शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट
गोलार्द्ध

एसियामा प्रभावशाली बन्दै ‘क्रिश्चियानिटी’

आइतबार, ०७ वैशाख २०८२, १२ : ०८
आइतबार, ०७ वैशाख २०८२

केही समय पहिले दक्षिण कोरियाका राष्ट्रपति युन सुक योलमाथि महाअभियोग लाग्यो । यस प्रकरणले दक्षिण कोरियाको राजनीतिमात्रै नभएर त्यहाँको समाजमा बढ्दै गरेका विभाजनका गहिरा रेखा पनि सतहमा ल्याइदियो । यस्तै एउटा रेखा कोरियाली इसाईहरू अर्थात् क्रिश्चियन समाजलाई विभाजन गरेर जान्छ ।

राष्ट्रपति युनले कोरियामा ‘मार्शल ल’ लगाउन गरेको प्रयास असफल भयो । इसाईहरूभित्रको प्रोटेष्टेन्ट समुदायलाई प्रतिनिधित्व गर्ने ‘इभान्जेलिकल’हरू राष्ट्रपतिको कदमको समर्थनमा सडकमै आए । उग्रदक्षिणपन्थी पाष्टर जियोन क्वाङ–हुनले ‘मार्शल ल’ घोषणा गर्ने राष्ट्रपतिको सम्मानमा ‘कोरिया जोगाऔँ’ भन्ने व्यानरमा विभिन्न जुलुसनै आयोजना गरेका थिए । तर यसको विपरीत कोरियामा रहेका चर्चहरूको संगठन कोरियाली राष्ट्रिय चर्च परिषदले भने राष्ट्रपतिको निर्णयको विरोधमा आफूलाई उभ्यायो । त्यहाँको संवैधानिक अदालतबाट लोकतन्त्र पुनर्स्थापना गर्ने प्रकारको फैसला हुनुलाई उसले ‘ऐतिहासिक निर्णय’ भनेर स्वागत गर्‍यो ।

दक्षिण कोरियाली समाज तथा लोकतन्त्रबारे त्यहाँको संघर्षमा इसाई धर्म लामो समयदेखि एक प्रभावशाली शक्ति रहेको छ । दक्षिण कोरिया एसियामा धेरै इसाईहरू भएको मुलुकको सूचीमा अग्र स्थानमा पर्छ । त्यहाँ लगभग ३० प्रतिशत जनसंख्याले आफूलाई इसाई धर्मावलम्बीको रूपमा चिनाउन चाहन्छन् । त्यहाँको राजनीतिमा इसाईहरूको संलग्नता पृथक प्रकारको छ । प्रोटेस्टेन्ट समूहहरू युद्धपछिको देशको अधिनायकवादी शासनसँग नजिक जोडिएका थिए । उनीहरू कोरियामा सैन्य शासनको पक्षमा धेरै मात्रामा रहेको विगत छ ।

तर रोमन क्याथोलिकहरूले भने १९८० को दशकमा सुरु भएको लोकतान्त्रिकरणको आन्दोलनलाई समर्थन गरेका थिए । आजको दिनमा पनि यस्ता विभाजन उही स्वरूपमा त छैनन्, तर  हराएका पनि छैनन । अर्काे इसाई संस्था ‘क्याथोलिक पिस ब्रोडकास्टिङ कर्पाेरेशन’का चो सेउङ–ह्योन भन्छन्, ‘इसाईहरू पनि विभाजित समाजकै अंश हुन् ।  हामी पूर्ण रूपमा कुनै एक पक्षका होइनौँ ।’

धेरैजसो एसियाली मुलुकमा इसाईहरू अल्पसंख्यकको रूपमा छन् । तर अल्पसंख्यकको हैसियतमै पनि उनीहरू धेरै मुलुकमा प्रभावशाली छन् । फिलिपिन्स र पूर्वी टिमोरमा मात्रै इसाईहरू बहुसंख्यकको रूपमा छन् । तर युरोप र उत्तर अमेरिकामा इसाईको जनसंख्या घटिरहेको बेला एसियामा भने बढिरहेको छ । चर्चहरूको क्षेत्रीय संस्था ‘एसियाली इसाई सम्मेलन’का म्याथ्युज जर्ज चुनाकाराका अनुसार क्रिश्चियानिटीको गुरुत्वको केन्द्र सरिरहेको छ ।

बोष्टनको ‘गोर्डन कोन्वाल थियोलोजिकल सेमिनारी’सम्बद्ध टोड जोन्सनका अनुसार एसियाबाट इसाई नेताहरू उदाउने क्रम बढिरहेको छ ।

अहिले अफ्रिका र ल्याटिन अमेरिका नयाँ इसाईहरूको स्रोत बन्दैछन् । एसियाले पनि यसमा ठुलो भूमिका खेल्दैछ । सन् २०२० देखि सन् २०२५ सम्ममा एसियामा इसाई धर्मावलम्बीको संख्या १ दशमलव ६ प्रतिशतले बढेको छ । क्रिश्चियानिटीका लागि यो क्षेत्रको बढ्दो महत्त्व दर्शाउने गरी गएको नोभेम्बरमा पोप फ्रान्सिसले दक्षिण–पूर्वी एसियाको भ्रमणसमेत गरेका थिए ।

बोष्टनको ‘गोर्डन कोन्वाल थियोलोजिकल सेमिनारी’सम्बद्ध टोड जोन्सनका अनुसार एसियाबाट इसाई नेताहरू उदाउने क्रम बढिरहेको छ । अमेरिकी पादरी बिल्ली ग्राहमले स्थापना गरेको इसाई समूह ‘द लौसान्ने मुभमेन्ट’को अगुवाई कोरियाली मूलका अमेरिकीले गरेका छन् । यसले जापानमा आफ्नो सक्रियता व्यापक रूपमा बढाएको छ । ‘पेन्टेकोष्टल वर्ल्ड फेलोशिप’ तथा ‘वल्र्ड इभान्जेलिकल अलायन्स’ जस्ता ठुला इसाई संस्थाका पछिल्ला प्रमुखको रूपमा क्रमशः मलेसिया तथा फिलिपिन्सका नागरिक छन् । दक्षिण कोरियाका मिसिनरी संसारमा सबैभन्दा सक्रिय मानिन्छन् । दक्षिण कोरियाली कार्डिनल लाजारस यु ह्योङ–सिकलाई त अबको सम्भावित पोपकै रूपमा हेर्ने गरिन्छ ।

आम रूपमा विश्वास गरिएभन्दा धेरै मानिस एसियामा क्रिश्चियानिटीको अभ्यास गरिरहेका छन् । अमेरिकी राज्य इन्डियानाको पर्ड्यु विश्वविद्यालयका फेङ्गगाङ याङका अनुसार धेरै सर्वेक्षणले एसियाली देशहरूमा कति क्रिश्चियनहरू बस्छन् भनेर न्यून आकलन गरेका छन् किनभने धेरैजसो सर्वेक्षणले मानिसहरूलाई एउटा मात्र धर्म रोज्न बाध्य पार्छन् । एसियामा धेरैले आध्यात्मिक विश्वासहरूको मिश्रण अँगालेका छन् ।

जापानलाई नै हेरौँ, १९औँ शताब्दीको अन्त्यसम्म जापानले क्रिश्चियानिटीलाई हिंसात्मक रूपमा दबाएर राख्यो । जापानमा केवल १ प्रतिशतमात्रै इसाई भएको मानिन्छ । तर याङका अनुसार सर्भेक्षणमा सहभागीहरूलाई स्वतन्त्रतापूर्वक आफ्नो बहुल आस्थाबारे छनोट गर्न दिने हो भने यो सङ्ख्या तीनदेखि चार प्रतिशतसम्म पुग्न सक्छ । 

गत वर्ष हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले दक्षिण कोरियाको राजधानी सियोलमा रहेको संसारकै सबैभन्दा ठुलो मेगाचर्च योइदो फुल गोष्पेल चर्चमा सम्बोधन गरेका थिए ।

एसियाको शिक्षा क्षेत्रमा क्रिश्चियानिटीको ठुलो प्रभाव छ । यसले त्यहाँका सम्भ्रान्तहरूमाझ ठुलो भूमिका खेलेको छ । जापानमा दोश्रो विश्वयुद्धपछिका ६५ प्रधानमन्त्रीमध्ये करिब १४ प्रतिशत अर्थात् नौ जना इसाई धर्मावलम्बी छन् । अहिलेका प्रधानमन्त्री शिगेरु इसिबा पनि इसाई नै हुन् । ‘यो सबैको पछाडिको मुख्य कारण शिक्षा नै हो,’ नर्थ क्यारोलिना स्टेट युनिभर्सिटीका लेभी म्याक्लघ्लिन भन्छन् । धेरै मुलुकका ठुला निजी विद्यालयहरू इसाई मूलका छन् । टोक्यो विश्वविद्यालयका यामागुची योइचीका अनुसार जापानमा भएका करिब ६ सय विश्वविद्यालयमध्ये करिब १० प्रतिशत इसाई संस्थाको रूपमा छन् । क्रिश्चियानिटीको प्रभाव दक्षिण कोरियामा अझै ठुलो छ । कोरिया विश्वविद्यालयका किम युन–गिका अनुसार दोश्रो विश्वयुद्धपछिका करिब ७० प्रतिशत कोरियाली राष्ट्रपति इसाई छन् । करिब एक तिहाई विश्वविद्यालय इसाई संस्थाको रूपमा छन् ।

दक्षिण कोरियाको समकालीन इसाई समाज विविधतापूर्ण छ । किमका अनुसार कोरियाका इसाईहरू उग्र दक्षिणपन्थदेखि वामपन्थसम्म फैलिएका छन्, कोरियाका चर्चहरू पनि विविधतापूर्णनै छन् ।  इसाईहरू कहिलेकाहीँ श्रमिकहरूको अधिकारजस्ता प्रगतिशील मुद्दाको समर्थनमा पनि उभिन्छन् । तर प्रायः उनीहरू सामाजिक मुद्दामा भने परम्परागत पक्षमै लाग्छन् । दक्षिण कोरियाका इभान्जेलिकल चर्चहरू लैङ्गिक अल्पसंख्यकहरूको अधिकारको विपक्षमा छन् । साथै उनीहरू अमेरिकी चर्चसँग धेरै नजिकको सम्बन्धमा छन् ।

गत वर्ष हालका अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरा डोनाल्ड ट्रम्प जुनियरले दक्षिण कोरियाको राजधानी सियोलमा रहेको संसारकै सबैभन्दा ठुलो मेगाचर्च योइदो फुल गोष्पेल चर्चमा सम्बोधन गरेका थिए । उनले त्यहाँ बोल्दै ‘हामीले विश्वास गर्ने तथा तपाईं हामीले साझा गरेको यहूदी–क्रिश्चियन मूल्यमान्यताहरूका लागि हामी लडिरहनेछौँ’ भनेका थिए । कोरियाको मेथडिष्ट चर्चले आफ्ना पादरी ली दोङ–ह्वानलाई समलिङ्गीहरूको अधिकारको पक्षमा उभिएको भन्दै कारबाही गर्‍यो । उनका अनुसार आगामी दिनमा त्यस्ता चर्चहरूले ठुलो सङ्ख्याका मतदाताहरू परिचालन गर्दै कोरियाको राजनीतिमा ‘व्यापक प्रभाव’ पार्न सक्छन् ।

लीका अनुसार थोरै सङ्ख्यामा प्रगतिशील पादरीहरू समलिङ्गीहरूको गौरव यात्रा (गे–प्राइड परेड)को समर्थनमा खुलेर आएका छन् तर यो सङ्ख्या बढिरहेको छ । यस्तो मुद्दामा उनको समर्थनको पछाडि एउटा घटनाको भूमिका छ । उनको चर्चमै रहेका एक जना व्यक्ति उनीसामु आएर भनेका थिए, ‘येशुले त सबै मानिसलाई स्वीकार्नुभएको थियो,.... आजको दिनमा हुनुभएको भए उहाँ कुन पक्षमा उभिनुहुन्थ्यो होला ?’ यसले लीमा ठुलो परिवर्तन ल्याइदियो ।

(द इकोनोमिष्टबाट)

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप