त्रिविका रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामा दिन दबाब

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा केशरजंग बरालले राजीनामा दिएसँगै रेक्टर र रजिस्ट्रारलाई समेत राजीनामाका लागि दबाब परेको छ । मेरिटोक्रेसीमार्फत नियुक्त भएका उपकुलपति बरालले राजीनामा दिएसँगै रेक्टर प्राडा खड्क केसी र रजिस्ट्रार प्राडा केदार रिजाललाई समेत राजीनामाका लागि दबाब परेको हो ।
बरालले चैत १५ गते स्वास्थ्यको कारण देखाउँदै राजीनामा पत्र बुझाएर गृहनगर पोखरा गएका थिए । तर, हालसम्मको उनको राजीनामा स्वीकृत भएको छैन । उनको राजीनामा स्वीकृत नभएको बेला उनको आफ्नै टिममा रहेका रेक्टर र रजिस्ट्रारलाई समेत राजीमाका लागि दबाब पर्न थालेको हो ।
विद्यार्थी संगठनहरू, प्राध्यापक तथा कर्मचारीहरूले केसी र रिजाललाई समेत राजीनामा दिन माग गर्दै आएका हुन् । एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु त्रिवि इन्चार्ज प्रशान्त भण्डारीले रेक्टर र रजिस्ट्रारले राजीनामा दिएर मार्ग प्रशस्त गर्न माग गरेका छन् । एमाले नेता तथा कार्यकर्ताहरूले उपकुलपति बरालले ल्याएका आफ्नो टिमका सदस्यहरूलाई राजीनामा दिएर मार्ग प्रशस्त गर्न अनुरोध गरेका हुन् ।
अखिल (क्रान्तिकारी) भने रेक्टर र रजिस्ट्रारलाई उपकुलपतिको राजीनामा फिर्ता ल्याउन दबाब दिएका थिए । उपकुलपतिको राजीनामा फिर्ता नभएको खण्डमा रेक्टर र रजिस्ट्रार दुवैको राजीनामा माग्ने चेतावनी क्रान्तिकारीका नेताहरू दिएका थिए ।
जसले गर्दा रेक्टर र केसी र रजिस्ट्रार रिजालले बराललाई राजीनामा फिर्ता गराउनका फकाउँदै आएका छन् । बराल निकटका केही व्यक्तिहरू पोखरा नै पुगेका थिए । पोखरा पुगेको टोलीसँग बरालले काम गर्ने सहज वातावरण बनाइदिएको खण्डमा मात्रै राजीनामा फिर्ता लिने प्रतिक्रिया दिएको स्रोतले बतायो ।
त्यसका लागि प्रधानमन्त्री केपी शर्मा ओलीबाटै प्रतिबद्धता आउनुपर्ने उनको अडान थियो । त्यस्तै त्रिविका प्राध्यापक तथा कर्मचारीहरूले समेत उपकुलपतिले राजीनामा दिइसकेपछि उनले ल्याएको टिमले समेत राजीनामा दिनुपर्ने बताउँदै आएका छन् ।
प्रधानमन्त्री तथा अन्य कहीँ कतैबाट सहयोग नपाइएको भन्दै उपकुलपति बरालले राजीनामा दिएका थिए । तर, उनले स्वास्थ्यको कारण देखाउँदै राजीनामा दिएको बताएका छन् ।
अहिलेसम्म उनको राजीनामाका विषयमा के गर्ने भन्ने विषयमा कुलपति तथा प्रधानमन्त्री ओलीले कुनै निर्णय लिइसकेका छैनन् । राजीनामा स्वीकृत/अस्वीकृत गर्ने विषयमा कुनै निर्णय नभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।
बरालको राजीनामापछि हालसम्म त्रिविमा उपकुलपतिविहीन बनेको छ । त्रिवि ऐन अनुसार उपकुलपति नभए रेक्टरलाई ३ महिनाका लागि निमित्तको जिम्मेवारी दिन सकिने व्यवस्था छ । तर, रेक्टरलाई समेत उक्त जिम्मेवारी दिइएको छैन ।
उक्त अवधिमा सिफारिस समिति गठन गरी उपकुलपति चयन र नियुक्तिको प्रक्रिया अघि बढाउन सक्ने व्यवस्था छ । कुनै पनि प्रक्रिया अगाडि नबढ्दा विश्वविद्यालय नेतृत्वविहीन बनेको छ । जसले गर्दा शैक्षिक तथा प्रशासनिक काम ठप्प भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पाल्पामा बालीनालीमा छरेको विषादीले मौरी सखाप
-
मुख्यमन्त्री कँडेलद्वारा दश जिल्लाका सीडीओसँग संवाद
-
बाँकेमा थप ९३६ लाई जग्गाधनी प्रमाणपत्र वितरण गरिँँदै
-
डिजिटल प्रविधिमा आधारित रही सेवा प्रवाह गर्न श्रममन्त्रीको निर्देशन
-
रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म
-
रवि लामिछानेको मुद्दामा कैफियत प्रतिवेदन मगाउने आदेश