शिक्षक आन्दोलनको रिपोर्टिङका क्रममा पत्रकारमाथि आक्रमण : अनलाइन टिभी पत्रकार सङ्घको खेद
काठमाडौँ । राजधानी काठमाडौँमा जारी शिक्षक आन्दोलनको फिल्ड रिपोर्टिङ गर्ने क्रममा प्राइम टाइम टेलिभिजनमा कार्यरत पत्रकार सविना कार्कीमाथि क्रुर आक्रमणको घटनाप्रति अनलाइन टिभी पत्रकार सङ्घ नेपालले गम्भीर खेद व्यक्त गरेको छ ।
सङ्घले आइतबार प्रेस वक्तव्य जारी गर्दै आन्दोलन स्थलमा आफ्नो पेसागत कर्तव्य निर्वाह गरिरहेकी पत्रकार कार्कीमाथि गरिएको आक्रमणलाई प्रेस स्वतन्त्रतामाथिको गम्भीर प्रहार र निन्दनीय कार्यको रूपमा टिप्पणी गरेको छ। कार्कीको दुवै आँखामा गम्भीर चोट लागेको र स्वास्थ्यमा गम्भीर असर परेको जानकारी आएको सङ्घले जनाएको छ ।
सङ्घका महासचिव पवन फुँयालद्वारा जारी विज्ञप्तिमा घटनाको गम्भीर छानबिन गरी दोषीमाथि कडा भन्दा कडा कानुनी कारबाही गर्न सरकारसँग जोडदार माग गरिएको छ । साथै, आन्दोलनरत शिक्षकहरूमाथि भइरहेको दमन तत्काल रोक्न पनि सङ्घले आग्रह गरेको छ ।
सङ्घले प्रेस स्वतन्त्रता र पत्रकारहरूको सुरक्षाको प्रत्याभूति गर्न सम्बन्धित सबै निकायहरूप्रति आग्रह गरेको छ। साथै, घाइते पत्रकार सविना कार्कीको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।
प्रेस वक्तव्यमा अन्य पत्रकारहरूलाई पनि समाचार सङ्कलनका क्रममा ‘सुरक्षा पहिले’ भन्ने नीतिलाई आत्मसात् गर्दै उच्च सतर्कता अपनाउन विशेष आह्वान गरिएको छ ।
वक्तव्यमा प्रेस स्वतन्त्रता रक्षा गर्न सबै पक्षलाई सचेत रहन आग्रह गरिएको छ ।
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण