नासिए मौलिक सम्पदा

बागलुङ । यहाँका मौलिक सम्पदासँग जोडिएका पहिचान नासिन थालेपछि स्थानीय ज्येष्ठ नागरिक चिन्तित बनेका छन् ।
विकासका नाममा जथाभाबी सडक सञ्जाल विस्तार गरिँदा मौलिक सम्पदा नासिन थालेपछि ज्येष्ठ नागरिक चिन्तित बनेका हुन् ।
“हाम्रो गाउँमा पाँच–सात ठाउँमा वरपिपलका रुख थिए, मान्छेले बिहान–बिहान आएर पुज्थे, गर्मीमा शीतल लिन यसको फेँदमा बस्थे, बटुवाहरू हिँड्दा थकाइ मार्न एकछिन यसैको छहारीमा विश्राम लिन्थे, अहिले ती वरपिपल सबै बाटोले खायो, बटुवा पनि हिँड्न छोडे”, बागलुङको निसीखोला गाउँपालिका–४ का ८३ वर्षीय धनबहादुर मगरले मौलिक सम्पदा मासिँदै गएकामा चिन्ता व्यक्त गरे । धार्मिक महत्त्वसँग जोडिएको वरपिपल मोटरबाटोले पुरिएपछि अहिले गाउँ उजाड जस्तै बनेको उनले बताए ।
बुढापाकाले रुखबिरुवा नभएको ठाउँमा वरपिपल रोपेर धर्मकर्म गरे पनि अहिलेको पुस्तामा त्यो खालको सोच नभएको मगरको भनाइ छ । पछिल्लो समय गाउँका विकासका नाममा मौलिक सम्पदा मास्ने काम भएको भन्दै उनले गुनासो पोखे ।
जथाभाबी रूपमा सडक निर्माण गर्दा बस्ती जोखिममा पर्नुका साथै धार्मिक आस्थासँग जोडिएका सम्पदा भत्काउने काम भइरहेको मगरले बताए ।
अव्यवस्थित सडक निर्माणले गाउँको स्वरूप नै कुरूप बनाएको भन्दै यसलाई राज्यले व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए ।
आधुनिक प्रविधिको विकासले सञ्चालनमा रहेका सम्पदासमेत प्रयोगविहीन हुँदै गएका ढोरपाटन नगरपालिका–९ का कुलबहादुर पुनले बताए ।
उनले डोजरे विकासले गाउँ, बस्ती र पर्यावरणमा असर पुर्याएको सुनाए । सडक निर्माण गर्दा धेरै ठाउँमा पानीको मुहान सुक्ने समस्या भएको उनको भनाइ छ ।
ढोरपाटन जाने बाटैमा रहेको रुद्रतालमा पनि डोजर चलाउँदा अहिले सुक्दै गएको पुनले जानकारी दिए ।
रुद्रतालमा पूजा गरी स्नान गर्दा मनोकाङ्क्षा पूरा हुने र छालासम्बन्धी रोग नलाग्ने जनविश्वास रहिआएको जनाउँदै उहाँले अहिले उक्त क्षेत्र संरक्षण हुन नसकेको गुनासो गरे ।
पुनले भने,“रुद्रतालमा देवता छन् भन्थे, यहाँ कसैले पनि फोहर गर्दैनथे, एक दशक अगाडिसम्म यहाँ ठुला ताल थियो, पानी पनि भरी हुन्थ्यो । अहिले डोजर लगाएपछि पानी सुकेको छ, पहिलेपहिले देशभरका भक्तजन यहाँ आएर पूजा गर्न, ध्वजा बाँध्ने र वर माग्ने गर्थे, यहाँ पूजा गर्दा दुःख, कष्ट र समस्या आइपर्दैन भन्ने विश्वास थियो, अहिले ताल नै मासिने स्थितिमा पुग्यो ।”
पछिल्लो केही वर्षयता भरिया र स्थानीयले थकाइ मेटाउने चौतारा, बटुवाले बास बस्ने पाटीपौवा र धर्मशालाको अस्तित्व समाप्त भएको स्थानीय प्रेमबहादुर बुढा मगरले बताए । “सडकले हप्ता दिन लगाएर पुग्ने गन्तव्य छोटो बनाए पनि मौलिक सम्पदाको पहिचान भने मेटाइदियो”, उनले भने ।
बागलुङको पश्चिम क्षेत्रबाट जिल्ला सदरमुकाम आउँदा बाटोका दर्जनौँ स्थानमा वरपिपलका चौतारा, ढुङ्गे धारा र धर्मशाला भेटिने गरेको स्मरण गर्दै अहिले ती सम्पदा मासिएका बुढा मगरले उल्लेख गरे ।
“सडकले सुविधा त दियो तर हाम्रो मौलिक संस्कृति र पहिचान भने मेटाउँदै गयो, पहिले हामी दुई साता लगाएर बटौली पुगेर नुन, तेल र चामल बोकेर आउँथ्यौँ, बाटोमा अहिलेको जस्तो होटेल हुँदैनथे, धर्मशाला हुन्थे, त्यही धर्मशालामा रात कटाउँथ्यौ, अचेल पाँच–सात घण्टामा पुगिन्छ”, उनले भने,“हाम्रो कुरा सुन्दा नयाँ पुस्ता छक्क पर्छन्, पाटीपौवा, धर्मशाला र चौतारा भन्ने बुझ्दैनन् ।”
मौलिक परम्परा र संस्कृतिसँग जोडिएका सम्पदाको राज्य, स्थानीय सरकार र सरोकार भएका सबैको पहलमा संरक्षण र संवर्द्धन गर्नुपर्नेमा उनले जोड दिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ध्यानका लागि प्रभुचेलामा बन्यो पूर्वाधार
-
पाकिस्तानको दाबी-भारतका प्रमुख सैन्य र पूर्वाधार लक्ष्यमा आक्रमण
-
पाकिस्तानको एयर स्पेस अस्थायी रूपमा बन्द, भारतले ३२ विमानस्थल बन्द गर्यो
-
पहिलेको चरिचरन, अहिलेको पर्यटकीय गन्तव्य
-
चलचित्र ‘राजकुमारी’ को निर्माण घोषणा
-
सोमबार प्रचण्ड सुर्खेत आउँदै, वाइसीएलको प्रदेश सम्मेलनमा सहभागी हुने