शुक्रबार, १९ वैशाख २०८२
ताजा लोकप्रिय

किसान र श्रमिकलाई किन सधैँ अपमान ?

बिहीबार, १८ वैशाख २०८२, १२ : ०४
बिहीबार, १८ वैशाख २०८२

यो संसारमा आधुनिकताको रौनक ल्याउन विश्वभरका करोडौँ श्रमिकका खुन र पसिना बगेका छन् । यो धर्तीलाई परिवर्तन गरेर अहिलेको अवस्थामा स्थापित गर्नका खातिर दुनियाँभरका श्रमिकले पसिनाले सिञ्चित गरेका छन् ।

विश्वमा जे–जति विकास र परिवर्तन भएका छन्, प्रविधिले फड्को मारेका छन्, त्यसका पछाडि वैज्ञानिक खोज अनुसन्धानसँगै शारीरिक तथा बौद्धिक श्रमको भूमिका छ । यद्यपि स्रोत–साधन र शासनमा पहुँच हुनेहरूले यो सुन्दर दुनियाँको निर्माता मजदुरमा अपमान, अवहेलना र दासत्व सधैँ थोपरिराखेका छन् । श्रमिकको मानवताको अवमूल्यन सधैँ भइरहेको छ ।

विकसित दुनियाँमा प्रविधि र शासन प्रणालीमा भएको परिवर्तनसँगै मजदुरको हितका पक्षमा केही सकारात्मक प्रयास भए । श्रमिक अधिकार र मानवताको थोरै भए पनि रक्षा हुन पुग्यो । त्यस्ता समाज तथा मुलुकहरूले विकासको गति लिए । विश्वसँगै श्रमिकको समग्र पक्ष अग्रगमनतिर अघि बढिरहे, तर नेपालमा अझै यस पक्षबारे ध्यान दिन जरुरी छ ।
नेपालमा मानव चेतनाको विकास, विभिन्न खालका राजनीतिक तथा सामाजिक क्रान्ति नभएका होइनन् तर शासनसत्ता सञ्चालकको मानव चेतनाभित्र मजदुर, किसानको भविष्य र उनीहरूको आत्मसम्मान, सामाजिक, आर्थिक सुरक्षाको बारेमा सधैँ खेलाँचीले जरा गाडेर बसेको छ । राजनीतिक दल र त्यसका नेतृत्व होउन कि उद्योगी, व्यवसायी र कर्मचारी— श्रमिकप्रतिको उनीहरूको दृष्टिकोण एउटै छ ।  श्रमजीवी मानवलाई दास र मेसिनजस्तै निर्जीव वस्तुसरह व्यवहार गरिरहेका छन् ।

एउटा मजदुरको मन र मानवीयता हुँदैन र ? उसको परिवार तथा बालबच्चा हुँदैनन् ?  सरसफाइकर्मी तथा शारीरिक परिश्रमले चल्ने भरिया होउन् वा सवारी चालक मजदुर किन नहोउन्, उनीहरूको पनि आफ्नो मन हुन्छ, सन्तान र संवेग हुन्छन् । राजनीतिकर्मी, प्रशासक तथा पुँजीपतिको जस्तै मानवता श्रमिकमा हुँदैन र ? रगत, शारीरिक बनावट तथा मानवरूपी संरचना एउटै छैन र ? तर श्रमिकमाथि समान मानवीय व्यवहार नहुँदासम्म यस्ता प्रश्नको जवाफ मिल्दैन ।

प्रविधिको विकास गर्न समेत शारीरिक तथा बौद्धिक श्रमिक नै सहभागी छन् । विश्वका श्रमिकमाथि गरिएका अन्यायपूर्ण र विभेदपूर्ण व्यवहारको अन्त्य गर्न जरुरी छ । किन मजदुर, श्रमिकमाथि विभेदको पहाड खडा गरिएको छ भन्ने खोज्ने बेला आइसकेको छ ।

निजी सुरक्षाकर्मी, भान्से, सरसफाइकर्मी, कृषि उत्पादक र सवारी चालकविना एक इन्च डेग चल्न नसक्ने राजनीतिक र प्रशासनिक नेतृत्वले नै उनीहरूमाथि समस्या थोपरेका छन् भने मानवीयता देखाउन आनाकानी गरिरहेका छन् । एक दिनको दैनिकी आफैँ चलाउन चुनौती दिएमा राजनीतिक र प्रशासनिक नेतृत्वलाई थाहा हुनेछ, श्रमिकको महत्त्व ।
प्रत्येक दिन हात–मुख जोड्न अथाह मिहिनेत र पसिनाको बाढी बगाउने किसान, मानिसलाई गन्तव्यमा पुर्‍याउने चालक, दिनदिनै घर समाजको फोहोर उठाएर सुन्दरताको सुगन्ध निर्माण गर्ने सरसफाइकर्मी, हरेक आवश्यकता घरसम्मै पुर्‍याउने भरिया श्रमिक, भवन लगायत संरचना निर्माण गर्ने मिस्त्रीहरूको भविष्यको सुनिश्चितता हुनुपर्छ । उनीहरूको सामाजिक सुरक्षाको प्रत्याभूति र दैनिक जीवनका आवश्यकता पूरा गर्नुपर्छ । श्रमिकका गाँस, बास, कपास, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्न राज्यका चालक वा राज्यस्रोत हातमा लिएकाले सोच्नैपर्ने बेला आएको छ ।

निजी सुरक्षाकर्मी, भान्से, सरसफाइकर्मी, कृषि उत्पादक र सवारी चालकविना एक इन्च डेग चल्न नसक्ने राजनीतिक र प्रशासनिक नेतृत्वले नै उनीहरूमाथि समस्या थोपरेका छन् ।


पछिल्लो समय विकसित मुलुकहरू मजदुर, किसान तथा श्रमिक नागरिकको सम्मान र उनीहरूको सुन्दर भविष्यको सुनिश्चितता गर्दै उन्नत समाजको विकासमा अगाडि बढिरहेका छन् । सबै नागरिक समान हुन्, पेसागत आधारमा विभेद हुनुहुँदैन भन्ने चेतले निर्देशित भएर ती देश आधुनिकताको यात्रामा अघि बढिरहेका हुन् ।

विकासशील देशका आधारभूत क्षेत्रमा काम गर्ने सफाइकर्मी, निर्माण मजदुर, किसान, भान्से र चालक लगायतको भविष्य र उनीहरूको मानवीय आवश्यकता बारे किन सोच्न सक्दैनौँ ? एउटा श्रमिक मजदुरले किन आफ्नो स्वास्थ्य उपचार सजिलै प्राप्त गर्न सक्दैन ? यी सबै नेपालको मजदुर किसानका यक्ष प्रश्न हुन् तर यो सबैका कारण हाम्रा दिमागी उपज, मानवीय चेतना, जागरण र शासकमा सवार भएको सामन्ती चिन्तन र दासत्व नै मुख्य कारण हो जस्तो लाग्छ ।

हाम्रो देशमा श्रमिकको श्रमको सम्मान गर्नुको सट्टा त्यो कार्यलाई असफलता वा अक्षमताको व्याख्यामा राख्छौँ । जुन व्यक्तिको कामविना व्यक्तिगत जीवन र राष्ट्रको उन्नति हुँदैन, जसको कार्यविना छिनभर पनि चल्न सकिन्न, त्यो पेसाकर्मीलाई भने अमानवीय व्यवहार हुन्छ । त्यसका साथै श्रमिक र मजदुरप्रति सम्मान, सामाजिक सुरक्षा लगायत विषय ग्यारेन्टी हुन नसक्दा ५०औँ लाख श्रमिक नागरिक अपमानित भएका छन् । जसका कारण काम अनुसारको दाम र सम्मान खोज्दै युवा श्रमिक बिदेसिन बाध्य छन् । 
श्रमको सम्मान स्वदेशमै हुँदो हो त अमेरिका, अस्ट्रेलिया, युरोप गएर रेस्टुरेन्टमा मजदुरी गर्ने थिएनन् । डिग्री होल्डर नेपाली दाजुभाइ, दिदीबहिनी नेपालमै श्रम गर्ने थिए, श्रम अनुसारको ज्याला र मानवीय व्यवहार हुँदो हो त । 

ज्यान पाल्न घुस र रिसवतको पर्खाइमा बस्ने हाम्रो कर्मचारीतन्त्र नहुँदो हो त ती युवा नेपालमै केही अतिरिक्त श्रम गर्नतर्फ प्रेरित हुन्थे होला । यहाँ श्रम र श्रमिकको सम्मानको अभावमा ऊर्जावान् मानव शक्ति पलायन भइरहेको हो । मुलुकमा दक्ष जनशक्ति र सीपयुक्त श्रमको अभावमा तीव्र विकासको चाहनालाई बर्लिनको पर्खालले झैँ बन्धक बनाइदिएको छ ।

जबसम्म हरेक क्षेत्रका श्रमिकलाई न्यायोचित र सम्मानपूर्ण व्यवहार गर्न सक्दैनौँ तबसम्म समाज विकासले गति लिन सक्दैन । तसर्थ श्रमिकलाई सम्मान गर्दै समाजलाई विकासको बाटोमा अगाडि बढाउन हामी आम नागरिक पनि जागरुक हुन जरुरी छ । श्रमिक किसान, मजदुरमाथि राज्य संयन्त्र र शासक तथा पुँजीपतिबाट भइरहने विभेद, अत्याचार तथा दासत्वको अन्त्य होस्, सबै खालका दासत्व र शोषणमुक्त श्रमिक समाज बनोस्, राज्यले श्रमिकको सक्दो वैज्ञानिक व्यवस्थापन गर्दै श्रमिकलाई उचित सम्मान र अपनत्व प्रदान गर्दै हाम्रो सुन्दर भूमि नेपाल विकास र समृद्ध बनाउन अथाह जोस–जाँगरका खानी युवा श्रमशक्ति पलायन रोक्न सकोस् ! सबै प्रकारका मजदुरहरूमा अन्तर्राष्ट्रिय श्रमिक दिवसको शुभकामना ! 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

दीपक केसी
दीपक केसी
लेखकबाट थप