सोमबार, २२ वैशाख २०८२
ताजा लोकप्रिय
अन्तर्वार्ता

डा. निर्मला पोखरेललाई प्रश्न : संस्कारहरू किन महँगा भए ?

शनिबार, २० वैशाख २०८२, २० : ००
शनिबार, २० वैशाख २०८२

पछिल्लो समय नेपाली समाजमा आ–आफ्ना धार्मिक संस्कारहरू महँगा भएका छन् । सबै समुदायमा विशेषतः विवाह संस्कार महँगो भएको छ । जन्मदेखि मृत्यु संस्कारसम्म मनाउने क्रममा देखासिकी मौलाएकाले निम्नदेखि मध्यम वर्ग आर्थिक अप्ठेरोमा देखिन्छ ।

संस्कार किन महँगियो ? यसमा सुधार ल्याउन के गर्न सकिन्छ ? यिनै प्रश्न हामीले संस्कृतिविद् तथा धार्मिक अध्येता डा. निर्मला पोखरेललाई राखेका छौँ । 

  • हामीकहाँ संस्कार भन्ने जुन छन् विभिन्न जाति तथा समुदायका; हिन्दु समाजमा त सोह्र संस्कार लगायत छन्; पछिल्लो समय भारतीय वा पश्चिमा केही संस्कृति तथा पर्व समेत भित्रिएका छन्— यी सबै महँगा भए, जसले गर्दा निम्न आय भएकालाई अप्ठेरो त छँदै छ, मध्यम वर्गलाई समेत मारमा पारिरहेको देखिन्छ । यसप्रतिको यहाँको धारणा के छ ? 

संस्कार मान्ने यो बदलिँदो चलनलाई मैले गम्भीरतापूर्वक लिएकी छु । यस्तो किन भइरहेको छ भने, मानिसले संस्कारको वास्तविक अर्थ बुझिरहेका छैनन् । 

विवाह संस्कार, गर्भाधान संस्कार (गर्भाधानका लागि गरिने संस्कार), पुंसवन संस्कार (गर्भको शिशु छोरा नै होस् भनेर गरिने संस्कार),  सीमन्तोन्नयन संस्कार (गर्भ रहिसकेपछि गर्भको शिशु र गर्भिणीलाई अमंगलकारी शक्तिहरूबाट रक्षा गर्न गरिने संस्कार), जन्मपछिको जातकर्म, नामकरण, निष्क्रमण (शिशुलाई प्रथम पटक घर बाहिर लाने संस्कार) लगायतका उपनयन वा अध्ययन संस्कार हुँदै मृत्यु संस्कारसम्मका संस्कार छन् । 

पछिल्लो समय यी सबै संस्कार खर्चिला भएका छन् । यस्तो किन भयो भने, मानिसले संस्कारको अर्थ राम्ररी बुझेकै छैन । मानसिक, आध्यात्मिक, बौद्धिक, शारीरिक रूपमा शुद्धीकरणका लागि संस्कार गरिन्छ । कुनै पनि संस्कारमा स्नान अनिवार्य हुन्छ । संस्कार गर्नका लागि स्नानपछि सफा वा नयाँ लुगा लगाउनुपर्छ । यसरी संस्कारहरूमा स्नानबाट शरीरको शुद्धीकरणको सुरुवात हुन्छ । संस्कार गरिसकेपछि व्यक्ति परिष्कृत हुन्छ भन्ने मानिन्छ साथै केही नयाँ गर्नका लागि योग्य हुन संस्कार गरिन्छ । जस्तो : राम्रो बच्चा पैदा होस् भनेर गर्भाधान अघि संस्कार (गर्भाधान संस्कार) गरिन्छ । 

पहिले पेटमा बच्चा रहँदा सीमन्तोन्नयन संस्कार गरिन्थ्यो । अहिले गर्भ रहेको सात–आठ महिनामा अश्लील रूपमा पेट देखाएर मानिसले धुमधामसँग खुसी मनाइरहेका देखिन्छन् । हिन्दु समाजको सोह्र संस्कारभित्रै पर्ने सीमन्तोन्नयन संस्कार अहिले ‘बेबी सावर’का नाममा भड्किलो र उच्छृङ्खल बन्दै गएको छ ।   

मानिसले अहिले संस्कारलाई भन्दा पनि मनोरञ्जन वा प्रतिस्पर्धालाई महत्त्व दिन थालेका छन् । यी दुई कुरा हाबी हुँदा हाम्रो संस्कारको मौलिकता हराएको छ । प्रतिस्पर्धात्मक मनोरञ्जनले कहिल्यै पनि व्यक्तिलाई सही दिशातर्फ लैजाँदैन, खर्चिलो र भड्किलो मात्रै बनाउँछ । 

संस्कार किन गरिन्छ भन्ने बुझ्यो भने भड्किलो बन्दैन । हिन्दु समाजको विवाह संस्कारलाई नै हेरौँ । सामाजिक बन्धनमा बाँधिएर जिम्मेवारपूर्ण ढंगले जीवनयापन गर्नका लागि, सन्तान सुख प्राप्तिका लागि यो संस्कार गरिन्छ । हिन्दु अवधारणामा त विवाह जन्म–जन्मान्तरका गरिन्छ । समाजलाई साक्षी राखेर रगतको साइनो जोड्नका लागि विवाह संस्कार गर्ने हो । यसमा धार्मिक विधिहरू हुन्छन् । अचेल यस संस्कारमा आडम्बरको रूपमा अनेक खर्चिला प्रक्रिया भित्रिएका छन् । धार्मिक विधिहरूलाई भन्दा भोज–भतेर र देखासिकीलाई जोड दिइएको छ । मेहेन्दी–हल्दी, प्रि–वेडिङ फोटोग्राफी के के भनिएको छ । टीकाटालोलाई अचेल ‘इन्गेजमेन्ट’ भनेर महँगो पारिएको छ । यी महँगा र भड्किला जति पनि संस्कार अचेल चलनचल्तीमा छन्, यी हाम्रा शास्त्रीय संस्कार होइनन् । 

पछिल्लो समय यी सबै संस्कार खर्चिला भएका छन् । यस्तो किन भयो भने, मानिसले संस्कारको अर्थ राम्ररी बुझेकै छैन । मानसिक, आध्यात्मिक, बौद्धिक, शारीरिक रूपमा शुद्धीकरणका लागि संस्कार गरिन्छ ।

पहिलेदेखि नै हिन्दु समाजमा खासगरी बाहुन–क्षेत्री समाजमा गर्भवतीलाई दही–चिउरा खुवाउने चलन थियो । विवाह गरेर गएका छोरीचेली गर्भवती भएको खबर पाएपछि माइतीहरू भेट्न जाँदा दही–चिउरा लिएर जाने गर्थे । अहिले यो चलन पनि महँगो र आडम्बरी भएको छ । घर–परिवारलाई नै भोजका सामग्री लिएर जाने गर्छन् । 

पहिले ब्राह्मणको घरमा अखण्ड दियो बाल्ने प्रचलन थियो । पछि छोराहरू छुट्टाभिन्न हुँदा त्यस अखण्ड दियोबाट अर्को दियो जगाएर वा सल्काएर लैजानुपथ्र्यो । यसरी लैजानेले पनि दियो अखण्ड रूपमा बाल्नुपथ्र्यो । अहिले यस्ता संस्कार हराएका छन् । अग्निहोत्री ब्राह्मणहरूले मात्रै यो संस्कारलाई केही हदसम्म जोगाएका छन् ।

अन्नप्राशन संस्कार (शिशुको शारीरिक विकासका लागि प्रथमपटक अन्न खवाउने विधि) लाई पास्नीका नाममा अस्वाभाविक रूपमा भड्किलो बनाइएको छ ।

  • अहिले विशेषतः विवाहमा सुनको प्रयोग बढ्यो । एक पक्षले अर्को पक्षलाई सुन दिनैपर्ने भएको छ । को कोलाई दिने भनी पहिले नै सूची तयार गरिन्छ— यस्ता प्रचलनले विवाह संस्कारलाई महँगो बनायो । पहिले विवाह संस्कारमा सुनको हुन्थ्यो ? के यो अनिवार्य हो ? 

विशेषतः ठुला संस्कारमा पर्छन्— विवाह, जन्म र मृत्यु संस्कार । यी तीनमा पनि सबैभन्दा ठुलो संस्कार विवाह संस्कार हो । संस्कारहरूमध्येमा संसारले मानेको संस्कार हो, विवाह संस्कार । यो संस्कार संसारमा आ–आफ्नै किसिमले मनाइन्छ । विवाह संस्कारलाई उत्साहपूर्वक र शृङ्गारिक भावमा मनाउने चलन पहिलेदेखि नै चल्यो । पहिले विवाहमा सुन दिने चलन राजपरिवार वा कुलिन भनिने वर्ग अर्थात् असाध्यै धनाढ्य वर्गमा विशेष रूपमा थियो  । उनीहरूले विवाह गर्दा दुलही सिँगार्ने र दैलो छेक्नेजस्ता विधिमा सुनको प्रयोग बढी गर्थे । 

क्रमशः पछिपछि विवाहमा प्रेमपूर्वक आफ्नो क्षमता अनुसार सुन दिन नागरिकले पनि थाले । विशेषतः सम्पन्न वर्गको देखासिकी मध्यम र निम्न वर्गमा समेत सर्दै आयो । 

अहिले विवाहमा दुवै पक्षले सुनमा खर्च गरिरहेका छन् । यसो हुनुमा शिक्षाको कमी पनि हो । शिक्षाले सिँगारिएको मान्छेलाई गहनाको के मूल्य ? शिक्षित वर्गले यसलाई रोक्न लाग्नुपर्ने हो, तर उनीहरू नै रुमलिएका छन् । 

अहिले विवाहमा इन्गेजमेन्ट भोज, हल्दी–मेहेन्दी, प्रि–वेडिङ फोटोग्राफी जस्ता कार्यक्रम थपिएका छन् । यस्तो पहिले थिएन । भारतलाई पनि उछिनेर हामीले पश्चिमा संस्कृतिको प्रि–वेडिङ फोटोग्राफी सिकेका छौँ । यो थपिएका संस्कारमा साथीभाइलाई भोजसहित खुवाएर सम्पन्न गरिन्छ । यसरी विवाह संस्कार महँगो हुन पुगेको छ । 

पहिले हिन्दु समाजमा विवाहअघि बेहुलाको घरमा नान्यमुखी श्राद्ध गर्ने चलन थियो । विवाहपछि केही नहोस् भनी ग्रहदशा शान्त गर्न यो विधि गरिन्थ्यो । यो त्यति खर्चिलो थिएन, एउटा ब्राह्मण बोलाएर सम्पन्न हुन्थ्यो । यस्तै विवाहको सकिएपछि शुद्धिशान्ति गरिन्थ्यो । 

विवाह गरेको चार दिनपछि बेहुलीलाई माइत पठाइन्थ्यो । केही दिन बसेर उनी फर्कन्थिन् । अहिले यस विधिमा पनि आडम्बर थपिएको छ । पहिले यसरी फर्केर आएकी बुहारीले ढोगभेट गर्थिन् । अहिले बिहेकै पार्टीमा ढोगभेट चल्छ । त्यो ढोगभेटमा बेहुली पक्षबाट बेहुला पक्षका आफन्तलाई गरगहना लुगाफाटा दिने गरिन्छ । सासु–ससुरा, काका–ससुरा, काकी–सासु, उनीहरूका छोराछोरीहरू— जो जोलाई गहना दिनुपर्ने हो, जो जोलाई मान्नैपर्ने हो, उनीहरूको नामसूची पहिले नै बेहुली पक्षलाई पठाइएको हुन्छ । फुपू वर्गलाई, नन्द वा भाउजू वर्गलाई, ससुरा वा सासु वर्गलाई के के दिने भनी बेहुली पक्षले तयारी गर्नुपर्छ । बेहुलीबाट पाउने सूचीमा परेकाहरूले फेरि मुख हेर्ने बेला बेहुलीलाई सुन लगायत दिनुपर्छ । जेहोस् दुवै पक्षलाई पिर्ने खालको विधि गरिन्छ । अझ बेहुली पक्षले भन्दा बढी दिन बेहुला पक्षले प्रतिस्पर्धा नै गर्छ । यसरी दुवै पक्षबाट आडम्बर देखाउने परिस्थिति सिर्जना भएका छन् ।  

जुत्ता लुकाउने चलन पनि अहिले खर्चिलो भएको छ । यो संस्कार त्यति पुरानो होजस्तो मलाई लाग्दैन तर पहिलेदेखि हामीकहाँ पनि चल्दै आएको हो । पहिले बेहुलीका दाजुभाइले भिनाजु वा ज्वाइँको जुत्ता लुकाउने गर्थे । आफ्ना दिदी–बहिनी जाने बेलामा धेरै रोए भनेर केहीबेर अलमलाउनका लागि यो विधि गरिन्थ्यो । पछि यो उल्टिएर सालीहरूले लुकाउन थाले र महँगो रकम बार्गेनिङ गर्न थाले । 

dr nirmala pokharel (2)

विवाहका अधिकांश संस्कार महादेव–पार्वतीबाट सुरु भएका छन् । उतिबेला हिमालयले दाइजो दिँदा पनि महादेवले लिएका थिएनन् । अहिले तराईतिर त भारतीय प्रभावले पनि दाइजो माग्ने प्रवृत्ति छ ।

पछिल्ला दशकमा हामीकहाँ भारतीय संस्कारहरू हाबी हुन थालेका छन् । विशेषतः सञ्चारका माध्यमबाट केही महँगा र भड्किला संस्कार भित्रिएका हुन् । संस्कार मनाउने नाममा मानिसहरू देखासिकी गर्न उद्यत भए । देखासिकी पनि धार्मिक वा सांस्कृतिक महत्त्वमा गरिँदैन, खर्चिलो बनाउन गरिन्छ । 

भारत वा विकसित देशमा सम्पन्न वर्गले एक ढंगले संस्कार तथा पर्वहरू मनाउँछन् । सम्पन्न वर्गले गरेका संस्कारलाई पछ्याएर सकिँदैन । 

अहिले एन्निभर्सरी भनेर बिहेको वर्षगाँठ धुमधामले मनाउने चलन छ । आफ्नो बिहेको दिन सम्झनु राम्रै कुरा हो तर अनावश्यक खर्च गर्नु गलत हो । यस दिन आफ्ना कुलदेवता, इष्टदेवतालाई सम्झँदा राम्रै हुन्छ । संस्कार भनेको आफूलाई अध्यात्मतिर लगाउनु पनि हो । 

अचेल मानिसले स्वर्गीय बाउआमाको तिथि बिर्सेर विवाहको वर्षगाँठलाई बढी जोड दिएको देखिन्छ । यो वर्षगाँठ नमनाए पनि हुन्छ तर बाउआमाको तिथि सम्झनुपर्छ । ६० कटेका बाउआमालाई विभिन्न बहानामा खुसी पार्नुपर्छ, संस्कारमा बरु यो थप्नुपर्ने देखिन्छ । हुन त नेवार समुदायमा जङ्को छ । अरु समुदायले पनि ६० वर्ष पुग्दा र त्यसपछिका प्रत्येक पाँच–पाँच वर्षको जन्म दिनलाई विशेष बनाइदिनुपर्छ । 

  • अहिले व्रतबन्ध संस्कार पनि महँगो भएको छ । व्रतबन्ध  समारोहमा एकै किसिमको सारी लगाएर उनीहरू संस्कारमा सहभागी हुने गर्छन् । भोजभतेर पनि चल्छ । यो संस्कारमा हिजो के विधि थियो र आज किन महँगो र भड्किलो हुँदै छ ? 

यो एउटै रङको लुगा लगाउने चलन सुरु भएको दुई दशक पनि भएको छैन । यो फेसन बनेर देखिएको छ । व्रतबन्धका बेला बटुकका फुपूहरू वा बटुकका बुवाका चेलीबेटीहरूलाई बटुकका बाउआमाले इच्छा अनुसार लत्ताकपडा, पैसा लगायत केही उपहार दिने पुरानो चलन हो । विशेषतः हाम्रा संस्कारहरूका चेलीहरूलाई संरक्षण गर्ने आशय देखिन्छ । अहिले यो पनि भड्किलो भएको छ । 

चेलीबेटीसँग जोडिएको अर्को दरको संस्कार पनि भड्किलो भएको छ अचेल । अहिले मनोरञ्जन र देखासिकी प्राथमिकतामा पर्न थालेका छन् । यसलाई रोक्नुपर्ने भएको छ । अर्कोतिर, पुराना संस्कार यस्ता थिए अहिले भड्किलो भयो भनी विरोध मात्रै गरेर हुँदैन; संस्कारलाई जोगाउनुपर्ने पनि छ ।  

  • अहिले छोराको व्रतबन्धजस्तै छोरीको गुन्यूचोली गर्ने परम्परा छ, यो पनि महँगो हुँदै छ भनिन्छ । यो कस्तो संस्कार हो ?

छोरीलाई गुन्यूचोली दिने भन्ने पुरानै परम्परा हो । विशेषतः हिन्दु समाजका ब्राह्मण–क्षेत्री समुदायमा छोरी रजस्वला हुनुअघि ७, ९ वा ११ वर्षको उमेरमा यो संस्कार गरिन्छ । यो संस्कार दुनियाँ बोलाएर भोज–भतेर गरेर होइन कि घरमै रुद्री वा सानो पूजापाठ गरेर छोरीलार्ई गुन्यूचोली दिइन्छ, गुन्यूचोली लगाउन सिकाइन्छ । तिमी आजदेखि गुन्यूचोली लगाउन योग्य भयौ, अर्थात् तिमी ठुली हुँदै छ्यौ भन्ने बुझाउन यो संस्कार गरिन्छ । 

अहिले भोज–भतेर, क्याटरिन आदिले यो महँगो भएको छ । गुन्यूचोली परम्परा यसरी भड्किलो हुन थालेको एक दशक पनि भएको छैन । 

मेरो अहिलेसम्मको अध्ययनले यो भन्छ कि हामीले कतिपय रीतिरिवाजलाई भुल्नु हुँदैन । पवित्र ठानिएका तीर्थमा अस्तु बगाउने हाम्रो पुरानो संस्कार हो । मृतकका नाममा पिण्ड नदीमा बगाउने जुन विधि छ, यसमा अलिकति प्रतीकका रूपमा बगाउने हो ।
  • अहिले खासगरी निजी स्कुलहरू विद्यार्थीको बर्थ–डे मनाइदिन, समुदाय अनुसारको पर्व मनाउन उद्यत देखिन्छन् । यसो गर्दा पनि समुदायको पोसाक, केक, उपहार आदिमा खर्च त अभिभावककै हुने हो । यसप्रति यहाँको धारणा के छ ? 

मलाई लाग्छ, यस्ता कतिपय कुरा राम्रा हुन् । यसले विद्यार्थीलाई विभिन्न समुदायको संस्कृति बोध गराउँछ । यस्ता गतिविधि गर्दा खर्च पनि स्कुलले नै गर्नुपर्ने हो । अथवा अभिभावकलाई बढी बोझ नपर्ने गरी व्यवस्थापन स्कुलले नै गर्नुपर्ने हो । 

यस्तै, स्कुलमा विभिन्न समुदायका बालबालिकाले आ–आफ्नो संस्कार अनुसार जन्मदिन मनाउन सक्छन् । पहिले हामीकहाँ जन्म दिन तिथिअनुसार मनाइन्थ्यो । जन्मदिन मनाउँदा तिथिमा ध्यान दिइयो भने तिथि अनुसारका पर्वबारे विद्यार्थीले जानकारी पाउँछन्, यसको महत्त्व बुझ्छन् । 

पछिल्लो समय कतिपयले वृद्धाश्रम वा अनाथालयमा भोजन गराएर जन्मदिन मनाउँछन् । यो राम्रो पक्ष हो । यसले सेवाको भावमा वृद्धि गर्छ । कसैले सेवा कम गर्ने तर प्रचार बढी गर्ने गरेका छन् । कर्म राम्रो गर्नेले प्रचार गरोस्, केही छैन । 

प्राचीन कालदेखि नै आफू शुद्ध वा सफा–सुग्घर भई दुःखी–गरिबलाई केही दिएर खुसी पार्ने, भगवानलाई सम्झने परम्परा थियो । जन्मदिन मनाउँदा यसो गर्नु अझ राम्रो पक्ष हो ।

  • मृत्यु संस्कार पनि अहिले महँगो भयो भनिन्छ नि ? 

मृत्यु भएका व्यक्तिको उद्धारका लागि सम्पन्न गरिने संस्कार हो यो । यसका केही निश्चित विधिविधान छन् । यसमा दान गर्ने जुन विधि छ, यसलाई व्यक्तिले क्षमता अनुसार श्रद्धापूर्वक गर्ने हो । अहिले क्षमता देखाउन दान गरिन्छ । विशेषतः शय्या दान महँगो भएको छ । यसपछि मासिकी, वार्षिकी पनि खर्चिलो पारिएको छ । वार्षिकी सिद्धिएपछि शुद्धीकरण भनेर एउटा ठुलो भोजकै आयोजना गरिन्छ । 

अर्कोतिर संस्कार विधिहरू पनि अनेक खालका भए । पशुपतिमै जानुभयो भने पनि एउटै सनातन संस्कारमा समान विधि देखिँदैन, एउटा कोठामा एउटा विधि चलिरहेको छ, अर्को कोठामा फरक । एकातिर गरुड पुराणको डर देखाइन्छ— यसो नगरे उसो हुन्छ भनेर । 

अझ मृत्यु संस्कार गर्दा काट्टे बाहुनले समेत माग गर्छन् । काट्टे बाहुनलाई चित्त बुझाउनैपर्ने धार्मिक मान्यता पनि छ । यतिबेला भूत, प्रेत, पिशाचजस्ता प्रथम गणलाई मन्छाउनुपर्छ । 

त्यसैले के कस्तो विधि वा दान गर्ने भन्नेमा एकरूपता ल्याउन समुदाय र राज्य नै लाग्नुपर्ने देखिन्छ । धर्मशास्त्रहरूमा भनेको छ कि प्रत्येक ५० वर्षमा धर्मसभा बसेर संस्कारका विधि–विधानलाई परिष्कृत र परिमार्जन गर्नुपर्छ । 

संस्कारमा शास्त्रीय विधान एउटा हुन्छ भने लोक मान्यता फरक हुन सक्छन् । सबैले शास्त्रलाई पछ्याएका हुँदैनन्, आ–आफ्नो क्षेत्र वा स्थानमा विकसित संस्कार अलग–अलग हुन्छन् । यी दुवै मान्य छन् तर यीभित्र आडम्बर हुनुभएन । सांस्कृतिक मूल्यलाई महत्त्व दिनुपर्‍यो ।  

  • यहाँले  विधानका कुरा गर्नुभयो । श्राद्धको जुन परम्परा छ, यसमा पिण्ड नै नदीमा बगाउनुभन्दा पितापुर्खालाई सम्झने कुनै पुण्यपूर्ण कर्म गर्न सकिँदैन ?

मेरो अहिलेसम्मको अध्ययनले यो भन्छ कि हामीले कतिपय रीतिरिवाजलाई भुल्नु हुँदैन । पवित्र ठानिएका तीर्थमा अस्तु बगाउने हाम्रो पुरानो संस्कार हो । दाहसंस्कार वागमतीको आर्यघाटमा गर्न पाउन भाग्यको कुरा हो । तर अन्यत्रका हिन्दुहरूले नजिकैको नदीमा दाह–संस्कार गरिसकेपछि  मृतकको अस्तुलाई ४५ दिनभित्र अझ पवित्र कुनै नदीमा बगाउने प्रचलन छ । यसका लागि हाम्रो देवघाट र वराह क्षेत्रमा त भारतदेखिका हिन्दुधर्मावलम्बी आउँछन् । मृतकका नाममा पिण्ड नदीमा बगाउने जुन विधि छ, यसमा अलिकति प्रतीकका रूपमा बगाउने हो । धार्मिक अनुष्ठान भनेको भौतिक रूपमा देखिने मात्रै हुँदैन, यसमा मनोवैज्ञानिक अवधारणा समेत जोडिएको हुन्छ । धार्मिक अनुष्ठानहरू मान्नुपर्छ भन्ने मेरो बुझाइ छ ।  

  • सामाजिक व्यवहारमा सुधार ल्याउन कसले के गर्नुपर्ने हो ? राज्यले नै यसमा रोक लगाउनुपर्ने हो कि ? 

अहिले एकातिर व्यक्तिगत वा राजनीतिक स्वतन्त्रताका कुरा छन्, महिला अधिकारका कुरा छन्, अर्कोतिर संस्कार संस्कार रहेको छैन, उल्टै संस्कारका नाममा मानिसहरू मर्कामा परिरहेका छन् ।  

यसका लागि सबैभन्दा पहिले शैक्षिक जागरण आवश्यक छ । यसका लागि राज्यले पहल गर्नुपर्ने हुन्छ । हरेक कुरालाई व्यवस्थित गर्ने सन्दर्भमा पहिलो जिम्मेवारी राज्यको नै आउँछ । राज्यले पहिले त नागरिकलाई शिक्षित बनाउनुपर्‍यो । स्कुलदेखि नै संस्कार–संस्कृतिको मूल्य–मान्यता बुझाएर भड्किलो गर्न हुँदैन भनी पढाउनुपर्‍यो । 

हरेक परिवार आफ्नो संस्कारमा स्पष्ट हुनुपर्छ । खर्च गर्ने प्रतिस्पर्धामा वा देखासिकीमा लाग्नु हुँदैन । योग्यता र क्षमता बढायो भने समाजमा त्यसै प्रतिष्ठा बढ्छ, संस्कारहरूमा खर्च गरिरहनुपर्दैन । यस्तो चेतना आउन शिक्षाकै कुरा आउँछ । त्यसैले राज्यले पहिलो भूमिका निभाउनुपर्छ ।  

पहिले संस्कारहरू महँगो हुन नदिन राज्यले रोकेको थियो । भोजमा कति मानिस लैजाने, भड्किलो गर्न नपाउने भनेको थियो, त्यसो गरे दण्डकै व्यवस्था पनि थियो । केही समय त्यो लागु पनि भएको थियो । त्यस किसिमको रोक अहिले पनि लगाउन जरुरी देखिन्छ । संस्कारहरूलाई कम खर्चिलो बनाउन विशेषतः सरकारको निगरानीले पनि महत्त्वपूर्ण र प्रभावकारी भूमिका निभाउन सक्छ  । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

ध्रुवसत्य परियार
ध्रुवसत्य परियार

परियार रातोपाटीका फिचर/ओपेड एडिटर हुन् ।

लेखकबाट थप