मंगलादेवी : बिहेको चार महिनामै गणेशमान पक्राउ परेपछि दरबारमा जुलुस लगिन्
परिचय
- जन्ममिति : वि.सं. १९८२ मङ्सिर १५
- जन्मस्थान : न्हैकन्तला, काठमाडौँ
- निधन : वि.सं. २०५३ भदौ १०
- माता : पूर्णदेवी श्रेष्ठ
- पिता : वद्रीलाल श्रेष्ठ
- कृति : नारी सङ्घर्षका पाइलाहरू (आत्मसंस्मरण)
- विदेशभ्रमण : विभिन्न देश
नेपालको विकासमा पुरुषसरह महिलाको पनि ठुलो योगदान छ । नेपाली महिलाले परापूर्वकालदेखि विविध क्षेत्रमा विशिष्ट योगदान गर्दै आएका छन् । राजनीतिक, दार्शनिक, सांस्कृतिक, सामाजिक लगायत ज्ञान, विज्ञान, प्रविधि, कूटनीति, निजामती, प्रहरी, सेना, खेलकुद, यातायात आदि फाँटमा नेपाली महिलाले पुर्याउँदै आएको देन अविस्मरणीय छ । ‘प्रथम नेपाली महिला’ कार्यक्रम तिनै नेपाली महिलाहरूप्रति समर्पित छ, जसले चुनौतीका अनेक पहाड छिचोल्दै अभूतपूर्व उपलब्धि हासिल गरेका छन् ।
यस कार्यक्रममा प्रथम नेपाली महिलाका अपूर्व उत्साह, सक्रियता, सीप, कला, प्रगति, सफलता तथा प्रसन्नताका पाटाहरू खोतल्ने प्रयास गरेका छौँ । साथसाथै तत्कालीन बाधा, अड्चन, उत्पीडन, अन्योल, बेथिति र सङ्घर्ष एवं आन्दोलनका पाटा पनि यहाँहरू माझ पस्कँदै आएका छौँ ।
‘प्रथम नेपाली महिला’ शृङ्खलाको २० औँ एपिसोड मङ्गलादेवी सिंहका सम्बन्धमा छ । मङ्गलादेवी सिंह ‘नेपाल महिला सङ्घ’ की संस्थापक अध्यक्ष हुन् । नेपाली नारीको चेतना र प्रजातान्त्रिक विकासमा मङ्गलादेवीको योगदान विशिष्ट छ । समकालीनहरू उनका सङ्घर्षशील व्यक्तित्व र विद्रोही प्रवृत्तिको प्रशंसा गरी अघाउँदैनथे ।
नेपालको इतिहासमा ‘लौहपुरूष’ मानिने गणेशमान सिंहकी पत्नी मङ्गलादेवी सिंह त्यत्तिकै दह्री, सहयोगी र उदात्त हृदयकी भएकीले नै उनका घरमा आउने जोसुकै प्रभावित भइहाल्थे ।
त्यसैले, उनी कसैकी ‘मङ्गलादेवी भाउज्यू’ त कसैका लागि ‘मङ्गलादेवी आमा’ बन्न पुगेकी थिइन् । उनले निरङ्कुश राणाशासनका विरूद्ध आवाज उठाइन् ।
आन्दोलनका निम्ति महिला वर्गलाई प्रोत्साहित गरिन् । वि.सं. २००४ साउन २४ गते उनको अध्यक्षतामा ‘नेपाल महिला सङ्घ’ स्थापना भएको हो ।
काठमाडौंको म्हैपीमा वनभोज गर्ने भनेर जम्मा भएका महिलाहरूले भूमिगत सङ्गठनका रूपमा महिला सङ्घ खडा गर्ने निर्णय गरेका थिए । त्यसको केही दिनपछि भेडासिङस्थित चिनियालाल श्रेष्ठको घरमा ‘नेपाल महिला सङ्घ’ स्थापना भएको हो ।
नेपालको प्रजातान्त्रिक तथा महिला हक, हितको आन्दोलनमा यस सङ्घले अद्वितीय भूमिका निर्वाह गरेको छ । चित्त नबुझेको कुरामा सानैदेखि विरोध गर्ने स्वभावकी मङ्गलादेवी विवाहपछि झन् प्रखर विद्रोही बन्न पुगिन् ।
१९८१ मङ्सिर १५ गते न्हैकन्तला, काठमाडौँमा जन्मिएकी मङ्गलादेवीकी माता पूर्णदेवी श्रेष्ठ र पिता वद्रीलाल श्रेष्ठ हुन् ।
उनको विवाह १९९७ असार महिनामा भएको हो । उनका पति गणेशमान सिंह (हीराकाजी) नेपालको राजनीतिक इतिहासमा अमर व्यक्तित्व हुन् ।
गणेशमान सिंह आँटिला, जोधाहा, त्यागी एवं स्पष्टवक्ता थिए । उनले १९९७ सालको साउन महिनामा ‘नेपाल प्रजा परिषद्’ को सदस्यता लिएका थिए ।
‘नेपाल प्रजा परिषद्’ नेपालको पहिलो राजनीतिक पार्टी हो । पार्टीको सदस्यता लिएको तीन महिनामै १९९७ माघ ६ गते उनी पक्राउ पर्नुले पनि उनको सक्रियताको उदाहरण पाउन सकिन्छ ।
इतिहासप्रसिद्ध ‘१९९७ सालको काण्ड’ मा उनलाई अंश सर्वस्वसहित आजीवन कारावासको सजाय सुनाइएको थियो । गङ्गालाल श्रेष्ठ, धर्मभक्त माथेमा, दशरथ चन्द तथा शुक्रराज शास्त्रीको शहादतले उनमा निरङ्कुश शासकप्रति क्रोध र साहस उर्लाएको हो ।
गणेशमानलाई भद्रगोल जेलको पर्खालले रोक्न सकेन । २००१ साल असार ७ गते आधारातमा उनी त्यहाँबाट भाग्न सफल भए ।
सात सालको आन्दोलनमा सक्रिय रूपमा सहभागी भएका गणेशमान वीरगञ्जको सशस्त्र सङ्घर्षका अगुवा बनेका थिए । पञ्चायतकालभरि विरोधको बिगुल फुकेका गणेशमान २०४६ को जनआन्दोलनका ‘सर्वोच्च कमान्डर’ हुन् ।
जनआन्दोलन सफल भएको भोलिपल्ट २०४६ चैत २७ गते उनलाई ‘फादर अफ डेमोक्रेसी’ (प्रजातन्त्रका पिता) का रूपमा सार्वजनिक सम्मान गरिएको थियो । प्रजातन्त्र पुनः स्थापनापछि राजा श्री ५ वीरेन्द्रबाट प्रधानमन्त्रीको प्रस्ताव आउँदा उनले पदमोह नराखी मित्र कृष्णप्रसाद भट्टराईलाई अवसर दिएको त्यागपूर्ण पाटोको जति प्रशंसा गरे पनि कम हुन्छ ।
नेता गणेशमान सिंहका विद्रोह, आन्दोलन, सङ्घर्ष, त्याग, विफलता र सफलताका हरकदममा मङ्गलादेवीले दह्रो साथ दिएकी थिइन् । साँच्चै भन्ने हो भने वीरपुरूष गणेशमानलाई सर्वमान्यनेता बनाउनामा वीराङ्गना मङ्गलादेवीको ठुलो हात रहेको छ । क्रान्तिका बेला होस् चाहे शान्तिको बेला, जुनसुकै अवसरमा उनी हरेक क्षणलाई अग्रगति दिन सहायक बन्ने गर्थिन् । पति प्रवासिएका बखत उनी पनि सँगै गएकी थिइन् । राणाशासकले गणेशमानलाई जतिसुकै घाउचोट दिएको होस्, मङ्गलादेवीले मलम लगाएकै कारण वीर योद्धाको उत्साह झन् शिखरमा चढ्न सफल भएको होभन्दा अतिशयोक्ति होइन ।
राणाशासनका बेला तथा प्रतिबन्धित अवस्थामा जहिले पनि मङ्गलादेवीको भूमिका उल्लेखनीय रहेको छ । उनको प्रेरकीय व्यक्तित्वले सुरूदेखि धेरैलाई प्रभावित पार्दै आएको थियो ।
निरङ्कुश राणाशासनविरुद्ध सडकमा उत्रिँदा होस्, अथवा जनआन्दोलनका बेला प्रजातन्त्रप्रेमीलाई आह्वान गरिंदा वा अन्य कुनै पनि राजनीतिक गतिविधिमा, मङ्गलादेवीको उत्साह चरमचुलीमा रहेको देखिन्थ्यो । निरङ्कुश राणाशासनका विरुद्ध पतिसँगै आन्दोलनमा होमिएकी थिइन् उनी ।
मङ्गलादेवीले ३० वर्षे निर्दलीय पञ्चायती व्यवस्थाका विरुद्ध पनि कडा सङ्घर्ष गरिरहिन् । २०४६ सालको जनान्दोलनको सफलताबाट उत्साहित मङ्गलादेवी मुलुकको तल्लो तहसम्मै प्रजातान्त्रिक सौरभ फैलनुपर्ने धारणा व्यक्त गर्थिन् ।
नारी शिक्षा र जागरणका लागि उनले अविस्मरणीय भूमिका खेलेकी छिन् । आफ्नै निम्ति पनि उनले ठुलो सङ्घर्ष गर्नुपर्यो ।
आफूलाई केटी भएकै कारण पढ्न नदिइएकामा उनको घरपरिवारसितै तीव्र विरोध थियो । त्यतिखेर समाजमा केटीले पढ्नुहुँदैन भन्ने सोच व्याप्त थियो ।
त्यसलाई उनले स्वीकार नगरेको मात्र होइन, त्यसविरुद्ध आवाजविहीनको आवाज बन्ने सुकार्य समेत गरेकी थिइन् । उनीभित्र सल्किएको असन्तोषको राप दन्किन थालेको थियो ।
केटीले पनि पढ्न पाउनुपर्ने र भोट हाल्न पाउनुपर्ने भन्दै उनले रडाको मच्चाउने गरेकी थिइन् । उनको सोचाइ आफूले भोगेको विषमताको तीतो स्वाद अरूले भोग्नु नपरोस् भन्ने थियो ।
त्यस सोचाइलाई उनले विभिन्न क्षेत्रबाट व्यवहारमा उतार्ने दिशामा निरन्तर प्रयास गरेकी छिन् । विवाह भएको चार महिना पनि बितेको थिएन, उनका जीवनसाथी गणेशमान सिंह पक्राउ परे ।
‘नेपाल प्रजापरिषद्’ को काण्डमा गणेशमान सिंहलाई कैद हालिएपछि उनी झनै जङ्गी बनेकी थिइन् । जहानिया राणाशासनको अन्त्यका लागि उनले आवाज उठाइन् । आन्दोलनमा सक्रियता बढाइन् ।
२००४ वैशाख १ गते थालिएको नेपाली राष्ट्रिय काँग्रेसको देशव्यापी ‘सत्याग्रह आन्दोलन’ मा महिलालाई सहभागी बनाउन तथा प्रजातान्त्रिक स्वर बुलन्द पार्न मङ्गलादेवीले गहकिलो भूमिका निर्वाह गरेकी थिइन् ।
श्री ३ महाराज पद्मशमशेरले दुनियालाई देखाउन गरेको सुधारका काम मङ्गलादेवीलाई पटक्कै मन परेको थिएन । वि.सं. २००५ मा उनले महिला समूहको नेतृत्व गर्दै विशालनगरस्थित श्री ३ पद्मशमशेरको दरबारमा विरोध जुलुस समेत लगेकी थिइन् ।
जुलुसको नेतृत्व गरेर दरबार जाँदा त्यहीं भएका ससुरा बडाकाजी रत्नमान सिंह अचम्मित मात्र भएनन्, रिसाए पनि । जुलुसलाई थामथुम पार्ने उद्देश्यले दरबारबाट माग पूरा हुने वचन पनि प्राप्त भएको थियो ।
१०४ वर्षे जहानिया राणाशासनको समाप्तिका लागि भएको अभूतपूर्व क्रान्तिमा मङ्गलादेवीले पुर्याएको योगदान महिला, पुरुष सबैका लागि स्तुत्य छ । २०१७ सालमा प्रजातन्त्र हरण भएपछि उनले कडा रूपमा त्यस कदमको विरोध प्रकट गरेकी थिइन् ।
विरोधकै क्रममा पक्राउ परेकी मङ्गलादेवी त्यही निहुँमा पाँच वर्ष जेल परिन् । उनले आठ वर्ष जति भारतमा बिताउनुपर्यो ।
उनको प्रवासकाल २०२५ देखि २०३३ सम्म रहेको थियो । जनमत सङ्ग्रहका बखत बहुदलका पक्षमा निकै सक्रिय थिइन् उनी ।
२०४२ सालको ‘सत्याग्रह आन्दोलन’ मा उनले अदम्य व्यक्तित्वको चिनारी दिएकी थिइन् । २०४६ को जनान्दोलनमा मङ्गलादेवी ज्यादै क्रियाशील भइन् ।
०४६ सालको जन आन्दोलनमा उनी पति गणेशमान सिंहसँगै घरमा नजरबन्दमा पनि परेकी थिइन् । २०४८ सालमा भएको प्रतिनिधि सभाको निर्वाचनमा उनी पनि उम्मेदवार थिइन् ।
त्यसमा चाहिँ उनलाई विजय प्राप्त हुन सकेन । ‘नेपाल महिला सङ्घ’ की संस्थापक अध्यक्ष मङ्गलादेवी जीवनभरि यस संस्थासित आबद्ध रहिन् ।
उनकै नेतृत्वमा भएका विभिन्न आन्दोलनको जगले गर्दा नै संविधानमा नारी हक, हित तथा अधिकार प्रत्याभूत हुन सकेका हुन् । नेपाली राजनीतिक फाँटमा अग्रणी भूमिका निर्वाह गर्दै आएकी नेतृ मङ्गलादेवीको वि.सं. २०५३ साल भदौ १० गते निधन भएको छ ।
उनका दुवै मिर्गौलाले काम गरेका थिएनन् । एक पटक हृदयाघात भइसकेकी मङ्गलादेवी मधुमेह र उच्च रक्तचापबाट पनि पीडित थिइन् ।
वीर अस्पतालको शय्यामा उनले सधैंका लागि आँखा चिम्लिएकी हुन् । मङ्गलादेवी बितेको १३ महिनाभित्रै उनका जीवनसाथी गणेशमान सिंहको पनि २०५४ असोज ०२ निधन भयो ।
अन्तिम अवस्थासम्म पनि मङ्गलादेवीले नारी उत्थानका क्रियाकलापमा अभिरुचि राख्न छाडेकी थिइनन् । उनका दुई छोरा र तीन छोरी भए । छोरा प्रदीपमान सिंह र प्रकाशमान सिंह हुन् ।
डा. मीना सिंह, कान्ता मानन्धर र रीता वैद्य छोरी हुन् । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंह पटक, पटक मन्त्री तथा उपप्रधानमन्त्री भएका छन् ।
२०८१ सालमा पनि, केपी शर्मा ओली नेतृत्वको सरकारमा उनी ‘उपप्रधान तथा सहरी विकास मन्त्री’ बनेका छन् । ‘धर्मपुत्र’का रूपमा सिंह परिवारसँग सम्बद्ध नेपाली काँग्रेसका नेता, काठमाडौँ महानगरपालिकाका पूर्व प्रथमप्रमुख, तथा पूर्वमन्त्री पी. एल. (प्रेमलाल) सिंह मङ्गलादेवीका स्नेही एवं विश्वासपात्र थिए ।
उनको आत्मसंस्मरणात्मक कृति ‘नारी सङ्घर्षका पाइलाहरू’ प्रकाशित छ । चिरकालीन स्मृतिका लागि शोभाभगवतीमा मङ्गलादेवीको प्रतिमा स्थापना गरिएको छ ।
उनका नाममा स्थापित ‘मङ्गलादेवी सिंह फाउन्डेसन’ क्रियाशील रहेको छ । मङ्गलादेवी सिंहका नाममा काठमाडौंको धापासीमा नेपाल महिला संघको नयाँ भवन बनाउन थालिएको छ ।
उनको स्मृतिमा डिल्लीबजारस्थित पद्मकन्या मा.वि. परिसरमा छात्रावास निर्माण गरिएको छ । बागबजारको ‘पद्मकन्या बहुमुखी क्याम्पस’ मा छात्रवृत्तिका लागि अक्षयकोष राखिएको छ ।
नेपाल सरकारले मङ्गलादेवी सिंहको योगदानको कदर गर्दै हुलाक टिकट प्रकाशन गरेको छ । २०७८ सालमा स्वर्गीय मङ्गलादेवी सिंहलाई ‘महा उज्ज्वल राष्ट्रदीप’ पदक प्रदान गरिएको छ ।
नेतृ मङ्गलादेवी सिंहको २८ औँ स्मृति दिवसको अवसर पारेर वसन्तनगर, काठमाडौंमा ‘मङ्गलादेवी सिंह ज्येष्ठ नागरिक पार्क’ पनि उद्घाटन भएको छ ।
आज, संविधानमा महिलाका लागि समावेशी, समानुपातिक प्रतिनिधित्व एवं नीतिगत तहमा महिला, ३३ प्रतिशत महिला जस्ता जे जति महत्त्वपूर्ण पक्ष रहेका छन्, यस उपलब्धिमा मङ्गलादेवी सिंहको पनि उल्लेख्य पृष्ठभूमि रहेको छ । महिला हक, अधिकार र प्रजातन्त्रका लागि सतत क्रियाशील रहिन् उनी । मङ्गलादेवीले आफ्नो जीवनकालभरि उत्साह र उमङ्गलाई कहिल्यै मर्न नदिएको पक्ष सबैका लागि प्रेरणाको स्रोत बनेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिनिधिसभा बैठक : सरकारको वार्षिक नीति तथा कार्यक्रम निर्णयार्थ पेस हुँदै
-
न्यूरोडमा बालेनसँग विवादको प्रभाव : काठमाडौँका अधिकांश सडकबाट हात झिक्दै ‘सवि’
-
चितवनको कान्दामा दुई घण्टा बोकेर हाते ट्रयाक्टर पुर्याउँदा ...
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
लमजुङमा १७ आयोजनाबाट विद्युत् उत्पादन
-
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर