शुक्रबार, ०४ साउन २०८१
ताजा लोकप्रिय

‘मेगाथ्रेट्स’ : वैश्विक प्रणालीलाई सङ्कट पार्न सक्ने १० प्रमुख थ्रेट्स र समाधान

आइतबार, ०२ असार २०८१, १३ : १९
आइतबार, ०२ असार २०८१

मेगा थ्रेट्स अवधारणाको प्रतिपादन टर्किस मूलका अमेरिकी अर्थशास्त्री तथा नीति विश्लेषक न्योरियल रोउबिनीले सन् २०२२ मा उनीद्वारा लिखित पुस्तक ‘मेगाथ्रेट्स’मार्फत गरेका हुन् । 

रोउबिनीका अनुसार आर्थिक, राजनीतिक, वातावरण, वित्तीय तथा मौद्रिक, भूराजनीतिक, सूचना प्रविधिजस्ता क्षेत्रमा आएको एकल वा एकभन्दा बढी साझा वा विश्वव्यापी सङ्कट नै ‘मेगाथ्रेट्स’ हो । जसले ग्लोबल प्रणालीलाई नै सङ्कटग्रस्त बनाउन सक्ने अत्यन्त ठुलो जोखिमलाई जनाउँछ; ठुलो हानि–नोक्सानी पु¥याउँछ । रोउबिनीले सन् २००८ र २००९ को ‘सब–मोर्गेज’ (धितो धरौटी) सङ्कटको पूर्वानुमान गरेर आफ्नो विशेष पहिचान बनाएका हुन् । 

आफ्नो पुस्तक ‘मेगाथ्रेट्स’मा रोउबिनीले मुख्यतः १० वटा खतरा वा सङ्कटका बारेमा विशेष महत्त्वका साथ चर्चा गरेका छन् । उनका अनुसार ग्लोबल प्रणालीलाई सङ्कट पार्न सक्ने १० प्रमुख थ्रेट्स देहायबमोजिम छन् । 

१) राजनीतिक अस्थिरता 

राजनीतिक अस्थिरता विश्वव्यापी चुनौतीका रूपमा देखिन्छ, जसले कानुनी राज्यलाई कमजोर मात्रै बनाउँदैन, जन असन्तुष्टि पनि बढाउँछ; भ्रष्टाचार र सामाजिक द्वन्द्व बढाउँछ । साथै कूूटनीतिक सम्बन्धमा खलल पुग्नुका साथै अन्तर्राष्ट्रिय सम्बन्ध कमजोर बन्दै जान्छ । 

२) आर्थिक सङ्कट

राजनीतिक अस्थिरताले आर्थिक स्थायित्व कायम हुन दिँदैन । छिटोछिटो सरकार परिवर्तन भइरहनाले वित्तीय नीतिहरूमा पनि फेरबदल भइरन्छ । परिणामस्वरूप वित्तीय बजार, बैङ्किङ प्रणालीमा उतार–चढाव सिर्जना हुन पुग्छ । लगानीको वातावरण हँुदैन । औद्योगिकीकरणको गति सुस्त हुन्छ र बेरोजगारी समस्यामा वृद्धि हुन्छ । 

३) साइबर खतरा 

साइबर आक्रमण, डेटाहरू चुहावट वा चोरी हुनेजस्ता समस्याका साथै इन्टरनेट र सामाजिक सञ्जालको दुरुपयोग हुने खतरा बढ्छ । अनलाइन अपराधको वृद्धि हुन्छ । जसका कारणले व्यक्ति, संस्था र राष्ट्रको सुरक्षामाथि गम्भीर चुनौती सिर्जना हुन्छ । 

४) सामाजिक असमानता 

धनी र गरिबबिचको बढ्दो दूरीले समाजलाई विभाजित गर्छ, जसले सामाजिक मनोविज्ञानमा विभाजन मात्रै ल्याउँदैन, द्वन्द्व समेत सिर्जना गर्छ र सामाजिक अपराधलाई बढाउँछ । 

५) भूराजनीतिक द्वन्द्व 

भूराजनीतिक द्वन्द्व वर्तमान विश्वको ठुलो चुनौती बन्दै गएको छ । खासगरी आर्थिक सहयोगका नाममा हुने दबाबहरू, व्यापारसँग सम्बन्धित विवादहरू र युद्ध तथा आर्थिक नाकाबन्दीले एकातर्फ राष्ट्रिय सुरक्षामा खतरा उत्पन्न गरेको छ भने अर्कातर्फ अन्तर्राष्ट्रिय सम्बन्धमा खलल पुगेको छ । 

६) जनसाङ्ख्यिक परिवर्तन

विगतमा जनसङ्ख्या वृद्धिलाई ठुलो चुनौतीका रूपमा लिने गरिन्थ्यो । अब जनसाङ्ख्यिक परिवर्तन विकसित मुलुकका लागि ठुलो चुनौती बन्न पुगेको छ । विवाह नगर्ने, ढिलो विवाह गर्ने, बच्चा नजन्माउने वा एउटा मात्र जन्माउनेजस्ता प्रवृत्ति देखिएका छन् । यसले जनघनत्व घट्दै जाने, वृद्धहरूको सङ्ख्या बढ्दै जाने, उनीहरूलाई हेरचाह गर्ने सन्तान नहुने, जनसाङ्ख्यिक लाभ घट्नेजस्ता समस्या देखिएका छन्; समाजमा आर्थिक र सामाजिक चुनौती बढ्दै गएका छन् । 

७) प्राविधिक चुनौती

आर्टिफिसियल इन्टेलिजेन्स वा रोबटिक्सको विकास र वृद्धिले रोजगारीक क्षेत्रमा ठुलो चुनौती ल्याएको छ । रोबटिक्सको प्रयोगले हुने मजदुरहरूको कटौती र त्यसले सिर्जना गर्ने बेरोजगारीले सामाजिक अपराध, द्वन्द्व र जन असन्तुष्टि बढ्दै जाने सम्भावना छ । 

८) जलवायु परिवर्तन 

जलवायु परिवर्तन विश्वको साझा समस्या बन्दै गएको छ । जस कारण तापक्रममा वृद्धि हुने, समुद्र सतह बढ्दै जाने, अनपेक्षित वा बेमौसमी विपत्का घटना घट्ने गरेका छन्; यसले जनजीविका र वातावरणमा ठुलो समस्या सिर्जना गरेको छ । 

९) स्वास्थ्यजन्य सङ्कट

महामारीका रूपमा सङ्क्रामक रोगहरू विश्वव्यापी रूपमा फैलने खतरा बढ्छ । जसले जनस्वास्थ्यमा गम्भीर प्रभाव पार्छ । जस्तै ः कोरोना महामारीले विश्वलाई तहसनहस बनाएको थियो । 

१०) आपूर्तिमा अस्थिरता

राष्ट्रिय रूपमा आपूर्ति शृङ्खलाजस्तै अन्तर्राष्ट्रिय रूपमा पनि आपूर्ति शृङ्खलाको प्रवाह निरन्तर हुन्छ । जसले उत्पादनदेखि वितरणसम्मका प्रक्रिया र प्रणाली नियमित गर्छ । यो प्रणालीमा समेत अस्थिरता र असन्तुलन सिर्जना भई उद्योग, व्यपार, वाणिज्यजस्ता क्षेत्रमा विश्वव्यापी रूपमा गम्भीर समस्या सिर्जना हुन्छ । 

यसरी सम्भावित सङ्कटको पूर्वानुमान गर्दै आएका रोउबिनीले ‘मेगाथ्रेट्स’का कारण र समाधानका उपाय समेत प्रस्तुत गरेका छन् । हरेक देशका नीति निर्माताले यस विषयमा समयमै अध्ययन, विश्लेषण र मूल्याङ्कन गरेको खण्डमा सम्भावित थ्रेट्सलाई न्यूनीकरण गर्न सकिने प्रबल सम्भावना देखिन्छ ।

रोउबिनीले आफ्नो पुस्तक ‘मेगाथ्रेट्स’मा यसबाट उत्पन्न हुने खतरालाई सामना गर्न नीति–निर्माता तथा व्यवसायीलाई देहाय बमोजिमका सुझाव दिएका छन् । 

क) राजनीतिक स्थिरता कायम गर्ने 

अधिकांश समस्याको समाधान राजनीतिक स्थिरताले दिन्छ । राजनीतिक स्थिरताले आर्थिक स्थायित्व कायम गर्छ । राजनीतिक स्थिरतामा नेतृत्वले उच्च नैतिकता, प्रजातान्त्रिक मूल्य–मान्यता, विधिको शासन तथा सुशासनको प्रत्याभूूतिद्वारा जनअसन्तुष्टिको सम्बोधन गर्नुपर्छ । 

ख) वित्तीय सुधार

वित्तीय सुधारबिना आर्थिक सङ्कटको समाधान र गतिशील स्थिरता सम्भव छैन । यसका लागि केन्द्रीय बैङ्कमार्फत बैङ्कहरूको नियमनलाई कडा र पारदर्शी बनाउनुका साथै आर्थिक जोखिम व्यवस्थापनका उपायलाई थप सुधार गर्नुपर्छ; वित्तीय अनुशासन र पारदर्शिता कायम गर्दै वित्त नीतिमार्फत सरकारी नियमनलाई सशक्त बनाउनुपर्छ । 

ग) साइबर सुरक्षा 

प्रविधिको सम्भावित दुरुपयोगलाई रोक्न साइबर सुरक्षामा भरपर्दाे उपाय अवलम्बन गर्नुपर्छ । यसका लागि साइबर आक्रमणलाई रोक्ने, उच्च गोपनीयता कायम गर्ने, डेटाहरूको सुरक्षाको भरपर्दाे व्यवस्था गर्ने, सर्वसाधारणमा साइबर सुरक्षासम्बन्धी सचेतना फैलाउने, साइबर अपराधसम्बन्धी कडा कानुनी व्यवस्था गर्नेजस्ता कार्य गर्नुपर्छ । 

घ) सामाजिक समानता

समाजमा आर्थिक रूपले हुने असमानतालाई न्यूनीकरण गर्न थप रोजगारीको अवसर सिर्जना गर्नुपर्छ । न्यूनतम ज्याला निर्धारण गर्न, शिक्षा र स्वास्थ्यमा सर्वसाधारणको पहुँच पु¥याउन, सामाजिक सुरक्षा कार्यक्रमको कार्यान्वयन गर्न, प्रगतिशील कर प्रणाली अवलम्बन तथा नागरिकलाई समान अवसर प्रदान गर्नतिर राज्य लाग्नुपर्छ । 

ङ) भूराजनीतिक सन्तुलन

उच्चस्तरको कूटनीतिक कौशलता र सन्तुलित परराष्ट्र नीतिमार्फत भूराजनीतिक द्वन्द्वहरूलाई समाधान गर्नुपर्छ । अन्तर्राष्ट्रिय कूटनीतिक सहकार्य र सार्थक सहभागितालाई औचित्यपूर्ण बनाउन, अन्तर्राष्ट्रिय मामिलाहरूलाई पारस्परिक हित अनुकूल सञ्चालन गर्न राज्य लाग्नुपर्छ । 

च) जनसङ्ख्या व्यवस्थापन

जनसाङ्ख्यिक लाभ बढाउन, वृद्धहरूको हेरचाह गर्न, स्वास्थ्य सेवा तथा सामाजिक सुरक्षासम्बन्धी ठोस नीति अवलम्बन गर्न राज्य लाग्नुपर्छ । 

छ) प्रविधिलाई अवसरमैत्री बनाउने

आर्टिफिसियल इन्टेलिजेन्स वा प्रविधिले सिर्जना गरेको मजदुरहरूको सङ्ख्या कटौतीको समस्यालाई समाधान गर्न श्रमिकलाई थप दक्ष तथा प्रविधिमैत्री बनाउँदै लैजानुपर्छ । श्रमिक र रोबोटको सन्तुलित प्रयोगका लागि कानुनी रूपमा सुनिश्चितता प्रदान गर्नुपर्छ । 

ज) जलवायु परिवर्तनलाई नियन्त्रण गर्ने

विश्वव्यापी समस्या बन्दै गएको जलवायु परिवर्तनलाई नियन्त्रण गर्न नविकरणीय ऊर्जाको प्रयोग बढाउने, हरित ग्यासको उत्सर्जनलाई घटाउने, हरित अर्थतन्त्र निर्माणको दिशामा काम गर्ने, वातावरण संरक्षणमा अन्तर्राष्ट्रिय सहकार्य बढाउनेजस्ता कार्य गर्नुपर्छ । 

झ) स्वास्थ्यमा सुधार 

स्वास्थ्य र शिक्षाको क्षेत्रमा लगानी वृद्धि गर्ने, स्वास्थ्य सचेतना बढाउने, स्वास्थ्यसम्बन्धी पूर्वाधारको थप विकास गर्ने, सङ्क्रामक रोगहरूको रोकथाम गर्ने तथा सर्वसाधारणको स्वास्थ्य सेवामा पहुँच बढाउन स्वास्थ्य सेवालाई सर्वसुलभ बनाउने आदि कार्यक्रम राज्यसँग हुनुपर्छ । 

ञ) आपूर्ति शृङ्खला 

आपूर्ति शृङ्खलाको अस्थिरतालाई कम गर्न उत्पादनमा विविधीकरण गर्नुपर्छ । स्थानीय उत्पादनको प्रवद्र्धन र नवप्रवद्र्धनमा जोड दिनुपर्छ । उत्पादन र वितरणका क्षेत्रमा हुने जोखिममा न्यूनीकरण गर्न बिमा व्यवस्था आदि लागु गर्नुपर्छ ।

  • पोलिक्राइसिस र मेगा थ्रेट्स

पोलिक्राइसिस र मेगाथ्रेट्स दुवै ग्लोबल प्रणालीका विशेष सङ्कट हुन् । जसले वर्तमान विश्वको अस्थिरता र हाँकलाई चित्रण गर्छ । 

पोलिक्राइसिसले जटिल सङ्कटहरूको अन्तक्र्रियाबाट एकै समयमा एकसाथ उत्पन्न हुने बहुसङ्कटलाई जनाउँछ । यो अवस्थामा एउटा सङ्कटले अरु सङ्कटलाई एकसाथ सिर्जना गर्छ । विश्व प्रणालीलाई थप जटिल र अस्थिर बनाउँछ । पोलिक्राइसिसको समाधान गर्नका लागि एकसाथ बहुसङ्कटहरूको समाधान गर्नुपर्ने हँुदा निकै कठिन र जटिल हुन्छ ।

मेगाथ्रेट्सले एउटै तर विशाल सङ्कटलाई जनाउँछ, जुन सङ्कटले ठुलो मात्रामा हानि–नोक्सानी पु¥याउँछ । मेगाथ्रेट्स पोलिक्राइसिसको तुलनामा स्वायत्त हुन्छ, प्रभाव वा असर भने विशाल हुन्छ अर्थात् विश्वव्यापी वा ठुलो क्षेत्रमा यसको असर पर्छ । जस्तै ः कोभिड १९ को महामारी, ठुलो म्याग्निच्युटको भूकम्प इत्यादि ।

मेगाथ्रेट्सको समाधान गर्न एकल सङ्कट समाधान गर्नेतर्फ केन्द्रित हुनुपर्छ । त्यसकारण समाधान गर्ने हिसाबले यो पोलिक्राइसिसको तुलनामा सरल छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

केशव खतिवडा
केशव खतिवडा
लेखकबाट थप