आइतबार, ११ जेठ २०८२
ताजा लोकप्रिय
रातोपाटी स्पेसल : लथालिङ्ग भ्रातृ संगठन

‘तदर्थ समिति गठनमै केन्द्रीय समिति ‘फेलियर’ भयो’

मङ्गलबार, २३ वैशाख २०८२, ०९ : १५
मङ्गलबार, २३ वैशाख २०८२

रञ्जित कर्ण नेपाल विद्यार्थी संघ (नेविसंघ)को अध्यक्षमा २०६८ साल माघमा मनोनीत भई २०७३ साल भदौमा महाधिवेशन गरेर नेतृत्व हस्तान्तरण गर्ने थोरै नेतामध्ये पर्छन् । 

कर्णले गरेको महाधिवेशनबाट नैनसिंह महर अध्यक्षमा निर्वाचित भएका थिए । कर्ण अध्यक्ष हुनुभन्दा अगाडि १० वर्ष नेविसंघको महाधिवेशन भएको थिएन, कर्णले महाधिवेशन गरिसकेपछिका १० वर्षमा पनि नेविसंघको महाधिवेशन हुन सकेको छैन । अर्थात् नैनसिंह महरपछि नेविसंघले निर्वाचित अध्यक्ष पाएको छैन । 

२०७० सालको दोस्रो संविधानसभाका सदस्यसमेत हुन् कर्ण । टुक्रिएको नेपाली कांग्रेस एक भएपछि मनोनीत भएका कर्णले दुई पार्टीका विद्यार्थी नेताहरूलाई एकजुट बनाएर निर्वाचन गरेका थिए । उनीसँग हामीले पहिला र अहिलेको नेपाल विद्यार्थी संघ र कांग्रेसका भ्रातृ संस्थाबारे कुराकानी गरेका छौँ । 

  • नेपाली कांग्रेसका प्रायः भ्रातृ संस्था किन नेतृत्वविहीन अवस्थामा पुगे ? 

नेपाल विद्यार्थी संघलगायत सम्पूर्ण भ्रातृ संस्थाहरूको हामीले पटक–पटक नेतृत्व परिवर्तन त गर्‍यौँ, तर महाधिवेशन हुन सकेन । मेरो नेतृत्वको समितिले महाधिवेशन गरी नेतृत्व हस्तान्तरण गरेको एक दशक हुँदा पनि महाधिवेशन हुन सकेको छैन । मपछि संगठनमा तेस्रो नेतृत्व आइसकेको छ, तथापि महाधिवेशन भएको छैन । 

भ्रातृ संस्थाका महाधिवेशन हुन दुई कुरा चाहिन्छ । 

पहिलो, जसलाई पार्टीले संयोजकको जिम्मेवारी दिन्छ, उसले आफ्नो समितिमा रहेका अन्य साथीलाई विश्वासमा लिनुपर्छ । किनकि भ्रातृ संस्था भनेका पार्टीको सिद्धान्त र विचारलाई बढाउने माध्यम पनि हुन् । तसर्थ भावनात्मक रूपमा पनि साथीहरूको विश्वास लिनैपर्छ । 

पार्टीको भ्रातृ संस्थाको नेतृत्व गर्ने साथीहरूले पार्टी नेतृत्व र केन्द्रीय समितिका सदस्यहरूको विश्वास कसरी जित्ने, यसअघि संगठनमा काम गरिसकेकाहरूसँग कसरी सहकार्य गर्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्छ । 

दोस्रो, कुनै पनि संगठन एउटा ‘नर्म्स’मा चलेको हुन्छ । उसको विधान हुन्छ, पद्धति हुन्छ । त्यसमा संगठनको अध्यक्ष कतिको इमानदार छ, त्यसमा संगठन कसरी अगाडि बढ्छ भन्ने विषय भर पर्छ । आफूले पद्धतिलाई अवलम्बन गरेपछि मात्रै संगठनको नेतृत्वकर्ताले अन्य समितिका साथीहरूलाई पद्धति अवलम्बन गर्न बाध्य बनाउन सक्छ । साथीहरू पनि अवलम्बन गर्न बाध्य हुन्छन् । 

आफूअनुकूल काम गर्न विधानअनुरूप सजिलो हुन्छ कि विधानलाई नमान्दा सजिलो हुन्छ, त्यो हेर्ने अहिलेको मुख्य समस्या हो । 

जसले गर्दा संगठनको महाधिवेशन मात्रै होइन, अन्य गतिविधि पनि प्रभावित भइरहेका छन् । संगठनलाई तोकिएको मापदण्डअनुरूप बढाउन नसक्दा यी समस्या देखिएका हुन् । 

पार्टीको भ्रातृ संस्थाको नेतृत्व गर्ने साथीहरूले पार्टी नेतृत्व र केन्द्रीय समितिका सदस्यहरूको विश्वास कसरी जित्ने, यसअघि संगठनमा काम गरिसकेकाहरूसँग कसरी सहकार्य गर्ने भन्ने विषयमा पनि ध्यान दिनुपर्छ । 

अर्को पार्टी नेतृत्वलाई भ्रातृ संस्थाप्रति विश्वास रहेको देखिएन । नेतृत्वले भ्रातृ संस्थाका संगठन चाहिन्छ भनिरहन्छ तर महाधिवेशन गर्नलाई प्रोत्साहित गर्न र दबाब दिन सकिरहेको छैन । 

  • पार्टी नेतृत्वले राम्रालाई भन्दा हाम्रालाई छान्ने प्रयास गर्दा महाधिवेशन हुन नसकेको हो भन्ने तपाईंको भनाइ हो ?

यो होइन । मलाई सम्झना छ, म नेविसंघको अध्यक्ष भएको वेलामा पार्टी सभापतिमा शेरबहादुर दाइ (शेरबहादुर देउवा) निर्वाचित भएर आउनुभयो । त्यसपछि उहाँले मलाई बोलाएर महाधिवेशनमा मेरो एजेन्डा भ्रातृ संस्थालाई चुस्तदुरुस्त बनाउने भन्ने थियो । 

जबसँग नेविसंघको महाधिवेशन गर्न सकिँदैन, त्यसवेलासम्म ममाथि पनि ठुलो प्रश्न उठिरहन्छ, मलाई तिम्रो सहयोग अपरिहार्य छ भन्नुभयो । जसरी भए पनि महाधिवेशन सम्पन्न हुनुपर्छ, निर्वाचन हुनुपर्छ भन्नुभयो । उहाँले महाधिवेशन गराउन सके आफूमा ‘कन्फिडेन्स’ आउने र बताउनुभयो । 

पार्टी नेतृत्वले ‘निर्वाचनमार्फत राम्रा मान्छे होइन, हाम्रा मान्छेले निर्वाचन जित्नुपर्छ’ भनेर भन्दैन । पार्टीभित्रको आन्तरिक निर्वाचनमा आफ्नोलाई जिताउनुपर्छ भन्ने सोच कुनै पनि नेतृत्वको हुन्छ भन्नेजस्तो मलाई लाग्दैन । 

मेरो समितिमा १२१ सदस्य थिए । त्यहाँ मसँग असहमति राख्ने साथीहरू पनि थिए । उनीहरूलाई एक स्थानमा राखेर ऐन, नियम र विधिभित्र राखेर संगठनलाई व्यवस्थित गर्न महाधिवेशन सम्पन्न गर्‍यौँ । 

मलाई आफ्नै समूहका साथीहरूबाट रञ्जितजी महाधिवेशन गरेर तपाईंले के पाउनुहुन्छ ? बरु तपाईंलाई कुन पद चाहिन्छ, दिन तयार छौँ भन्ने प्रस्ताव पनि आएको थियो । अध्यक्षबाट राजीनामा गर्दिनुस् भनेका थिए । मैले मेरो जिम्मेवारी के हो भन्ने सोचेँ र महाधिवेशन सम्पन्न गर्नतर्फ लागेँ । 

तसर्थ पार्टी नेतृत्वले ‘निर्वाचनमार्फत राम्रा मान्छे होइन, हाम्रा मान्छेले निर्वाचन जित्नुपर्छ’ भनेर भन्दैन । पार्टीभित्रको आन्तरिक निर्वाचनमा आफ्नोलाई जिताउनुपर्छ भन्ने सोच कुनै पनि नेतृत्वको हुन्छ भन्नेजस्तो मलाई लाग्दैन । 

  • यसको अर्थ, भ्रातृ संस्थाका नेतृत्वमा रहेकाहरूले जिम्मेवारी बुझेनन् अनि महाधिवेशन भएन । हैन त ? 

जिम्मेवारी पूरा गर्न नसकेकै हुन् । पार्टी सभापतिले त पटक–पटक समय थपेर उहाँहरूलाई मौका दिनुभएको हो नि । महाधिवेशन गर्न भन्दै पार्टीले कहिले एक वर्ष, कहिले ६ महिना त कहिले ३ महिना समय बढाइरहेकै छ त । तर, साथीहरूले सदस्यता वितरण र सबैभन्दा तल्ला तहका अधिवेशन पनि गर्न सकेनन् । 

महाधिवेशनबारे पार्टीलाई स्पष्ट खाका दिन सकेनन् । कुनै प्रक्रिया नै बढाउन सकेनन् । यस्तो अवस्थामा पार्टी नेतृत्वले उनीहरूलाई कसरी विश्वास गर्न सक्छ ? 

दोस्रो, अहिले नेविसंघ, तरुण दलमा बनाइएको तदर्थ समिति निर्माणमा कांग्रेसको सिंगो केन्द्रीय समिति जिम्मेवार छ । विधानविपरीत कांग्रेसले भ्रातृ संस्थाको तदर्थ समिति बनाएको छ । 

नेविसंघको विधानमा १२१ सदस्यीय केन्द्रीय समिति बनाउने व्यवस्था छ । ७५० सदस्यीय बनाइएको छ । कांग्रेसलाई भ्रातृ संस्थाका केन्द्रीय समिति कति सदस्यीय बनाउने भन्ने निर्णय गर्ने अधिकार छ । ७५० सदस्यीय नै बनाउन मन लागेको भए केन्द्रीय समितिबाट निर्णय गरेर बनाउनुपर्थ्यो, नगरी बनाइयो । त्यसले समस्या निम्त्याएको छ । 

विधान संशोधन गरिदिएर बनाउनुपर्थ्यो । तरुण दल र महिला संघलगायतमा पनि केन्द्रीय समितिले निर्णय गरी विधान संशोधन गरेर केन्द्रीय समिति संख्या बढाइनुपर्थ्यो । त्यसो नगरेर भ्रातृ संस्थाको तदर्थ समिति गठनमा कांग्रेसको सिंगो केन्द्रीय समिति ‘फेलिएर’ भएको छ । त्योभन्दा दुःखलाग्दो कुरा त नेविसंघको नेतृत्व गरेर पार्टी पदाधिकारी र केन्द्रीय समितिमा पुगेका नेताहरूले पनि विधानविपरीत निर्णय गर्दा बोल्न सकेनन् । 

यसले पार्टीले जिम्मेवारी दिएको व्यक्तिले आफूलाई पार्टीले विधान मिचेर जिम्मेवारी दिएकाले उसको निर्देशन किन मान्ने भन्ने अहम् देखिएको छ । स–साना कुरालाई सहज तरिकाले समाधान गर्न सकिने भए पनि त्यो काम गर्न पार्टी र अहिले भ्रातृ संस्थाको नेतृत्वमा पुगेकाहरू चुकिरहेका छन् । 

  • भनेपछि महाधिवेशन गर्न पार्टी नेतृत्वले के गर्नुपर्छ ? अहिलेको तदर्थ समितिका नेतृत्वले के गर्नुपर्छ ?

दुई दायित्व पूरा गर्नुपर्छ । अहिले भ्रातृ संस्थामा जिम्मेवारी पाएका साथी र पार्टीले बनाएको भ्रातृ संस्थाको महाधिवेशन गर्न सहजीकरण गर्ने निर्देशन समितिले ‘फुल फेज’मा काम गर्नुपर्‍यो । 

निर्देशन समितिमा रहेका नेताहरू अभिभावक र सल्लाहकार भएर मात्रै बसिदिनुभएन । निर्देशन समितिमा रहेका नेताहरूले बालकृष्ण खाँणले चलाएको नेविसंघ र तरुण दलको उदाहरण दिएर मात्रै भएन । 

दाइ (खाँण) आफैमा सक्षम हुनुहुन्थ्यो । अहिले भ्रातृ संस्थाको नेतृत्वमा रहेकाहरू सक्षम देखिएनन् । तसर्थ निर्देशन समितिमा रहेका नेताहरूको गाइडलाइन र सहयोगको आवश्यकता छ । त्यो सहयोग उहाँहरूले गर्न सक्नुपर्‍यो । 

नेविसंघले शैक्षिक आन्दोलन हाँक्न सकिरहेको छैन । हाँक्न सक्ने बनाउन निर्देशन समितिले वर्तमान तदर्थ समितिलाई गाइडलाइन दिन सक्नुपर्छ ।

तरुण दललाई परिचालन गर्न जान्यो भने सबैभन्दा बलियो संगठन बन्न सक्छ । ७५३ पालिकाका ६ हजार सात सय ४३ वडामा समिति बनाउन सके तरुण दल बलियो बन्छ । सदस्यबाहेक ११ सदस्यीय समिति मात्रै बनायो भने ७५ हजार युवा नेता जन्मिन्छन् । सदस्य संख्या त त्योभन्दा धेरै हुन सक्छ । उनीहरूले स्थानीय समस्यालाई समाधान गर्न भूमिका खेल्न सक्छन् । 

नेविसंघको सन्दर्भमा पनि हिजो त्रिविसहित विश्वविद्यालयका आंगिक क्याम्पस मात्रै थिए । अहिले आंगिक क्याम्पसमा भएका स्ववियुले जितेर सिंगो विद्यार्थी आन्दोलनको नेतृत्व गरेको छु भन्न मिल्दैन । त्यहाँबाहेक विद्यार्थी धेरै ठाउँमा संगठन निर्माण गर्न सक्नुपर्छ । 

नेविसंघले शैक्षिक आन्दोलन हाँक्न सकिरहेको छैन । हाँक्न सक्ने बनाउन निर्देशन समितिले वर्तमान तदर्थ समितिलाई गाइडलाइन दिन सक्नुपर्छ । देखिएका समस्या समाधान गर्न सक्नुपर्छ । नेविसंघमा गुटको मात्रै होइन, व्यक्तिगत र व्यवहारिक समस्या पनि छन्, तिनलाई पनि मिलाउन सक्नुपर्छ । 

  • महाधिवेशन गर्न पटक–पटक म्याद थप्दा पनि नसक्ने अहिलेकै तदर्थ समितिलाई जिम्मेवारी दिने कि हटाउने ? 

एकपटक अन्तिमचोटि म्याद थपौँ । महाधिवेशन गर्ने स्पष्ट खाका के छ भन्ने प्रतिवेदन मागौँ । त्यसमा सदस्यता वितरणदेखि समितिभित्र भएका असन्तुष्टि कसरी सम्बोधन गर्ने भन्ने विषय उल्लेख गर्न निर्देशन दिनुपर्छ । मुख्य कुरा, समितिमा रहेका नेतृत्वसँग असन्तुष्टहरूलाई मिलाउने खाका के छ भन्ने मागौँ । नेतृत्वसँग मिलेकाले मात्रै गछौँ भन त फेरि पनि आउने समस्या त्यही हो । खाका मन नपरे भंग गरेर नयाँलाई अवसर दिनुपर्छ । मन परेकालाई नथप्ने गरी समय तोकेर महाधिवेशनमा पठाउने गर्नुपर्छ ।

  • पार्टीमा जस्तै भ्रातृ संस्थामा पनि महाधिवेशनका लागि निश्चित समय तोक्ने र गर्न नसके स्वतः भंग गर्ने व्यवस्था गर्न सकिन्न ?

यस्तो व्यवस्था पहिला पनि थियो, अहिले पनि छ । नेविसंघमा कार्यसमितिले तोकिएको समयमा महाधिवेशन गर्न नसके स्पष्ट महाधिवेशन गर्ने खाका पेस गर्‍यो भने तीन महिना थप्ने, थपेको समयमा पनि महाधिवेशन भएन भने स्वतः भंग हुने व्यवस्थासहितको विधान म अध्यक्ष भएको वेला पार्टीमा पेस गरेको थिएँ । 

संगठनको नेतृत्व र समितिमा रहेकाहरूले आफ्नो दायित्व के हो बुझेर संगठनका लागि काम गर्नुगर्‍यो । 

त्यो पार्टीले पास गरेको छ । कार्यान्वयन गरिएको छैन । अन्य भ्रातृ संस्थाको विधानमा व्यवस्था छ, कार्यान्वयन छैन । विधानअनुसार भन्ने हो भने त नेविसंघ र तरुण दलको अहिलेको तदर्थ समिति नै अवैधानिक हो । विधानमा भएको व्यवस्थाभन्दा धेरै सदस्यीय छ । 

  • पहिलाजस्तै क्रियाशील बनाउन भ्रातृ संस्था र पार्टीलाई के सुझाव छ ?

कांग्रेस नेतृत्वलाई म केही भन्न चाहन्नँ । लामो समय पार्टीमा काम गर्नुभयो । गत संसदीय निर्वाचनमा पार्टीलाई पहिलो पार्टी बनाउनुभएको छ । तर बाँकी साथीहरू जसको भविष्य छ, उहाँहरूले मिहिनेत गरिदिनुपर्‍यो । संगठनका लागि काम गरिदिनुपर्‍यो । 

भ्रातृ संस्थाहरूकै कारण जनतामाझ हामी जसरी लोकप्रिय हुनुपर्ने हो, त्यसरी हुन सकिरहेका छैनौँ । भ्रातृ संस्था भए पनि तरुण दलको कांग्रेसमा आफ्नै छवि थियो, अहिले कायम राख्न सकिरहेको छैन । नेविसंघ कांग्रेसको भ्रातृ संस्था मात्रै नभएर विद्यार्थीका हकहितको आवाज उठाउने संगठन हो भन्ने थियो, त्यो कायम राख्न सकिरहेको छैन । 

संगठनको नेतृत्व र समितिमा रहेकाहरूले आफ्नो दायित्व के हो बुझेर संगठनका लागि काम गर्नुगर्‍यो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप