बुधबार, ०६ चैत २०८१
ताजा लोकप्रिय
साहित्यिक गतिविधि

बागमती साहित्य महोत्सव केही अनुभव, केही अनुभूति

शनिबार, २४ फागुन २०८१, १४ : ००
शनिबार, २४ फागुन २०८१

आकाश नजानिदो किसिमले धुम्म परेको थियो, पानी परुँला–परुँला गर्दै रोकिएको थियो । झन्डै तातिइसकेको धादिङ बेसी बिस्तारै सेलाएर मधुर मौसमको मिलन भएझैँ थियो । बागमती प्रदेशका सबै १३ जिल्लादेखि देशका अनेक भूगोल पार गरेर आएका अतिथिहरूको समागमलाई प्रेमिल बनाउन बदलिइसकेको मौसम पनि आफूलाई पूर्ववत पार्न सक्ने रहेछ ।

धन्न प्रकृति !

यतिबेला दोलखाली सुनाखरी कवयित्री तारा तामाङले भनेको कुरा सम्झन्छु — मैले गौरीशङ्करको शीतलता ल्याएकी छु ।

घुर्मैलो मौसममा झ्यामझ्याम पन्चैबाजा र खैँजडीको धुन ।

पुछाबजारबाट सुलुत्त चिप्लिएर लामो लर्को बिच बजारसस्म उकालिँदै आयो ।  निकै लामो झाँकीको बिचबाट फुत्त निस्किएर कुमारी लामाले भनिहालिन्, ‘नवीनजी ! जाडो छैन भन्नु भो, बाक्लो लुगा ल्याइन । चिसोले सताउने भो । यसको क्षतिपूर्ति के हुन्छ ?’ 

मैले उत्तर दिन सकिनँ । के हुन्छ र क्षतिपूर्ति ? ठट्टा गरौँ कि भन्ने लागेको थियो तर रोकिएँ । माइत आएकी चेलीलाई के अभाव हुन्छ र ? बस त्यति भनेँ । पातलो साडी र हाफ बाहुले ब्लाउजमा उनलाई मन्द–मन्द बहने बिहानीको हावाले अलिकति अन्याय गरेकै थियो । परबाट जाडोले सताइएको उनको अनुहार नियालेँ ।

यसो हेरेँ । सुनौला बजारका महिला रातो पोसाकमा सजिएर पञ्चै बाजा बहुत स्फूर्तिले बजाइरहेका थिए । गजुरीका भजन समूहको खैँजडी भजनमार्फत काव्यात्मक टुक्काले माहोल अर्कै किसिमले तात्दै थियो । हरेराम समूहको प्रस्तुति, ॐ शान्तिको प्रदर्शन, पतञ्जली योग समूह, लामाहरूको समूहका पोसाकसहित अलग–अलग विविधाले धादिङ बेसीको बजारमा अनौठो उत्कण्ठा थपिएको थियो र खासखुस कुरा चल्दै थियो, ‘साहित्य महोत्सवको पनि यति भव्य जुलुस ?’

आजभोलि त यस्तो लाग्छ — देशलाई एउटै सूत्रमा बाँध्ने तन्तुहरू पनि सँगसँगै छिनेको पो छ कि ? तोड्ने कुराहरू धेरै भए । छिनाल्ने कुराहरू धेरै छिनालिए । अब जोड्ने कुरा पो केही छ कि खोज्नुपर्छ । सायद समाजका दुखेका दिलमा लगाउने मल्हम खोजिरहेको छ — यो दुईदिने बागमती साहित्य महोत्सव ।

बाटो यही हो निरन्तर जिन्दावाद र मुर्दावादको कर्कश नारामा कैयौँपटक निरर्थक कुल्चिएर धर्तीलाई दुखाइरहने पनि । नवयौवनाका सपना फुलाउन निस्केका लावालस्कर जन्तीले टेकेर मस्किने पनि त यही धरा हो, हाँस्ने बजार यही हो । कतिपटक एकोहोरो शङ्ख धुनले रोदन ओकलेर मसानघाट ब्युँझाउन जाने बाटो पनि त यही हो । पहिचान, स्वतन्त्रता र सामाजिक मुद्दाहरूको उभारमा कतिपटक आफैँले छाडेका पदचापहरू पनि त्यही हुन सक्छ र मूल सडकमा खोजे अहिले पनि भेटिएला सायद । आज भिन्न अभिप्रायले निस्किएको छ यो मानव सागर जसले फुटेका मनमा रसायन लगाउन सक्छ, तोडिएको भ्रातृत्व जोड्न सक्छ र टुक्रिएको भूगोल एकीकरण गर्न सक्छ । यस्तो विषयमा विचार मन्थन र परिचर्चाको समागम बनिरहेको थियो, धादिङ र त्यसैका लागि उर्लिरहेको थियो यो मानव सागर । प्रसङ्ग थियो — बागमती साहित्य महोत्सवको झाँकीसहितको जुलुस ।

8e88dac2-55ad-49eb-b49e-7d6e9ca4a6b1

देशमा तोड्ने कुराहरू धेरै भए । एकात्मक राज्य व्यवस्था तोडियो । अनेक नामबाट भएका निरङ्कुश राज्यप्रणाली तोडियो । जातपात, धर्म, भूगोलका अनेकन् प्रबन्धका पोयाहरू तोडिँदै गए । नराम्रा विषय र बन्धनहरू पनि तोडिए र केही राम्रा नभई नहुने बन्धनहरू पनि तोडिए सायद ।

आजभोलि त यस्तो लाग्छ — देशलाई एउटै सूत्रमा बाँध्ने तन्तुहरू पनि सँगसँगै छिनेको पो छ कि ? तोड्ने कुराहरू धेरै भए । छिनाल्ने कुराहरू धेरै छिनालिए । अब जोड्ने कुरा पो केही छ कि खोज्नुपर्छ । सायद समाजका दुखेका दिलमा लगाउने मल्हम खोजिरहेको छ — यो दुईदिने बागमती साहित्य महोत्सव ।

रहरहरूमै मान्छे ब्युँझन्छ र रहर रहरमै बाँच्छ मान्छे । यस्तो लाग्छ अनेक नमेटिने रहरहरूकै कात्रो ओढेर मर्छ पनि । त्यस्तै रहर उम्रिदियो मनको कुनामा र हुर्कियो पनि । कुडा कर्नाली, चित्तौन कचेहेरी र पोखरा साहित्य उत्सवका अनेक बहस र विमर्श हेरिएको थियो । केही बहस र छलफलमा भाग पनि लिएकै हो । धादिङमा पनि यसरी नै जुट्न सके गजब हुन्थ्यो भन्ने हुटहुटी केही वर्षदेखि लागिरहेको थियो । 

२०५४ सालतिर हो कि जस्तो लाग्छ — राष्ट्रिय कवि सम्मेलन धादिङमा गरिएको थियो । त्यसपछि देशमै पहिलो समालोचना शिविर पनि आफैँले संयोजन गरेर गरिएको अनुभवले उत्सवहरूको संयोजन महोत्सव गर्न सकिन्छ भन्ने आँट थियो नै ।

केही वर्षदेखि चितवनमा चित्तौन कचेहेरीका नामबाट सरिताजीहरूले सामाजिक विमर्श गराइरहनुभएको याद छ । यस वर्ष पनि विमर्शको फ्लायरहरू सामाजिक सञ्जालहरूमा आइरहेका थिए । जिल्ला वन–अधिकृत विष्णुप्रसाद आचार्यजीले चित्तौन कचेहेरी जान तयार रहनुस् भन्नुभयो । उनको मनमा साहित्य उत्सवको सुषुप्त हुटहुटी ब्युँझिएको हुनुपर्छ । कसोकसो आजभोलि उनका आग्रह नटार्ने प्यारले बाँधिएको छु र उनी पनि उस्तै ।

निकै लामो झाँकीको बिचबाट फुत्त निस्किएर कुमारी लामाले भनिहालिन्, ‘नवीनजी ! जाडो छैन भन्नु भो, बाक्लो लुगा ल्याइन । चिसोले सताउने भो । यसको क्षतिपूर्ति के हुन्छ ?’ मैले यति मात्रै भनेँ — माइत आएकी चेलीलाई के अभाव हुन्छ र ? 

हामी यसरी तयारीबिनै दुई दिन चित्तौन कचेहेरीको सञ्चालन प्रक्रिया अवलोकनका लागि गयौँ । त्यहाँ एक दिनको बास बसाइकै क्रममा बनेको हो यो महोत्सवको खाका ।

फरक थियो त्यहाँको थिम र यहाँको तर सारभूत अभिप्राय । उहाँहरूले समाजका अनेकौँ मुद्दाहरूलाई प्रश्नात्मक ढाँचामा विमर्श गरेर चेतनाको स्तर उकास्न खोज्नुभएको थियो । हामीले साहित्यिक विमर्शको माध्यमले समाजको विविधालाई सम्बल थप्न खोजेका थियौँ र नउठेका मुद्दाहरू उठुन्, नलेखिएका विषयहरू लेखिउन्, नलेखिनुपर्ने र प्रायोजित विषयहरू अब टाढा धपाइउन् । अध्ययन, पठनहीन ठ्यौकाहरू नेता नबनुन्, २१औँ शताब्दीलाई हाँक्ने नेतृत्वमा अध्ययनशीलताको सागर देखियोस् । नेपालका नारी लेखकहरूको सहजता, असहजता र उहाँहरूले बोक्नुभएको चेतनाको चिरागलाई बहसको एउटा पाटो बनोस् भनेर कार्यक्रमका विषय चयन गरेका थियौँ । नेपालमा समालोचनाका नाममा आलोचनाहरू धेरै लेखिएका छन्, पूजा र प्रशस्ति गाइएका छन् । पद प्रतिष्ठा र अहं वरपर भजनका भाका लेखिएका छन् तर रामकृष्ण शर्माहरूले खोस्रेको जग बाझै छ । सुरा र सुन्दरीका छेउमा बेसुरा रागहरू समालोचना बनेका छन् । त्यसैले समालोचनाको वर्तमान आशाप्रद हो वा आशयप्रद हो, केलाउने जमर्को गरेका थियौँ । 

नेपाली भाषा नेपालका लागि यस्तो अपरिहार्य आवश्यकता हो, जसलाई गाली गर्न पनि यसैको सहारा लिनुको विकल्प छैन । हामीले तराई र पहाड, हिन्दु र अहिन्दु, नेता र जनता, यो दल र ऊ दल, यो प्रदेश र ऊ प्रदेशका नाममा अनेक फुट र प्रपञ्चहरू झेलेका छौँ । एकताको कसिलो सूत्रमा बाँधिएकाहरू बाहिरी हतियार झिकाएर विस्तार बेस्टित तन्तुहरू छिनाल्दै छौँ । अब धेरै चिज तोडिइसकेको छ, जोड्न सक्ने र जोडिएको भनेको मात्रै भाषा हो, जसले पूर्व मेची पश्चिम महाकाली सबै जोड्न सक्छ । जोडिरहेको छ तर बिचमा यसमा पनि विचलन र मतान्तरहरू देखिए । प्रयोगका अनेकता बाहिरिए । ब्रिटिस अङ्ग्रेजीले संसारभर रहेका यसका प्रयोक्तालाई निर्देशित गर्छ । फ्रेन्च एकेडेमी बनाएको फ्रेन्च व्याकरण तथा शब्दकोशले करिब १५–२० देशमा फैलिएका फ्रेन्च वक्ताहरूको भाषिक मार्गदर्शन गर्दछ । उस्तै छ, चिनियाँ र हिन्दी भाषाको मानक प्रयोग पनि ।

तर हामी ?

आफैँलाई प्रश्न गर्न पनि सर्मिन्दा हुन्छौँ भाषा सन्दर्भमा । बिहान विश्वविद्यालयको पाठ्यक्रममा एक थोक देखिन्छ, दिउँसो विद्यालयको पाठ्यपुस्तकमा अर्कै मानक छ । विश्वविद्यालयपिच्छे अलग–अलग डम्फु बजेका छन् । सीटीभीटीले के पढाउँछ । सरकारलाई थाहा छैन । कार्यालयका बोर्डहरूको भाषा, हाकिम साहेबका टिप्पणी र आदेशका भाषा देखेर देशको अस्मिता खिस्स हाँस्छ । सञ्चारमाध्यमहरूले भाषाको कुनै आचारसंहिता पालन गर्नुपर्दैन । राजनीतिको लगौँटी फुस्किएजस्तै नाङ्गिएको छ, भाषिक धरातल । संसारभर नेपाली डायस्पोराहरू छरिएर रहेका छन् । हुर्किरहेका जापानी भूगोलका नेपाली हुन् वा हङकङ वा अस्ट्रेलियाका नेपाली सबैलाई आफ्नो देश, भाषा र संस्कृतिप्रति अप्रतीम लगाव छ, स्नेह र प्यार छ । उनीहरूले आफ्नो भाषा र संस्कृति जोगाउन अनेक यत्नहरू जोगाड गरिरहेका छन् । ती संसारभर छरिएका नेपालीको भाषिक नियमन, नियन्त्रण तथा निर्देशनको केन्द्रबिन्दु नेपाल हो र यहीँ विकास भएको शब्दकोश तथा व्याकरणले उनीहरूको भाषिक प्रवर्धन हुने हो । केन्द्रमै भैँसीजात्रा देखिएपछि अन्यत्र कसरी प्रवर्धन सम्भव होला र ? यी र यस्तै सवालहरू समेटेर भाषा विकास र विस्तारमा अपनाउन सकिने उपायहरूको खोजीका लागि पनि विमर्शको प्रयास गरेका थियौँ । 

बालबालिकालाई हेरेर योजना र परियोजनाहरू प्रशस्त निर्माण भएका छन् तर ती सबै कोट र टाइसुट लगाउनेका दिमागका उपज बनेका छन् । बालबालिकाले कसरी सोच्छन् ? के सोच्छन् ? उनीहरूका पक्षमा उनीहरूकै आवाज के हुन सक्छ भनेर हामीले बालबालिकाहरूका लागि बालबालिकाकै विमर्श पनि राखेका थियौँ ।

यी जम्मै विषयको केद्रीकृत लक्ष्य ‘साहित्य, कला संस्कृतिको संवद्र्धन बागमती सभ्यताको प्रवद्र्धन’को मूल नारामा जोडेर बहस गरिरहेका थियौँ । त्यसको केन्द्र भागमा प्रा.डा. दिनेशराज पन्त र प्रा. डा. वीणा पौड्याल हुनुहुन्थ्यो ।

दुई दिनको महोत्सवमा अघिल्लो दिन काव्यसन्ध्या र पछिल्लो दिन गजल सन्ध्याले महोत्सव बिट मारेको थियो । त्यहाँको उपस्थिति हेर्दा लाग्थ्यो कि निकै दिनदेखि तिर्खाएका अनुहारहरू तृप्त भइरहेका छन् प्राज्ञिक रसपानबाट । अलिकति गिर्खाहरूले बिचबिचमा दर्पका डकारहरू, कुण्ठाहरू, समेट्न नसकेका पक्षहरू पक्कै रहे, कुँडिए जसलाई शिरोपर भनिरहेका छौँ । महोत्सवको रहरलाग्दो उपस्थिति र भव्य प्रस्तुतीकरणले एक महिनादेखिको मानसिक एवं शारीरिक थकान सायद हटिसकेको छ ।

अहिले धादिङको आकाश छ्याङ्ग खुलेको छ र घामको किरण सिधा हुने तर्खरमा छ । सायद सूर्यले धर्तीलाई सोध्दै छ, ‘तिम्रो महोत्सवका पाहुनाहरू बिदा भए होइन ? अब मैले लुकाएका ताप पोखिदिँदा के फरक पर्छ र ?’ घाममा बसेर यी हरफहरू कोर्दासम्म म पसिनाले छुर्लुप्प भइसकेको छु ।

(अक्षर आवास धादिङ ।)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

डा. नवीनबन्धु पहाडी
डा. नवीनबन्धु पहाडी
लेखकबाट थप

छुटाउनुभयो कि ?