बाढीपहिरोबाट विस्थापित परिवार त्रिपालमुनि

धुलिखेल । तल बागमती खोला गड्गडाएर बगिरहेको छ । माथि रहेको डाँडामा त्रिपाल टाँगेर विस्थापित परिवार आफ्नो बगेको बस्ती भएको ठाउँ नियाल्दै दिन बिताइरहेका छन् ।
काभ्रेपलाञ्चोकको डाँडापारिस्थित खानीखोला गाउँपालिका–६ चनौटेका तामाङ बस्ती सबै बगाएपछि सो बस्तीका बासिन्दा माथिको लुइचे पाखामा त्रिपालको आश्रय लिएर बस्दै आएका छन् ।
बाढीले सबै बस्ती बगाएपछि चनौटेका फुलबहादुर रुम्बा लामा परिवारसहित माथि डाँडामा रहेको भूकम्पको भग्नावशेष भएको ठाउँमा त्रिपालको आश्रय लिएर कष्टकर जीवन बिताइएका हुन् । खोलाले बगाएको आफ्नो चनौटे बस्ती हेर्दै अचेल दिनरात काटाउने गरेको १८ दिन भएको उनले बताए । असोज १० देखि १२ गतेसम्म परेको अविरल वर्षाका कारण घरखेत सबै बगाएको थियो । चनौटेमा रहेको आठ घरसहित, आपसापको खेतबारी सबै बगाएपछि सो डाँडामा उनीसँगै अरू ६ परिवार एउटै त्रिपालमा आश्रय लिएर बस्दै आएका हुन् ।
“असोज ११ गते रातिको बागमती खोलामा आएको बाढीले घर र खेतबारी सबै बगाएपछि हामी बिचल्लीमा छौँ”, फुलबहादुरले भने, “खोलाले बस्तीसँगै हाम्रो पहिचानसमेत बगाएको छ ।” बाह्र जनाको परिवार रहेको उनको सातजनाको नागरिकतालगायत सबै आवश्यक कागजात बाढलिे बगाएको छ ।
बाढीले बगाएर घरबारविहीन भएपछि त्यहाँको बस्ती नै विस्थापित भएको छ । गाउँपालिकाले तत्कालका लागि आश्रयस्थलका लागि त्रिपाल, खाद्यान्न र ओढ्न कम्बललगायत सामग्री उपलब्ध गराएपछि त्यसैको सहारामा दिन बिताउँदै आएको उनीहरुको भनाइ छ । पहिला घर भएको ठाउँमा अहिले बागमती खोला बगिरहेको छ । सो ठाउँका भक्तबहादुर सिङतान, बुद्धबहादुर, प्रकाश, देवराज, साजन र विक्रम सिङतानका परिवार त्यही खोलाको बाढी पसेको चनौटे बस्ती हेर्दै खुला आकाशमुनि त्रिपालमुनि आश्रय लिएरहेका छन् ।
खानीखोला गाउँपालिका–६ का राजन अधिकारी सो ठाउँका विद्यालय जाने २६ बालबालिका अभिभावकसँगै त्रिपालमुनि बस्दैआएको बताए ।
खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङले खुलेखानी ड्यामबाट बगेको पानीले बागमती खोलामा आएको बाढीबाट खानीखोलाको दुईवटा बस्ती पूर्ण रुपमा बगाएको बताए । त्यससँगै बाढीपहिरोले बगाएका कारण कतिपय परिवारको त पालिकाले वितरण गरेको त्रिपाल टाँग्ने जमिनसमेत छैन । अध्यक्ष थिङका अनुसार बाढीपहिरोबाट ३० भन्दा बढी खानेपानी आयोजनाका संरचना, सडक, सिँचाइ योजना, विद्यालय, लघुजलविद्युत् आयोजनालगायत संरचना ध्वस्त भएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बुबाआमाको टुङ्गो नभएका इन्द्रबहादुरलाई नागरिकता
-
कक्षा १२ को परीक्षा निधारित समयमा हुन्छ, गलत हल्ला नसुनौं : बोर्ड
-
१२ बजे, १२ समाचार : भारतको ‘किट’ विश्वविद्यालयमा फेरि नेपाली छात्रा मृत फेलादेखि गृह मन्त्रालयमा मनपरीसम्म
-
रेशमलाई थुनामा पठाउन अनधिकृत पत्र लेख्ने विष्टलाई के हुन्छ कारबाही ?
-
किट विश्वविद्यालयमा नेपाली छात्रा मृत्यु प्रकरण : परिवार राति नै भारत जाँदै
-
रविन्द्र मिश्र लगायतका नेतालाई रिहाइ गर्न माग गर्दै रिले अनशन बस्ने