आइतबार, ३१ जेठ २०८३
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

वर्तमान शासन व्यवस्था टिकाउन सरकार लागिपरेको छ : उपप्रधानमन्त्री सिंह

शनिबार, २० वैशाख २०८२, ११ : ३२
शनिबार, २० वैशाख २०८२

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले वर्तमान शासन व्यवस्था टिकाउनका लागि सरकार लागिपरेको बताएका छन् । शनिबार ललितपुरमा स्यस्यः समाज, यलको ११ औँ स्थापना दिवसको अवसरमा ललितपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री सिंहले अहिलेको सरकार २०७२ को सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको कार्यान्वयन गर्न प्रतिबद्ध रहेको बताएका हुन् । 

उनले भएका कमी, कमजोरीलाई सुधार गरेर संविधानको मर्म र भावनाअनुरूप हरेकको जीवन र जीविकोपार्जन सहज बनाउने गरी अघि बढिरहेको बताए। उनले नागरिकको जनजीवन सहज बनाउनका लागि राजनीतिक स्थिरताको आवश्यक भएकाले अहिले नेपाली कांग्रेस र नेकपा एमालेसहितका केही अन्य राजनीतिक दलको सरकार बनेको बताए । 

सबै एकैचोटी विकास गर्न जादुको छडी कोहीसँग नरहेको भन्दै प्रतिकुल अवस्थाबाट अनुकूलतातर्फ लैजान सरकारले काम गरिरहेको उल्लेख गरे । अर्थतन्त्रमा आएको अप्ठ्यारोपनलाई हटाउनका लागि सरकारले लहलहैमा र पपुलिस्टका कार्यक्रमहरू दिएर नभई देशलाई सम्हाल्ने, व्यवस्थालाई टिकाइराख्ने किसिमले अघि बढेको बताए । सरकारले शुक्रबार जारी गरेको नीति तथा कार्यक्रमबाट पनि देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक परिस्थितिलाई सम्हाल्ने गरी आएको देखिने उनले स्पष्ट पारे । 

उपप्रधानमन्त्री सिंहले भने, ‘जादुको छडी कोहीसँग छैन । हामी प्रतिकुल अवस्थाबाट अनुकूलतामा लग्नको लागि कोभिड १९ पछि अर्थतन्त्रमा आएको अप्ठ्यारोपन जुन छ, त्यसलाई हटाउनको लागि अहिले यो सरकारले बढो जिम्मेवारीपूर्ण तवरले लहलहैमा होइन, पपुलिस्टका कार्यक्रमहरू दिएर होइन, देशलाई सम्हाल्नुपरेको छ, यो व्यवस्थालाई टिकाउनुपरेको छ । त्यो जिम्मेवारी वहन गरेर अहिले हिजो भर्खरै सम्माननीय राष्ट्रपतिज्यूले जुन नीति र कार्यक्रम संसद्मा जारी गर्नुभएको छ, त्यसबाट पनि के देखिन्छ भने देशको राजनीतिक, सामाजिक, आर्थिक, सांस्कृतिक जुन परिस्थितिलाई सम्हाल्न नीति तथा कार्यक्रममार्फत दर्साएको छ ।’

उपप्रधानमन्त्री सिंहले धेरै सङ्घर्ष गरेर प्राप्त गरेको सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक समावेशी संविधानको भावना र मर्मअनुरूप अभ्यास गर्न पाएकै कारण अहिलेको अधिकार प्राप्त भएको उल्लेख गरे। अधिकार मात्रै माग्ने भन्दा आफ्नो जिम्मेवारी पनि सँगै निभाउन सक्नुपर्ने बताए ।  -न्युज एजेन्सी नेपाल

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप