अर्थमन्त्रीको ‘हस्तक्षेप’ले उकास्न नसकेको सेयर बजारको मनोबल
काठमाडौं । गत साता (असोज २ गते) अर्थमन्त्री विष्णु पौडेलले अकस्मात् नेपाल स्टक एक्सचेन्ज (नेप्से) को भ्रमण गरे । तीन हजारको हाराहारीमा पुगेर ऐतिहासिक रेकर्ड बनाउने दिशामा उन्मुख नेप्से फेरि दुई हजार पाँच सयभन्दा तलको बिन्दुमा झरेपछि बजारका लगानीकर्ताले आफूप्रति नकारात्मक धारणा बनाउनुअघि नै उनी नेप्सेको कार्यालय पुगेका हुन् ।
त्यहाँ पुगेर उनले बजारको सञ्चालनका सहजता वा अप्ठेराबारे कुरा गरेनन्, न त त्यहाँभित्रका प्राविधिक समस्याबारे छलफल नै गरे । धितोपत्र बोर्डका अध्यक्ष तथा सहसचिव महेश बरालसहितको टिमसँग गएका पौडेलले बरु नेप्सेका पदाधिकारीलाई तीन हजार पुगेको नेप्से किन दुई हजार पाँच सयमा झर्यो भन्दै प्रश्न गरे ।
अर्थमन्त्रीको यो कदम स्वाभाविक हो कि होइन भन्नेमा बजारका सरोकारवाला पक्षहरू एकमत छैनन् । सेयर बजारका स्वतन्त्र विश्लेषकहरू अर्थमन्त्रीको यो कदमलाई बजार मनोविज्ञानमाथिको अस्वाभाविक हस्तक्षेप मान्छन् । अर्कोतिर लगानीकर्ता संघका नेतृत्वकर्ता भने यसलाई अर्थमन्त्रीको अत्यावश्यक कदमका रूपमा अथ्र्याउँछन् ।
सेयर बजारका विश्लेषक देव गुरागाईं लगानीकर्ताको मनोविज्ञानका आधारमा चल्ने सेयर बजारलाई सरकार वा नियामक निकायको यस्तो कदमलाई स्वाभाविक रूपमा लिन नसकिने बताउँछन् । सरकारको काम सेयर बजारलाई स्वतन्त्र रूपमा चल्न दिनु भएको भन्दै बजार वृद्धि वा गिरावटमा प्रभाव पार्ने दुवै प्रकारको कदम उचित नभएको उनको भनाइ छ ।
सेयर लगानीकर्ता संघका कार्यवाहक अध्यक्ष ताराप्रसाद फुल्लेल भने अर्थमन्त्रीले बजार सुधारका लागि गरेको यो प्रयास स्वाभाविक रहेको बताउँछन् । बजार मनोविज्ञानमा असर गर्ने कुनै विषय नआउँदा पनि बजार पाँच सयभन्दा धेरै अंकले घटेको भन्दै समग्र लगानीकर्ताको अभिभावकको हैसियतले अर्थमन्त्रीले लिएको चासो स्वागतयोग्य गरेको उनको भनाइ छ ।
- अर्थमन्त्रीको ‘हस्तक्षेप’ निष्काम
अर्थमन्त्रीको नेप्से भ्रमणसँगै सेयर बजारको गिरावट थामिने लगानीकर्ताको अपेक्षा थियो । यही भ्रमणकै कारण ‘बेयरिस ट्रेन्ड’को अवस्थालाई भेट्न लागेको बजारको ट्रेन्ड बुलिसमा जान्छ भन्ने अपेक्षा त थिएन, तर कम्तीमा सेयर बजारको गिरावट रोकिन्छ भन्ने लगानीकर्ताको अपेक्षा थियो ।
शुक्रबार र शनिबार सामाजिक सञ्जाल र क्लब हाउसमा अधिकांश विश्लेषकको यस्तै विश्लेषण थियो, तर आइतबार सामान्य रूपमा बढेको बजार यो साता झनै घट्यो । यो साता मात्रै बजार परिसूचक झन्डै ९० अंकले झरेर २४८६.७६ बिन्दुमा झरेको नेप्सेको तथ्यांक छ । यो गिरावटसँगै समग्र सेयर बजार पुँजीकरण एक खर्ब ८६ अर्ब रुपैयाँले घटेको छ ।
सेयर बजारका स्वतन्त्र विश्लेषकहरू अर्थमन्त्रीको यो कदमलाई बजार मनोविज्ञानमाथिको अस्वाभाविक हस्तक्षेप मान्छन् । अर्कोतिर लगानीकर्ता संघका नेतृत्वकर्ता भने यसलाई अर्थमन्त्रीको अत्यावश्यक कदमका रूपमा अथ्र्याउँछन् ।
त्यसो त आइतबार नै सेयर बजारले गिरावटको बाटो समातेको थियो । सबैभन्दा ठुलो भार ओगट्ने बैंकिङ परिसूचकले साथ दिएपछि बजार थामिएको थियो । सोमबार र मंगलबार बनारसमा भारी गिरावट आयो । दुई दिनमा मात्रै सेयर बजार ११८ अंकले घटेको थियो । बुधबार झन्डै ५० अंकको रिकभरीले यो साता बजारलाई शतक अंकभन्दा कम गिरावटको अवस्थामा राख्न सफल भयो । अन्तिम दिन बिहीबार बजार परिसूचक झन्डै ३३ अंकले घटेको थियो ।
त्यसो त यो अवधिमा परिसूचक मात्रै होइन, कारोबार रकम समेत ह्वात्तै घटेको छ । अघिल्लो साता बजार तीन दिन मात्रै खुल्दा २२ अर्ब ८१ करोड रुपैयाँको कारोबार भएको थियो । जब कि यो साता पाँच दिन बजार खुल्दा २५ अर्ब ३८ करोड रुपैयाँको मात्रै कारोबार भयो । केही समयअघि बजार बुलिस ट्रेन्डमा जाँदा एकै दिन ३० अर्ब रुपैयाँ भन्दा धेरैको कारोबार भएको बजारको रेकर्ड छ, जसलाई अहिले साताभरिमा समेत भेटाउन मुस्किल भइरहेको छ ।
- लगानीकर्ताले कति गुमाए ?
यो साता सेयर बजारमा सबैभन्दा धेरै गिरावट फाइनान्स उपसमूहमा सर्वाधिक ८.५८ प्रतिशतले घटेको छ । त्यस्तै, होटल तथा टुरिजम् उपसूचक ५.४८ प्रतिशत, हाइड्रोपावर ५.०८ प्रतिशत र इन्भेस्टमेन्ट उपसूचक ५.२७ प्रतिशतले घटेका छन् । माइक्रोफाइनान्स समूहमा पनि झन्डै ५ प्रतिशत हाराहारीमै गिरावट देखिएको छ ।
यो साता बजारका १३ उपसूचकमध्ये सबैले मूल्य गुमाएका छन् । सर्वाधिक कम मूल्य गुमाउने म्युचुअल फन्डको सूचक १.३३ प्रतिशतले घटेको नेप्सेको तथ्यांक रहेको छ ।
- ‘बेयरिस ट्रेन्ड’ कि ‘करेक्सन’ ?
अहिलेको सेयर बजारको गिरावटलाई बजार विश्लेषकहरू यसअघिको अस्वाभाविक वृद्धिको करेक्सन, आर्थिक गतिविधिमा अपेक्षित सुधार आउन नसक्नु तथा फेस्टिभ सिजन भएको रूपमा अथ्र्याउँछन् । चाडबाडको जोहो सकिने र लाभांश वितरणको मौसम सुरु हुँदा यसले बजारलाई थप तल जान नदिने उनीहरूको विश्वास छ ।
खासगरी यसअघि दुई हजारको हाराहारीमा रहेको नेप्से परिसूचक छोटो समयमै झन्डै ५० प्रतिशत बढेर तीन हजार हाराहारीमा पुगेको थियो । लामो समयसम्म ‘लो क्याप’मा रहेको सेयर बढ्दा बजारमा प्रोफिट बुक गर्नेहरू हाबी हुँदै आएका छन् । पछिल्लो समय बजार घट्दै जाँदा लगानीकर्ताहरू थप आत्तिएर आपूर्ति बढाएको देखिन्छ ।
अहिले झन्डै पाँच सय अंक घट्दा बजारले झन्डै १७ प्रतिशतको क्षति बेहोरेको देखिन्छ । विश्लेषक गुरागाईं अहिलेको अवस्थालाई बजारको करेक्सन भन्न रुचाउँछन् । बजार लगातार २५ प्रतिशतभन्दा धेरै घटेको अवस्थालाई ‘बेयरिस’ मान्न सकिने भए पनि अहिले त्यो परिस्थिति नभएको उनको भनाइ छ । प्राविधिक विश्लेषकहरू पनि सेयर बजारमा २४५० अंकको बलियो टेवा रहेको बताउँछन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
१ प्रतिक्रिया
भर्खरै
-
एउटै कम्पनीलाई एक दर्जन डीपीआरको जिम्मा दिएको खुलासा
-
ललितपुरका तीन गाउँपालिका क्षेत्रमा विद्युत् सेवा सञ्चालन हुन सकेन
-
नागढुङ्गादेखि मुग्लिनसम्म मोबाइल नेटवर्कको समस्या समाधान गर्न रास्वपाको माग
-
विशेष सुरक्षा योजना प्रभावकारी कार्यान्वयन गर्न मुख्यमन्त्री आचार्यको निर्देशन
-
फूलपाती बढाइँका लागि सिँगारियो टुँडिखेल, तस्बिरहरु
-
परराष्ट्रमन्त्री राणा स्वदेश फिर्ता