एनपीएलमा आज विराटनगर र सुदूरपश्चिम तथा चितवन र पोखरा भिड्दै
काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल)मा आज दुई खेल हुँदै छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने पहिलो खेलमा विराटनगर किंग्स र सुदूरपश्चिम रोयल्सबिच प्रतिस्पर्धा हुँदै छ । यो खेल बिहान ९ः१५ बजेदेखि सुरु हुनेछ ।
विराटनगर सन्दीप लामिछानेको र सुदूरपश्चिम दीपेन्द्रसिंह ऐरीको कप्तानीमा मैदान उत्रिनेछ । सुदूरपश्चिमको यो पहिलो खेल हो । विराटनगर भने पहिलो खेलमा जनकपुर बोल्ट्ससँग आठ विकेटले पराजित भएको थियो ।
यस्तै, आजको दोस्रो खेलमा चितवन राइनोज र पोखरा एभेन्जर्सबिच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा चितवनको यो दोस्रो खेल हो । चितवनले यसअघि आफ्नो पहिलो खेलमा हिजो काठमाडौँ गुर्खाजविरुद्ध पाँच विकेटको जित निकालेको थियो ।
पोखराको भने प्रतियोगिताको पहिलो खेल हो । त्रिवि क्रिकेट मैदानमै हुने यो खेल दिउँसो १ः१५ बजेदेखि सुरु हुनेछ । चितवन कुशल मल्लको र पोखरा कुशल भुर्तेलको कप्तानीमा मैदान उत्रिनेछ ।