शनिबार, ०१ असार २०८१
ताजा लोकप्रिय
कथा

एजिओड–४००

शनिबार, १२ जेठ २०८१, १३ : १४

समयलाई उछिनेर बदलिएको छ लोमन्थाङ । संसार लोमन्थाङको पछि–पछि हिँडिरहेछ ।

दामोदर कुण्ड गुफाभित्र सञ्चालित दशतारे होटलको ११६औँ तलामा हामी दुई आज साँझ मात्र आइपुग्यौँ । जापानको कान्साई नजिक समुद्री लहरहरूमा नाङ्गो शरीर तैरेर लन्च खाँदै सनबाथ लिइरहेका बेला एक्कासि उनलाई आफ्नै देशको गुफामा डिनर खाने रहर चलेछ । हामीले आफ्नै देशको ‘स्काई साइक्लोन’ नामको विशेष विमान मगायौँ । त्यो लोमन्थाङबाट तीन मिनेटमा कान्साई एयरपोर्ट पुग्यो र अर्को तीन मिनेटमा लोमन्थाङ पुर्‍यायो । लोमन्थाङमा हामीले २०७१ असारमा भ्रमण गरेका थियौँ । आज ६० वर्षपछि अर्थात् २१३१ साल पुस (सन् २०७४ जनवरी) महिनामा फेरि भ्रमण गर्न पाउँदा बेग्लै अनुभूति भइरहेछ । 

त्यतिखेर मेरो उमेर ५२ वर्ष थियो । अहिले म एक सय १२ वर्षको भएँ । हामी दुवैले १० वर्षअघि ‘एजिओड २००’ नामको ट्याबलेट एक–एक चक्की खाएका थियौँ । त्यो चक्कीले मान्छे कम्तीमा दुई सय वर्ष निरोगी रूपमा बाँच्न सक्तो रहेछ र मान्छे सधैँ तरुनो नै भइरहने रहेछ । ‘एजिओड–४००’ खायो भने चार सय वर्षसम्म बाँच्न सकिने प्रमाणित भइसकेको छ । अहिले हामी दुवैले सुरुको डोज मात्र लिएका छौँ । हामीलाई तरुनो उमेरको अनुभूति भइरहेछ ।

६० वर्षको अवधिमा लोमन्थाङमा बिछट्टै परिवर्तन भइसकेछ । मान्छेले चाह्यो भने संसारलाई नै फेरिदिन सक्छ भन्ने उदाहरण लोमन्थाङ भएको छ । हिजो साँझ हामी अल्ट्रासोनिक कारमा चढेर बेनीको कालीगण्डकी किनारदेखि तिब्बत छिर्ने कोरला नाकासम्म सातपटक घुमफिर गर्‍यौँ । अल्ट्रासोनिक कार केबलकारजस्तै रहेछ, तर त्यो केबलको सट्टा सौर्य शक्तिबाट चल्ने रहेछ । दुई जनादेखि १५ हजार मान्छेसम्म अट्न सक्ने क्षमता भएका रहेछन् ती कारहरू । त्यस्ता कार आकाशमा उड्दा हावामा रहेको शक्तिलाई खानामा परिणत गर्ने यन्त्रले आवश्यकताअनुसार खाना प्रदान गर्ने रहेछन् । हामीले साँझभरका लागि एउटा कार लियौँ र कहिले एक कुना, कहिले अर्को कुना, कहिले एक चुचुरा र कहिले अर्को चुचुरा रमाउँदै चहारिरह्यौँ । मैले अहिले संसारका १४० भन्दा बढी मुलुक घुमेँ । बाफ रे बाफ ! तर यो लोमन्थाङ जतिको सुन्दर र यहाँ जत्तिको रमाइलो अन्यत्र कतै भेटिनँ । मेरी उनीले पनि यसै भनिन्, यसपालि घुम्दा । मुख रहे मुलुक देख्न पाइन्छ भनेको सही त हो नि ।

कास्कीको नौडाँडादेखि पर्वत, बाग्लुङ, म्याग्दी र मुस्ताङलाई समेटेर १० वर्षअघि नै ‘स्पेसल इन्टरटेन्मेन्ट सेन्टर’ (विशेष मनोरञ्जन केन्द्र) बनाएको रहेछ सरकारले । त्यस क्षेत्रमा आउने विश्वभरका पर्यटक, वैज्ञानिक, अन्वेषक, कलाकार, साहित्यकार, व्यापारी, होटल, यातायात व्यवसायी आदिबाट उठाएको राजस्व गत डिसेम्बरमा मात्र ९७ अर्ब ८७ करोड ६७ लाख नेपाली रुपैयाँ भएको कुरा उच्च हिमाली विकास मन्त्रालयको वेभसाइटमा अङ्कित गरेको पाइयो । प्रचलित विनिमय दरअनुसार त्यो रकम ५१ खर्ब ३० अर्ब ४६ करोड ३१ लाख ६७ हजार अमेरिकी डलर हुने रहेछ । 

६० वर्षको अवधिमा लोमन्थाङमा बिछट्टै परिवर्तन भइसकेछ । मान्छेले चाह्यो भने संसारलाई नै फेरिदिन सक्छ भन्ने उदाहरण लोमन्थाङ भएको छ । हिजो साँझ हामी अल्ट्रासोनिक कारमा चढेर बेनीको कालीगण्डकी किनारदेखि तिब्बत छिर्ने कोरला नाकासम्म सातपटक घुमफिर गर्‍यौँ ।

यस्तै केन्द्रहरू सगरमाथावरिपरि र पश्चिमको अपी हिमालवरिपरि चलाइएको रहेछ । पर्यटन क्षेत्रबाट आर्जन गरेको सम्पत्तिले देशका हरेक गाउँ र हरेक सहर विकासको चरम अवस्थामा पुगिसकेका रहेछन् । नेपालले प्रदान गरेको ऋण र अनुदान सहयोगले साइबेरिया उजाड क्षेत्र; थार र गोभी मरुभूमि; इथियोपिया चाँद र बोलिभियाजस्ता देशहरूको प्रतिव्यक्ति आम्दानी पनि झन्डै नेपालीको सरदर आय एक करोड पन्चानब्बे लाख नेपाली रुपैयाँ बराबर पुग्न थालिसकेको बेहोरा हिजो साँझ वल्र्ड रिचेस्ट बैंक, लोमन्थाङले जनाएको पाइयो ।

हिजो साँझ लोमन्थाङ घुमेको कुरा भन्दै थिएँ, कुरै अन्तै मोडिएकामा क्षमा माग्छु । माछापुच्छ«े, धवलागिरि, अन्नपूर्ण र दामोदर हिमाललाई ‘म्युजिक एन्ड लाइट अब हिमाली पानोरमा’ नामको दृश्यावलीसँग जोडिएको रहेछ । साँझसँगै एकैसाथ एक हिमाली क्षेत्र रातो, अर्को पहेँलो, अर्को निलो, अर्को बैजनी, अर्को सुन्तले रङमा धपक्क धपक्क बल्ने र त्यो क्रमशः सबैतिर सर्दै जाने रहेछ । विद्युतीय इन्द्रेणी रङ हिमालभर र पहाडभर छरिँदा त्यहाँको संसार नै गजब र आश्चर्यपूर्ण देखिँदो रहेछ । 

अझ त्यो रङ परिवर्तन सँगसँगै संसार गुञ्जाउने सङ्गीत बज्दा मान्छेले आफ्ना सारा दुःख पीडा भुल्दो रहेछ र डाँडाकाँडा, पहाड, भिर, गुफा, नदी, बस्ती, बाटो जहाँ भए पनि झुल्न र नाच्न थाल्दो रहेछ । 

रातको पर्वाह छैन, रङ्गीन ज्योतिले जगमग र धपक्क उज्यालो बलेको छ त्यो हिमाली प्रदेशमा ।

सन् २००५ मा इजिप्ट भ्रमण गर्दा ‘पिरामिड ः साउन्ड एन्ड लाइट’ नामको कार्यक्रम हेरेको थिएँ । अँध्यारो थियो । गिजाका विशाल पिरामिडहरू अघिल्तिर मरुभूमिमाथि कुर्सीहरू बिछ्याइएका थिए । त्यहीँ बसेर संसारभरका पर्यटकहरू रमाएका थियौँ । विशाल पिरामिडहरू लहरै छन् । झमक्क अँध्यारो छ । तीनवटै पिरामिड क्षणमै निलो, क्षणमै रातो, क्षणमै पहेँलो, क्षणमै मिश्रित रङको देखाइन्छ विद्युतीय रङहरूले । 

अघिल्तिर रहेको राजा केफरसको मूर्तिलाई पनि त्यसै गरी देखाइन्छ । ती पिरामिड र राजा केफरसले आकाशबाटै तत्कालीन इतिहास बताउँछन् । आवाज र उज्यालाको सम्मिश्रणले परिवेश आश्चर्यपूर्ण र मोहक बनिरहन्छ । प्रकाशका रङ्गीन पहाडजस्ता देखिने पिरामिड दिउँसो देखिनेभन्दा फरक लाग्ने रहेछन् ।

लोमन्थाङ र मुस्ताङ क्षेत्रको ‘म्युजिक एन्ड लाइट’ अब ‘हिमाली पानोरमा’ले त पिरामिड क्षेत्रभन्दा हजारौँ गुणा बढी क्षेत्र ओगटेको रहेछ । हामीले हिमाल भनेपछि सधैँ सेतै देखिराखेको तर त्यहाँ त हिमालहरू नै निला, हरिया, पहेँला, राता देख्न पाइयो । कालीगण्डकी नदीले रातमा क्षण–क्षणमै इन्द्रेणी रङमा रङ परिवर्तन गरिरहेछ । क्षण–क्षणमा डिस्को लाइटमा डिस्को नाचेझैँ गर्छन् हिमाल र पहाडहरू । 

डाँडाकाँडा र हिमालहरूमा हावा बहँदा पनि फैलिन्छ नयाँ विद्युतीय रङको सौन्दर्य । अल्ट्रासोनिक कार चढेर झकिझकाउ संसार हेर्दै घरी कोरला नाका अघिल्तिर, घरी मुक्तिनाथ वरिपरि, घरी छुक्साङ, घरी ढाङ्मर, घरी समर, घरी दामोदर हिमालको काखमा, घरी धवलागिरिको चुचुरामा, घरी नीलगिरिको नाकमा, घरी अन्नपूर्णको उचाइमा ओर्लंदै, रमाउँदै फेरि त्यही क्रम दोहोर्‍याउँदा मन कस्तो पुलकित भयो, त्यसको बयानै नगरौँ । 

‘म्युजिक एन्ड लाइट’ अब हिमाली पानोरमा रातभरि आकाशमा उड्ने, जमिनमा गुड्ने क्रम जारी छ । कतै धमाका पड्किइरहेछन्, ठाउँ–ठाउँमा खाने पिउने क्रम जारी छ ।

गुरुत्वाकर्षणीय र अत्याधुनिक प्रविधिबाट चराङ गाउँभन्दा माथि आकाशमा एक हजार घरहरू भएको एउटा सहर बसाइएको रहेछ । त्यही सहरको मध्यभागमा एउटा विशाल चौर पनि बनाइएको रहेछ । छेउछाउमा सयौँ ठुलाठुला होटल रहेछन् । त्यो चौरमा अमृत गुरुङ, धीरज राई, कुन्ती मोक्तान, कोमल वली, दीपक लिम्बू, भक्तराज आचार्य, शिव परियारजस्ता गायक गायिकाका गीत सुनिए । दीपकराज गिरी, दीपाश्री निरौला, मदनकृष्ण श्रेष्ठ, हरिवंश आचार्यहरूले हास्यव्यङ्ग्य प्रस्तुत गरे । कति हल्का शरीर बनाएर नाच्न जानेका नारायणदेवी र सरला श्रेष्ठले । त्यो प्रत्यक्ष मनोरञ्जन कार्यक्रममा ३० लाख मान्छेले भाग लिए नाचे, गाए, झुमे । हामी पनि के कम ? रातभरि नाच्यौँ, गायौँ । ‘जोमसोमे बजारमा बाह्र बजे हावा सरर, ए हजुर, घर हाम्रो पोखरा’ भन्ने गीतमा गायक अमृत गुरुङसँग नाच्दा भने झन्डै खुट्टा मर्केको मेरो । ती अधिकांश कलाकार सय वर्ष नाघिसकेका छन् यतिखेर तर तिनको रूप, यौवन र स्फूर्ति हेर्दा भने पहिले पहिले हामी २० वर्षे तरुनो उमेर भन्थ्यौँ नि हो त्यस्तै छ ।

‘म्युजिक एन्ड लाइट’ अब हिमाली पानोरमा रातभरि आकाशमा उड्ने, जमिनमा गुड्ने क्रम जारी छ । कतै धमाका पड्किइरहेछन्, ठाउँ–ठाउँमा खाने पिउने क्रम जारी छ । नेपाली मनोरञ्जन कार्यक्रम हेर्न हलिउडका कलाकार टम क्रुज, सिमोन वेकर, गेराड बटलर, सान्ड्रा बुलक, मेगोन फक्स, निकोल किडम्यानहरू त्यहीँ उपस्थित थिए । उता बलिउडका गायक–गायिका सोनु निगम, शान, मोहित चौहान, अदनान सामी, सुजाता मोहन, उषा उत्थुप, अनुराधा पडुवाल, अलका याग्निकहरू ‘हिमाली सङ्गीत’ विषयमा विद्यावारिधि गर्न त्यही पुगेका रहेछन् । हलिउड र बलिउडका कलाकारले भने पनि— ‘हिमाली, सङ्गीत, हिमाली गीत, नाच र संस्कृति त जति सिके पनि नौलो हुनेरहेछ, जति बुझे पनि अझ बुझ्न बाँकी हुने रहेछ ।’ 

नाचगान र खानपिनमा रमाइरहेका बेला हाम्रै अघिल्तिर आगाको मुस्लो जस्तो एउटा ज्योतिपुञ्ज रोकियो । स्टार कार नामको त्यो वाहनमा तीन जना मात्र बस्न मिल्ने रहेछ तर त्यसको गति यति बेजोड रहेछ कि १० मिनेटमा यो सारा संसार एक फन्का मार्न सक्दो रहेछ । त्यो स्टार कार नेदरल्यान्ड्सको हेगबाट केहीबेर अघि मात्र उडेको रहेछ । त्यहाँबाट ओर्लिए हलिउडका कलाकार केथेराइन हेइग्ले र एडवार्ड नर्टन । उनीहरूलाई हामीले सन् २०१२ मा हलिउडमै भेटेका थियौँ र एक रात रातभर लसभेगसको रात्रिकालीन मनोरञ्जनात्मक बजारमा नाच्दै जीवनका दुःख बिर्सेका थियौँ । 

‘संसार कति सुखी, सम्पन्न र रमाइलो भइसकेछ भन्ने लोमन्थाङ आइपुगेपछि पो थाहा पायौँ हामीले,’ केथेराइनले भनिन् पनि । उनीहरूले चैलेभन्दा पारिपट्टिको एउटा गुफा एक महिनाका लागि बुक गरिसकेका रहेछन् । ‘चार हजार मिटर माथिको चैलेको त्यो गुफा हेगबाट चस्माको सहाराले हेर्दा मलाई असाध्यै मन पर्‍यो । युरोपको सबैभन्दा अग्लो मध्येको मँ व्लँ हिमाल त पाँच हजार मिटरको छैन । यहाँको यति उचाइको गुफामा महिना बिताउन पाउनु खुसीको कुरा हो,’ भन्दै थिए नर्टनले । 

धेरै वर्षपछि साथीहरू भेटिएको खुसी थियो । एडवार्ड र केथेराइन राम्रो अभिनेता–अभिनेत्री मात्र होइन, कुशल नर्तक–नर्तकी पनि हुन् भन्ने हामीलाई थाहा थियो । उनीहरू दुईजना र हामी दुईजना पनि त्यो विश्वको सर्वोच्च कन्सर्ट स्थल चराङमा पसिना निस्कुन्जेल नाच्यौँ । तामाङ सेलो, टप्पा नाच, देउडा नाच्दा पश्चिमी नाच नाच्दाभन्दा बेग्लै आनन्द आएको बताए ती दुवैले । हामी दुईले अन्नपूर्ण हिमालको चुचुराभित्र रहेको दशतारे होटल ‘अन्डरग्राउन्ड अन्नपूर्ण’मा रात्रिकालीन खाना खाने प्रस्ताव राख्यौँ । उनीहरूले सहर्ष स्वीकार गरे । पहिले भए चराङबाट अन्नपूर्ण हिमालको चुचुरामा पुग्न कम्तीमा १५ दिन पैदल हिँड्नुपथ्र्यो, त्यो पनि अक्सिजन र खाना बोकेर’ । अहिले त सेकेन्डमै सुइँकियो त्यहाँ । होटल व्यवस्थापन पूरै रोबोटबाट सञ्चालन भएको रहेछ । हामीले भिटामिन, मिनरल, कार्बोहाइड्रेडका केही गोली फरक–फरक स्वादमा खायौँ । केथेराइन र एडवार्डको एउटा ठुलो इच्छा मुस्ताङ ह्विस्कीको स्वाद लिनु थियो । एक हजार वर्ष पुरानो मुस्ताङे रक्सीमा मुस्ताङ क्षेत्रकै दामोदर हिमाल, अन्नपूर्ण हिमाल र धवलागिरि हिमालमा जमेको २० हजार वर्षभन्दा पुरानो हिउँका टुक्रा ‘गोल्डन आइस’ राखेर पिउनुलाई संसारभरकै पियक्कडहरूको प्रमुख प्राप्ति मानिएको छ । प्रतिपेग दुई लाख नेपाली रुपैयाँ पर्ने मुस्ताङ ह्विस्की हामी सबैले लियौँ । 

म्युजिक एन्ड लाइट अब पानोरमाले रङ्गीन र गुञ्जायमान भइरहेथ्यो अन्नपूर्ण हिमाल । हामी चुचुरामुनिको भूमिगत होटलबाट बाहिरिएर रातमै पिउन थाल्यौँ लोमन्थाङको सौन्दर्यलाई । त्यहीँ भेटिइन् वैज्ञानिक मार्गरेट जे गिलर । एक जमानामा ब्रह्माण्डको सौन्दर्यपूर्ण नक्सा निर्माण गर्न सफल वैज्ञानिक भनेर उनी निकै प्रख्यात थिइन् । अचेल भने उनकै नेतृत्वमा मुस्ताङ क्षेत्रमा रहेको युरेनियम र नुन निकाल्ने काम भइरहेको रहेछ । विश्व बजारमा माग रहेको नुन र युरेनियमको आधा भाग त्यहीँ ‘युरेनियम एन्ड साल्ट सेन्टर मुस्ताङ’ले पूर्ति गर्ने जानकारी दिइन् गिलरले । त्यो खनिज खोज्ने कामको विशिष्ट वैज्ञानिक र उच्च तहका पदाधिकारीमध्ये अधिकांश नेपाली र कामदार भने युरोप, अमेरिका र अस्ट्रेलियातिरका रहेको जानकारी पाइयो गिलरबाट । ५०–६० वर्ष अघिसम्म यी हिमाललाई ढुङ्गाको थुप्रो मात्र देखेका रहेछन् मान्छेहरूले । यी त उच्चस्तरको युरेनियम र विशेष खालको नुनका भण्डार नै हुन् । नेपालले यही नुन र युरेनियमको माध्यमबाट संसारको मुहार फेरिदिएको यथार्थता बके गिलरसँगै भेटिएका अर्का वैज्ञानिक एलेन एस्पेक्टले । ‘जान्नेलाई श्रीखण्ड, नजान्नेलाई खुर्पाको बिँड’ भनेको यही त हो नि भनिदिएँ मैले एलेनलाई ।

मस्तीसँग बित्यो रात लोमन्थाङमा । निद्रा नपुगे पनि शरीरलाई खराब असर नपर्ने औषधी एन्टी इन्सोम्निया एकपटक सुघ्यौँ शरीर र मन दुवै चङ्गा भए । हामी दुवै भोक न भकारी शोक न सुर्ताको स्थितिमा रमाइरह्यौँ । 

घामसँगै समृद्धिको चरमतामा देखियो लोमन्थाङ । साठी वर्षअघि लोमन्थाङ मरुभूमि थियो, हिमाल थियो, नदी थियो र जडीबुटीको भण्डार थियो । अहिले ती सबैले रूप फेरेर संसारकै नमुना, सुन्दर र सफा सहरमा दरिएको छ । मान्छेले गर्‍यो भने के हुँदोरहेनछ र भन्ने उदाहरण बनेको रहेछ, लोमन्थाङ ।

बाहिरतिर हिमपत्रले सेताम्य छ संसार । हामी लोमन्थाङ विश्वविद्यालय परिसरभित्रको हरितगृह बगैँचामा छौँ । चार–पाँच दिनमा घुमेर पनि नसकिने रहेछ त्यो बगैँचा ।

‘मलाई त अलिअलि भोक लाग्यो, हजुरलाई लागेको छैन ?’ उनको प्रश्नले मैले भोक सम्झिएँ । नाडीमा बाँधेको ‘इन्साइक्लोपिडिया फरएभर’ नामको यन्त्र हेरेँ । मेरो शरीरमा कार्बोहाइड्रेड, प्रोटिन, तेल, भिटामिनको स्तर न्यून हुन आँटेको सङ्केत गर्‍यो त्यसले । हामी चराङनजिकै गेलिङ भञ्ज्याङ र न्योला भञ्ज्याङ बिचमा रहेको विशाल उपत्यकामा प्रवेश गर्‍यौँ । त्यहाँ लोमन्थाङ विश्वविद्यालय खुलेको पनि ४६ वर्ष भइसकेछ । २३९ विषय पढाइ हुने त्यो विश्वविद्यालय विश्वको सर्वाधिक विषय पढाइ हुने अत्यधिक सुविधासम्पन्न र सबैभन्दा महँगो शुल्क तिर्नुपर्ने शैक्षिक प्रतिष्ठान रहेछ । एकै साथ पाँच लाख विद्यार्थी त्यस विश्वविद्यालयमा अध्ययन गर्न सक्ने रहेछन् । अरू अनुसन्धान र खोज गर्नेहरू त कति कति । 

हामी त्यही विश्वविद्यालयको क्याफ्टेरियामा पस्यौँ । मल्टिभिटामिन, कार्बोहाइड्रेड र प्रोटिनका केही सप्लिमेन्टहरू खायौँ । मलाई त हामीले बाल्यकालमा खाने गरेको मःमः र चाउचाउ खान मन लाग्यो । त्यो पनि एक एक प्लेट खाएर जिब्रो पड्काइयो ।

बाहिरतिर हिमपत्रले सेताम्य छ संसार । हामी लोमन्थाङ विश्वविद्यालय परिसरभित्रको हरितगृह बगैँचामा छौँ । चार–पाँच दिनमा घुमेर पनि नसकिने रहेछ त्यो बगैँचा ।

पातहरू फरफराइरहेछन् मन्द हावामा । चराचुरुङ्गी र जनावरहरूको आवाजले सुमधुर तरङ्ग फैलिरहेछ वायुमा । फुल, पात, हाँगा र लहराका रङ र आकारले रोमाञ्चक बनाइरहेछ शरीरलाई । उनी र म गाढा रातो गुलाफको बगैँचाभित्र छिर्‍यौँ । त्यहाँ शान्त र सुनसान थियो । कुनै जोडी त्यस्ता साना बगैँचाभित्र पसेपछि बाहिरै साङ्केतिक बत्ती बाल्न मिल्नेरहेछ, बाल्यौँ । त्यहाँ हरिया चौरहरू थिए । मिठो सुवास थियो । हामी चौरमै लडीबुडी खेल्दै रमायौँ । चुम्बनको अमिट आनन्दका बेला हाम्रै अघिल्तिरको धूपीको हाँगाबाट चुच्चो जुधाउँदै चिरबिराए एक जोडी हरिया सुगा । हामी उनीहरूसँग केही लजायौँ र फक्र्यौं ।

दिनको २ बजेको छ । हामी न्योला भञ्ज्याङ पार गरेर ताङमार उपत्यकामा प्रवेश गरेका छौँ । हामीले ६० वर्षअघि ताङमार भ्रमण गर्दा त्यो उपत्यका केवल हिमनदीले बगाएर ल्याएको हिमोटको थुप्रो थियो । उपत्यका पूरै पहेँला, राता र निला ढुङ्गाहरूको भिडले भरिएको थियो । ढुङ्गाको त्यो मोडदार आकृति र रङ्गीन स्वरूपले ‘ताङमार’ पूरै रक्तिम सौन्दर्यपुञ्ज देखिन्थ्यो । स्थानीय भाषामा ताङमारले ‘राता ढुङ्गाहरू’को अर्थ दिने भएकाले त्यो सार्थक थियो । वरिपरि हिमाली डाँडाहरू मात्र थिए । अहिले त ताङमार पूरै अर्कै भइसकेछ । परपरबाट पानी जहाजहरू आइरहेको दृश्य मनमोहक थियो । हिन्द महासागरको एक भङ्गालो भूमिगत रूपमा ताङमारसम्म पुर्‍याइएको रहेछ । त्यो विश्वको एउटा आश्चर्यपूर्ण घटना थियो । हामी केहीबेर बन्दरगाहमा घुम्यौँ । सामानहरू ओसारपसार गर्ने र यात्रुहरूको आवतजावतको अलि भिड हुँदोरहेछ ताङमार बन्दरगाहमा ।

‘हुइँइँ, हुँइँइँ...’ एउटा लामो सिठी बज्यो उत्तरपट्टि भित्ताबाट । हामीले आश्चर्य मान्दै त्यता हेर्‍यौँ । ३३ मिनेटअघि तासकन्दबाट गुडेको रेल ताङमार स्टेसनमा रोकिएको रहेछ । त्यही रेलबाट रसियाका भूतपूर्व राष्ट्रपति भ्लादिमिर पुटिन पनि ओर्लिए । ‘अबको जिन्दगी लोमन्थाङमै बिताउन एउटा गुफा किनिसकेको जानकारी दिए उनले । अमेरिकाका भूतपूर्व राष्ट्रपति बाराक ओबामा, बेलायतका भूतपूर्व रानी एलिजाबेथ, साहित्यकार गाब्रियल गार्सिया मार्खेजहरूले पनि लोमन्थाङमा एक–एक वटा गुफाहरू किनिसकेका र अबको जिन्दगी त्यतै बिताउने भएकाले आफू पनि यतै बसाइँ सर्न पाएकामा खुसी व्यक्त गरे पुटिनले । उनको आग्रहमा हामीले एउटा सामूहिक तस्बिर खिच्यौँ । त्यहीँ भेटिए लोमन्थाङका पुराना मित्र आङ्गेल र कर्चुङ बहिनी । उनीहरूको आग्रहमा केशोरजोङमा चिया पिइयो ।

टासिदेले (नमस्कार)— हाम्रो पछिल्तिरबाट आवाज आयो ।

‘म पेम्पा साङ्मो ।’ साठी वर्षअघिको सम्झना गराइन् बहिनीले । त्यतिखेर उनी लोमन्थाङ गुम्बाकी आनी थिइन् । कपाल खौरेर गेरुवस्त्रमा बेरिएकी थिइन् । अहिले त पूरै अर्कै भइछन् उनी । कालो कर्ली कपाल हावामा लहरिरहेको थियो उनको । छोटो मिड्डी र स्लिपलेस छोटो सर्ट मात्र थियो उनको शरीरमा ।

‘अब धर्म के भयो ?’ मैले छोटकरी सोधेँ ।

‘धर्म अब मान्छेबाहेक केही रहेन । धर्मका नाममा प्रकृतिविरुद्ध चल्ने अब सबै हराए । धर्म केवल मान्छेको विवेक, ज्ञान, अनुशासन, समृद्धि र वैज्ञानिक कर्म भएको छ । अब धर्मको नाममा छलछाम र प्राकृतिक नियम विरुद्ध केही छैन । धर्म भनेकै मानववाद भएको छ । प्रकृति सापेक्ष रहेर मानवको कीर्ति बढाउने कर्म नै धर्म हो अब । स्वर्ग, नर्क, मोक्ष, पाप, धर्म, पुनर्जन्मका बहाना सबै मरिसके,’ बहिनीले भनिन् ।

लोमन्थाङ अकासे सहरमा पूरै परिवर्तन भएको देखियो । 

पहिलोपटक लोमन्थाङ पुग्दा पेम्पा साङ्मो र म थोरै समयमा धेरै रमाएर गफिएका थियौँ कर्चुङ बहिनीको मिस्टिक होटलमा ।

‘छेराङ दुरु सुक’ अर्थात् तपाईं यहीँ बस्नुस् — साठी वर्षअघि मिस्टिक होटलमा बोलेका वाक्य फेरि दोहोर्‍याइन् पेम्पाले ।

‘डे स मिजिकी किद’ अर्थात् यो ठाउँ रमाइलो छ  — मैले पनि साठी वर्षअघिकै उत्तर दोहोर्‍याएको थिएँ ।

‘ङा. थेराङ्ला घाउ हे’ अर्थात् म तपाईंलाई माया गर्छु— उनले मेरो कानै छेउमा बोलेको सुमधुर आवाजमा भने मैले केही जवाफ दिइनँ । लजाउँदै हेरिरहेँ मेरी मायालु लोमन्थाङलाई । आखिर माया नै त रहेछ मान्छे हुनुको अर्थ । संसार जति बदलिए पनि संवेगमै त बाँच्दोरहेछ मान्छे ।

मेरी लोमन्थाङ संसारकै सर्वोत्कृष्ट सौन्दर्य बोकेर एकटकले हेरिरहिछिन् मेरा हाउभाउलाई । उकालो उक्लिइरहेका बेला उनलाई पो भनिदिएँ मैले— ‘ङा थेराङ्ला घाउ हे ।’

नयाँ समयले फक्राएको नौलो फूल ढकमक्क फक्रेको छ लोमन्थाङमा । फेरिइसक्यो अब जीवनको परिभाषा ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. दामोदर पुडासैनी ‘किशोर’
डा. दामोदर पुडासैनी ‘किशोर’
लेखकबाट थप