शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय

मानव प्राण बचाउने किसान र श्रमिकको किन सधैँ अपमान ?

बिहीबार, १८ वैशाख २०८२, ११ : २३
बिहीबार, १८ वैशाख २०८२

आधुनिक दुनियाँ लाखौँ श्रमिकको पसिनाबाट निर्मित दुनियाँ हो । विश्व समाजमा जे-जति विकास र परिवर्तन भयो त्यसमा बौद्धिक खोज अनुसन्धानसँगै शारीरिक तथा  बौद्धिक श्रमिकहरूको प्रयासबाट मात्र सम्भव भएको छ । तर पनि स्रोत साधन र शासनमा पहुँच हुनेहरूले त्यस्ता सुन्दर दुनियाँको निर्माता मजदुरमा अपमान, अवहेलना र दासत्व सधैँ थोपारिराखे र उनीहरूको मानवताको अवमूल्यन सधैँ गरिरहे । 

विश्वका विकसित दुनियाँमा प्रविधि र शासन प्रणालीमा भएको परिवर्तनसँगै मजदुरको हितका पक्षमा केही सकारात्मक प्रयास भए भने श्रमिक अधिकार र मानवताको थोरै भए पनि रक्षा हुन पुग्यो । त्यस्ता मुलुकहरूले विकासको गति लियो भने समग्रतामा अग्रगमनतिर अघि बढिरहे ।  नेपालमा मानव चेतनाको विकास, विभिन्न खालका राजनैतिक तथा सामाजिक क्रान्ति नभएका हैनन् तर पनि मानव चेतनाको चेतभित्र मजदुर किसानको भविष्य र उनीहरूको आत्मसम्मान, सामाजिक आर्थिक सुरक्षाको बारेमा सधैँ खेलाँची सम्झिरहे । चाहे त्यो राजनीतिक दल र त्यसका नेतृत्व होउन् वा चाहे उद्योगपति व्यवसायी र कर्मचारीतन्त्रका कुलिन घरानाका मालिक किन नहोउन् । मानव मजदुरलाई दास  मेशिन समान अर्थात् निर्जीव वस्तु सरह व्यवहार गरिरहे । 

एउटा मजदुरको मन र मानवीयता हुँदैन र ? उसको परिवार तथा बालबच्चाहरू हुँदैन ?  तल्लोस्तरको कामको रूपमा हेरिएका सरसफाइकर्मी तथा शारीरिक परिश्रमले चल्ने भरिया होस् वा सवारी चालक मजदुर किन नहोउन् उनीहरूको पनि आफ्नो मन हुन्छ, सन्तान र संवेग तथा भावनाहरू त्यो तपाईँको राजनीतिक, प्रशासनिक तथा पुँजीपति मालिकको जस्तै हुँदैन र ? रगत, शारीरिक बनावट तथा मानवरूपी संरचना एउटै छैन र ? 

पछिल्लो दशकमा विश्व समाज र दुनियाँले फड्को मारेको भनिएको प्रविधिको विकास गर्न समेत शारीरिक तथा बौद्धिक श्रमिकहरू नै सहभागी छन् ।

 तसर्थ समाज विकास र मानव विकासको निम्ति विश्व श्रमिकहरूमाथि गरिएका अन्यायपूर्ण र विभेदपूर्ण व्यवहारहरू माथि मानवता र समानताको तराजुमा राखेर मापन गर्न आवश्यक छ । 

के सबै मानवहरू एउटै हैन ? सबै श्रमिकहरू मानव हैनन् ? यदि हैन भने किन श्रमिक र मजदुरहरूमाथि विभेदको पहाडले थिचाएको छ ?  त्यही निजी सुरक्षा अधिकारीहरू, भान्से, सरसफाइकर्मी, कृषि उत्पादक किसान र सवारी चालक विना एक इन्च पनि चल्न नसक्ने हाम्रा राजनीतिक र प्रशासनिक नेतृत्वले एक दिन पनि उनीहरूको उपस्थिति बिना नै आफ्नो दैनिकी चलाएर देखाउन सक्ने क्षमता छ भने म चुनौतीका साथ त्यस्ता नेतृत्वहरूलाई आफ्नो दैनिकी चलाएर देखाउन अनुरोध गर्दछु । 

प्रत्येक दिनको हात मुख जोड्न अथाह मेहेनेत र पसिनाको बाढी बगाउने किसानी, तपाईँ नेतृत्वहरूलाई देश दुनियाँ सवार गराउने सवारी चालक, दिनदिनै घर समाजको फोहोर उठाएर सुन्दरताको सुगन्ध निर्माण गर्ने सरसफाइकर्मी, हरेक आवश्यकताहरू घरसम्मै पुर्‍याउने भरिया दाजु, तपाईँहरू बस्ने आलिसान महलको निर्माण गर्ने कुर्मी मिस्त्रीहरूको भविष्यको सुनिश्चितता र उनीहरूको अभाव, सामाजिक आत्मसम्मान, सामाजिक सुरक्षा र दैनिक जीवन जिउन आवश्यक पर्ने आधारभूत कुराहरू गाँस, बास, कपास तथा शिक्षा र स्वास्थ्य उपचारको ग्यारेन्टी गर्न राज्यका चालकहरू वा राज्य श्रोतका दोहोनकर्ताहरुले किन कहिल्यै सोचेनन् ? 

पछिल्लो समय विकसित भनिएका मुलुकहरूमा मजदुर किसान तथा श्रमिक नागरिकको सम्मान र उनीहरूको भविष्यको आधारभूत आवश्यकताको आंशिक सुनिश्चितताको बाबजुद ती देशहरू आधुनिक विकासको पदमा यात्रा गरिरहेका छन् । 

तपाईँ हामीले फोहोर सरसफाइ गर्ने सफाइकर्मी, तपाईँको महल बनाउने निर्माण मजदुर, तपाईँ हामी उपभोग गर्ने  खाना उत्पादन गर्ने किसान, हातलाई मुखसम्म जोडाउने भान्से र दुनियाँ सवार गराउने चालक जस्ता आधारभूत मजदुरहरूको भविष्य र उनीहरूको आधारभूत मानवीय आवश्यकता बारे किन सोच्न सक्दैनौँ ? एउटा श्रमिक मजदुरले किन आफ्नो स्वास्थ्य उपचार सजिलै प्राप्त गर्न सक्दैन ? यी सबै नेपालको मजदुर किसानका यक्ष प्रश्न हुन् ।  तर यो सबैको कारण हाम्रा दिमागी उपज, मानवीय चेतना, जागरण र शासकहरूमा सवार भएको सामन्ती चिन्तन र दासत्व नै मुख्य कारण अवश्य पनि हो ।

हामी हाम्रो देशमा श्रमिकको श्रमप्रतिको लगावलाई सम्मान गर्नुको सट्टा उसको त्यो असक्षमताको रूपमा लियौँ, जो त्यो तपाईंहरुले घोषणा गरेको असक्षम मजदुर विना तपाईं छिनभर पनि चल्न सक्नुहुँदैन । जब हाम्रो देशमा श्रमिक र मजदुरहरूप्रति सम्मान, सामाजिक सुरक्षा लगायतका विषयहरू ग्यारेन्टी हुन नसक्दा ५० औँ लाख हाम्रा नागरिकहरू जहाँ थोरै भए पनि श्रमको सम्मान र मूल्य छ, कामअनुसारको ज्याला छ त्यतैतिर बिदेसिन विवश छन् । 

यदि श्रमको सम्मान हुँदो अमेरिका अस्ट्रेलियामा गएर रेष्टुरेन्टमा सामान्य मजदुरी गर्ने डिग्री होल्डर हाम्रा नेपाली दाजु भाइ दिदीबहिनीहरू नेपालमै श्रम गर्ने थिए होला सायद  र ज्यान पाल्न घुस रसिवत्को पर्खाइमा बस्ने हाम्रा कर्मचारी तन्त्रका अवयवहरू सायद नेपालमै केही अतिरिक्त श्रम गर्न तर्फ प्रेरित हुन्थे होला । यही श्रमको र श्रमिकको सम्मानको अभावमा हाम्रा ऊर्जावान् मानव शक्ति पलाएन भइरहे । हामी हाम्रो उचित  मानव शक्ति र सीपयुक्त श्रमको अभावमा तीव्र विकासको चाहानालाई बर्लिनको पर्खालले बन्धक बनाइदिएको छ ।

अब पनि हामी मानव उपयोगी उपभोग्य वस्तु उत्पादक किसानको श्रमको सम्मान गरेनौँ उनीहरूको योगदानको यथार्थ मूल्याङ्कन भएन, मजदुरको श्रमको उचित भुक्तानी र सामाजिक सुरक्षाको सुनिश्चितता भएन, भरिया ड्राइभर तथा तपाईं महान मान्छेहरूको जिउ ज्यानको सुरक्षा दिने सुरक्षाकर्मीहरूलाई तपाईं नेतृत्वहरुले गर्ने विभेद तथा अन्यायपूर्ण व्यवहार नियमित भइरहेसम्म हामी हाम्रो श्रमशक्ति पलायन रोक्न नसकी अविकसित युगको अन्धकारमा बस्नुपर्ने बाध्यताले पिल्सिरहने छौँ ।

जबसम्म हरेक क्षेत्रका श्रमिकहरूलाई न्यायोचित र सम्मानपूर्ण व्यवहार गर्न सक्दैनौँ तबसम्म समाज विकासले गति लिन सक्दैन ।  श्रमिकलाई सम्मान गर्दै समाज विकासको बाटोलाई अगाडि बढाउन हामी आम नागरिकहरुको जागरूक हुन जरुरी छ । श्रमिक किसान मजदुरमाथि राज्य संयन्त्र र शासक तथा पुँजीपतिहरुबाट भइरहने विभेद, अत्याचार तथा दासत्वको अन्त्य होस्, हाम्रा कलिला भाइबहिनी तथा युवा जोश जांगरले भरिएका श्रम शक्तिका खानीलाइ आन्दोलन , लुटपाट आगजनी तथा तोडफोड तर्फ  लगाउनु भन्दा   श्रम तर्फ प्रेरित गर्नै पर्छ । श्रमिकको श्रमको सम्मान र उचित मूल्याङ्कन होस्, उनीहरूको सन्तानलाई शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गरियोस्, श्रमिक विनाको मानव अस्तित्वको कल्पना समेत असम्भव छ । तसर्थ सबैखालका दासत्व र शोषणमुक्त श्रमिक समाज बनोस्, राज्यले श्रमिकहरूको सक्दो वैज्ञानिक व्यवस्थापन गर्दै श्रमिकहरूलाई उचित सम्मान र अपनत्व प्रदान गर्दै, हाम्रो सुन्दर भूमि नेपाल विकास र समृद्ध बनाउन अथाह जोस जाँगरका खानी युवा श्रमशक्ति पलायन रोक्न सकोस् । 

अन्तर्राष्ट्रिय श्रमिक दिवस मे १ को सबै श्रमिक मजदुरहरूमा शुभकामना !

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक केसी
दीपक केसी
लेखकबाट थप