तेस्रो त्रैमासमा १२ वित्तीय संस्था कारबाहीमा, स्ट्यान्डर्ड चार्टर्डलाई १४ करोड जरिवाना

काठमाडौँ । तेस्रो त्रैमासमा एक दर्जन बैंक तथा वित्तीय संस्था राष्ट्र बैंकको कारबाहीमा परेका छन् । नेपाल राष्ट्र बैंकका अनुसार यो अवधिमा पाँच वाणिज्य बैंक र सात वटा वित्तीय संस्थालाई कारबाही गरिएको हो ।
यसमध्ये एउटा बैंकलाई १४ करोड रुपैयाँ जरिवाना गरिएको छ । दुई वित्तीय संस्थालाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ । त्यस्तै, यो अवधिमा दुई पदाधिकारीलाई नगद जरिवाना गरिएको छ । बाँकीलाई भने सचेत गराउने र नसिहत दिनेगरी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
यसरी कारबाहीमा पर्ने वाणिज्य बैंकमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक र स्टयाण्डर्ड चार्टर्ड बैंकसहित वित्तीय संस्थामा मुक्तिनाथ विकास बैंक, नारायणी डेभपलमेन्ट बैंक, सालपा विकास बैंक, पोखरा फाइनान्स, जानकी फाइनान्स, गोर्खा फाइनान्सलगायत रहेका छन् ।
कसलाई कस्तो कारबाही ?
तेस्रो त्रैमासको अवधिमा स्ट्यान्डर्ड चार्टर्ड बैंकलाई १४ करोड ८५ लाख २५ हजार रुपैयाँ जरिवाना गरिएको छ । उक्त बैंकले चालु आवको दोस्रो त्रैमासमा तोकिएका क्षेत्रमा कर्जा प्रवाह गर्नुपर्ने न्यूनतम प्रतिशतभन्दा कम कर्जा प्रवाह गरेको भन्दै यस्तो जरिवाना गरिएको हो ।
त्यस्तै, नेपाल बैंकका तत्कालीन अध्यक्ष डा. चन्द्र बहादुर अधिकारीले कर्जा स्वीकृत गर्दा घुस लिएको आरोपमा राष्ट्र बैंकले कारबाही गर्दै पाँच लाख रुपैयाँ जरिवाना समेत गरेको थियो । यो सम्बन्धमा अख्तियारले अनुसन्धान थालेपछि उनी बर्खास्तीमा परिसकेका छन् ।
राष्ट्रिय वाणिज्य बैंकले केही कर्जाहरुलाई सूक्ष्म निगरानी वर्गमा वर्गीकरण नगरेको, केही कर्जालाई भाखा नाघेको अवधिको आधारमा वर्गीकरण नगरी सोही आधारमा कर्जा नोक्सानी व्यवस्था कायम नगरेको, केही कर्जाको जोखिम भार गणना नगरेको तथा चालु पुँजी कर्जा सम्बन्धी मार्गदर्शनको पूर्ण पालना गरेको भन्दै सचेत गराइएको छ ।
कुमारी बैंकलाई एकीकृत निर्देशन बमोजिम सूक्ष्म निगरानी कर्जा र निष्क्रिय कर्जा वर्गीकरण नगरेको न्यूनतम कर्जा नोक्सानी व्यवस्था कायम नगरेको पाइएको भन्दै सचेत गराइएको छ ।
त्यस्तै, लक्ष्मी सनराइज बैंकले बैंकको सञ्चालक वा एक प्रतिशतभन्दा धेरै शेयर लिएको वा वित्तीय स्वार्थ भएको कुनै फर्म, कम्पनी वा संस्थालाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न नपाउने नियमविपरीत अप्रत्यक्ष रुपमा कर्जा सुविधा उपलब्ध गराएको बैंकले जनाएको छ ।
उता, नेपाल बैंककै प्रमुख कार्यकारी अधिकृतलाई भने बैंकको रणनीतिक योजना, वार्षिक बजेट तथा कार्यक्रम प्रभावकारी रुपमा कार्यान्वयन गराउन नसकेको, बजेट तथा कार्यक्रम र रणनीतिक योजनाबीच प्रभावकारी तादात्म्यता गराउन नसकेको, समयमै कर्जा स्वीकृति तथा नवीकरण गराउन नसकेको, उच्च व्यवस्थापन तहमा रहेका कर्मचारीबिच आपसी समन्वय गर्न गराउन भन्दै सचेत गराइएको छ ।
वित्तीय संस्थामध्ये तेस्रो त्रैमासमा पोखरा फाइनान्स र जानकारी फाइनान्सलाई शीघ्र सुधारात्मक कारबाही गरिएको छ । पोखरा फाइनान्सलाई उच्च निष्क्रिय कर्जा भएको र पुँजीकोष अनुपात समेत पूरा नगरेको भन्दै शीघ्र सुधारात्मक सम्बन्धी कारबाही समेत गरिएको छ । २०८१ पुस मसान्तमा संस्थाको निष्क्रिय कर्जा ३३.४४ प्रतिशत रहेको थियो । फाइनान्सलाई ६ महिना भित्र उक्त अवस्था सुधार गर्न निर्देशन दिइएको छ ।
त्यस्तै, जानकी फाइनान्सलाई पनि २०८१ मंसिर मसान्तमा संस्थाले न्यूनतम पुँजीकोष अनुपात नियामकीय मापदण्ड बमोजिम नरहेकोले संस्थालाई बैंक तथा वित्तीय संस्थाको शीघ्र सुधारात्मक कारवाही सम्बन्धी विनियमावली, २०७४ को विनियम ३ को खण्ड (ग) बमोजिमका शीघ्र सुधारात्मक सम्बन्धी कारबाही गरिएको राष्ट्र बैंकले जनाएको छ ।
उता, पोखरा फाइनान्सका प्रमुख कार्यकारी अधिकृत रविचन्द्र गुरुङ्गलाई ५ लाख रुपैयाँ जरिवाना गरिएको छ भने फाइनान्सलाई ४६ हजार ७१८ रुपैयाँ जरिवाना गरिएको छ । संस्थाले २०८१ माघ १३ देखि २६ गते सम्मको अवधिमा नियामकीय व्यवस्था अनुसार कायम गर्नुपर्ने अनिवार्य मौज्दात रकम कायम नगरेको हुँदा तथा गुरुङले आफ्नो जिम्मेवारी पूरा नगरेको भन्दै जरिवाना गरिएको हो ।
मुक्तिनाथ विकास बैंकका अध्यक्ष भरतराज ढकाल संस्थाको भवन निर्माण प्रयोजनार्थ गठित भवन निर्माण समितिको संयोजक भएको भन्दै “सञ्चालक समितिका अध्यक्ष सञ्चालक समिति बाहेक अन्य कुनै पनि आन्तरिक समिति वा उप–समितिमा बस्न नपाउने” व्यवस्था जानकारी गराउँदै यसमा सचेत गराएको हो ।
नारायणी डेभलपमेन्ट बैंकले तोकिएको भन्दा धेरै निक्षेप संकलन गरेको तथा तोकिएको अनुपातमा पुँजीकोष कायम गर्न नसकेको उल्लेख गरिएको छ । आगामी असार मसान्तमा तोकिएको पुँजीकोष कायम गर्न निर्देशन दिइएको छ । साथै बैंकले पटक पटक नियामकीय निर्देशन उल्लंघन गर्ने कार्य तत्काल अन्त्य गर्न संस्थाको सञ्चालक समितिलाई लिखित आदेश जारी राष्ट्र बैंकले जनाएको छ ।
सालपा विकास बैंकले तोकिएको न्यूनतम चुक्तापुँजी हालसम्म पनि कायम नगरेको उक्त पुँजी पुर्याउने सन्दर्भमा पटक पटक दिइएका निर्देशनहरूको कार्यान्वयन नगरेको भन्दै सञ्चालक समितिलाई नसिहत दिइएको उल्लेख गरिएको छ ।
गोर्खाज फाइनान्सको सञ्चालक समितिले समयमा प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्न नसकेको तथा सञ्चालकहरूबीच समझदारी नभई संस्थाको कार्य वातावरण बिग्रिने अवस्था रहेको भन्दै अध्यक्ष गौरव बुढाथोकी तथा सञ्चालकहरू युवराज राई, नरेन्द्र कुमार अग्रवाल, निलम बोहरा र कल्पना खापुङ्गलाई सचेत गराएको राष्ट्र बैंकले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारको नीति तथा कार्यक्रम टोले गुन्डाले उठाएको चन्दा जस्तो देखियो : ज्ञानेन्द्र शाही
-
नीति तथा कार्यक्रममा श्रम, रोजगार : श्रम गर्ने संस्कृतिको विकास गर्नेदेखि कार्य घण्टामा आधारित ज्याला दिनेसम्म
-
प्रतिनिधिसभाले राष्ट्रपतिको सम्बोधनका लागि पारित गर्यो धन्यवाद प्रस्ताव
-
प्रधानमन्त्रीले प्रतिनिधिसभामा पेस गरे राष्ट्रपतिको सम्बोधन
-
राष्ट्रपतिलाई धन्यवाद ज्ञापन गर्न प्रतिनिधिसभाको दोस्रो बैठक बस्दै
-
१० हजार सहकारी पीडितका रकम फिर्ता गरिसकेका छौँ : मन्त्री अधिकारी