रातोपाटी ब्रिफिङ : प्रदीप नेपालको अन्तिम बिदाइदेखि संसद्को बहससम्म

आज २०८२ वैशाख २३ गते मंगलबार । आज दिनभरका मुख्य–मुख्य घटनाक्रम रातोपाटी डटकमको नियमित प्रस्तुति ‘रात्रिकालीन ब्रिफिङ’मा प्रस्तुत गरेका छौँ–
- प्रदीप नेपालको निधन
पूर्वमन्त्री तथा वामपन्थी नेता प्रदीप नेपालको निधन भएको छ । नेपालको मंगलबार नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो । नेपाल लामो समयदेखि पार्किन्सन लगायत रोगबाट पीडित थिए । बौद्धिक बामपन्थी राजनीतिज्ञ भनेर चिनिने उनी रोगले शिथिल बनाउँदै लगेपछि पछिल्लो समय राजनीतिबाट निष्क्रिय थिए ।
- टायलमा नयाँ मापदण्ड
टायल उत्पादनमा देश आत्मनिर्भर हुँदै गर्दा सरकारले यसको गुणस्तर निर्धारणका लागि नयाँ मापदण्ड ल्याउने तयारी गरेको छ । गुणस्तर तथा नापतौल विभागले टायल्सको गुणस्तरसम्बन्धी नयाँ मापदण्ड तयार गरेर सार्वजनिक सुझावसमेत माग गरेको छ ।
- शिक्षक-सरकार सहमति
सरकारले वैशाख १६ गते नेपाल शिक्षक महासंघसँग ९ बुँदे सहमति गर्यो । काठमाडौँ केन्द्रित पेसागत आन्दोलन गरिरहेका शिक्षकहरूसँग शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले गरेको सहमतिको पहिलो बुँदामा लेखिएको थियो, ‘शिक्षकहरूको स्वास्थ्य उपचारका सम्बन्धमा काठमाडौँमा अवस्थित निजामती कर्मचारी अस्पतालमा सम्पूर्ण शिक्षक तथा विद्यालय कर्मचारीलाई उपचार सहुलियत उपलब्ध गराउने व्यवस्था गर्ने ।’
- चक्रपथ दोस्रो खण्ड विस्तार
चक्रपथको दोस्रो खण्ड (कलंकी–चाबहिल) विस्तारमा ढिलाइ हुने देखिएको छ । ‘१५ दिनदेखि चिनियाँ टोलीले यो खण्डको सर्भे गरिरहेको छ । सर्भे गर्न नै दुई महिना लाग्छ भनेका छन्,’ चक्रपथ विस्तार योजनाका प्रमुख कृष्णनाथ ओझाले भने, ‘सर्भे सकिएपछि डिजाइनको काम अघि बढाउँछन् ।
- दोधारा चाँदनी सुक्खा बन्दरगाह
सुदूरपश्चिमको दोधारा चाँदनी नगरपालिका लामो समयदेखि राज्यको पहुँच र ध्यानबाट पर रहँदै आएको थियो । नेपालको पश्चिमी सीमारेखा मानिने महाकाली नदी पारीपट्टिको यो क्षेत्र भौगोलिक रूपले दुर्गम मात्र होइन, राजनीतिक रूपमा पनि उपेक्षित रह्यो ।
- मनलाग्दी ऋण
चालु आर्थिक वर्षमा सरकारले ५ खर्ब ४७ अर्ब रुपैयाँ ऋण उठाउनेगरी बजेटमा व्यवस्था गरेको छ । यसमध्ये ३ खर्ब ३० अर्ब रुपैयाँ आन्तरिक ऋण रहेको छ । बजेटमा व्यवस्था भएमध्ये यतिवेला अधिकांश ऋण सरकारले उठाइसकेको छ ।
- ‘म्युजिकल चियर’
करिब १० वर्षको दौरानमा प्रमुख तीन दल कांग्रेस, एमाले र माओवादी पालैपालो सरकारको नेतृत्वमा छन् । २०७२ साल असोज ३ गते संविधान सभाबाट संविधान बने लगत्तै एमालेका अध्यक्ष केपी ओली प्रधानमन्त्री बने । उनी २०७२, २०७४ र २०८१ गरी चार पटक प्रधानमन्त्री भए । अहिले पनि सत्ताको नेतृत्व ओलीले नै गरिराखेका छन् ।
- संविधान संशोधन बहस
नेपाली राजनीतिमा दक्षिणपन्थी तथा पुनरुत्थानवादी शक्तिको नेतृत्व राष्ट्रिय प्रजातन्त्र पार्टीले गर्ने गर्छ । वर्तमान संविधानको मुख्य विशेषता गणतन्त्र, धर्मनिरपेक्षता तथा सङ्घीयता भए पनि राप्रपा यी सबै आधार स्तम्भलाई ढालेर देशमा फेरि राजतन्त्र र एकात्मक व्यवस्था ल्याउन चाहन्छ ।
- संसद् बैठक
सङ्घीय संसद्को दुवै सदनको बैठक आज बसेको छ । दुवै बैठकमा आर्थिक वर्ष २०८२–०८३ को सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि छलफल जारी रहेको थियो । राष्ट्रपति रामचन्द्र पौडेलले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गत वैशाख १९ गते आर्थिक वर्ष २०८२र८३ का लागि नेपाल सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए ।
- फोटो फिचर