साउथ सुडान मिसनमा जाने १२औँ डफ्फाको बिदाइ
काठमाडौा । संयुक्त राष्ट्रसंघको अनुरोधमा शान्ति स्थापनार्थ युनाइटेड नेशन्स मिसन इन साउथ सुडानमा नेपाल फर्म्ड पुलिस युनिट (एफपीयू) को रूपमा कार्य गर्न जाने १२औँ डफ्फाको आइतबार बिदाइ गरिएको छ । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्यालले सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयमा आयोजित एक कार्यक्रमबिच बिदाइ गरेका हुन्
महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी कर्मचारीहरूलाई बिदाइ गर्दै कार्य सफलताको शुभकामनासमेत व्यक्त गरे । उनले विनाशलाई विकास र संघर्षलाई शान्तिमा बदल्ने ठुलो जिम्मेवारी बोकेर द्वन्द्वग्रस्त मुलुकमा जान लागेका सशस्त्र प्रहरी कर्मचारीहरूले अनुशासित एवं सामूहिक भावनाका साथ राष्ट्र र संगठनको नाम उच्च रहने गरी उत्कृष्ट ढंगले जिम्मेवारी निर्वाह गर्नुपर्ने बताए ।
मिसनमा जान लागेको टोलीलाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षकहरू नारायणदत्त पौडेल, र वंशीराज दाहाललगायत सशस्त्र प्रहरी बल नेपालका वरिष्ठ अधिकृतहरूले समेत शुभकामना सहित बिदाइ गरेका थिए ।
सन् २००३ बाट सशस्त्र प्रहरी बल नेपाल यूएनको शान्ति मिसन अन्तर्गत पहिलो पटक लाइबेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा सकिएको थियो । त्यसैगरी दक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । दक्षिण सुडान मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरू कार्यरत छन् ।
सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक जरसिंह बुढासहित १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारीहरू वैशाख २३ गते त्यसतर्फ प्रस्थान गर्नेछन् ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण