आइतबार, ३० भदौ २०८१
ताजा लोकप्रिय

‘मुनाल’ भू-उपग्रह प्रक्षेपण गर्न भारतले सघाउने, एमओयूमा हस्ताक्षर

शनिबार, २६ साउन २०८१, २२ : ४५
शनिबार, २६ साउन २०८१

काठमाडौँ । नेपालद्वारा निर्मित ‘मुनाल’ भूउपग्रह प्रक्षेपणका लागि नेपाललाई छिमेकी राष्ट्र भारतले सघाउने भएको छ । भारतीय विदेश मन्त्रालयका प्रवक्ता रन्धीर जैसवालले यसबारे भएको सम्झौताबारे जानकारी दिँदै दुई देशबिचको अन्तरिक्ष सहयोगमा एउटा महत्त्वपूर्ण कोसेढुङ्गा भएको बताएका हुन् । 

भारतको विदेश मन्त्रालय र न्यु स्पेस इन्डिया लिमिटेड (एनएसआईएल) ले शनिबार मुनाल भूउपग्रह प्रक्षेपण गर्न अनुदान सहयोगका लागि सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतामा मन्त्रालयको तर्फबाट अनुराग श्रीवास्तव र एनएसआईएलका निर्देशक अरुणाचलम एले हस्ताक्षर गरेका थिए । कार्यक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का सचिव डा रवीन्द्रप्रसाद ढकाल, नेपाली दूतावासका कार्यवाहक डा सुरेन्द्र थापा र अन्तरिक्ष प्रतिष्ठान नेपाल (एपीएन)का संस्थापक डा आभास मास्केको समेत उपस्थिति रहेको थियो । ।

सम्झौता अनुसार नास्टको आयोजनामा ​​नेपालमा विकसित गरिएको भूउपग्रहलाई एनएसआईएलको पोलार स्याटेलाइट लन्च भेहिकलमा नि:शुल्क रूपमा प्रक्षेपण गरिने भएको छ ।

भू–उपग्रह पृथ्वीको सतहबाट ४ सय किलोमिटरको दुरीमा रहने नास्टका प्रवक्ता रवीन्द्रप्रसाद ढकालले यसअघि रातोपाटीलाई जानकारी दिएका थिए । यसले पृथ्वीलाई दिनको १६ चक्कर लगाउने र हरेक दिन १० मिनेट जति ‘एक्सेस’ पाउने उनले बताए ।

 त्यो समयमा कमान्ड दिने, भू-उपग्रहले पृथ्वीको खिचेको फोटो पठाउने काम हुने उनले बताए ।  मुनाल काठमाडौँ विश्वविद्यालय भित्र रहेको एक माध्यमिक विद्यालयका विद्यार्थीको सक्रियतामा निर्माण गरिएको हो । 

स्कुलका विद्यार्थीहरू आवासीय रूपमा त्यहीँ बसेर काम गरेका हुन् । स्कुलको कक्षा सक्ने र ल्याबमा गएर काम गर्दै उनीहरूले भू-उपग्रह निर्माण गरेका हुन् । भूउपग्रह निर्माणमा विद्यार्थीको क्षमता र प्राविधिक जनशक्तिको कार्यदक्षता बढाउने उद्देश्यले विद्यार्थीलाई पनि सहभागी गराएको डा.ढकालले जानकारी दिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप