानुपातिक सांसद बनाएर मन्त्रीसम्म बनाएको तर आज उनले नै पार्टी नै छाडेर गएको टिप्पणी दर्लामीले गरे । 

केन्द्रीय सदस्य विद्युत् बज्राचार्यले जसपा नेपाल बनाउनमा श्रेष्ठको कुनै योगदान नरहेको दाबी गरिन् ।  केन्द्रीय सदस्य तारा विश्वकर्माले महाधिवेशन असफल बनाउने खेलमा राजेन्द्र श्रेष्ठ पनि लागेको आरोप लगाइन् । 

केन्द्रीय सदस्य सुनिता डोम मरिकले वीरगन्जमा बसेको केन्द्रीय समिति बैठकमा रेणु यादवले दिएको अभिव्यक्ति हेर्दा त्यतिबेलै  उनलाई कारबाही गरेर पार्टीबाट निकाल्न ढिला हुँदा यो अवस्था आएको बताइन् । 

माओवादी छाडेर जसपा नेपालमा प्रवेश गरेका रामकुमार शर्माले प्रचण्डबाट पटक-पटक जसपा नेपालमाथि प्रहार भएको धारणा राखे । गौर घटनादेखि लिएर मधेशमा हुने धेरैजसो घटनामा प्रचण्डको हात हुने गरेको दाबी गर्दै उनले अहिलेको घटनामा पनि प्रचण्डको नाम आइरहेको दाबी गरे । 

जसपा नेपाल विभाजन गराउने काम प्रचण्डको निर्देशनमा भएको कुरा पुष्टि भएको उनले बताएका थिए ।

बैठकमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले आफूले धेरै छिटो अरूमाथि विश्वास गर्ने गरेको र त्यो आफ्नो ठुलो कमजोरी रहेको बताए । त्यही कमजोरीको फाइदा धेरै नेताले उठाएको बताउँदै उनले अब आफूले त्यो कमजोरीलाई सुधार गर्ने धारणा राखे । 

उनले जो जो पार्टी छाडेर गए ती सबै अवसर प्राप्त गरिसकेका व्यक्ति रहेको बताउँदै उनीहरुले नै पार्टी विभाजन गरेर गएको बताए । त्यही भएर पनि कतै न कतैबाट षड्यन्त्र भएको पुष्टि हुने अध्यक्ष यादवको भनाई थियो ।

अहिले लागिरहेको आरोपबारे पार्टीको बैठकमा कहिल्यै पनि कुरा नउठेको बताउँदै उनले आफू विदेश जाने बेलासम्म पनि त्यस प्रकारको कुनै सङ्केत प्राप्त नभएको बताए । 

‘विदेश जाने दिन पनि कार्यकारिणी समितिको बैठक बसेको थियो तर त्यो बैठकमा पनि कुनै असन्तुष्टिका कुरा आएका थिएनन्, विदेश गइसकेपछि अचानक कुरा आउनुले धेरै कुराको सङ्केत गरेको छ’ अध्यक्ष यादवले भने ।

बैठकले अर्को केन्द्रीय समितिको बैठक वैशाख ३१ र जेठ १ गते काठमाडौँमा बस्ने निर्णय गरेको छ । साथै तोकिएको समयमै महाधिवेशन गर्ने निर्णय बैठकले गरेको केन्द्रीय सदस्य जयराम यादवले बताए । 

  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप