भारतबाट बुवाले २० हजारको जागिर मिलाए, ह्याकरले छोरालाई चोरीमा प्रयोग गरे

काठमाडौँ । कञ्चनपुरको कृष्णनगर नगरपालिका–१ घर भएका २२ वर्षीय राहुल बुढा अहिले प्रहरी हिरासतमा छन् । म्यासेजमार्फत फिसिङ लिंक पठाएर ई-सेवाको खातामा पहुँच बनाउँदै उनले १ करोड २ लाख रुपैयाँ चोरी गरेको प्रहरीको अनुसन्धान निष्कर्ष छ । उपत्यका अपराध अनुसन्धान कार्यालयले वैशाख २ मा उनलाई कालीमाटीबाट पक्राउ गरेर जिल्ला प्रहरी परिसर काठमाडौँमा पठाएको छ ।
राहुलका बुवा पहल बुढा भारतमा सुरक्षा गार्ड छन् । कम्प्युटर इन्जिनियरिङ पढेका राहुल र दिदी अनामनगरमा बस्छन् । बुवाले भारतबाट फोन गरेर भने, ‘भारतबाट सरहरू त्यहाँ आउनुभएको छ, भेटेर खाता खोल्नु उहाँहरूले महिनाको २० हजार तलब दिन्छौँ भन्नुभएको छ ।’
भारतबाट आएकाहरूलाई बुवाले भनेअनुसार राहुलले भेटे । राहुलको नाममा उनीहरूले ‘पशुपतिनाथ ग्लोबल इनोभेसन प्रालि ’ नामको कम्पनी दर्ता गरे । २०८१ चैत ३ मा दर्ता बागमती प्रदेश सरकार मातहतको उद्योग तथा वाणिज्य कार्यालय त्रिपुरेश्वरमा कम्पनी दर्ता गरेको भेटिएको छ ।
कम्पनी दर्ता गरेर खाता सञ्चालन गरे । राहुललाई चेकबुकमा हस्ताक्षर गराए । कम्पनीको कार्यालय कमलादीमा सञ्चालन गरेको कागजमा देखाए पनि उद्योग तथा वाणिज्य कार्यालयले कडाइ गरेपछि पुतलीसडकमा अर्को कार्यालयसँगै बोर्ड राखेर फोटो खिचेर पेस गरे ।
राहुलको नाममा पनि ई-सेवामा खाता खोल्न लगाए । भारतबाट आउनेहरूले ई-सेवामा ‘पशुपतिनाथ ग्लोबल इनोभेसन प्रालि’को नाममा पनि ई-सेवामा मर्चेन्ट खाता खोले । त्यसमा ३ राहुलसहित ३ जनाको एक्सेस हुन्छ । राहुलको व्यक्तिगत र मर्चेन्ट खातामा ४ हजार ३ सय जना ई-सेवा प्रयोगकर्ताको खाताबाट रकम ट्रान्सफर भएको भेटिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले रातोपाटीलाई बताए । उनले भने, ‘फिसिङ गरेर एकैछिनमा एक्सेस बनाएर रकम चोरेको देखिन्छ, यसमा गहिराइमा पुगेर अनुसन्धान गर्दैछौँ ।’
मोबाइलका म्यासेज बक्समा ‘द अलर्ट’ र ‘एटी अलर्ट’ बाट म्यासेज आउँछ । म्यासेजमा लेखिएको हुन्छ, ‘तपाईँको ई-सेवा अकाउण्ड सस्पेन्ड हुन लागेको जानकारी गराउँछौँ, तपाईंले यसलाई कन्फर्म गर्नुहोस् ।’ त्यसपछि सो म्यासेज क्लिक गरेको केही समयमा नै प्रयोगकर्ताले पैसा गुमाउने गरेको एसपी जिसीले बताए । जिसी प्रयोगकर्तालाई आग्रह गर्छन्, ‘जानकारी भन्दा बाहिरका म्यासेज क्लिक नै नगर्नुस्, फिसरले अनेक विधि अपनाएर खाताको रकम लैजान्छन् ।’
ई-सेवा मार्फत रकम चोर्ने भारतीय सहितको समूहले २०८१ चैत ३ मा कम्पनी दर्ता गरेको भेटिएको छ । डीएसपी आशिष् अधिकारी नेतृत्वको टोलीले १३ दिन लामो अनुसन्धान गर्दा ४३ सय सेवाग्राहीको रकम चोरेको पाइएको छ ।
यसरी सुरु भयो अनुसन्धान
२०८१ चैत २६ मा एक जना महिला अपराध अनुसन्धान कार्यालयमा पुगिन् । उनको ई सेवा अकाउन्टबाट ९ हजार ७९० रुपैयाँ चोरी भएको थियो । अनुसन्धान गर्दै जाँदा प्रहरी राहुल सम्म पुगेको हो । उनीभन्दा माथिल्लो लेयरमा दुई जना भारतीय संलग्न देखिएका छन् । भारतीयहरूबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
राहुलले ई-सेवाको मर्चेन्ट अकाउन्ट र आफ्नै नामको अकाउन्टमा पनि आफ्नो पहुँच नभएको अनुसन्धान अधिकृतहरूलाई बताएका छन् । राहुलले कम्पनीको चेकमार्फत पहिलो पटक साढे ९ लाख र २६ हजार निकालेको भेटिएको छ । सो रकम भारतीयलाई नै पठाएको उनले प्रहरीलाई बताएका छन् ।
कम्पनी दर्ता गर्दा अनलाइन गेमिङ बेच्ने र एन्टी भाइरस बेच्ने उद्देश्य राखेर दर्ता गरेका थिए । राहुलले प्रहरीसँग भनेका छन्, ‘कम्पनीको खातामा अनलाइन गेमिङ र एन्टी भाइरस बेचेको पैसा आउँछ भनेका थिए ।’ तर, उनीहरूले प्रयोजन विपरीत चोरी गर्ने गरेको एसपी जिसीले जानकारी दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खेलकुदमा कोशी प्रदेश निरन्तर खस्किँदै
-
ट्रयाक खुलेको सत्ताइस वर्षपछि रत्नेचौर–भकुण्डे सडक कालोपत्र थालियो
-
प्रत्यक्ष प्रसारण जारी रहेकै समयमा टेलिभिजन कार्यालयमा इजरायली हवाई आक्रमण (भिडियोसहित)
-
नेपाली शान्ति सैनिकको अदलीबदली
-
प्रतिनिधिसभाको बैठक बस्दै, सङ्घीय निजामती सेवा विधेयक पारित गर्ने कार्यसूची
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल