शनिबार, ०१ असार २०८१
ताजा लोकप्रिय
सत्ता राजनीति

मधेस प्रदेश : सरकारबारे हानथाप

आफ्नै नेतृत्वमा सरकार रहने मुख्यमन्त्रीको दाबी, नयाँ सरकार बनाउन एमाले–माओवादीको पहल
सोमबार, ३१ वैशाख २०८१, १७ : १७
सोमबार, ३१ वैशाख २०८१

वीरगन्ज । मधेस प्रदेश सरकार अल्पमतमा परेसँगै नयाँ सरकार गठनका लागि दुई पक्षबिच हानथाप चलिरहेको छ ।

सत्ता साझेदार दुई दल एमाले र माओवादी बाहिरिएपछि मुख्यमन्त्री सरोजकुमार यादवले आफ्नै नेतृत्वको सरकार टिकाउन पहल थालेका छन् । अर्कोतिर एमाले र माओवादीसहितका दल मिलेर नयाँ सरकार गठनको गृहकार्य पनि सुरु भएको छ ।

जसपा नेपालले कांग्रेस, लोसपासहितका दलसँग आफ्नै नेतृत्वको सरकार टिकाउन सहयोग मागेको छ । केन्द्रमा रहेका प्रतिपक्षी सबै दललाई समेटेर नयाँ सरकार बनाउन जसपा नेपालले गृहकार्य गरिरहेको स्रोत बताउँछ ।

मुख्यमन्त्री यादवले रातोपाटीसँग कुरा गर्दै आफ्नै नेतृत्वको सरकारले विश्वासको मत लिन सफल हुने दाबी गरे । उनले भने, ‘तपाईंहरू ढुक्क हुनुहोस्, म विश्वासको मत लिएर देखाउँछु । चौथो पटकजस्तै पाँचौँ पटक पनि म त्यसमा सफल हुन्छु, मेरो ग्यारेन्टी छ ।’

जसपा नेपालले खासगरी केन्द्रमा प्रतिपक्षी भूमिकामा रहेका कांग्रेस, लोसपा, जनमतलाई समेटेर नयाँ सरकार गठन गर्ने र उनीहरूकै समर्थनमा विश्वासको मत लिने योजना बनाएको छ ।

यसो गरेको खण्डमा प्रतिपक्षी दलहरूबाट कांग्रेसको २२, लोसपाको ८, जनमतको १३ र जसपा नेपालको १९ प्रदेश सांसदको समर्थन हुन जान्छ । अर्थात् यी दलहरूबाट ६२ जना प्रदेश सांसदको समर्थन हुन्छ, जुन सरकार निर्माणको लागि पर्याप्त हो ।

स्रोतका अनुसार जनमतलाई फकाएर विश्वासको मत लिने जसपा नेपालको पहिलो योजना छ । पहिलो योजनामा सफल नभए जसपा नेपालले आफ्नो नेतृत्व परिवर्तन गरेर आफू सरकारमा रहने गरी अर्को योजना अपनाउने तयारीमा रहेको जसपा नेपालका एक प्रदेश सांसद बताउँछन् ।

उनले भने, ‘यदि जनमतले जसपा नेपालको नेतृत्वमा स्वीकारेनन् भने अर्को उपाय अपनाइन्छ, त्यसपछि आफू नेतृत्व छाडेर अरु प्रतिपक्षी दलको नेतृत्वमा सरकार बनाइन्छ । तर जसपा नेपाल मधेस सरकार बाहिर रहँदैन, त्यो लगभग निश्चितजस्तै छ ।’

संवैधानिक प्रावधान अनुसार सरकारबाट समर्थन फिर्ता लिएको ३० दिनभित्र सदनबाट मुख्यमन्त्रीले विश्वासको मत लिनुपर्छ । यही प्रावधानलाई टेकेर मुख्यमन्त्री यादवले केन्द्रको समन्यव अनुसार प्रदेशका अन्य दलहरूसँग छलफलमा जुटेका छन् ।

नेतृत्वको विषयमा ४ दलमै खटपट सुरु  

यता आइतबार साँझ सरकारबाट बाहिरिएका माओवादी र एमाले दुवै दलले सरकार निर्माणको छलफललाई तीव्रता दिएका छन् ।

माओवादी केन्द्रका प्रदेश सभा सदस्य युवराज भट्टराई (समीर) का अनुसार सोमबार बिहानदेखि सरकार गठनबारे आन्तरिक छलफल सुरु भएको छ । उनले भने, ‘सोमबार बिहानदेखि हामीले ४ दलका शीर्ष नेताहरूसँग छलफल सुरु गरेका छौँ । ४ वटै दलका प्रमुखसहित जिम्मेवार व्यक्तिसँग आन्तरिक छलफल भइरहेको छ । तर निचोडमा पुग्न सकिएको छैन ।’

भट्टराईका अनुसार सरकारको नेतृत्व कसले गर्ने भन्नेमा ४ दलबिच विवाद छ । ‘सरकारको नेतृत्व पहिला कसले पाउने भन्ने विषय अहिले गम्भीर छ, किनकि सबै दलले आफ्नै नेतृत्वमा सरकार गठन होस् भन्ने इच्छा राख्न थालेका छन्,’ उनले भने ।

लोसपा र जनमत निर्णायक

एमाले र माओवादीले जसपा नेपाल नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि मधेसको राजनीति अस्थिर बन्दै गएको हो ।

केन्द्रको सत्ता पक्ष र प्रदेशको सत्ता पक्ष आ–आफ्नै नेतृत्वमा मधेस सरका गठनका लागि प्रयत्नशील रहँदा साना दलहरूको बार्गेनिङ पावर बढेको छ ।

मधेसमा जसपा नेपाललाई कांग्रेसले साथ दिने सम्भावना बढी छ । एमाले र माओवादी संयुक्त रुपमा सरकार बनाउने रणनीतिमा छन् । जसपा नेपाल र कांग्रेस एक ठाउँमा हुँदा लोसपा र जनमत निर्णायक हुने देखिन्छ । यी दुई दल जुन खेमामा जान्छन्, त्यही खेमाको सरकार निर्माण हुने सम्भावना प्रवल रहन्छ । तर निर्णायक भूमिकामा पुगेसँगै लोसपा र जनमतले मुख्यमन्त्री माग गर्न थालेकाले दुवै खेमालाई अहिले अप्ठ्यारो भइरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

अली असगर देवान
अली असगर देवान
लेखकबाट थप