आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास गर्न जरुरी छ : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहले आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास गर्न जरुरी रहेको बताए। सोमबार काठमाडौँमा राष्ट्रिय आवास कम्पनी लिमिटेडको १७ औँ वार्षिक साधारण सभालाई सम्बोधन गर्दै सिंहले व्यवस्थित आवास बनाउँदा बनाउनको लागि मात्रै बनाउने नभई आय आर्जन गर्न सक्ने किसिमको हुनुपर्ने बताएका हुन्।
उनले आवासमा बस्नका लागि मात्रै अब मानिसहरू नजाने उल्लेख गरे । उपप्रधानमन्त्री सिंहले जग्गा विकासमा नेपालीहरूलाई न्यूनतम रूपमा आवश्यक पर्ने जीवनोपयोगी, आयआर्जन गर्न सक्ने किसिमको बस्ती विकास अहिलेको आवश्यकता भएको बताए ।
उपप्रधानमन्त्री सिंहले भने, ‘खालि आवास बनाएर केही गर्नै नसक्ने गरी बनाएर त भएन नि । हरेक मानवले आफू बसेको ठाउँबाट केही आय आर्जन गरेर आफ्नो परिवारलाई पाल्न सक्ने वातावरण तयार भएको खण्डमा नै हामीले राम्रो गर्न सक्छौँ । जुन ठाउँमा,जुन जिल्लामा आवासहरू बनाउँछौँ, त्यहाँको क्लाइमेट अनुसारको बिल्डिङ मेटिरियल्सहरु हाम्रा परापूर्वकालदेखि प्रयोग हुँदै आएका स्थानीय ठाउँमा त्यस्ता सामग्री प्रयोग गरेर घरहरू बनाउँदा क्लाइमेटवाइज पनि राम्रो हुने भएको कारणले सजिलोका लागि खालि सिमेन्ट, रडबाटै बनाउनुपर्ने कन्सेप्ट छोडेर त्यहाँको मौसमलाई पनि ख्याल गर्नुपर्छ । त्यहाँको स्थानीय मेटिरियललाई सदुपयोग गर्न सकियो भने राम्रो गर्छ, त्यतातिर हाम्रो ध्यान जान जरुरी छ ।’
उपप्रधानमन्त्री सिंहले अब बस्ती विकास गर्दा समाजमा चाहिने न्यूनतम आधारहरू राखेर जग्गा विकास गर्न जरुरी रहेको बताए ।