‘बच्चा बेला लागेको हेपाटाइटिस ‘बी’ एकदमै संवेदनशील हुन्छ’
हेपाटाइटिसका पाँच प्रकार छन् । हामीले सामान्यतः जन्डिसलाई हेपाटाइटिस भन्ने गर्छौँ । यसमा पनि क्रोनिक र अक्यूट दुई प्रकारका छन् । दीर्घकालीन र छोटो अवधिका लागि दुई प्रकारका हेपाटाइटिस मानिसहरूलाई हुने गर्छ । भाइरल हेपाटाइटिस‘ए’ र ‘इ’हाम्रो समाजमा बढी देखिने गर्छ । तर विश्वभरको परिप्रेक्ष्यमा भाइरल हेपाटाइटिस ‘बी’र ‘सी’ को बारेमा बढी छलफल भएको देखिन्छ र जोखिम पनि बढी हुने गर्छ । अहिलेको अवस्थामा संसारभरमा करिब ३० करोड मान्छेहरूलाई हेपाटाइटिस ‘बी’ र ‘सी’ ले सङ्क्रमण गरेको छ भन्ने तथ्याङ्क छ । २०२२ सम्ममा सबै भाइरल हेपाटाइटिस ‘बी’ले मात्र २५ करोड जति मानिसलाई सङ्क्रमण गरेको भन्ने तथ्याङ्क छ ।
त्यसमध्ये हेपाटाइटिस ‘बी’ र ‘सी’ को सङ्क्रमण पश्चिमी राष्ट्रभन्दा नेपालमा अलि कम नै छ । तर जति पनि छ त्यो अलि बढी संवेदनशील नै छ । किनभने हेपाटाइटिस ‘बी’को दीर्घकालीन असरहरू हुन्छ । यसको प्रभाव पनि बढी नै हुन्छ । यसबाट कलेजोको क्यान्सर पनि हुनसक्छ । त्यस कारण हेपाटाइटिस ‘बी’ र ‘सी’एकदमै संवेदनशील भएको हुनाले नेपालमा जति सङ्ख्यामा छ तिनीहरूको अवस्थालाई ध्यानमा राखेर हेपाटाइटिस ‘बी’ र ‘सी’लाई पनि कमजोर ठान्नु हुँदैन ।
हेपाटाइटिस ‘बी’बच्चैमा लागेको छ भने करिब ९५ प्रतिशत जति जनसङ्ख्यामा पछि गएर क्रोनिक हेपाटाइटिस हुने सम्भावना छ । बच्चा बेला लागेको हेपाटाइटिस ‘बी’ एकदमै संवेदनशील हुन्छ । यो पछि क्रोनिक हुने सम्भावना हुन्छ । बच्चा बेलामा हुने बेलाको हेपाटाइटिसलाई जसरी भए पनि नियन्त्रण गर्ने प्रयासमा लाग्नुपर्छ । हेपाटाइटिस ‘बी’ को भ्याक्सिन छ । समयमा नै भ्याक्सिन दिन सक्यौ भने हेपाटाइटिस‘बी’बाट पूर्ण रूपमा मुक्ति पाउन सकिन्छ । त्यस कारण यो अति नै आवश्यक छ ।
हेपाटाइटिस ‘बी’ र ‘सी’बिच तुलना गर्नुपर्दा हेपाटाइटिस ‘बी’को औषधिहरू पाइन्छ तर ‘सी’को सुई पाइँदैन । तर उपचार सम्भव छ । तथापि, पूर्ण रूपमा निर्मूल नहुन सक्छ । उपचार हुन्छ तर त्यसको पूर्ण नियन्त्रणमा नआउन सक्छ । यसको औषधि भए पनि एकदमै महँगो हुन्छ । औषधि भएर मात्र के गर्ने जनताले त्यसलाई किनेर खान नसकेपछि ज्यान जोखिममा पर्न सक्छ । त्यस कारण सरकारले यसको लागि केही व्यवस्था गर्ने हो भने जनतालाई राहत हुन्छ ।
नेपालीहरू हेपाटाइटिस भएपछि जडीबुटीको प्रयोग गर्ने गर्छन् । जन्डिस भनेर सामान्य मानेर आयुर्वेदिक औषधिको भर पर्छन् । आयुर्वेदिकमा भरपर्दा उपचार ढिला भइसक्ने र मृत्युको जोखिममा पुग्न सकिन्छ । यसका लागि सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको जनचेतना हो । जनचेतना फैलाउनैपर्छ । हेपाटाइटिस जडीबुटी खाएर मात्र निको हुँदैन । जडीबुटी सेवन गर्ने बितिकै जन्डिस निको हुने होइन । यसका लागि रगत जाँच गरेर वास्तविकता पत्ता लगाउनुपर्छ ।
हेपाटाइटिसका लागि सरकारले राष्ट्रिय नीति बनेको सुन्नमा आएको छ तर यसमा प्रशस्त अध्ययन र वास्तविकता पत्ता लगाएर मात्र नीति तयार गर्नुपर्छ । सबै खाले हेपाटाइटिसलाई सम्बोधन गर्ने गरी नीति बनाउनु जरुरी छ । हिजोआज दुर्व्यसनीका कारण युवाहरूमा हेपाटाइटिस ‘सी’को जोखिम बढ्दो छ । ट्याटु लगाउने चलन र शरीरका जथाभाबी कुण्डल अर्थात् मुन्द्री लगाउने चलनले पनि ‘बी’ र ‘सी’को जोखिम बढ्दो छ । यसको उपचार पनि खर्चिलो हुन्छ । भाइरसको सङ्ख्या बढी देखियो भने खर्च थप बढ्ने र औषधि पनि महँगो हुने भएकाले सबैले उपचार गर्न नसक्ने अवस्था आउन सक्छ । यसका लागि सरकारले सहुलियतको व्यवस्था गर्नुपर्छ । जे भए पनि हेपाटाइटिसका लागि खानपान मिलाएर मात्र खानुपर्छ । फ्याटी लिभर र रक्सीका कारण हुने लिभरको अन्तिम रूप सिरोसिस हुने भएकाले यसको उपचार एकदमै छिटो गर्नुपर्छ । हेपाटाइटिस भन्दैमा सामान्य रूपले हेर्दा बिस्तारै जोखिम बढ्न सक्छ ।
सबैभन्दा महत्त्वपूर्ण कुरा भनेको हामीले हेपाटाइटिस लाग्न नदिनको लागि शारीरिक अभ्यासहरू पनि गर्नुपर्छ । यो नै बढी प्रभावकारी हुनसक्छ । दैनिक बानी ब्यहोरामा परिवर्तन गर्नुपर्छ । साबुन पानीले हात धुने, उमालेर मात्र पानी पिउने, खानपानमा ध्यान दिने साथै शारीरिक अभ्यास गर्नेलगायतका कामहरू गर्नुपर्छ ।(नेपाल न्यूज बैंकसँगको कुराकानीमा आधारित)