सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
प्राविधिक संघ

चलचित्र प्राविधिकको पारिश्रमिक बढ्ने, थपिँदै विभिन्न सुविधा

आइतबार, २१ वैशाख २०८२, १६ : ००
आइतबार, २१ वैशाख २०८२

काठमाडौँ । चलचित्र प्राविधिकहरूको पारिश्रमिक बढ्ने भएको छ । समय सान्दर्भिक नभएको भन्दै चलचित्र प्राविधिक संघले पारिश्रमिक बढाउने तयारी गरेको हो । 

चलचित्र निर्माणका अन्य विधामा पटक–पटक पारिश्रमिक बढ्दै आए पनि प्राविधिकको पारिश्रमिक वर्षाैँदेखि स्थिर थियो । चलचित्र प्राविधिक संघका अध्यक्ष पुस्कर लामा भन्छन्, ‘प्राविधिकको पारिश्रमिक बढाउने विषयमा हामी केही समयदेखि सरोकारवालालगायत पक्षसँग छलफल गरिरहेका छौँ ।’ 

तर कति र कहिले पारिश्रमिक बढाउने भन्ने निर्णय छलफल अझै जारी रहेकाले भन्न नसकिने उनले बताए । 

कलाकारको पारिश्रमिक हाल ५० लाखसम्म छ । एउटा फिल्म बनाउन पाँच करोडसम्म लगानीकर्ताले खर्चिन थालिसके । तर प्राविधिकको पारिश्रमिक भने उही छ । 

लामाले भने, ‘प्राविधिक भने वर्षाैँदेखि एउटै पारिश्रमिकमा काम गर्दै आएका छन् ।’ 

थोरै पारिश्रमिक, त्यो पनि कहिलेकाहीँ उधारोमा पर्ने र वर्षाैँसम्म नपाउने समस्यासमेत हुने गरेको लामा सुनाउँछन् । 

‘अब हामी पारिश्रमिक नपाउने समस्यासमेत हल गर्ने पक्षमा छौँ,’ लामाले भने ।

चलचित्र प्राविधिकमा स्पट ब्वाई, लाइटम्यान, क्यामेराम्यान, मेकअप आर्टिस्ट, भीएफएक्स, सम्पादक, कलरिस्ट, आर्ट डिरेक्टर, कस्ट्युम डिजाइन, प्रोडक्सन म्यानेजरदेखि किचन डिमार्टमेन्टसम्म पर्छन् । यीमध्ये थोरै पारिश्रमिक पाउनेमा लाइट ब्वाई, मेकअप, स्पोट ब्वाइ, भान्सामा काम गर्नेहरू छन् । 

लामाका अनुसार हाल लाइट ब्वाईले दैनिक ती हजारदेखि ४५ सय रुपैयाँसम्म पाउँछन् । स्पट ब्वाईले दैनिक दुई हजार रुपैयाँ पाउँछन् । क्यामेराम्यानले पाँच हजारदेखि ३० हजार रुपैयाँसम्म लिने गरेका छन् । भान्साको पनि पारिश्रमिक न्यून नै छ । 

‘बाठाटाठा कोहीले त धेरै लिएको पाउन सकिन्छ,’ लामा थप्छन्, ‘अधिकांशले भने वर्षाैँदेखि एउटै पारिश्रमिकमा काम गर्दै आएका छन् ।’

कतिपय प्राविधिक सोझा र इमानदार भएकाले आफूले काम गरेको पारिश्रमिकसमेत माग्न नसकेको उनी बताउँछन् । ‘बढाउन त परको कुरो हो । त्यस्ता प्राविधिकको समस्या ध्यानमा राखेर पारिश्रमिक बढाउने निर्णयमा हामी पुगेको हो,’ उनले भने ।

प्राविधिकको पारिश्रमिकमा एकरूपता कायम गर्न खोजिएकाले निर्माता निर्देशकलाई पनि सजिलो हुने उनी बताउँछन् । ‘कतिपय निर्माताले एउटै कामको फिल्मअनुसार पारिश्रमिक फरक–फरक तिर्नुपरेको अवस्था छ,’ उनले भने । 

अहिले चलचित्र प्राविधिकको सङ्ख्या करिब २६ सय हाराहारी छन् । तीमध्ये करिब १७ सय सक्रिय छन् ।

  • ‘सिफ्ट सिस्टम’ लागु गरिने 

दैनिक ८ घण्टा काम गर्ने सहमतिमा प्राविधिक चलचित्रमा भित्रिने गर्छन् । तर उनीहरूले काम भने कम्तीमा दैनिक १२–१४ घण्टा गरिरहेका छन् । 

कहिले छायाङ्कन नसकिने, सकिए पनि सामान थन्क्याउन समय लाग्नेजस्ता कारण प्राविधिकको कार्यघण्टा बढ्ने गरेको छ । 

यस्तो अवस्था निर्माता र प्राविधिक दुवैलाई थाहा छ । र पनि प्राविधिकहरूले अतिरिक्त कार्यको ज्याला माग्न सकिरहेका छैनन् । अनि निर्माताले पनि विभिन्न बहाना बनाउने गरेका प्राविधिकहरू बताउने गर्छन् । 

यस्तो समस्याबाट छुटकारा पाउन संघले ‘सिफ्ट सिस्टम’ लागु गर्न लागेको हो ।

‘सिफ्ट सिस्टम लागुपछि तोकिएको घण्टामा काम नसकिए कि अर्को प्राविधिक मगाउनुपर्छ । उसैले काम गर्नु परे अर्को सिफ्ट लाग्नेछ,’ अध्यक्ष लामा भन्छन्, ‘सिफ्ट सिस्टमबाट श्रम शोषणको अन्त्य हुन्छ ।’

कहिलेकाहीँ कलाकार ढिला आउँदा पनि प्राविधिकहरूको कार्यघण्टा बढ्ने गरेको लामाको अनुभव छ । लामा थप्छन्, ‘प्राविधिक भने समयमै पुगेको हुन्छन् । कलाकार ढिलो आयो अलि अबेरसम्म गरौँ न भनेर प्राविधिकलाई काम लगाउने गर्छन्, प्राविधिक पनि केही बोल्न सक्दैनन् ।’ 

अब सिफ्ट सिस्टमले समय हेरेर पारिश्रमिकको लिनेदिने गरिने भएकाले प्राविधिकको आम्दानीसमेत बढ्ने लामाले विश्वास लिए । 

प्राविधिक संघले सिफ्ट सिस्टम कोभिड अगाडि नै सुरु गरेको थियो । कोभिडले अर्थतन्त्र नै धरापमा परेपछि सबैले कम्प्रमाइज गरेर फिल्म उद्योग जोगाउन भनेपछि यसलाई अनिवार्य गरिएन । ‘अहिले फिल्म उद्योग आफ्नो लयमा फर्किसक्यो । अब सफ्ट सिस्टम अनियवार्य हुन्छ,’ लामाले थपे ।

  • सामाजिक सुरक्षा कोष पनि

प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा पनि आबद्ध गरिने भएको छ । प्रोजेटको सिलसिलामा जोडिएर आउने सुरक्षा बिमाबाहेक उनीहरूलाई अन्य सुविधा छैन । 

उनीहरूको वर्तमान र भविष्यसमेत सुरक्षा गर्न सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन लागिएको हो ।

सामाजिक सुरक्षा कोषमा उनीहरूलाई आबद्ध गर्न कोष, अर्थ मन्त्रालय र चलचित्र विकास बोर्डमा पटक–पटक छलफल भएको अध्यक्ष लामा बताउँछन् । 

‘सबै सकारात्मक देखिएका छन्,’ लामाले भने, ‘हामी पक्रिया बढाउने तयारीमा छौँ ।’ 

प्राविधिकलाई सामाजिक सुरक्षा कोषमा आबद्ध गर्न पाए एउटा राम्रो कामको थालनी हुने उनले बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

कुवेर गिरी
कुवेर गिरी

कुवेर गिरी कला/मनोरञ्जन बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप