मङ्गलबार, ३० वैशाख २०८२
ताजा लोकप्रिय

अमेरिका र चीनबिच व्यापार सम्झौता

सोमबार, २९ वैशाख २०८२, १४ : ३५
सोमबार, २९ वैशाख २०८२

काठमाडाैँ । अमेरिका र चीनबिच व्यापार सम्झौता भएको छ । जेनेभामा दुवै देशबिच व्यापार सम्झौता भएको हो । दुवै देशले आफ्नो  भन्सारमा अर्को देशबाट आउने सामानमा लाग्दै आएको अतिरिक्त महसुलमा ११५ प्रतिशत कटौतीको घोषणा गरेका छन् ।

जेनेभामा दुई देशबिच भएको सम्झौता अनुसार अमेरिकाले चिनियाँ सामानमा अब ३० प्रतिशत मात्रै महसुल लगाउनेछ । उता, चीनले पनि अमेरिकाबाट आउने सामानमा १० प्रतिशत मात्रै महसुल लगाउनेछ । 

दुई देशबिचको यो भन्सार कर कटौती हाल ९० दिनको लागि मात्रै हो । जेनेभामा दुई दिनसम्म वार्ता गरेपछि दुई देशबिच यो सम्झौता भएको हो । चीनसँग चलिरहेको व्यापार युद्धको बीचमा राष्ट्रपति डोनाल्ड ट्रम्पको लागि यो ठुलो जित मानिएको छ । 

ह्वाइट हाउसले मे ११ मा एक विज्ञप्तिमा चीन व्यापार सम्झौताको घोषणा गरेको थियो । यद्यपि त्यतिबेला ह्वाइट हाउसले यसको विवरण दिएको थिएन । चिनियाँ उपप्रधानमन्त्री हे लाइफेङले सोमबार जेनेभामा संयुक्त वक्तव्य जारी गरिने बताएका थिए । यसैबिच, चिनियाँ उपवाणिज्यमन्त्री ली चेङगाङले यो विश्वका लागि खुसीको खबर हुने भनेका थिए । 

अमेरिकी अधिकारीहरूले यसलाई व्यापार घाटा कम गर्ने सम्झौताको रूपमा व्याख्या गरेका छन् । उता, दुई पक्षबिच महत्त्वपूर्ण सहमति भएको र नयाँ आर्थिक वार्ता सुरु गर्न सहमत भएको चिनियाँ अधिकारीहरूले बताएका छन् ।

गत महिना ट्रम्पले चिनियाँ सामानमा अतिरिक्त महसुल बढाएर १४५ प्रतिशतमा पुर्‍याएका थिए । यसको बदलामा चीनले पनि अमेरिकी सामानमा अतिरिक्त महसुल बढाएर १२५ प्रतिशतमा पुर्‍याएको थियो । जसका कारण विश्वका दुई ठुला अर्थतन्त्रबिच वार्षिक ६ खर्ब डलरको व्यापार लगभग बन्द भएको थियो । 

चीनसँगको मतभेद त्यति ठुलो थिएन जति उसले सोचेको थियो : अमेरिका 

‘दुई पक्षहरू धेरै छिटो सम्झौतामा पुग्न सक्षम हुनुले के देखाउँछ भने सायद भिन्नताहरू पहिले सोचेजस्तो ठुलो थिएनन्,’ अमेरिकी व्यापार प्रतिनिधि जेमिसन ग्रीरले पत्रकारहरूलाई भने । यद्यपि, यी दुई दिनको वार्ता अघि धेरै तयारीहरू गरिएको थियो । यस सम्झौतामा अमेरिका र चीन दुवैले १४५ प्रतिशत अमेरिकी महसुल र १२५ प्रतिशत चिनियाँ महसुल घटाउनेबारेमा केही उल्लेख गरेका छैनन् । 

ट्रम्पले पहिले नै दिएका थिए चीनमाथिको महसुल दर घटाउने सङ्केत 

एक हप्ता अघि ट्रम्पले चीनमाथि लगाइएको करमा उल्लेख्य कमी आउन सक्ने गरेका थिए । भन्सार महसुल यति उच्च छ कि विश्वका दुई ठुला अर्थतन्त्रहरूले एक अर्कासँग व्यापार गर्न बन्द गरेको कुरा उनले  पनि स्वीकार गरेका थिए ।

‘म जुनसुकै बेला चीनमाथिको कर घटाउनेछु, किनकि यदि यसो गरिएन भने उनीहरूसँग व्यापार गर्न सम्भव हुनेछैन र उनीहरू व्यापार गर्न चाहन्छन् ।’ ट्रम्पले एनबीसीको एक कार्यक्रममा भनेका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप