गौरीटारमा फुटबल मैदानको उद्घाटन

हेटौँडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले उत्पादनमा केन्द्रित गरेर बजेट कार्यक्रम तयार गर्नुपर्ने बताएका छन् । सरकारको बजेटलाई आय आर्जनमा जोड्न र रोजगारी तथा उत्पादन योग्य क्षेत्रमा लगानी गर्नुपर्ने उनले बताए ।
हेटौँडा–६ स्थित गौरीटार रङ्गशालामा निर्माण भएको फुटबल मैदानको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले खेलकुद क्षेत्रको विकास र व्यवस्थापनमा सरकारले प्राथमिकताका साथ अघि बढाउने प्रतिबद्धता व्यक्त गरे । उनले खेलकुद क्षेत्रको पूर्वाधार निर्माणको कामलाई व्यवस्थित गरेर सरकारको आयआर्जनमा जोड्ने गरी सञ्चालनको व्यवस्था गर्नुपर्ने उनले बताए ।
सरकारले खेलकुद क्षेत्रबाट पनि राजस्व सङ्कलन गर्ने गरी संरचनाहरूको व्यवस्थापनमा अघि बढेको उनले बताए । उनका अनुसार खेलाडीहरूको प्रोत्साहन र विकासमा सरकारले नयाँ ढङ्गका कार्यक्रम अघि बढाउने तयारी गरेको छ ।
कार्यक्रममा प्रदेशका युवा तथा खेलकुद विकास मन्त्री मीनकृष्ण महर्जनले खेलकुद क्षेत्रलाई पर्यटनमा जोडेर अघि बढाउनु पर्ने बताए । खेल पर्यटनको माध्यमबाट अर्थतन्त्रमा महत्त्वपूर्ण हिस्सा समेट्ने सक्ने भएकाले प्रदेश सरकार त्यसतर्फ अग्रसर हुनुपर्ने उनले बताए । साहसिक खेलहरूको सम्भाव्यता अध्ययन गरेर पूर्वाधार निर्माणमा जोड दिनसके पर्यटकहरूको आगमन र बसाइको दर पनि बढाउन सक्ने उनको भनाई छ ।
२०७४ बाट प्रदेश सरकार अन्तर्गत रहेर काम हुँदै आएको उक्त रङ्गशालाको पछिल्लो समय निर्माणका काम व्यवस्थित गरी उद्घाटन गरिएको प्रदेश खेलकुद विकास परिषद्का सदस्य सचिव दीपक लामाले बताए । अघिल्लो कार्यकालमा मैदान तयार भए पनि पूर्वाधार निर्माणको काममा केही कमजोरी सुधार गर्नुपरेको उनले बताए ।
हाल रङ्गशालाको रनिङ ट्र्याक, मैदान, फ्याराफिटमा कुर्सी जडान तथा पर्खाल निर्माण गर्नको लागी २० करोड ४६ लाख ७४ हजार रुपैयाँ लागत अनुमान गरेर ठेक्कामार्फत काम गरिएको उनले बताए । साबिकको सार्वजनिक निर्माण कार्यान्वयन इकाई गजुरी धादिङबाट गौरीटारको फुटबल मैदानको उक्त योजना कार्यान्वयनका लागि २०७८ वैशाख १४ गते १३ करोड ३८ लाख ६५ हजार रुपैयाँमा ठेक्का सम्झौता गरिएको उनले बताए ।
निर्माण कम्पनीले २०८१ पुस २९ मा काम सम्पन्न गर्नुपर्ने गरी काम अघि बढाइ रङ्गशालाको प्याराफिटमा २ हजार ४०० थान कुर्सी जडान गरिएको छ भने रनिङ ट्राकमा वेस कोर्स र १०५.६८ मिटरको खेल मैदानमा पानी निकासको स्वचालित सिस्टम जडान गरिएको उनको भनाई छ ।
क्रिकेट र पौडी पोखरी अन्तिम चरणमा
हाल गौरीटार रङ्गशालामा पौडी पोखरी र क्रिकेट रङ्गशाला निर्माणको काम धमाधम भइरहेको छ । सदस्य सचिव लामाका अनुसार प्रदेश सरकारले गत आर्थिक वर्षदेखि क्रिकेट रङ्गशाला निर्माणका लागि १२ करोड र स्विमिङ पुल निर्माणको लागि ९ करोड रुपैयाँ विनियोजन गरेर निर्माण थालेको थियो ।
रङ्गशालामा पहिलो चरणमा ६०० भन्दा बढी दर्शक क्षमताको एउटा प्याराफिटसहित ५ वटा पिच, ७० मिटर रेडिएशनको ग्राउण्ड भीभीआइपी कक्ष, खेलाडी कक्ष, चेन्जिङ रुम, टिभी र रेडियो ब्रोडकास्टिङ कक्ष, मिडिया कक्ष, अपाङ्गमैत्री क्षेत्र, पार्किङ लगायतका संरचना निर्माण हुने परिषद्ले जनाएको छ ।
केन्द्रीय खेलकुद प्रतिष्ठानका रूपमा विकास गर्ने गरी तत्कालीन समयमा खेलकुद परिषद्ले खेलकुदका संरचना निर्माणको थालनी गरेको थियो । बजेटले निरन्तरता पाउन नसक्दा १४ वर्षसम्म यो रङ्गशाला निर्माणको कार्यले गति लिन सकेको थिएन । २८ जेठ ०६४ मा तत्कालीन प्रधानमन्त्री माधवकुमार नेपालले रङ्गशालाको शिलान्यास गरेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो
-
संसद् भवन पुगे राष्ट्रपति
-
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग (मागपत्रसहित)
-
प्राधिकरण ५ अर्ब २६ करोड नोक्सानीमा छ : हितेन्द्रदेव शाक्य
-
नीति तथा कार्यक्रम प्रस्तुतअघि संसद् भवन परिसरको चहलपहल तस्बिरमा हेर्नुहोस्
-
दैनिक झन्डै २ घण्टा विद्युत् अवरोध हुने गरेको प्राधिकरणको स्वीकारोक्ति