वज्रपात
यो कालकोठरीमा बसेको पनि आज झन्डै एक दशक भइसक्यो सुमनालाई । सानो कोठा । एउटा मात्र झ्याल छ । कहिले गर्मीले उकुसमुकुस हुन्छ भने कहिले मन आत्तिएर कता जाऊँ कता जाऊँ भन्ने लाग्छ । तर उपाय नै छैन । किनकि उनलाई बाहिर जान मनाही छ । घरभित्रै पनि आफ्नो कोठाभन्दा बाहिर धेरै बेरसम्म बस्न मनाही छ । कहिलेकाहीँ नातिनातिनी आउँछन्, तिनीहरूसित एकछिन कुरा गर्छन् । रमाइलो लाग्छ उनीहरूलाई पनि । तर उनकी आमाले देख्नेबित्तिकै बोलाइहाल्छिन । कस्तो समय आयो आजकाल ! ‘हजुरआमासँग बसेर नचाहिने पुराना कुरा मात्र सिक्छन्, त्यहाँ जानैपर्दैन’ भनेर गाली गर्छन् । मानौँ उनीहरू बूढाबूढी हुनैनपर्ने होला ।
सुमना आफ्नो जिन्दगीको पाना पल्टाउन थाल्छिन् । कति रमाइला थिए ती दिनहरू ! व्यस्ततामा अल्झिएको जीवनले सुखमय, रसमय, अपनत्व लिएर बाँचिरहेको जीवन कति रमाइलो ! सम्झना मात्रै गर्दा पनि सुमना एकैछिनका लागि आफूले पाइरहेको दुःख बिर्सिदिन्छन् । उनका श्रीमान् कमल अत्यन्त मिहिनती थिए । दुवैजनाले मिहिनेत गरी गुँड बनाएका थिए । एउटा सानो चिटिक्क परेको घर बनाएर दुवैजना रमाएका थिए । त्यस क्षणको सम्झनाले सुमना आफैँ एक्लै हाँस्छिन् । नयाँ घरको कोठामा कमलले उनलाई खुसीले अँगालोमा भित्र्याएको क्षण कति सुखद थियो ! सम्झँदै उनी भित्रभित्रै मस्किन्छिन् । उनलाई चिसो बतास सिर्सिर चलेको अति नै रमाइलो लाग्छ । त्यसैले कमलले कोठाबाहिर लामो बरन्डा बनाएका थिए ।
बेलुकी कामबाट फर्केपछि दुवै त्यहीँ बसेर चिसो हावामा, नीलो आकाशमुनि बसी चियाको मीठो चुस्की लिँदै भविष्यको जालो बुन्थे । सुमनाको काखमा ईश्वरले एउटा गुथुमुने छोरा पनि हालिदिए । दुवैजनाले आफ्नो जीवन पूर्ण भएकोमा ईश्वरलाई धन्यवाद दिए ।
सुमना झसङ्ग हुन्छिन् । उनको निधारबाट पसिना तपतप चुहिरहेको रहेछ । अहो ! म कुन संसारमा पुगेछु, बितेका दिनहरू किन आँखासामु आइरहेछन ! कोठामा चारैतिर अन्धकार भइसकेछ, चिसो–चिसो हावा चाहिनेलाई यो गुम्सिने कोठा ! उफ, कस्तो निराशलाग्दो जीवन ! लामो सास फेर्छिन् सुमना ।
ओछयानमा पल्टिएपछि पुनः सुमना विगतमा विचरण गर्न पुगिन् । उनलाई सम्झना छ कमल अफिसबाट श्रीलङ्का जाँदा उनी पनि गएकी थिइन् । अफिसतिरबाट घुमाए, रमाइलो भयो । विदेशमा जे हेर्यो त्यही राम्रो । एक दिन कमलले श्रीलङ्कामा दुवैजना एउटा ठुला रेस्टुरेन्टमा खाने र नाइट सोमा ड्रामा हेर्ने भने । तर सुमनाले मन मार्दै भनेकी थिइन्— ‘त्यसको कति डलर पर्छ ? हेर्नुस, घुम्ने बेला त हाम्रो छँदै छ नि ! अहिले डलर कमाएर घर लानुपर्छ, माथि कोठा थप्नुपर्छ, छोराको पढाइमा खर्च गर्नुपर्छ । नाइँ, म त जान्न । व्यर्थै खर्च नगर्ने है !’
‘आमा ! तपाईंलाई अब राम्ररी राख्ने एउटा वृद्धाश्रम खोजेका छौँ, हिँड्नुस्, हामी लिन आएका ।’ छोराले सुमनाको हृदयमा वज्रपात पार्दै भन्यो ।
त्यसरी मन मारेर घरको तला थपियो, छोराको उच्च शिक्षाको व्यवस्था भयो । आज ती सबै कता गए कता ! छोराको राम्रै ठाउँमा बिहे भयो । तर बुहारी र सुमनाको मन कहिल्यै मिलेन । सधैँ बेमौसम गडाङगुडुङ भइरहेको । तर पनि सुमनाले आजकालका केटीहरू यस्तै हुन् भनी आफैँ मन बुझाउँथिन् ।
समयले कोल्टे फर्ने बेला भएछ । एक दिन अचानक कमललाई हृदयाघात भयो र उनी सुमनालाई छाडेर गए । घरमा पहिरो गयो । सुमना एक्लै भइन् । उनलाई अब छोराले पनि टेर्न छाडिसकेको थियो । समयमा खाने पिउने व्यवस्थाचाहिँ थिएन । त्यसपछि सुमनाको जिन्दगी अर्कै भयो । उनलाई घरमा बस्न मन लागेन । उपस्थिति नै पमानजनक हुन्छ भने त्यस्तो घरमा के मन लाग्नु ! तर पनि स–साना नातिनातिनाको मुख हेरेर सुमना राम्रो समयको प्रतीक्षामा आफ्नो दैनिकीमा व्यस्त भइरहिन् ।
एक दिन छोराले आमासँग अफिसको कार्यवश केही रकम आवश्यकता भएकाले घर धितो राखी पैसा दिनुस् भनी कर गरिरह्यो । सुमना र कमलको मिहिनेतले त्यो घर मगमगाएको थियो । अब कमलको अभावमा त्यही घरमा आफूले उनीसँग बिताएको क्षण सम्झना गर्ने एउटा थलो थियो । त्यसलाई पनि ऋणमा डुबाउन सुमनालाई कति मन लागेन । तर छोराबुहारीको कचकचले गर्दा उनले ल्याप्चे लगाउनैपर्यो ।
भारी मन लिएर सुमनाले ती कागजको अन्तिम दर्शन गरिन् । त्यसपछि त उनी एक किसिमले अर्धजीवित नै भइन् । उनलाई आफ्नै कोखले गरेको अपमानबाट सहिनसक्नु भयो । उनी बिरामी परिन् । दमको बिमारले सुमनालाई पीडित पार्यो । खोकी पनि निकै लाग्यो । अनि बिस्तारै छोराबुहारीले ‘यस्तो खोकी र दमको बिरामीलाई माथि राख्नु हुन्न’ भन्दै तल्लो कोठामा सारिदिए । सुमना एक्लै भइन् । भान्सा, भण्डार सबै बुहारीको अधिन भयो । आफूले भनेको बेलामा खान नपाउने, जेजति जुन बेला दिन्छन् त्यही बेलामा मात्र खाना पाउने दिनहरू आए ।
जीवनको अन्तिम क्षण यसरी बित्ला भन्ने सुमनालाई सपनामा पनि लागेको थिएन । दुईजनाको मिहिनेतपछि भविष्यको सुन्दर कल्पनामा रमाएका थिए कमल र सुमना ।
तर आजको संस्कृति र बजारिया तडकभडकले गर्दा अभिभावकको इज्जत गर्ने परम्परामा धमिरा लागेछ । रमाइला दिनको सम्झनामा सुमनाको आँखा झपक्क लागेछ । सपनामा उनी कमलसँग हासखेल गर्दै थिइन् । त्यत्तिकैमा छोराको आवाजले सुमनाको सम्पूर्ण शरीर रोमाञ्चित भयो र ‘बाबु, आइज बस्’ भनिन् । तर छोराले सुमनाको हृदयमा वज्रपात पार्दै भन्यो, ‘आमा ! तपाईंलाई अब राम्ररी राख्ने एउटा वृद्धाश्रम खोजेका छौँ, ँिहड्नुस, हामी लिन आएका ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ऋण धेरै लिएको प्रश्नपछि अर्थमन्त्रीको आक्रोश– ४३ प्रतिशत कसरी पुग्यो, त्यसको अनुसन्धान हुनुपर्छ
-
ढिलो गर्दा दुर्घटना हुनसक्छ, शीघ्र वामपन्थी एकता गरौँ : प्रचण्ड
-
कर्णालीको सामाजिक मन्त्रालय भ्रष्टाचारबाट ग्रसित भएको विपक्षीको आरोप, प्रमाणित गर्न चुनौती
-
‘काला हिरण’मा सलमानको भूमिका खेलेका अभिनेताले छाडे फिल्म
-
लोकतन्त्र र गणतन्त्र जोगाउन कम्युनिस्टहरूबिच एकता आवश्यक : माधव नेपाल
-
गाडीमा जडान गरिएको कालो सिसाका स्टिकर हटाउन थालियाे
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण