बिहीबार, २१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

आदि शंकराचार्य : जीवन, दर्शन तथा योगदान

आइतबार, २१ वैशाख २०८२, १५ : ५०
आइतबार, २१ वैशाख २०८२

सनातन वैदिक धर्म अर्थात् हिन्दु धर्ममा इतिहासका विभिन्न कालखण्डमा अनेकौँ उतार–चढाव र उथलपुथल देखापरेका थिए । तिनका बाबजुद सनातन वैदिक धर्मलाई संरक्षण गरेको श्रेय आदि शंकराचार्यलाई जान्छ । 

आजभन्दा करिब १२५० वर्षअघि उनले प्रतिपादन गरेको अद्वैतवादसम्बन्धी महान् विचार तथा सिद्धान्त हालसम्म चुनौतीविहीन एवं अटल रहिआएको छ । आदि शंकराचार्यले हिन्दु सनातन धर्मलाई बाह्य चुनौती र हस्तक्षेपबाट मात्र रक्षा गरेनन्, किन्तु उनले हिन्दु धर्ममा त्यसबखत देखिएका विकृति, विसंगति तथा अन्य गलत प्रवृत्तिबाट समेत यसलाई बचाएर राखे । त्यसबखत धर्मलाई औपचारिकता र कर्मकाण्डमा सीमित राखी आफ्नो स्वार्थ सिद्ध गर्ने पाखण्डहरूको बिगबिगी थियो, जसका कारण सनातन धर्मको जग कमजोर हुँदै गएको थियो । तर उनले शास्त्रको सही व्याख्या र विश्लेषण गर्दै विभिन्न सम्प्रदायमा विभाजित भएको हिन्दु समुदायलाई एकताबद्ध बनाउँदै सनातन धर्मलाई एक मजबुत जगमा स्थापित गरिदिए । अन्धविश्वास, कुरीति, पाखण्डीपनको बढ्दो प्रभावलाई चिर्दै त्यसलाई कर्मकाण्डीय औपचारिकताबाट माथि उकास्दै धर्मको मर्म पैसा कमाउने वा भौतिक उन्नति र सुख–सुविधा हासिल गर्ने नभई परम पुरुषार्थ हासिल गर्ने वा आत्मसाक्षात्कार गर्ने भएको कुरा उनले जनमानसमा स्थापित गरिदिए ।

करोडौँ कर्मले पनि मानिस मुक्त हुन सक्दैन, शिवाय ज्ञानमार्गको अनुशरण, मुक्ति सम्भव छैन भन्ने उनको अटल विश्वास र सिद्धान्त थियो । केवल ३२ वर्षसम्म यस धर्तीमा मानवको रूपमा अवतरित भए पनि उनले अनेकौँ ग्रन्थ, शास्त्रको व्याख्या, भजन आदिको रचना गर्नुका साथै आफ्नो छोटो जीवनकालमा विशाल भारतको तीनपल्ट पैदलयात्रा गरी धर्मस्थापना र त्यसको निरन्तरतामा आफ्नो अमूल्य योगदान दिएका छन् । उनकै सक्रियतामा भारतको चार दिशामा चार मठको स्थापना हुन सकेको हो, जसको परम्परा आजसम्म कायमै छ र सनातन धर्मको संरक्षण, प्रवर्द्धन तथा विस्तारमा ती मठकको महत्त्वपूर्ण योगदान रहिआएको छ । 

शंकराचार्यको जन्म ई.सं. ७७८ मा वैशाख शुक्ल पञ्चमीका दिन दक्षिण भारतको केरलास्थित कलाडीमा भएको थियो । उनका माताको नाम आर्यम्बा र पिताको नाम शिवगुरु थियो । उनका मातापिता निःसन्तान रहनाका कारण उनीहरूले लामो समय नजिकैको शिव मन्दिरमा गई शिवको उपासना गरेका थिए, जसको फलस्वरूप शंकरको जन्म भएको कहावत छ । त्यसो हुनाले उनको नाम मातापिताले शिवको अवतार सम्झेर शंकर राखिदिए । शंकर बाल्यकालदेखि नै तीक्ष्ण बुद्धिका र प्रतिभाशाली थिए । तीन वर्षमै पिता गुमाउन पुगेका शंकरको बाल्यकालको लालनपालनमा माताको विशेष भूमिका रह्यो । माताले नै उनको चूडाकर्म गरिदिए । आठ वर्षको कलिलो उमेरमा नै वेद आदि अध्ययन गरेका उनले त्यसैबखत संन्यास लिने निधो गरेका थिए तर सुरुमा उनका माता आर्यम्बाले अनुमति दिइनन् । 

भनिन्छ, एक दिन नदीमा नुहाउन जाँदा उनको खुट्टा गोहीले अँठ्याएछन् र छाड्न नमाने पछि उनले आमालाई बोलाएर भने, ‘आमा मलाई गोहीको पन्जाबाट मुक्त भएको हेर्न चाहनुहुन्छ भने संन्यास लिने आज्ञा दिनुस्, किनभने संन्यास भनेको पुनर्जन्मजस्तै हो । जब माताले संन्यास लिने आज्ञा दिन्छिन्, गोहीले पनि उनलाई छाडिदिन्छ । माताको आज्ञा पाएर संन्यास लिएपछि उनी उपयुक्त गुरुको खोजी हिँड्छन् । उनी आफ्नो गाउँबाट सैयौँ माइल टाढा रहेको नर्मदा नदी पार गरेर गुरु गोविन्दपाद कहाँ पुग्छन्, जो अद्वैत वेदान्तका ज्ञाता मानिन्छन् । गोविन्दपादका पनि गुरु गौडपादाचार्य अद्वैतका अझ प्रसिद्ध विद्वान् हुन्, जसले माण्डुक्योपनिषद्को भाष्य र त्यसको कारिका लेख्दै अद्वैत वेदान्तको व्याख्या गरेका छन् । भनिन्छ, गुरुकहाँ चार वर्ष समय बिताएर उनले वेद, वेदाङ्ग, पुराण आदि सम्पूर्ण शास्त्र अध्ययन गर्न सिध्याए । भर्खर १२ वर्ष पुगेका शंकरले गुरुको निर्देशनमा विभिन्न शास्त्रको भाष्य लेख्न थाले, जुन काम उनले १६ वर्षको उमेरमा सकाए । विभिन्न ग्रन्थको रचना गर्ने कार्य छोटो समयमा पूरा गरी उनले विशाल भारतको यात्रा सुरु गरे । ३२ वर्षमै भौतिक शरीर त्यागेका उनले त्यस अवधिमा भारतका विभिन्न तीर्थस्थलहरूको यात्रा गरे, विभिन्न विद्वान्लाई शास्त्रार्थमा पराजित गरे । तसर्थ उनको यो भारत यात्रालाई शंकर दिग्विजय यात्राका रूपमा वर्णन गरिएको छ । भनिन्छ, यसरी उनी सन् ८२० मा ३२ वर्षको उमेरमा हिमालय पर्वततर्फ तपस्या गर्न गए र कहिल्यै फर्केनन् ।
एकपटक उनी संन्यास लिएर भिक्षा माग्दै गर्दा एउटा घरमा एक गरिब वृद्धा मात्र थिइन् । ती वृद्धाले आफूसँग केही नभएको हुँदा एउटा अमलाको बोटमा रहेको सुकेको अमला टिपेर भिक्षा दिइन् । ती वृद्धाको प्रेम र उनको दयनीय स्थितिबाट हृदय पग्लेका शंकरले तत्काल कनक धारा स्तोत्र रचना गरी लक्ष्मीको स्तुति गाएपछि तत्काल स्वर्ण वर्षा भएको कहावत छ ।

एक दिन नदीमा नुहाउन जाँदा उनको खुट्टा गोहीले अँठ्याएछन् र छाड्न नमाने पछि उनले आमालाई बोलाएर भने, ‘आमा मलाई गोहीको पन्जाबाट मुक्त भएको हेर्न चाहनुहुन्छ भने संन्यास लिने आज्ञा दिनुस्, किनभने संन्यास भनेको पुनर्जन्मजस्तै हो ।

हुन त अद्वैतको सिद्धान्त वेद, उपनिषद्मा हजारौँ वर्ष पहिले नै लेखिएको थियो तर शंकरले त्यसको स्पष्ट व्याख्या गरेर त्यसलाई एक छुट्टै सिद्धान्तको रूपमा प्रतिपादित गरिदिए । अद्वैतको अर्थ हो, परमात्मा र आत्माबिच भेदको अभाव ।

वेदान्तका तीन प्रमुख शाखाहरू हुन् ः शंकर प्रतिपादित अद्वैतवाद, रामानुजाचार्य प्रतिपादित विशिष्टाद्वैत र माधवाचार्य प्रतिपादित द्वैतवाद । अद्वैत वेदान्त अनुसार ईश्वर वा सर्वव्यापी चेतना एउटै हुन्छ, जो परमात्माको नाउले जानिन्छ र त्यो परमात्मा र आत्माबिच कुनै भेद छैन । द्वैतवाद भने पञ्चभेदको सिद्धान्तमा आधारित छ । जस अनुसार जीव र जीवबिच भेद हुन्छ, जीव र जगतबिच भेद हुन्छ, जगत् र जगत्बिच भेद हुन्छ, ईश्वर र जीवबिच भेद हुन्छ अनि ईश्वर र जगत्बिच भेद हुन्छ । विशिष्टाद्वैत अनुसार जीव ईश्वरकै एक अंश मानिन्छ र ईश्वर सगुण वा विशेषतासहितको हुन्छ ।

अद्वैत अनुसार जसले आत्मालाई जान्यो, त्यसले परमात्मालाई पनि जान्यो । त्यसैले वेदमा भनिएको पनि छ, अहं ब्रह्मास्मि अर्थात् म नै ब्रह्म हुँ । जसले परमात्मा वा ब्रह्मलाई जान्दछ ऊ ब्रह्म नै हुन्छ भनिएको पनि छ ः ब्रह्मविद् ब्रह्मैव भवति । अद्वैत वेदान्तको मुख्य सिद्धान्त हो ः ब्रह्म सत्य जगत मिथ्या अर्थात् ब्रह्म मात्र सत्य हो बाँकी सबै मिथ्या हुन् । यहाँ मिथ्या भन्नाले असत् वा शून्य भन्न खोजिएको होइन, मिथ्या त्यो हो, जसका बारे यस्तै भनेर किटानीका साथ भन्न सकिन्न । त्यसैले अद्वैतले संसारलाई अनिर्वचनीय अर्थात् सत् वा असत् भनी छुट्ट्याउन नसकिने रूपमा व्याख्या गर्छ । संसार असत् भनुँ भने देखिन्छ, अनुभवमा आउँछ, व्यवहारमा आउँछ, अनि सत् भनुँ भने त्यो नाशवान् वा क्षणिक छ । त्यो अस्थायी छ र सबै कालखण्डमा त्यसको अस्तित्व रहँदैन । 

शंकराचार्यले भारत दर्शनका क्रममा भारतका चार कुनामा चार मठको स्थापना गरेका छन् । ती हुन्— दक्षिणमा स्थित शृंगेरीको शृंगेरी मठ; पश्चिममा स्थित द्वारकाको शारदा मठ; उत्तरमा स्थित बद्रीनाथको ज्योतिर्मठ र पूर्वमा स्थित पुरीको गोवद्र्धन मठ । 

उनले आफ्ना चार शिष्यहरू सुरेश्वराचार्य, हस्तमालक, तोटकाचार्य र पद्मपादलाई क्रमश शृंगेरी मठ, शारदा मठ, ज्योर्तिमठ र गोवद्र्धन मठका मठाधीश नियुक्त गरी सनातन धर्मको संरक्षण, प्रवद्र्धन र विस्तारको जिम्मा दिए । 

सुरेश्वराचार्य कुनै बखत कर्मकाण्डका एक प्रखर विद्वान् थिए, जो मण्डन मिश्रका नामले प्रख्यात थिए । उनले मण्डन मिश्रसँग गरेको शास्त्रार्थ प्रसिद्ध छ, जुन करिब आठ दिनसम्म चलेको थियो । शंकराचार्यले सो शास्त्रार्थमा उनकै पत्नी अभय भारती, जो आफैँ पनि एक विदुषी थिइन्लाई न्यायाधीशको काम सुम्पेबाट उनी स्त्रीहरूलाई कति आदर गर्थे भन्ने कुराको पुष्टि हुन्छ । स्त्रीहरूले वेद पढ्न हुन्न भन्ने तत्कालीन अन्धविश्वासलाई शंकराचार्यले आफैँ उदाहरण बनेर यसरी तोडेका थिए ।

उनको जीवनसँग सम्बद्ध अर्को एक महत्त्वपूर्ण घटनाले उनी छुवाछुत वा सानो–ठुलो जात मान्दैनथे, सबैलाई बराबर ठान्थे भन्ने कुराको पुष्टि हुन्छ । एक दिन शंकराचार्य आफ्ना केही शिष्यका साथ गंगामा नुहाएर पवित्र भएर गंगा किनाराबाट हिँड्दै थिए । त्यसबखत एक चाण्डाल वा अछुत त्यही बाटो भएर हिँड्दै थिए । उनका शिष्यहरूले ती चाण्डाललाई आफ्ना गुरुलाई बाटो छोड भनी आदेश दिए । ती चाण्डाल पनि वेदान्तका ज्ञाता थिए । उनले शंकरलाई तत्काल प्रश्न गरे— तपाईंले कसलाई बाटो छोड भनेको, यो शरीरलाई कि मेरो आत्मालाई ? यदि शरीरलाई भनेको भए दुवैको शरीर पञ्चतत्वबाट बनेको हो । आत्मालाई भनेको हो भने चाण्डालको आत्मा र ब्राह्मणको आत्मा दुवै ब्रह्मभन्दा भिन्न छैन । ती चाण्डालबाट यति कुरा सुनेपछि शंकरलाई आफ्नो गल्ती महसुस भएछ र तत्काल उनको खुट्टामा ढोगेर उनले माफी मागे । त्यसैको प्रेरणास्वरूप शंकरले अद्वैतको ज्ञान दिने मनीषा पञ्चकम् नामक स्तोत्रको रचना गरेका हुन् ।

जसमा भनिएको छ— ब्रह्मज्ञान भएका व्यक्ति चाण्डाल हुन् वा ब्राह्मण, तिनलाई म गुरु मान्छु । म ब्रह्म नै हुँ र यो सारा जगत् अज्ञानका कारण भासित मात्र भएको हो, वास्तवमा चेतनाको प्रक्षेपण मात्र हो ।

शंकराचार्यले अल्पायुमा पनि थुप्रै महत्त्वपूर्ण ग्रन्थहरूको रचना गरेका छन् । भगवद् गीता, १० प्रमुख उपनिषद् र वेदान्तसूत्रमाथि उनका भाष्य अर्थात् टिप्पणी उनका उल्लेखनीय रचना हुन्, जसलाई प्रस्थान त्रय पनि भनिन्छ । कुनै पनि व्यक्तिले आफ्नो आध्यात्मिक यात्रामा प्रस्थान गर्नुअघि यी तीन ग्रन्थको अध्ययन आवश्यक मानिन्छ । शंकराचार्यले टिप्पणीका निम्ति छानेका १० उपनिषद्हरू हुन्— कठ, केन, प्रश्न, ऐत्तिरीय, तैतेरीय, मुण्डक, माण्डुक्य, ईशावास्य, छान्दोग्य र बृहदारण्यक । जुन प्रमुख उपनिषद्का रूपमा जानिन्छ ।

उनले निम्न वेदान्तका प्रकरण गन्थहरू लेखेका छन् : विवेकचूडामणि, अपरोक्षानुभूति, आत्मबोध, तत्त्वबोध, प्रबोधसुधाकर, पञ्चीकरण आदि । त्यसबाहेक उनले भज गोविन्दम्, गंगा स्तोत्र, गुरुअष्टकम्, निर्वाण षटक लगायत ६ दर्जन जति स्तोत्रहरूको रचना गरेका छ्न् । विष्णु सहस्रनाममाथि भाष्य, साधन पञ्चकम् । उपदेश सहस्री र सौन्दर्यलहरि पनि उनका प्रसिद्ध रचनामा गनिन्छन् ।

एकपल्ट शंकराचार्य बाटोमा हिँडिरहेका बखत उनले एक वृद्ध व्यक्तिले पाणिनीको व्याकरण कण्ठ गर्दै थियो, वेद आदि शास्त्र पढ्नमा सहायक होस् भनेर । त्यो देखेर शंकराचार्यलाई दया जागेर आयो । उनले सोचे मृत्युको नजिक पुगेको यो उमेरमा व्याकरण पढेर उनले के लाभ प्राप्त गर्ला ? अनि उनले ती वृद्धका निम्ति एक प्रसिद्ध स्तोत्र लेखेः भज गोविन्दम् । त्यसमा भनिएको छ— हे मूर्ख व्यक्ति, कालको नजिक पुगेको यो उमेरमा तिमीले व्याकरणका नियम घोकेर के लाभ पाउँछौ ? बरु हरिको नाम लेऊ, सत्संग गर, गीता अलिकति अध्ययन गर, थप धन–सम्पत्ति कमाउनेतिर नलाग आफूसँग पहिले जम्मा गरेर राखेको पैसामै सन्तुष्ट बन र ईश्वर प्राप्तिको मार्गमा तत्पर भएर लाग, अमूल्य समय खेर नफाल ।

उनका प्रसिद्ध स्तोत्रहरूमध्ये निर्वाण षटक अद्वैत वेदान्तको ज्ञानले भरिपूर्ण मानिन्छ, जसमा भनिएको छ, म न मन हुँ, न बुद्धि न चित्त न त अहंकार नै । म त शुद्ध चैतन्य हुँ । म न पञ्चतत्त्वले बनेको शरीर हुँ, न पञ्चकोष हुँ, न अष्ट धातुको शरीर न पाँच प्राण, न पाँच ज्ञानेन्द्रीय हुँ, म त सत्, चित् आनन्द स्वरूप हुँ ।
शंकराचार्यका कृतिहरू एक हजार वर्षभन्दा पुराना भए त्यत्तिकै सुन्दर, सान्दर्भिक र अर्थपूर्ण छन् । उनका विचार अझै समय सापेक्ष, सान्दर्भिक र नवीनतम् लाग्छन् । उनका कृतिहरूलाई आजसम्म कसैले चुनौती दिन सकेका छैनन् । उनका कृतिमा वेदको रहस्यमय अर्थ लुकेको पाइन्छ । उनले ज्ञान मार्गलाई महत्त्व दिए पनि उनका कतिपय स्तोत्र भक्तिका सन्देशले युक्त छन् सौन्दर्य लहरीजस्ता कतिपय स्तोत्रहरू तन्त्रविद्या र योगका गुह्य ज्ञानले भरिपूर्ण छन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शिरीषवल्लभ प्रधान
शिरीषवल्लभ प्रधान
लेखकबाट थप