बुधबार, २४ वैशाख २०८२
ताजा लोकप्रिय

श्रीलङ्कामा स्थानीय निर्वाचनका लागि सुरु भयो मतदान

मङ्गलबार, २३ वैशाख २०८२, १२ : ३८
मङ्गलबार, २३ वैशाख २०८२

कोलम्बो । श्रीलङ्कामा स्थानीय चुनावको लागि मतदान सुरु भएको छ । बिहान ७ बजेदेखि सुरु भएर अपराह्न ४ बजेसम्म जारी रहने यस मतदानमा देशका १ करोड ७० लाख मतदाताले नगर सरकार निर्वाचित गर्दै छन् । 

यो चुनावहरूलाई राष्ट्रपति अनुरा कुमार दिसानायकेको नेतृत्वमा रहेको सत्तारुढ राष्ट्रिय जनशक्ति (एनपीपी)को लागि चुनावी परीक्षाको रूपमा हेरिएको छ ।

३३९ स्थानीय निकायमा ८ हजार २८७ सदस्य निर्वाचित गर्न १३ हजार ७५९ मतदान केन्द्रहरूमा मतदान सुरु भएको निर्वाचन अधिकारीहरूले बताएका छन् । ४९ राजनीतिक दल र २५७ स्वतन्त्र समूहका ७५ हजारभन्दा बढी उम्मेदवारहरूले चुनावमा प्रतिस्पर्धा गरिरहेका छन् । निर्वाचित उम्मेदवारहरूको कार्यकाल चार वर्षको हुनेछ । 

तीन पटक स्थगित भइसक्यो चुनाव

श्रीलङ्कामा पछिल्लो स्थानीय चुनाव २०१८ मा भएको थियो । आर्थिक सङ्कट र राजनीतिक अशान्तिका कारण स्थानीय चुनाव २०२२ मा सारिएको थियो । 

यसपछि, निर्वाचन आयोगले २०२३ मा दुई पटक मिति घोषणा गर्याे, तर आर्थिक सङ्कटको कारण देखाउँदै तत्कालीन सरकारले चुनाव स्थगित गर्‍यो। सरकारको निर्णयलाई अदालतमा चुनौती दिइएको थियो । यसमा अदालतले चाँडै चुनाव गराउन आदेश दियो ।

चुनावमा, ६० प्रतिशत स्थानीय परिषद् सदस्यहरू पहिलो प्राथमिकताको आधारमा निर्वाचित हुनेछन् । जबकि ४० प्रतिशत सदस्यहरू समानुपातिक प्रतिनिधित्वको आधारमा निर्वाचित हुनेछन् । यसका साथै, महिलाको लागि न्यूनतम १० प्रतिशत प्रतिनिधित्व र युवाको लागि २५ प्रतिशत प्रतिनिधित्वको ग्यारेन्टी गरिएको छ । 

दिसानायके सरकारको लागि चुनावी परीक्षा

स्थानीय निकायको चुनाव राष्ट्रपति अनुरा कुमार दिसानायकेको सरकारको लागि ठुलो परीक्षा हो । दिसानायके सरकारले २०२४ को अन्तिम त्रैमासमा राष्ट्रपति र संसदीय चुनाव जितेको थियो । सेप्टेम्बरमा भएको राष्ट्रपति चुनावमा दिसानायकेले केवल ४२ प्रतिशत मतको अन्तरले जितेका थिए । 

यसपछि, उनले नोभेम्बरमा भएको संसदीय चुनावमा आफ्नो पार्टी एनपीपीलाई भारी विजय दिलाए । दिसानायकेले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ)को बेलआउटका कडा सर्तहरू परिमार्जन गर्ने आफ्नो चुनावी वाचा पूरा गर्न असफल भएका छन् । उनले पूर्ववर्ती रनिल विक्रमसिंघेले लगाएका उही मितव्ययिताका उपायहरूलाई निरन्तरता दिइरहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप