जोखिम मोलेर यसरी काम गर्दैछन् फलामजन्य उद्योगका मजदुर

बारा । कलैया उपमहानगरपालिका–१५, खमुवाका भरोसप्रसाद यादव अशोक स्टिल प्रा.लि.मा मजदुरी गर्दछन् । यादवले १० वर्षदेखि दैनिक १२ घण्टा भट्टीमा कवाडी गलाउने काम गर्दै आएका छन् ।
‘भट्टीमा धेरै खतरावाला काम छ, लगातार १२ घण्टा काम गर्नुपर्छ, शनिवार पनि छुट्टी हुँदैन, धेरै गाह्रो छ,’ यादवले भने, ‘काम गर्दा सुरक्षाका लागि जुत्ता, पन्जा, टोपी केही हुँदैन । कति बेला आगोमा परेर खरानी भइन्छ, थाहा हुँदैन ।’
असुरक्षित ढंगले आगोको भट्टीमा काम गर्दा ज्यानको जोखिम त छँदैछ, सुविधा पनि केही नभएको उनको गुनासो छ ।
फलामजन्य उद्योगहरूले १ हजार ६ सय डिग्री तापक्रममा कवाडीलाई गलाएर डण्डी उत्पादन गर्दछन् । भट्टीमा एक पटकमा १५ देखि २० टनसम्म कवाडी गलाउने काम हुन्छ, जसमा कहिलेकाहीँ रसायनहरूको मात्रा नमिल्दा भट्टी पड्कने जोखिम हुन्छ ।
यादव भट्टीमा काम गर्दा जुनसुकै बेला ज्यान जान सक्ने बताउँछन् । दैनिक १२ घण्टा भट्टीमा काम गरेर उनले मासिक २२ हजार पारिश्रमिक पाउँछन् ।
‘उद्योगले हामीलाई सामाजिक सुरक्षा कोषको सुविधा दिएको छैन, यसमा के सुविधा पाइन्छ भन्ने पनि थाहा छैन,’ उनले भने ।
यादवजस्तै जीतपुरका राजन पटेल पनि १२ घण्टा अशोक स्टिलमा विद्युत् मर्मतको काम गर्दछन् । ‘१२ घण्टा ड्युटी हुन्छ । शनिवार पनि छुट्टी हुँदैन । तलबबाहेक केही सुविधा छैन,’ पटेलले भने, ‘सामाजिक सुरक्षा कोषको सुविधा पनि पाएको छैन ।’
कलैया वडा नं १७ का श्याम कुमार पनि चर्को घाम र गर्मीमा लगातार १२ घण्टा आगोमा काम गर्दा धेरै दुःख भएको गुनासो गर्दछन् । ‘मजदुरहरूलाई कुनै सुविधा छैन । बिरामी भएर २ दिन काममा आएन भने तलब काट्छ,’ उनले भने, ‘भट्टीमा काम गर्न धेरै गाह्रो छ ।’
पथलैया–वीरगञ्ज औद्योगिक करिडोरका फलामजन्य उद्योगमा कार्यरत अधिकांश मजदुरको समस्या यादव, पटेल र श्यामकुमारको जस्तै छ ।
जगदम्बा स्टिल, अशोक स्टिल, नारायणी स्पात, जगशक्ति ईन्टरप्राईजेज लगायत उद्योगहरूले आफ्नो उद्योगमा ४ देखि ५ वटा कवाडी गलाउने भट्टी चलाएका छन् । यी भट्टी २४ सै घण्टा सञ्चालन हुन्छन् । प्रतिभट्टी ७० देखि ८० जना भारतीय मजदुर कार्यरत छन् ।
साःख स्टिल प्रालिका व्यवस्थापक राजु तिमिल्सिनाले भट्टी पड्कदा एकैपटक २० औँ जना मजदुरको ज्यान जाने र घाइते हुने जोखिम रहने बताउँछन् ।
‘भट्टीमा काम गर्ने ९९ प्रतिशत भारतीय हुन्छन् । भट्टी विस्फोट भयो भने उपचारको नाममा घाइतेहरूलाई हतारहतार एम्बुलेन्समा बोर्डर कटाउने र केसलाई त्यतै सल्टाउने काम हुन्छ,’ तिमिल्सिनाले भने ।
गत वर्ष सर्वोत्तम स्टिल प्रा.लि.मा भट्टी पड्कदा केही भारतीय मजदुरको ज्यान गएको थियो तर, कतिले ज्यान गुमाए र कति घाइते थिए भन्ने तथ्याङ्क उद्योग प्रशासनले गोप्य राखेको छ ।
जगदम्बा स्टिल अखिल नेपाल ट्रेड युनियन मजदुर संघका सचिव दिपक कार्की अन्य उद्योगको तुलनामा फलामजन्य उद्योगमा काम गर्ने मजदुरको ज्यान ९९ प्रतिशत बढी जोखिममा रहेको बताउँछन् । ‘फलामजन्य उद्योगमा काम गर्ने मजदुरहरूको काम धेरै गाह्रो छ, आगोमा कवाडी गलाउने, फलाम उचाल्ने, राख्ने काम गर्दा जुनसुकै बेला पनि ज्यान जानसक्छ,’ काकीले भने, ‘जगदम्बा स्टिलमा विगतमा भट्टी पड्किएर धेरै मजदुरले ज्यान गुमाए पनि अहिले केही सुधार भएको छ ।’
जगदम्बा स्टिलमा १ हजार ५ सय बढी मजदुर कार्यरत छन्, जसमध्ये अधिकांश भारतीय हुन् । करार, दैनिक ज्यालादारी र ठेकदार कम्पनी मार्फत कार्यरत मजदुरहरूले मासिक पारिश्रमिक बाहेक कुनै सुविधा पाउँदैनन् ।
अशोक स्टिल प्रा.लिका व्यवस्थापक विनय झाले ठेकदार कम्पनीले आफूमार्फत काममा खटाएका मजदुरहरूलाई सामाजिक सुरक्षा कोषमा आवद्ध नगराएको बताए । अशोक स्टिल प्रा.लिमा करिब ३ सय मजदुर कार्यरत छन् ।
‘हाम्रो उद्योगमा ६०÷६५ जना सामाजिक सुरक्षा कोषमा आवद्ध छन् बाँकी ठेकदारमार्फत काम गर्छन्,’ व्यवस्थापक झाले भने, ‘मजदुरहरू सबैलाई हामीले हेलमेट, जुत्ता, पञ्जा दिएका छौँ । अब लगाउँदैनन् भने के गर्ने र ?’
सरकारले २०७६ देखि अस्थायी, करार तथा दैनिक ज्यालादारीमा कार्यरत मजदुरहरूलाई अनिवार्य रूपमा योगदानका आधारमा सामाजिक सुरक्षा कोषमा आवद्ध गराउनुपर्ने कानुनी व्यवस्था गरेको छ ।
तर बारा–पर्सा औद्योगिक करिडोरमा कार्यरत दैनिक ज्यालादारी, अस्थायी तथा करारका मजदुरहरू यो सुविधाबाट वञ्चित छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष हरि गौतमले बारा–पर्सा औद्योगिक करिडोरका साना, ठुला र मझौला प्रकृतिका उद्योगहरूमा मात्रै ५० हजार मजदुर आवद्ध रहेको बताए । उनले फलामजन्य उद्योगमा कार्यरत मजदुरहरूको कार्यक्षेत्रमा अपनाउनुपर्ने सुरक्षाको साम्रगी र सामाजिक सुरक्षा कोषमा आवद्ध गराउने विषयमा उद्योगीहरू गम्भीर रहेको जिकिर गरे ।
- ‘जोखिम मोलेर काम गर्दैछन् मजदुर’
कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री तथा संघीय संसदको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सदस्य महेन्द्र बहादुर शाहीले बारा–पर्सा औद्योगिक करिडोरका मजदुरहरूले राज्यले तोकेको कुनै पनि सेवा–सुविधा नपाएको बताए ।
‘मजदुरहरूको जीवन खतरामा छ । स्वास्थ्यमा ठुलो समस्या छ । सुरक्षा साम्रगी केही छैन’, उनले भने, ‘नाङ्गंो खुट्टाले फलामको काम गरिरहेको समेत भेटियो ।’
यसको नियमन सरकारले गर्नुपर्ने भए पनि मजदुरको समस्या समाधानमा सरकारलाई चासो नदेखिएको शाहीले बताए । मजदुरहरूको जीवन गुजारा चले पनि जीवनस्तर बदलिन नसकेको उनको भनाइ छ ।
‘१० वर्षअघि मजदुरहरू जहाँ थिए, आज पनि त्यहीँ छन्, उनीहरूको दैनिक गुजारा चले पनि जीवनस्तर उकासिएको छैन,’ शाहीले भने ।
करिडोरका उद्योगमा कार्यरत मजदुरको अवस्था अध्ययन तथा अनुगमन गर्न गत महिना संघीय सांसदहरूको टोली बारा–पर्सा आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बिजुलीको महसुल बढाउने तयारीमा कार्यकारी निर्देशक शाक्य
-
नीति तथा कार्यक्रम प्रस्तुत गर्ने संयुक्त सदनको बैठक सुरु
-
विद्युतको पहुँच ९८ प्रतिशत पुगेको कुलमानको दाबी कति सत्य ?
-
एनआरएनएको एकता महाधिवेशन गर्ने बाटो खुल्यो
-
संसद् भवन पुगे राष्ट्रपति (तस्बिरहरु)
-
बाँके र बर्दियालाई कर्णाली प्रदेशमा गाभ्न एकीकृत समाजवादीको माग (मागपत्रसहित)