२०८२ साल शब्दहरूमा यात्राको स्पन्दन

‘२०८१ सालमा के गरियो ?’ अब ‘२०८२ सालमा के गर्न बाँकी रह्यो ?’ यी दुई प्रश्न स्वाभाविक रूपमा उठ्छन् । ‘के गरियो ?’ के गर्न बाँकी रह्यो ?’ मेरा लागि आफैँमा आत्ममन्थन र भविष्यप्रति प्रतिबद्धताको सूचक हुन् । आफैँलाई पछाडि फर्किएर हेर्ने र अगाडिको आगामी गन्तव्यको निर्धारण गर्ने सन्दर्भ पनि हुन् यी प्रश्नहरू ।
पानी पर्न नसकेर तुँवालोले वातावरण खराब भई कचपल्टिएको भातजस्तो मौसमले वातावरणलाई प्रदूषित पारिरहेको समय । ऐजेरु पलाएर हुर्किन नसकेका बिरुवाजस्तो । यस्तै ऐनमौकामा भित्रिएको नयाँ साल २०८२ को छेउछाउ एउटा आत्मदर्शन पनि हो ।
डढेलो प्रकोपले जलेको जंगल, पानी पर्न हम्मे भइरहेको प्रकृति दिनदिनै मधौरा अवस्थाबाट गुज्रिँदै गर्दा वर्षको अन्तिम घडीमा म आफैँसित सोध्दै थिएँ, ‘२०८१ सालमा मैले के गरेँ ?’
बिहानको मिर्मिरेमा बिस्तारै उज्यालिँदै गरेको रातको धुवाँजस्तै बितेको वर्ष सम्झनाको कुहिरोमा हराउँदै गयो । कतै कागजका पानाहरूमा केही हरफ लेखिए । कतै मनको गहिराइमा केही अनुभवहरूको हुल बाँधियो । जीवनको डोबमा केही सम्झनाहरू गडेर बसे । अनि केही पानीसँगै बगेर गए । कतिपय अमर स्मृतिको अभिलेखमा सुरक्षित रहे ।
२०८१ साल नयाँ क्यालेन्डरको पाना होइन । त्यो मेरो हृदयको एक तह हो । त्यहाँ पीडा र प्रेरणाले समान स्थान पाए । कहीँ बिरानोले आँगन छाडेर गए । कहीँ कोही अन्जान आत्मा जीवनमा पग्लियो । कहीँ कविता बनेर आँखा रसाए । कहीँ निबन्धले जीवनको गहिराइ देखाए । कहीँ मौनताले हृदय सिञ्चित गर्यो । जे होस् यात्रामा पाइलाहरूले दुखेर पनि गन्तव्य छिचोलेरै छाडे । जीवन यात्रा न हो । यसले नै शब्दहरूमा यात्राको स्पन्दन गराउँछ ।
परन्तु समय कहिल्यै स्थिर रहँदैन । अहिले मलाई लागिरहेको छ, २०८२ सालले मेरो ढोका ढकढक्याइरहेको छ । म नयाँ साललाई स्वागत गर्दै अधुरा काम पूरा गर्ने जमर्कोमा जुर्मुराइसकेको छु । सोध्छु आफैँलाई, सम्झन्छु २०८१ सालका उपलब्धिहरू के के हुन् ? अब २०८२ सालमा मैले के गर्न बाँकी रह्यो ?
सबैभन्दा पहिले त मैले आफूलाई माफ गर्न बाँकी छ, जो गरिनुपथ्र्यो, तर गरिएन । केही सपना पुनः जिउन बाँकी छ, जुन २०८१ सालमा अलिकति थाकेँ । केही नयाँ बाटामा पाइला चाल्न बाँकी छ, जुन समयको व्यस्तताले टरे । केही साना मुस्कानहरू बाँड्न बाँकी छ । केही भित्री आँसुहरूलाई मनसँग साझेदारी गर्न बाँकी छ । बाँकी सबै यी सबै अधुरा कामहरूलाई यो वर्ष पूरा गरेरै छाड्नु छ ।
२०८२ साल नयाँ दिनको सुरुआत र नयाँ सम्झौताको समय पनि हो । मैले गर्ने कामहरू भावना र समयका संवाद हुन् । ती मेरो उपलब्धिका सूची हुन् । तिनलाई क्रमशः म सिलसिलाबद्ध सम्पन्न गर्नेछु । यो सालमा मैले गर्न बाँकी कामहरूको सूचीले मलाई सधैँ जागरुक राख्नेछ । म आफ्नो कामप्रति सदा सचेत रहिरहनेछु ।
यसपालि सायद म शब्दभन्दा मौन बनुँला । मौनताभित्र चुपचाप आफ्नै सिर्जनामा रमाउँला । निबन्ध, नियात्रा लेखुँला । सायद यसपालि म फूल रोप्नुभन्दा अघि माटोको गोलमेल गर्नेछु । सायद म अरूलाई बुझ्नुभन्दा अघि आफूभित्रको अन्धकार चिन्नेछु । यति भएपछि मभित्र सिर्जनाको भण्डारमा अथाह विचारका भारीहरूले भरिनेछन् । ती भारीमा विगतको प्रतिविम्ब जोडिएका शब्दहरूमा यात्राको स्पन्दन हुनेछ ।
२०८२ साल मेरा लागि शब्दहरूमा यात्राको स्पन्दन हुनेछ । यहाँ म आफूलाई जीवन बाँचेर यात्रा गर्नेछु । दुखाइहरूलाई शब्दका मिठास भरेर व्यक्त गर्नेछु । यहाँ म आफू दुखेर पनि अलिकति नयाँपनको खुसी भेट्ने कोसिस गर्नेछु ।
यसपालि सायद म शब्दभन्दा मौन बनुँला । मौनताभित्र चुपचाप आफ्नै सिर्जनामा रमाउँला । निबन्ध, नियात्रा लेखुँला । सायद यसपालि म फूल रोप्नुभन्दा अघि माटोको गोलमेल गर्नेछु । सायद म अरूलाई बुझ्नुभन्दा अघि आफूभित्रको अन्धकार चिन्नेछु ।
बितेर गएका वर्षहरूझैँ २०८१ साल पनि समयको पात्रोमा एउटा पाना थियो तर मेरा लागि त्यो पाना सामान्य थिएन । त्यो पात्राका पानामा लेखिएका महिना र गतेका अक्षरहरू मेरा पाइला थिए । ती अक्षरहरूको लयमा मेरा मनका धड्कन थिए । शब्दहरूको मैत्रीपूर्ण मिलनमा भावनाको यौटा सुन्दर संरचना निर्माण भएको थियो । त्यो संरचना प्रकृति र जीवनको विम्ब थियो ।
धेरै ठाउँहरू घुमेँ, ती ठाउँहरूले मलाई घुमाए । मलाई देखाइदिए– हिमालको चुली र हिमालको आँगन साथै पहाड पछाडिका दृश्यहरू । देखाइदिए– एकलास अनकन्टारमा लुकेर बसेका प्राकृतिक सौन्दर्यका सारहरू । मान्छेका अनुहारभित्र लुकेका सौन्दर्य र वैराग्यका भावहरू । मैले तिनलाई शब्दहरूमा टिपिरहेँ, भावनाका रङहरूमा रङ्गाइरहेँ । तिनमा पसिनाको धारा बगिरहेको थियो । भोकको ज्वाला बलिरहेको थियो । परिश्रमको फल मिठो हुन्छ भन्ने आशाले भरियाहरू अत्यन्त मुस्किलले पाइला घिसाइरहेका थिए ।
उनीहरूले यात्रा जारी राखिरहेका थिए । त्यहाँ भाषाको आवश्यकता थिएन । जात र धर्मको नाम र कामको कुनै अर्थ थिएन । सबै एउटै उद्देश्यमा भेला भएका यात्री थिए । असल आत्मीय मित्र बनेका थिए ।
२०८१ साल मेरा लागि सिर्जनाको चुली थियो, तर चुली पछाडि नयाँ आरोहण पर्खिरहेको हुन्छ । त्यही नयाँ चुली हो– २०८२ साल । बाँकी राखेका, थाँती रहेका कामहरू पूरा गर्ने संकल्प । साथसाथै समर्पण, साधना र तिनलाई पूरा गर्ने अधुरा सपनाहरूको वर्ष हुने छ २०८२ साल !
यो साल मेरो प्रतिबद्धता छ– लेखन र यात्रा बीच सन्तुलन कायम राख्ने । मेरा पाइला फेरि सहर र सडकबाट धुलाम्मे र ढुंगेबाटोतिर लम्किनेछन् । मेरो कलम फेरि लेखनमा घोटिनेछ । कहिले धुलो, कहिले पानी र कहिले पानी प्यासले काकाकुल हुँदै अभावका हाहाकारमा, कहिले खुसीका उत्सवहरूमा । कदापि म थाक्नेछैन । कहिल्यै म आफैँसँग हार खाएर वा हार मान्दै टोलाएर बसिरहनेछैन । जागरुक र ऊर्वर मनहरू लिएर मेरो यात्रा कायमै रहनेछ ।
म ती ठाउँहरूमा जान चाहन्छु, जहाँ मानिसहरू कथा बनेका छन् । जहाँ भित्ताहरू मौन कविता हुन् । जहाँ पाखाहरूले सिर्जनाको धुन सुसेल्छन् । जहाँका गाउँघरमा जीवनका स्पन्दनहरू आशा र विश्वासमा बाँचिरहेका हुन्छन् । जहाँ सुगन्धले पनि इतिहास बोकेको हुन्छ । बुढा गुराँसका बोटमा फुलेका राताम्मे लालीगुराँसको सौन्दर्यमा म लट्ठ हुनेछु । त्यो निर्जन जंगलमा कोइली, धोबिनी, चिबे चराहरूको मिठो गुञ्जनमा म प्रकृतिसँगै जीवनको लय घोलिएको महसुस गर्नेछु ।
२०८२ सालमा लेख्न बाँकी छ– आकाश चहार्ने, डाँडाकाँडा नाप्ने चराहरूको चित्कार, आँखाबाट देखिएका हिमाली सुन्दरता, पर–परसम्म फैलिएका लेकाली फाँट, चौरीगोठ र खुला आकाश, होटलका झ्यालबाट देखिएको साँझ, बुढो र जीर्ण काठको पुलको सम्झना, गाउँको चुल्होमा पाकिरहेको खानाको स्वाद, अप्ठेरो उकालोमा भारीले थिचिएर पनि त्यसबापत आउने ज्यालाको मोहले परिश्रमी रगत–पसिना बगाइरहेका नेपाली भरिया ज्यान !
म यो साल लेख्न चाहन्छु— हावाजस्तो हल्का भएर, पानीजस्तो बग्न सक्ने भएर । फूलजस्तो सौन्दर्य र सुगन्धमय बनेर । मेरो लेखनले बगोस्, घुमोस् र अन्ततः जहाँ पुगोस्; त्यहाँ केही स्पर्श गरिरहोस् । नयाँपनको आभास दिइरहोस् । नवीन सोच र खोजको यात्रामा हिँडाइरहोस् ।
२०८२ साल मेरा लागि एउटा आत्मसंवादको वर्ष हो— जहाँ यात्राले लेखनलाई उचाइदिन्छ र लेखनले यात्रालाई गहिराइ । म खोजिरहेछु त्यो बिन्दु जहाँ म शब्दसँग भावना लेख्न सकुँ । म बनिरहेछु त्यो यात्री जो दिशाभन्दा अनुभूतिको पथमा हिँड्छ ।
अन्ततः वर्षहरू त बितिरहन्छन् । तर केही वर्षहरू जीवनका हस्ताक्षर बन्छन् । २०८२ साल त्यही हस्ताक्षर हो, जुन मैले लेख्न बाँकी राखेको थिएँ– अब लेख्दै छु । लेख्नेछु र लेखिरहनेछु ।
२०८२ सालमा मैले बाँकी राखेको काम हो, जीवनलाई पुनः प्रेम गर्नु । आफू खुसी हुँदै अरूलाई पनि खुसी साझा गर्नु । प्रगतिको धेरै अंकहरूका लागि मिहिनेत गर्नु । सम्मानका लागि होइन । यो अनुभूति गर्दै कि म जीवित छु । मलाई मेरो जीवन अझै प्रिय छ । म यो नयाँ साल आगमनसँगै शब्दहरूमा यात्राको स्पन्दन गरिरहनेछु ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कस्तो रहला तपाईँको यो साता ? हेर्नुहोस् साप्ताहिक राशिफल
-
बागवानीको लिची २८ लाख रुपैयाँमा ठेक्का
-
यस्तो छ आज सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य
-
जर्मन बुण्डेस लिगामा शीर्ष स्थानको बायर्न म्युनिखलाई घाटा
-
कहिले सञ्चालनमा आउँछ धरानको स्मार्ट बसपार्क ?
-
आईपीएल क्रिकेट : चेन्नईविरुद्ध दुई रनको जित निकाल्दै आरसीबी शीर्ष स्थानमा