शनिबार, २० वैशाख २०८२
ताजा लोकप्रिय
साताको सेयर

३४ अंकले घट्दा कारोबारमा सुधार, यी दुई कारणले सेयर बजार ‘साइडवेज’मै

शुक्रबार, १९ वैशाख २०८२, १३ : ३५
शुक्रबार, १९ वैशाख २०८२

काठमाडौँ । यो साता सेयर बजार परिसूचक २६२३.८३ अंकमा रोकिएको छ । चार दिनको कारोबारमा बजार परिसूचक ३४.१९ अंकले घटेको हो । 

यो साता बजारमा ३५ अर्ब २० करोड रुपैयाँ बराबरको सेयर कारोबार भयो जुन दैनिक ८ अर्ब ८० करोड रुपैयाँ बराबर हो । अघिल्लो साता पाँच कारोबार दिनमा कुल ३९ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । जुन औसत ७ अर्ब ९२ करोड रुपैयाँ बराबरको थियो । कारोबार भएको सेयर संख्या र कारोबार रकम समेत यो साता बढेको देखिन्छ । 

सेयर बजार परिसूचक पछिल्लो समय पुनः साइडवेजको अवस्थामा रहेको देखिएको छ । यो भनेको ‘घट्दा पनि धेरै नघट्ने र बढ्दा पनि धेरै नबढ्ने’ अवस्था हो । पछिल्लो तीन महिनादेखि बजार परिसूचक २६ सयदेखि २८ सय अंकको बिचमा घुमिरहेको देखिन्छ । 

  • बजारले किन लिएन गति ? 

अहिले बजारले गति नलिनुमा दुई वटा मुख्य कारण रहेको सरकारवाला बताउँछन् । पहिलो– गभर्नर नियुक्ति र सरकारको भविष्यमा अन्यौलता । र दोस्रो, बैंक तथा वित्तीय संस्थाको रिपोर्ट  ।

अहिले देशको राजनीति गभर्नर नियुक्तिको वरपर घुमिरहेको छ । सत्तारुढ दुई दलहरू गभर्नर कसलाई बनाउने भन्ने सम्बन्धमा एकमत नहुँदा करिब एक महिना बित्न लाग्दा समेत राष्ट्र बैंकले नयाँ नेतृत्व पाउन सकेको छैन । गभर्नर लगायत विभिन्न राजनीति नियुक्तिमा भागबन्डा नमिल्दा सरकारको भविष्य नै संकटमा परेको चर्चा हुँदै आएको थियो । राष्ट्र बैंकजस्तो शक्तिशाली संस्थामा गभर्नर आउन नसकेको कारणले लगानीकर्ताहरू अन्यौलता परेको नेपाल इन्भेष्टर्स फोरमका अध्यक्ष तुलसीराम ढकाल बताउँछन् । 

‘गभर्नर महाप्रसाद अधिकारीज्यूको कार्यकाल सकिने समयतिर बजारले लय लिन थालिसककेो थियो । त्यतिबेलै सरकारले नेतृत्व दिन सकेको भए बजार बजारले एउटा गति लिन्थ्यो, तर सरकाले समयमा गभर्नर नियुक्त गर्न सकेन, अहिले बजार सुधार हुन नसक्नुको कारण यही हो,’ ढकाल भन्छन् । 

यसपटक बैंक तथा वित्तीय संस्थाको रिपोर्टले पनि लगानीकर्तालाई निराश बनाएको छ । बढ्दै गएको निष्क्रिय कर्जा अनुपात र नकारात्मक अवस्थासम्म पुगेको वितरणयोग्य नाफाका कारण प्रतिफल सुनिश्चित नहुँदा लगानीकर्ता निराश भएको देखिन्छ । वैशाख ७ गते बैंक तथा वित्तीय संस्थाले तेस्रो त्रैमासको विवरण प्रकाशित गरेका थिए । त्यसपछि मात्रै ९९ अंकले बजार घटिसकेको छ । 

  • तथ्यांक कार्यालयको रिपोर्टले कस्तो असर गर्ला ? 

राष्ट्रिय तथ्यांक कार्यालयले बुधबार आर्थिक वर्ष २०८१/८२ को अनुमानित आर्थिक वृद्धिसम्बन्धी तथ्यांक सार्वजनिक गर्दै अर्थतन्त्र ४.६१ प्रतिशत विन्दुले विस्तार हुने अनुमान गरेको थियो । गत वर्ष दुई क्षेत्रमा नकारात्मक रहेको अवस्था सुधार हुँदै यो आर्थिक वर्षमा सबै क्षेत्रमा सकारात्मक आर्थिक वृद्धि हुने अनुमान गरिएको छ । त्यसमध्ये वित्तीय क्षेत्रको वृद्धिदर ६ प्रतिशत भन्दा माथि रहने कार्यालयको अनुमान छ, जुन राम्रो हो । 

यो अवस्थाले लगानीकर्तामा राम्रो सन्देश दिएको भए पनि त्यसपछि सेयर बजार खुलेको छैन । बिहीबार श्रम दिवसका कारण सार्वजनिक बिदा तथा शुक्रबार र शनिबार साप्ताहिक रुपमा कारोबार बन्द हुने भएकोले आइतबार मात्रै बजार खुल्नेछ । यद्यपि यसले बजारलाई सकारात्मक प्रभाव पार्ने सम्भावना रहेको अध्यक्ष ढकाल बताउँछन् । 

सरकारले आज (शुक्रबार) आर्थिक वर्ष २०८२÷८३ को नीति तथा कार्यक्रम सार्वजनिक गर्दैछ । सरकारले लिने नीति तथा कार्यक्रमले अर्थतन्त्र कार्यदिशा तय गर्ने अपेक्षा गरिएको छ । यसले पनि जारलाई केही प्रभाव पार्ने भए पनि नीति तथा कार्यक्रमकै कारण सेयर बजारलाई ठुलो असर गर्नेगरी कार्यक्रम आएको इतिहास देखिँदैन । 

अहिलेको अवस्थामा अर्थतन्त्र बुझेको तथा बजारप्रति उदार नेतृत्वको आवश्यकता रहेको इन्भेष्टर्स फोरमका अध्यक्ष ढकाल बताउँछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप