बिहीबार, १८ वैशाख २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : अन्तर्राष्ट्रिय श्रमिक दिवस

सकिएकै हो शिकागो मुभमेन्टको औचित्य, कस्तो होला अबको श्रम आन्दोलन ?

ट्रेड युनियनको अबको मुभमेन्ट कता जानुपर्छ ?
बिहीबार, १८ वैशाख २०८२

काठमाडौँ । आज १३६ औँ अन्तर्राष्ट्रिय श्रम दिवस । सन् १८८६ मा अमेरिकाको सिकागो सहरमा भएको श्रमिक आन्दोलनको बलमा स्थापित ट्रेड युनियन अधिकारको सम्झनामा सन् १८९० देखि अन्तर्राष्ट्रिय श्रम दिवस मनाउन थालिएको इतिहास छ ।

शिकागो आन्दोलनको क्रममा राज्य र रोजगारदातासँग श्रमिकका केही माग थिए । न्यूनतम ज्याला, श्रमिकलाई ८ घण्टाभन्दा धेरै काममा लगाउन नपाइने, बाल श्रमलाई पूर्ण रूपमा बन्द गर्नुपर्ने, काम गर्न योग्य श्रमिकलाई मात्रै काममा लगाउनुपर्ने, वर्ण र लिङ्गको आधारमा ज्यालादरमा विभेद गर्न नपाइने, तलब तथा सुविधा घटाउन नपाइने तथा श्रमिकलाई ट्रेड युनियन संगठनमा सहभागी हुन पाउनुपर्नेलगायत उनीहरूको मुख्य माग थियो । 

नेपालको ट्रेड युनियन आन्दोलनको सुरुवात २००३ सालमा भयो । विराटनगर जुट मिलमा भएको आन्दोलनसँगै नेपालमा श्रमिकको हक अधिकारको विषय चर्चामा आए । विश्वभन्दा ६ दशकपछि नेपालमा सुरु भएको आन्दोलनले पनि शिकागो आन्दोलनको जस्तै एजेन्डा लिएको देखिन्छ । मजदुरको नाममा सुरु भएको आन्दोलनले छोटो समयमै राजनीतिक व्यवस्था नै परिवर्तन गर्न सफल भयो । मजदुर नेताहरू देशकै नेतृत्व तहसम्म पुगे । 

ट्रेड युनियन आन्दोलनको इतिहास विश्वमा १४० वर्ष र नेपालमा ८० वर्ष हाराहारीमा पुगिसकेको छ । तर, अहिलेसम्म पनि समग्र ट्रेड युनियन आन्दोलन शिकागो मुभमेन्टभन्दा माथि उठ्न सकेको देखिँदैन । 

तर पछिल्लो समयको बदलिँदो परिस्थितिले उक्त मुभमेन्टको औचित्य सकिएको र यसले ट्रेड युनियन आन्दोलनको भविष्यलाई नै धराशायी बनाउने अवस्था भएको सरोकारवालाहरू बताउँछन् । श्रम तथा रोजगारविज्ञ डा. गणेश गुरुङ डिजिटलाइजेसन, ग्लोबलाइजेसन र आर्टिफिसियल इन्टिलिजेन्स (एआई) का कारण विश्व परिदृश्य फेरिएको बताउँछन् । यस्तोमा ट्रेड युनियनहरूले आफूलाई परिवर्तन गर्नुपर्नेमा उनी जोड दिन्छन् ।

  • कसरी सकिँदैछ शिकागो मुभमेन्टका एजेन्डाको औचित्य ? 

१९ औं शताब्दीको अन्त्यमा सुरु भएको ट्रेड युनियन आन्दोलन मार्क्सवादी दर्शनमा आधारित थियो । समाजमा मालिक र श्रमिक गरी दुई वर्ग हुन्छन्, मालिकले मजदुरलाई शोषण गर्छ भन्ने मार्क्सवादको मुख्य विचार हो । मालिकले गर्ने शोषणको स्तरलाई कम गर्नु नै उक्त आन्दोलनको उद्देश्य थियो । त्यसपछि विश्वभरका मजदुर आन्दोलनहरू सबै मालिकविरुद्ध हुँदै आएका छन् । 

तर, इतिहासमा सफल भएको ट्रेड युनियन आन्दोलनका विषय अहिले आएर हेर्दा आउटडेटेड बनिसकेको सरोकारवालाहरू बताउँछन् । श्रम तथा रोजगारसम्बन्धी विज्ञ डा. गणेश गुरुङ बढ्दो डिजिटाइजेसन र आर्टिफिसियल इन्टिलिजेन्सको जमानामा शिकागो मुभमेन्टको एजेन्डा र शैलीलाई नयाँ परिदृश्य अनुसार परिमार्जनको आवश्यकता भइसकेको बताउँछन् । संगठनात्मक संरचना, विश्वव्यापीकरण र आर्टिफिसियल इन्टिलिजेन्सको कारणले यस्तो आवश्यकता भएको उनको भनाइ छ । 

शिकागो आन्दोलनको क्रममा मजदुरलाई आठ घण्टाभन्दा बढी असीमित रूपमा काम लगाउने गरिएको थियो । अमेरिकामा काला जातिका मानिसमाथि त चरम शोषण हुँदै आएको थियो । 

त्यसैवेला ‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’ भन्ने नारा स्थापित गरिएको गुरुङ बताउँछन् । तर, अहिले यो सान्दर्भिक छैन । गुरुङ भन्छन्, ‘एआईको जमानामा मान्छेको श्रम भनेको क्रिएसन हो । त्यो महिनौँमा एक पटक पनि हुन सक्छ । वर्षौँमा एकपटक पनि हुन सक्छ । त्यसैले कसलाई कति काम लगाउने भन्ने कुरा अबको अवस्थामा कम सान्दर्भिक हुँदै गएको छ ।’   

त्यसो त, पछिल्लो समय मजदुर र मालिकबिच परिचय नै नहुने अवस्था आउने गरेको गुरुङ बताउँछन् । ‘एउटा मान्छेले युट्युब र फेसबुकका लागि कन्टेन्ट क्रिएट गर्छ । तर, न त क्रिएटरले मालिकलाई चिन्छ, न त मालिकले क्रिएटरलाई चिन्छ । तर त्यहाँ पनि श्रमको आदानप्रदान भइरहेका हुन्छन्,’ गुरुङ भन्छन्, ‘अमेजन, अलिबाबाजस्ता ई–सपिङ कम्पनीदेखि, गुगल, माइक्रोसफ्ट जस्ता संस्थासम्म श्रमको आदानप्रदान अदृश्य रूपमै हुन्छ । त्यसैले यसमा समय र न्यूनतम ज्यालाको विषय पनि सान्दर्भिक हुन छाडेको छ ।

नेपालमै पनि यस्तो अभ्यास रहँदै आएको उनको भनाइ छ । खासगरी राइड सेयरिङ एप्लिकेसनमार्फत अहिले हजारौं व्यक्ति श्रममा जोडिएका छन् । उनीहरूले श्रम गरिरहेका छन् । प्रतिफल पनि पाइरहेका छन् । तर, यी विषय परम्परागत ट्रेड युनियनको आन्दोलनले समेट्न नसकेको उनको भनाइ छ । अबको ध्यान ती क्षेत्रमा केन्द्रित हुनुपर्ने गुरुङ बताउँछन् । 

पारिश्रमिकमा विभेद र बालश्रम अन्त्यको विषय पनि शिकागो आन्दोलनको मुख्य एजेन्डा हो । नयाँ रोजगार प्लेटफर्मका त्यसको सान्दर्भिकतासमेत अन्त्य भएको देखिन्छ । खासगरी प्रोग्रामिङ तथा अनलाइन गेमिङमा अहिले युवा पुस्ताभन्दा बालबालिका बढी प्रयोग आबद्ध हुने र अनलाइन प्लेटफर्मबाट सानै उमेरमा राम्रो कमाइसमेत गर्ने गरेको देखिएको छ । 

  • अन्तर्राष्ट्रियस्तरमा के हुँदैछ तयारी ? 

प्लेटफर्ममा आधारित नयाँ रोजगारीलाई ‘गिग’ भनिन्छ । यसले छोटो समय र लचिलो जागिर वा कामलाई जनाउँछ । यस्तो श्रममा सहभागी हुने श्रमिकको हक अधिकारका लागि अहिले अन्तर्राष्ट्रिय श्रम संगठन आईएलओले नयाँ अन्तर्राष्ट्रिय कानुन निर्माणका लागि गृहकार्य थालेको छ । 

आईएलओको प्रत्येक वर्ष हुने सम्मेलनमध्ये यो वर्ष प्लेटफर्ममा आधारित श्रमिकको पारिश्रमिक, सामाजिक सुरक्षालगायत विषय समावेश गर्ने एजेन्डा रहेको नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजय कुमार राई बताउँछन् । 

‘प्रत्येक वर्ष जुनमा आईएलओको अन्तर्राष्ट्रिय श्रम सम्मेलन हुन्छ । यसमा सरकार, रोजगारदाता र श्रमिक तीनवटै पक्ष समावेश हुन्छन् । यो वर्ष हुने सम्मेलनमा प्लाटफर्म इकोनोमीको सम्बन्धमा छलफल हुन्छ,’ राई भन्छन्, ‘यो सम्मेलनपछि एउटा अन्तर्राष्ट्रिय कानुन बन्छ । यसलाई टेकेर प्रत्येक देशले राष्ट्रिय कानुन बनाउनुपर्छ ।’

प्लेटफर्ममा आधारित श्रम बजार अहिले नेपालमा मात्रै नभएर विश्वमै निकै फस्टाउँदै गएको छ । तर, अहिलेसम्म अधिकांश मुलुकमा यससम्बन्धी कानुन नै बनेको छैन । नेपालमै पनि राइड सेयरिङदेखि अनलाइन सपिङसम्मको प्लेटफर्म सञ्चालनमा भए पनि यसका लागि कानुन बन्न सकेको छैन । 

आईएलओको सम्मेलनपछि बन्ने अन्तर्राष्ट्रिय कानुनले राष्ट्रिय रूपमा कस्तो कानुन बन्ने भन्ने मार्गदर्शन देखाउन सहयोग गर्ने उनको भनाइ छ ।

  • यस्तो छ ‘गिग’ इकोनोमी र श्रम बजारको अवस्था 

अन्तर्राष्ट्रिय अनुसन्धान संस्था वर्ल्ड इकोनोमिक फोरमका अनुसार सन् २०२४ मा ‘गिग’ इकोनोमीको आकार ५५६ बिलियन अमेरिकी डलर बराबर छ । यो सन् २०३३ सम्म २१४६ ट्रिलियन अमेरिकी डलर पुग्ने प्रक्षेपण गरिएको छ । यो वार्षिक १६.१८ प्रतिशतको वृद्धि हो । 

एसआईएका अनुसार सन् २०२३ को अन्त्यसम्म विश्वको ४३ करोड ५० लाख जनसंख्या यस्तो श्रमसँग जोडिएका छन् । अमेरिकामा मात्रै यो संख्या ५ करोड ९० लाख जनसंख्या छ, जुन कुल जनसंख्याको ३६ प्रतिशत हो । अमेरिकामा यस्तो श्रममा जोडिएका संख्यामध्ये १५ प्रतिशत जेन–जी, ४५ प्रतिशत मिलेनियल, २७ प्रतिशत जेन–एक्स र ९ प्रतिशत बेबी बुमर रहेको पाइएको छ । 

२०२२ मा प्रकाशित अर्को एउटा रिपोर्टले अमेरिकामा यस्तो श्रममा संलग्न व्यक्तिमध्ये २६ प्रतिशतले स्नातकोत्तर डिग्री हासिल गरेको पाइएको थियो । यस्तो श्रममा महिलाभन्दा पुरुषको संलग्नता बढी पाइएको अध्ययनले देखाएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया